इस्तानबुल एयरपोर्टमा अड्किँदा- २
यो लेखको पहिलो भागः मर्नुअघि
टर्कीको त्यो इस्तानबुल एयरपोर्टभित्र मैले हात्ती नदेखेको भए मलाई यिनै दुई सर्पले डसेर मार्थे-
सर्प १- म भिसाको म्याद सकिएको पासपोर्ट बोकेर हिँडेको थाहा पाए भने यो एयरपोर्टभित्र हिँडिरहेका पुलिसले मलाई कहाँ लगेर कोच्दा हुन्?
सर्प २- मसँग भएको बीस युरोले यो टर्मिनलभित्र म कति दिन बाँच्न सक्छु?
तर बीस युरोको छेउमा अर्को एउटा लामो नोट देखेँ। नेपालको सबैभन्दा लामो नोट। नोटमा बर्दिया या चितवन राष्ट्रिय निकुञ्जको एउटा शानदार हात्ती थियो। निक्कै लामो सुँडसहितको। मलाई थाहा थियो, त्यो नोट त्यहाँ चल्दैन तर अर्काको देशको एयरपोर्टमा आफ्नो देशको हात्ती देखेर मेरो दिमाग ठीक दिशामा चल्न थाल्यो। मुटु ठीक गतिमा चल्न थाल्यो।
बिहे गरेर टाढा गएकी छोरीले आफ्नो पतिको घरमा आफ्नो माइतीगाउँको कुकुर देख्दा जति खुसी हुन्छे, म परदेशमा आफ्नो देशको हात्ती देखेर त्यति नै खुसी भएँ।
हात्तीले आफ्नो नरम सुँडले मेरो चिउँडो उठाउँदै भन्यो, 'धत् मुला! म अलपत्र परेँ भन्दै यहाँ किन डराएर बसेको? उठ्। तँ र म मिलेर खोजौं। यत्रो एयरपोर्टमा अर्को एउटा नेपाली कसो नभेटिएला? हामीलाई दुःख सुनेर बुझिदिने जम्मा एउटा नेपाली चाहिएको होइन?
हामीलाई दुःख नसुनी बुझिदिने जम्मा एउटा मान्छे चाहिएको होइन?
नेपालमा एउटा नेपालीले एउटा नेपालीलाई भेट्नु भनेको एउटा नेपालीलाई भेट्नु हो। तर परदेशमा एउटा नेपालीले एउटा नेपालीलाई भेट्नु भनेको ३ करोड नेपालीलाई भेट्नु हो।'
हात्तीलाई गोजीमा राखेर मैले त्यो एयरपोर्टको ७७ वटै जिल्लामा खोजेँ। तर नेपालीजस्तो देखिने कोही देखिएन। म बाहुनको छोरो हुँ। तर मेरा आँखाले बाहुन अनुहार खोजिरहेको थिएन। त्यो अनुहार खोजिरहेको थिएँ जो नेपालीजस्तो देखिन्छ।
आफ्नो जात भनेर खुम्चिने भनेको त सजिलोमा मात्रै हो रहेछ।
आँखाले नेपाली देख्न नसकेपछि मेरा कानले नेपाली खोज्न थाले। बरू कसैलाई रिसाएर गाली गरिरहेको सुन्न पाऊँ। वा कसैसँग झुट नै बोलिरहेको सुन्न पाऊँ। बरू छाडा नै बोलिरहेको सुन्न पाऊँ। तर नेपाली बोलिरहेको सुन्न पाऊँ!
मेरो घर झापा थियो तर म झापाली खोजिरहेको थिइनँ।
आफ्नो ठाउँ भनेर खुम्चिने भनेको त सजिलोमा मात्रै हो रहेछ।
अप्ठ्यारोमा त मान्छे जातभन्दा धेरै परसम्म फैलिँदो रहेछ।
अप्ठ्यारोमा त मान्छे आफ्नो ठाउँभन्दा धेरै परसम्म फैलिँदो रहेछ।
अप्ठ्यारोमा त मान्छे सजिलोका सबै सिमानाभन्दा परसम्म फैलिँदो रहेछ।
अप्ठ्यारोमा मान्छे अस्तित्वभरी फैलिँदो रहेछ।
सानो मूलमा मात्रै अप्ठ्यारो भएपछि पानी फैलिएर त्यत्रो नदी बन्छ। सागर बन्छ। सागरमै पनि खुम्चिँदा अप्ठ्यारो लागेर पानी बाफ बन्छ। अनि झन् फैलिएर विशाल आकाशको हुन्छ।
सानो बिउलाई अप्ठ्यारो भएर बिउ फैलिन्छ र त्यत्रो रुख बन्छ।
ईश्वरले यो संसारमा अप्ठ्यारो भन्ने कुरा बनाउनुको कारण नै सबैलाई फैलिनका लागि हो रहेछ।
कतै ईश्वरलाई आफूभित्र मात्रै अप्ठ्यारो भएर आफैंलाई फैलिन यो संसार बनाएको त होइन?
तर मेरो संसार त एउटा टर्मिनलमा खुम्चियो। कुनै नेपाली नभेटेपछि मैले आफूलाई फेरि फैलाएँ। मनमनै सोचेँ, 'नेपालीबाहेक यहाँ मेरो नजिकको को छ?'
त्यही कर्मचारी सम्झिएँ जसले भिसाको म्याद सकियो भन्दै मलाई माल्टा जाने प्लेनभित्र जान रोकेको थियो। अरु केही नभए पनि उसले मलाई इलिगल यात्रा गर्नबाट बचाएको छ। पुलिसले समातेर जेल हाल्नबाट बचाएको छ। ओहो! उसको र मेरो त बचाएको सम्बन्ध छ।
यो अस्तित्वमा आफू बाँच्नुभन्दा माथि केही छ भने त्यो कसैलाई बचाउनु हो।
यहाँका अरूलाई त म 'छु' भन्नेसमेत थाहा छैन। कम्तिमा उसलाई म अप्ठ्यारोमा छु भन्ने त थाहा छ। म ऊ भएको ठाउँ दौडिएर गएँ। मलाई अचम्म लाग्यो किनकी उसलाई देख्दा मलाई आफन्त देखेजस्तो लाग्यो। ऊ न मेरो जातको न ठाउँको न देशको। फेरि मलाई किन ऊ आफन्त जस्तो लाग्यो?
यहाँ मेरो कोही छैन जस्तो लागेका बेला जसको आश लाग्छ, त्यही नै आफन्त हो।
आफन्त भनेको आश हो।
मेरा सबै अहंकारलाई खुम्च्याएर आफैं उसको सामु हात फैलाएँ, 'मलाई मद्दत गर्नुस्। अब मसँग के उपाय छ?'
उसले मलाई सजिलै चिन्यो।
बचाउनेहरूले सजिलै चिन्छन्।
सजिलै चिन्नेहरूले बचाउँछन्।
उसले फेरि मेरो पासपोर्ट माग्यो। फेरि मेरो देशको नाम पढ्यो र भन्यो, 'तपाईंसँग कुनै देशको पनि भ्यालिड भिसा छैन। तपाईं जुनै देश गए पनि इलिगल हो। तर तपाईं एयरपोर्टभित्रै हुनु भएकाले टिकट काटेर आफ्नो देश नेपाल चाहिँ फर्किन सक्नुहुन्छ।'
नेपाल फर्किन मिल्ने कुराको तराजुको एउटा तुलोमा जति खुसी थियो, त्योभन्दा गह्रौं दुःख चाहिँ टिकट किन्ने पैसा नहुनुमा थियो। त्यो कुरा उसलाई कसरी भनुँ?
मैले मेरो पासपोर्टमा बेलायतको छुट्टै भिसा देखाउँदै भनेँ, 'म नेपाल गए पनि तुरून्तै बेलायत फर्किनुपर्छ। दुई हप्तापछि लन्डनमा कार्यक्रम छ। मेरो योजनाअनुसार स्यान्जेनको अन्तिम कार्यक्रम जर्मनीमा थियो। जर्मनीबाट त त्यहीँ पारिपट्टीको लन्डन फुत्त जाने सोचेको थिएँ।'
परीक्षामा फेल भएको बच्चालाई शिक्षकले सान्त्वना दिएझैं उसले मलाई फकाउँदै भन्यो, 'होला। तर यहाँ हेर्नुस् न, तपाईंको बेलायतको भिसा त अबको १२ दिनपछि मात्रै सुरू हुन्छ।'
त्यसपछि उसले मलाई यस्तो उपाय सुनायो जुन जोखिम मैले मोलेँ तर त्यसले मलाई त्यहाँ पुर्यायो जहाँ कोही पनि जिउँदो हुन्जेल जान चाहँदैन।
उसको उपाय थियो, 'कि यसो गर्नुस्। तपाईं यहाँ टर्कीको भिसा लिनुस्। त्यति भएपछि तपाईं एयरपोर्ट बाहिर निस्कन मिल्छ। कतै होटलमा बस्नुस्। टर्कीबाट फेरि युरोपको भिसाका लागि निवेदन दिनुस्। भिसा हुन्छ भन्ने पक्का छैन। तर भइहाल्यो भने युरोपका बाँकी देशमा तपाईंको कार्यक्रम पनि छुट्दैन। भएन भने १२ दिन टर्की नै बस्नुस्। १२ दिनपछि तपाईंको बेलायतको भिसा सुरू हुन्छ। यहीँबाट सस्तो टिकट काटेर लन्डन जानुस्।'
मलाई आश पलायो। तर त्यतिखेर मैले, 'शशांक रिडेम्पसन' भन्ने फिल्मको यो संवाद बिर्सिएको थिएँ- होप इज अ डेन्जरस थिङ (आशा खतरनाक कुरा हो)।
मभित्र भर्खरै प्वाँख पलाउन थालेको त्यो आशको चरालाई उड्न दिन मलाई पैसा चाहिन्थ्यो। मैले पैसा पाउन नेपाली चाहिन्थ्यो। र नेपाली भेट्न मलाई इन्टरनेट चाहिन्थ्यो। तर त्यो टर्मिनलको ७ वटै प्रदेशमा ७७ चोटि नै प्रयास गर्दा पनि त्यहाँको फ्री-वाइफाइ जोडिएन। सुरक्षाका कारणले त्यहाँ वाइफाइ चलाउन कोड चाहिने रहेछ।
कोड पाउनका लागि चल्ने फोन नम्बर चाहिने रहेछ। मसँग नेपालको एन.टि.सी.को फोन नम्बर मात्रै थियो, जुन त्यहाँ चल्दैन थियो। चल्दैन भन्ने थाहा पाउँदा पाउँदै पनि मैले पागल जसरी आफ्नो देशमा हुँदाको नम्बर हालेँ। र, कोड आउँछ भन्ने आश गरेँ। मलाई अप्ठ्यारो पर्दा देशले परदेशमा पनि नेटवर्क दिन्छ भन्ने आश भयो। कस्तो पागल आश थियो त्यो?
कहिल्यै नदिनेसँग पनि दिन बाँकी हुन्जेलसम्म आश हुँदो रहेछ।
बाँकी हुन्जेल आश हुँदो रहेछ।
हुन्जेल आश हुँदोरहेछ।
मैले फेरि बिर्सिएको थिएँ- होप इज अ डेन्जरस थिङ।
वरपरका कसैले हटस्पट दिन्छन् कि भनेर केहीलाई मागेँ पनि। तर उनीहरूले मलाई यसरी हेरे मानौं, मलाई हटस्पट दिँदा उनीहरूसँग भएको भिसाको म्याद अचानक घटेर सिद्धिन्छ।
मैले मनमनै मुर्मुरिँदै भनेँ, 'कुनै दिन नेपाल आओ, म वाइफाइमा चोबलेर पठाइदिन्छु।'
अघिसम्म भिसा थिएन। पैसा थिएन। छेउमा कोही नेपाली थिएन। तर इन्टरनेटबाट कुनै नेपालीसँग कुरा गर्ने आश थियो।
पखेटा लाग्दै गरेको मेरो त्यो आशको चरालाई एयरपोर्टको दुलोमा खुलेआम उडिरहेको इन्टरनेटको सर्पले टोकिदियो।
कुनै तस्करले मेरो गोजीभित्रको हात्तीको त्यो नरम लामो सुँडलाई छपक्कै काटेर रगताम्मे पारेर लग्यो।
अर्काको भनेको के हो, थाहा भयो।
देश भनेको के हो, थाहा भयो।
अर्काको देश भनेको के हो भन्ने थाहा भयो।
तर मैले त्यही 'शशांक रिडेम्पसन' फिल्मको अर्को संवाद सम्झिएँ- होप इज अ गुड थिङ (आश राम्रो कुरा हो)।
नभन्दै एक सज्जनले भने, 'उ त्यो भिसा लिने लाइनभन्दा अगाडि क्याफे छ। त्यहाँ प्राइभेट इन्टरनेट छ। दिन्छ।'
म बिष लागेको पखेटाले उड्दै त्यतैतिर लागेँ। भिसा लिने लाइनमा बसेका एक सज्जनलाई सोधेँ, 'यहाँको भिसा लिएको कति लिँदा रहेछन्?'
उसले मसँग बोल्दा उसले पाउने भिसाको छाप मधुरो हुन्छ जस्तो गरी भन्यो, 'खै, १९ युरो होला।'
म 'पछि आउँछु' भन्दै क्याफेतिर गएँ। क्याफेको मान्छेले मेरो अनुहारमा के देख्यो? उसले एकदमै नजिकको आफन्त जस्तरी सोध्यो, 'ह्वाट डु यु वान्ट सर?'
मलाई यो प्रश्न यति लोभलाग्दो पहिले कहिल्यै लागेको थिएन- तपाईं के चाहनुहुन्छ?
म त्यतिखेर के-के मात्र चाहन्नथेँ। मलाई यसको उत्तर एकदम लामो आयो। म छोटोमा भन्न चाहन्थेँ। रामप्रसाद बिस्मिलले मभित्र मिसिएर भने-
वक्त आने दे, बता देंगे तुझे ऐ आसमां
हम अभी से क्या बतायेँ क्या हमारे दिल में है
(हे आकाश!
सही समय आएपछि म तिमीलाई सबै कुरा सुनाउने छु
मेरो मनमा के छ भनेर, अहिले नै म तिमीलाई के नै पो भन्न सक्छु र!)
मैले मेरा सारा आशलाई एउटै शब्दमा समेटेर भनेँ, 'वाइफाइ'।
क्याफेको मान्छेले मेरो स्वरमा के सुन्यो? उसले मलाई वर्षौंदेखि उसको रिन नतिरेर लुक्दै भागेको आसामी जस्तो गर्यो। भन्यो, 'फर्स्ट बाइ समथिङ एन्ड गेट वाइफाइ भौचर फर एन आवर (पहिले केही किन् अनि एक घन्टालाई वाइफाइ पाउँछस्।)'
त्यस्तो अनुहार बिगारेर भनेकोमा मलाई झनक्क रिस उठ्यो। गोजीको बीस युरो निकालेर छाती तनक्क तन्काएँ। झ्याप्प १० युरोको केही किन्न लागेको थिएँ, भिसाको लाइनको मान्छेले भिसाको १९ युरो लाग्छ भनेको सम्झेँ। तन्केको छाती सुक्यो। थाहा पाएँ कि मसँग एक युरो मात्रै खर्च गर्ने औकात छ। एक युरोमा किन्न पाइने त्यहाँ केही पनि रहेनछ। पानीको बोतलको पनि २ युरो पर्दो रहेछ। मेरो रिस छतबाट फ्यात्त भुइँमा खस्यो।
गरिबको त रिसाउने औकात पनि नहुने रहेछ।
मेरो गोजीमा छट्पटाइरहेको हात्तीले मलाई रुँदै भन्यो- 'के गर्छस् यार, म नेपालको सबैभन्दा शक्तिशाली नोट हुँ। तर यहाँ तलाईं एक बोतल पानीसमेत पिलाउन सकिनँ। आफू जतिसुकै शक्तिशाली भए पनि कमजोर देशको नोटमा भएपछि आफू पनि कमजोर भइँदो रहेछ।
म कमजोर देशको कमजोर नोटमा भएर लाचार भएँ। तँ कमजोर देशको कमजोर पासपोर्टमा भएर लाचार भइस्।
सम्झी त! तँ अमेरिकी भएको भए अघि तलाईं त्यो प्लेनमै रोक्दैनथ्यो। तँ भिसा नलिई उड्न सक्थिस्। माल्टामै पुगेर अन-अराइभल भिसा पाउँथिस्। यतिखेर तलाईं माल्टामा बस्ने तेरा देशवासीले माला लगाइदिइरहेका हुन्थे। परदेशमा हाम्रो देशको कवि आयो भन्दै फोटो खिचिरहेका हुन्थे। तलाईं भिसाको कुनै छापले रोक्दैनथ्यो।
चराहरूसँग पखेटा भएपछि कुनै पनि देश जान कुनै छापले रोक्दैन। मान्छेसँग पनि प्रतिभा भएपछि संसारमा कहीँ पनि जान कुनै छापले रोक्नु नपर्ने हो।
चराहरूलाई यस्तरी उड्ने स्वतन्त्रता प्रकृतिले दिँदो रहेछ। मान्छेको उड्ने स्वतन्त्रता चाहिँ शक्तिले किन्दो रहेछ। तर हाम्रो देशमा बिकेकाहरूले न हामीलाई उड्ने स्वतन्त्रता दिए, न उनीहरू नै कहिल्यै उडे। उनीहरू घस्रिनमै रमाइरहेका छन्।'
सुँडबाट भल्भली रगत चुहिरहेको मेरो नोटको हात्ती त्यति बोलेपछि खै किन एक्कासि चुप लाग्यो।
दुख्यो कि!
अब चाहिँ म पनि थाक्न लागिसकेको थिएँ। तर फेरि सम्झेँ- होप इज अ गुड थिङ।
बिष नै लागेको भए पनि मेरो आशको चराले आँखा खुम्च्याएर क्याफेभरी हेर्यो। कुनामा पानीका साह्रै साना बोतल रहेछन्। ती साना बोतलको तल तल झन् साना अक्षरमा लेखिएको थियो- १ युरो।
लाज पचाएर त्यही पानी किनेँ। तर पिउने फुर्सद थिएन किनकी वाइफाइको म्याद एक घन्टा मात्रै थियो। अनि फोनको चार्ज सकिन लागिसकेको थियो।
औंला कामेर भौचरमा भएको पासवर्ड थिच्नै केही मिनेट लाग्यो।
मैले पहिलो आशलाई म्यासेन्जरमा कल गरेँ- सुवास रिजाल। मुख्य आयोजक। फिनल्यान्ड। सबै कुरा भनिसकेर सास फेरेँ।
राती डरलाग्दो सपना देखेर ब्युँझिएको सानो बालखलाई सम्झाए जसरी उनले भने, 'गुरु, अलिकति पनि नडराउनुस्। म छु। त्यहीँ बस्नुस्। टर्कीको भिसा लिने लाइनमा पनि बस्नु पर्दैन। अनलाइन लिन मिल्छ। मसँग तपाईंको सबै कागजपत्रको सफ्ट कपी छ। म भिसा यहीँबाट लिइदिएर तपाईंलाई १० मिनेटमै इमेल गर्छु। बाहिर बस्ने होटलको पनि चिन्ता नलिनुस्। अनलाइन बुक गरेर म तपाईंलाई डिटेल्स पठाइहाल्छु। होटलमा पुगेपछि तपाईंलाई चाहिने पैसाको पनि व्यवस्था गरौंला।'
ढुक्कका सबै कुरा गरेपछि अन्तिममा चाहिँ उनले एउटा दुःखको कुरा गरे। त्यो कुरा सुनेर मेरो ढुकढुक झन् बढ्यो। उनले भने, 'गुरु, होटलसम्म पुग्ने ट्याक्सीलाई तिर्ने पैसा पो के गर्नु? फेरि निक्कै रात पर्यो। इस्तानबुल राती अलि डरमर्दो छ भन्ने सुनेको छु।'
खस्रक्क परेर मैले भनेँ, 'मसँग त १९ युरो मात्रै छ। अनि नेपाली एक हजार।'
आशलाग्दो स्वरमा उनले भने, 'गुरु, तपाईंको डकुमेन्टहरूको क्लियर ब्याग हेर्नुभयो? यहाँ बिक्री भएका किताबको पैसा त त्यसमा थियो जस्तो लाग्छ त!'
क्लियर ब्याग हेरेँ। कागजका टुक्राहरूको भीडमा केही भिन्न कागजका टुक्राहरू रहेछन्- २५० युरो।
पैसाले केही जोर आँट किनेँ। एयरपोर्टबाट बाहिर निस्किएँ।
मलाई एयरपोर्ट बाहिर निस्कन पाए सब ठीक हुन्छ जस्तो लागेको थियो।
बाहिर निस्कने बित्तिकै त्यहाँ पनि हाम्रो बसपार्कमा यात्रुलाई एउटाले अनि यात्रुको झोलालाई अर्कोले तानेझैं गरे। सुवासले पठाएको होटलको डिटेल्स देखाएँ। एउटा झुर अंग्रेजी बोल्ने मान्छे १२० युरोदेखि ल्याङल्याङ गरेर अन्तिममा ६० युरोमा मान्यो। होटल पुग्न एक घन्टा लाग्छ भन्यो। राती साढे दस बजिसकेको थियो। तर म खासै डराएको थिइनँ।
मलाई बाहिर निस्कन पाए सब ठीक हुन्छ जस्तो लागेको थियो।
तर त्यो मान्छेले केहीबेर हिँडाएर जब मलाई ट्याक्सी भएको ठाउँमा पुर्यायो, त्यसपछि चाहिँ केही यस्तो भयो जुन कुनै जिउँदो मान्छे जिउँदै भोग्न चाहँदैन।
मलाई जसले बाहिर ल्यायो त्यसले एउटा ट्याक्सीभित्र मलाई र मेरो झोलालाई हाल्यो। ढोका बन्द गर्यो। त्यो ट्याक्सीभित्र त अर्कै ड्राइभर रहेछ। मैले उसको अनुहार स्पष्ट देखिनँ। मलाई त्यहाँ ल्याउने मान्छे ड्राइभरको झ्यालमा गयो। उनीहरू मैले नबुझ्ने टर्कीस भाषामा विस्तारै के-के सल्लाह गर्न थाले। त्यो सल्लाह एकछिन पछि यति चर्को झगडामा परिणत भयो, उनीहरूको आवाजले थर्किएर मेरो मुटु काम्न थाल्यो। मैले त्यो भाषा नबुझ्ने भएकाले उनीहरू के सल्लाह गर्दैछन् भन्ने केही थाहा पाइनँ।
मलाई त्यो मान्छेले पुर्याउँछ भन्ने आश लिएर म जाँदै थिएँ जसले बोल्ने भाषा म बुझ्दिनँ।
आधा घन्टा झगडा गरेपछि ट्याक्सी हिँड्यो। के कुरामा सल्लाह मिल्यो भन्ने पनि थाहा पाइनँ। उसले ट्याक्सी यस्तरी कुदाउन थाल्यो कि केही मिनेटमै मेरो सातो गयो। किलो उखेलेर भागेको राँगो जसरी ट्याक्सी बेलाबेला सडकको एकातिर त कहिले अर्कोतिर पुग्न थाल्यो।
एकैछिन पछि उसले रिसाउँदै आफ्नो मोबाइल ट्याक्सीभित्रको मोबाइल अड्याउने ठाउँमा राख्यो। एक हातले जथाभावी स्टेरिङ घुमाउन थाल्यो। अनि अर्को हातले त्यो मोबाइलमा नांगा केटीहरूका फोटा एकपछि अर्को गर्दै हेर्न थाल्यो। र, झन् रिसले ती नांगा फोटाहरू छिटोछिटो सार्न थाल्यो।
ऊ मसँग एकै शब्द नबोली पनि मैले ऊ रिसाइरहेको थाहा पाइरहेको थिएँ। मैले एकै शब्द नबोली पनि म डराइरहेको उसले थाहा पायो कि पाएन होला?
सानोमा राती घरको तल पिसाब फेर्न गएर फर्किँदा भर्याङमा कसैले खुट्टा तान्छ कि भन्ने डर लाग्थ्यो। म भर्याङभरी साह्रो-साह्रो आवाजमा गीत गाउँथेँ। आफ्नै आवाज सुनेर डर हराउँछ कि जस्तो लागेर मैले त्यो ट्याक्सी ड्राइभरलाई सोधेँ, 'सर, ह्वेन विल वी रिच (सर हामी कतिखेर पुग्छौं)?
नसुनेझैं ऊ बोलेन। अनि मैले अलि साह्रो स्वरमा सोधेँ। अनि त उसले रिसाएर अलिकति पछाडि फर्किएर हातको इशाराले 'चुप' भन्यो।
ओठमा औंला लगेर रिसले औंलालाई ओठमा दल्नुको अर्थ नेपालमा जे हुन्छ अरूको देशमा पनि त्यही होला भन्ने बुझेँ।
इशाराका यस्तै बुझाइहरू डरलाग्दा हुन्छन् भनेरै होला हाम्रा पुर्खाहरूले भाषा बनाएका।
मलाई चुप लाग भनेपछि ऊ फेरि ती नांगा केटीहरूलाई मोबाइलको स्क्रिनमा छुन थाल्यो। गोजीबाट अर्को फोन निकालेर अर्को कोही मान्छेसँग सल्लाह गर्न थाल्यो। केहीबेरमै त्यो सल्लाह यति चर्को भयो कि ऊ चिच्याएको थर्कनले मेरो मुटु काम्न थाल्यो। फोनमा उता को थियो, उसले के भन्यो, मैले केही थाहा पाइनँ। फोन राखेर झन् रिसले उसले ट्याक्सी हुइँक्याउँदा त ट्याक्सी त्यस्तरी हल्लियो जसरी राँगालाई मार्न बञ्चरोले टाउकोमा हानेपछि रन्थनिएको राँगो हल्लिन्छ।
आफ्नै आवाज सुनेर डर हराउँछ कि जस्तो लागेर मैले त्यो ट्याक्सी ड्राइभरलाई सोधेँ, 'सर, ह्वेन विल वी रिच (सर हामी कतिखेर पुग्छौं)?
अब चाहिँ उसले हातका सबै औंला उठाएर रिसाउँदै भन्यो, 'नो इन्लिस्।'
यति सुनी सक्दानसक्दै कसैले राती भर्याङबाट मेरो खुट्टा तान्न थालेजस्तो भयो।
अहिलेसम्म म मलाई त्यो मान्छेले पुर्याउँछ भन्ने आश लिएर जाँदै रहेछु जसले मैले बोल्ने भाषा बुझ्दैन।
अनि यसपालि जब उसले फेरि कसैलाई फोन घुमायो तब मेरो दिमाग घुम्न थाल्यो। लोकसेवा आयोगको तयारी गर्दा मैले टर्कीको इस्तानबुलका बारेमा पढेको-सुनेको सबै कुरा झल्झली दिमागमा आयो। पढेको-सुनेको थिएँ कि यो ठाउँ आतंकवादी योजना बनाउने र मानव तस्करी गर्ने केन्द्र हो। यहाँ हिँड्दा हिँड्दैको मान्छेलाई अपहरण गरेर उसका शरीरका अंगहरू झिकिन्छन्।
यो सम्झिँदा सम्झिँदै उसले झ्याप्प कुनामा ट्याक्सी रोक्यो। मेरो सास रोकियो। फोनको त्यो मान्छेसँग ठूलो स्वरमा हाँस्दै कुरा गर्न थाल्यो। बेलाबेला अलिकति फर्केर मलाई हेर्न थाल्यो। अनि फोनमै बोल्दै फेरि ट्याक्सी घुइँक्यायो।
मलाई बाहिर जान पाए सब ठीक हुन्छ जस्तो लागेको थियो।
उसले यति चाँडो ट्याक्सी कुदाएको डेढ घन्टा हुन लागेको थियो। तर एक घन्टामा पुगिन्छ भनेको ठाउँ पुग्ने छाँटकाँट थिएन। कति बज्यो होला भनेर मैले मोबाइल हेरेँ।
मेरो मोबाइल मरिसकेको रहेछ।
मूलबाटोबाट केही मिनेट पर लगेर उसले ट्याक्सी झ्याप्प रोक्यो। त्यो मध्यरातमा न वरिपरि मान्छे न गाडी। छेउमा जे देखेँ मेरो जिउ थरर काम्यो। छेउमा सेता चिहानै चिहान भएको चिहानघारी रहेछ। चिहानघारीमा दर्जनौं साना जन्तु हिँडिरहेको देखेँ। ती सबै बिराला रहेछन्।
रोकिएको ट्याक्सीमा ऊ कोहीसँग बोलिरहेको छ। मैले के-के भनेर बोलाएँ, ऊ मतिर नफर्की फोनमै बोलिरहेछ। थाहा छैन कोसँग। थाहा छैन के।
आत्तिएर लल्याकलुलुक भएको मेरो मनले भनिरहेको थियो- यसले अंग्रेजी बुझ्ने भए पनि बरू म यसको घन्टौं तारिफ गर्थेँ। केटाको तारिफमा आजसम्म एउटा पनि कविता लेखेको थिइनँ तर उसको तारिफ गर्थेँ।
मध्यरात त्यो चिहानघारीमा म प्रार्थना गरिरहेको थिएँ– एयरपोर्टभित्र जान पाए सब ठीक हुने थियो।
त्यो कालो अँध्यारो ट्याक्सीभित्र मैले जति बोलाउँदा पनि ऊ मतिर फर्किँदै नफर्की फोनमा झन् साह्रो हाँसेको देखेपछि मलाई पक्का भयो- अब यिनीहरूले छानीछानी मेरो शरीरका अंगहरू निकाल्छन्।
म चिहानघारी पुर्याइएको थिएँ। मान्छे पुग्ने अन्तिम ठाउँ पुर्याइएको थिएँ। तर जिउँदै।
जिउ चिहानघारीमा पुगेका बेला पनि मनले चाहिँ 'रकस्टार' भन्ने फिल्मको एउटा गीत सम्झियो-
कागा रे कागा रे मोरी, इतनी अरज तोसे
चुन चुन खाइयो मांस
अरजिया रे, खाइयो ना तू नैना मोरे
खाइयों ना तू नैना मोहे
पिया के मिलनकी आश
(हे काग!
खा!
मेरा शरीरका एक-एक अंगहरू छानीछानी खा!
तर मेरो यति बिन्ती सुनिदे
मेरा आँखा नखाइदे
मेरा यी आखामा मेरी मायालाई एकचोटि देख्छु भन्ने आश अझै बाँकी छ।)
मैले सोचेँ- यदि यिनीहरूले मेरो बिन्ती सुनिदिने भए म मेरो कुन अंग बचाइदेऊ भन्ने थिएँ होला?
सायद म पनि आँखा नै रोज्ने थिएँ होला।
बरू निकालेर लगून् मेरो जिब्रो। बरू मलाई सुन्नेहरूले सुन्न नपाऊन् मेरा कविताहरू।
बरू काटेर लगून् मेरा हात। बरू मलाई पढ्नेहरूले पढ्न नपाऊन् यस्तै लेखहरू।
तर मेरा आँखा छोडिदिऊन्।
मर्नुअघि एकचोटि धित मरुन्जेल रुन मन छ।
मैले आफ्नो अन्तिम इच्छा सोचिसक्न पनि नपाउँदै अगाडि फर्किरहेको बिरालोले १८० डिग्री फनक्क टाउको पछाडि घुमाएरजसरी त्यो ड्राइभरले टाउको घुमायो। ट्याक्सीभित्र कुनै बत्ती बलेको थिएन। उसको हातको मोबाइलको स्क्रिन उसको मुखतिर फर्किएको रहेछ। बाँकी अँध्यारोमा मोबाइलको लाइटले उसको अनुहार उज्यालो देखियो। यतिका बेरसम्म मैले उसको पूरा अनुहार देखेको थिइनँ। बल्ल देखेँ। उसको मुख भर्खरै मुसो मारेर खाइसकेको बिरालोको जस्तो रातो थियो। उसका आँखाले भर्खरै रातलाई मारेर खाइसकेका जस्ता थिए।
मलाई ननिदाई ऐंठन भएजस्तो भयो।
उसले मलाई लगातार एक मिनेटभन्दा लामो समय एकोहोरो चुपचाप हेरिरह्यो। उसले मलाई यसरी हेरेको देख्ने नजिकैको चिहानघारी भित्रका मरेका मान्छे र बिरालाबाहेक कोही थिएनन्। ट्याक्सीभित्र त सबैतिर अँध्यारो नै थियो। मोबाइलको स्क्रिनको लाइटले म उसको अनुहार देखिरहेको थिएँ। मोबाइलकै भए पनि अलिकति जिउँदो उज्यालो बाँकी थियो। त्यो उज्यालो पनि हेर्दाहर्दै झ्याप्प मर्यो।
रातको अनुहार अँध्यारो भयो।
यो लेखको अन्तिम भागः चिहानबाट बाँचेर फर्किँदा