हालसम्मको तथ्यांकले नेपालमा झन्डै ९९.७ प्रतिशत कोरोना संक्रमितमा लक्षण नभएको देखाएको थियो। तर अहिले लक्षणसहितको संक्रमित देखा पर्न थालेका छन्।
यसले गर्दा कोरोना लक्षणविहीनबाट लक्षण सहितको संक्रमणमा अचानक ‘ट्वीस्ट’ भएको हो?
हाल रुघाखोकी र ज्वरो देखिएमा सिधै कोरोनाको आशंका गरिन्छ। कोरोनाको महामारी भएकोले यस्तो सोच्नु स्वाभाविक पनि हो। जसकारण त्यस्ता बिरामीलाई कोरोनाको परीक्षण गर्ने गरिन्छ र पोजिटिभ देखिए कोरोना पुष्टि गरिन्छ।
तर नेपालमा विभिन्न संक्रामक रोगहरू पनि देखिन सुरू भइसकेको छ। ती संक्रामक रोगको लक्षण पनि कोरोना भाइरससँग मिल्दोजुल्दो हुने गर्दछ। विशेषत डेंगु, स्क्रब टाइफस, फ्लू भाइरस कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो हुन्छन्।
यसमा पनि फ्लू भाइरसको लक्षण, सर्नॆ तरिका र बच्ने उपाय कोरोनासँग धेरै समानता पाइन्छ।
नेपालमा फ्लू भाइरस विशेषत फागुन-चैत र साउन-भदौ गरी वर्षमा दुईपटक बढी सक्रिय हुने गरेको तथ्यांकले देखाउँछ।
साउन-भदौ लाग्दै गर्दा बिस्तारै केही दिनयता फ्लूजस्तो लक्षणहरू देखिँदै आइरहेको छ।
अहिले कोरोनाको समस्या नभएको भए चिकित्सकहरूले फ्लूबाट बच्ने सल्लाह/सुझाव दिइरहेका हुन्थे। हालसम्म लक्षणविहीन देखिँदै आइरहेको कोरोनामा फ्लूको सिजन आएसँगै अचानक लक्षण सहितको कोरोना देखियो भनिएकाले फ्लूको परीक्षणलाई पनि सँगसँगै लग्नुपर्ने देखिन्छ।
यसअघि कोरोनाको संक्रमितहरूमा लक्षण देखिँदैन थिए र त्यस्तै हाल फ्लूको परीक्षण पनि हुने गरिएको छैन।
कोभिड-१९ को पहिलो केस माघ महिनामा देखिएको थियो र त्यो बेलामा रुघाखोकी, ज्वरो देखिँदा कोरोनाको होइन फ्लूको परीक्षण गरिन्थ्यो। फ्लू पोजिटिभ आउने बित्तिकै त्यसैअनुसार उपचार वा परामर्श दिने गरिन्थ्यो।
दुबै भाइरसले लक्षणविहीनदेखि निमोनियासम्म गराउने र यसैको जटिलताले गर्दा मृत्यु समेत हुने गर्दछ।
अमेरिका, बेलायतजस्ता विकसित देश कोरोनाको महामारी मत्थर हुनुपूर्व फ्लूको सिजन (जाडो महिना) सुरू भए ठूलो क्षति हुने प्रक्षेपण गरिसकेका छन्।
नेपालमा भने यी दुवै भाइरस सँगसँगै ढोकै अगाडि आइसकेको छ।
फ्लू देखिन सुरू भएको हो भने यस विरूद्धको खोप जोखिममा पर्ने समूहहरू वृद्धवृद्धा, दीर्घरोगी तथा बालबालिकालाई स्वास्थ जटिलताबाट बचाउन लगाउनुपर्छ। अमेरिकामा मात्र वर्षेनी ६० हजार जनाको फ्लूको जटिलताले मानिस मर्ने गरेको तथ्यांकले देखाउँछ। तसर्थ डर कोरोनाको, संक्रमण फ्लूको हुनुहुँदैन।
लकडाउन खोलेसँगै नेपालमा मानिसको आवतजावत ह्वात्तै बढेको छ।
देशका विशेष गरेर कोरोना ‘हटस्पट’ भनिएका ठाउँहरू तथा भारतबाट मानिसहरूको ठूलो आवतजावत भइरहेको छ तर सुरक्षाका मापदण्डहरू भने पूर्ण रूपमा पालना गरेको देखिँदैन।
संक्रमितको संख्या स्थिर देखिए पनि समुदायस्तरमा परीक्षणको दायरा बढाइ नसकेकाले कोरोनाको वास्तविक चित्र आउन अझै बाँकी छ।
लकडाउन अगाडिभन्दा लकडाउन पछिको अवस्थालाई हेर्दा कोरोनाको जोखिम ह्वात्तै बढेको छ। यस्तो अवस्थामा कोरोना संक्रमितमा लक्षण देखिन सुरू भएको हो भने हालसम्म देखिएको अवस्था भन्दा जटिल परिस्थिति आगामी दिनमा सृजना नहोला भन्न सकिँदैन।
झन्डै २.२ प्रतिशत लक्षणविहीन संक्रमितले अरुलाई संक्रमण सार्न सक्दछ भने १५.४ प्रतिशत लक्षण भएका संक्रमितले कोरोनाको संक्रमण अरुलाई सार्न सक्ने अनुसन्धानहरूले देखाएको छ।
लक्षणविहीन भन्दा लक्षण सहितको संक्रमितले कैयन् गुणा बढी संक्रमण अरुमा सार्न सक्ने क्षमता राख्दछ भन्ने हो।
यसले गर्दा स्वभाविक रूपमा बढी संक्रमितहरू उपचारको लागि अस्पताल पुग्नुपर्ने अवस्था हुनेछ। यसैको अनुपातमा मृत्युको दर पनि बढ्न सक्ने छ।
हालै 'नेचर' भन्ने प्रसिद्ध जर्नलमा 'साइलेन्ट कोभिड-१९' अर्थात् 'लक्षणविहीन कोरोना भाइरस' कोभिड-१९ व्यापक फैलनु भन्दा अगाडिको अवस्था देखिन सक्ने निष्कर्ष सहितको अनुसन्धान लेख प्रकाशित भएको थियो।
नेपालमा पनि हालसम्म लक्षणविहीन कोरोना भाइरस देखिएको अवस्थामा आगामी दिनमा कडा कोभिड-१९ व्यापक हुने हो कि! भनेर यस अनुसन्धानको लेखलाई आधार मानेर अनुमान गर्न सकिन्छ।
कोरोनामा वास्तविक ‘ट्वीस्ट’ आएको हो वा होइन भनेर हेर्न केही हप्ता अगाडि र आगामी दिनमा देखिने भाइरसको जीनको विश्लेषण गरेर पनि हेर्न सक्दछौं।
कोरोना ‘प्यान्डेमिक’ अवधि भरमा पनि भाइरसको जीनमा परिवर्तन देखिँदै गएको वैज्ञानिकहरूले पुष्टि गर्दै आइरहेका छन्।
नेपालमा पनि केही महिनायता लगातार कोरोना भाइरस देखिँदै गर्दा कोरोनाको जीनमा पनि परिवर्तन भइरहेको वा भइसकेको हुनसक्छ। तर यसको पुष्टिको लागि अनुसन्धान नै गर्न जरुरी हुन्छ।
जीनमा परिवर्तन हुँदा भाइरस सर्नॆ सक्ने क्षमता, रोगको कडापन/नरमपन र त्यस्तै आफूलाई समय तथा वातावरण अनुकूल ढाल्दै लग्ने सक्ने क्षमतामा विकास गर्दै लैजान सक्नेछ।
हाल नेपालमा कोरोना संक्रमितमा देखिएको भनिएका लक्षण भने चीनको वुहानमा वर्णन गरिए जस्तो देखिन्छ। अर्थात् ज्वरो, खोकी र स्वासप्रस्वासमा कठिनाइ भन्न खोजिएको हो।
कोरोना भाइरसले विश्व फन्को मार्दै गर्दा संक्रमितमा थप अरु स्वास्थ्य समस्या देखिएका छन्।
मुटु, स्नायु प्रणाली, मिर्गौला आदि अंगहरूमा पनि कोरोनाको असर देखिएको विभिन्न वैज्ञानिक लेखमार्फत् सार्वजनिक भैसकेको छ।
रगत जम्ने समस्या पनि देखिएको छ। तर नेपालमा वुहानमा देखिएजस्तो स्वासप्रस्वाससँग सम्बन्धी जटिलता मात्र देखिन्छ कि अरु थप अंगलाई पनि प्रभाव गर्छ भनेर आगामी दिनमा चिकित्सकहरूले अनुसन्धान गर्नुपर्ने हुन्छ।
केही समय अगाडि गंगालाल हृदयरोग अस्पतालमा उपचारमा गएका केही बिरामीमा कोरोना संक्रमण देखिएको सार्वजनिक भएको थियो।
बिरामीहरूमा ज्वरो, रुघाखोकी नदेखिएकाले लक्षण थिएन भनिए पनि ती बिरामीलाई अस्पताल भर्ना गराउनुमा कोरोना भाइरसको भूमिका थियो कि भनेर पनि हेर्न सकिन्थ्यो।
किनभने कोरोना भाइरसले गर्दा मुटुको धड्कन अनियमित हुने, एक्युट कोरोनारी सिन्ड्रोम, भेनस थ्रोम्बो एम्बोलिजम आदि मुटुसँग सम्बन्धित रोग देखिने सक्ने अनुसन्धानहरूले देखाइसकेको छ।
लक्षणयुक्त कोरोना हो भन्नको लागि अरु संक्रमणको परीक्षणलाई पनि सँगसँगै लैजानु पर्ने हुन्छ। हाल नेपालमा मौसमी संक्रामक रोग देखिने क्रम बढ्दो छ।
अझ नेपालमा यो महिना फ्लूको भाइरस देखिने समय पनि हो। ज्वरो आउने, खोकी लाग्ने, घाँटी खसखस गर्ने, नाकबाट पानी बग्ने, शरीर दुख्नेजस्ता लक्षण केही दिनयता काठमाडौं लगायत देशका विभिन्न भागमा देखिने क्रम सुरू भैसकेको छ।
यी लक्षण कोरोनासँग मिल्दो जुल्दो हुने गर्दछ।
तसर्थ फ्लू, डेंगु, स्क्रब टाइफसजस्ता संक्रामक रोग पनि पुष्टि गर्दै लैजानु पर्दछ। यदि ती संक्रामक रोग पुष्टि नभएको अवस्थामा भने कोरोनाले लक्षण देखाउन थालेछ भन्न सकिने छ।
त्यसै अनुरूप आगामी दिनको योजना तयार गर्ने र तत्काल त्यसलाई कार्यान्वयन गर्नुपर्छ।
लक्षणविहीनभन्दा लक्षण सहितको कोरोना समाजमा तीव्र गतिमा फैलिन्छ।
जसले गर्दा परिस्थिति अहिलेको भन्दा भिन्न अथवा नियन्त्रण बाहिर जानसक्छ।
लेखक शुक्रराज ट्रपिकल तथा सुरूवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्।