केही दिनयता संक्रमितको संख्या तुलनात्मक रूपमा कमी आइरहेको छ। मानिसहरू पनि कोरोना कम भयो भनेर निस्फिक्री हिँडिरहेका देखिन्छन्।
अझ केही दिन अगाडि काठमाडौंको समुदायस्तरमा ४८ सय जनामा कोरोना परीक्षण गर्दा जम्मा तीन जनामा संक्रमण देखिएपछि मानिसहरूले झन् ढुक्क महशुस गरेको देखिन्छ।
तथ्यांक आफैंमा शुभ संकेत हो। तर के अब हामी पूर्ण रूपमा ढुक्क हुनुपर्ने अवस्था आइपुगेको हो? यो तथ्यांकले वर्तमान अवस्थामा काठमाडौंमा कोरोनाको गम्भीर अवस्था छैन भनेर देखाउँछ।
हामीले तीन प्रश्नहरूको उत्तर खोज्नु पर्ने आवश्यकता छ।
पहिलो कोरोनाको वर्तमान अवस्था के छ? दोस्रो के कोरोना भित्रभित्रै फैलिएर सकिएको हो? र तेस्रो आगामी दिनमा कोरोना फैलिने जोखिम कति छ? यी तीन प्रश्नमध्ये पिसिआर परीक्षणले पहिलो प्रश्नलाई मात्र सम्बोधन गर्छ। जुन हाल संक्रमण व्यापक छैन भन्ने संकेत गरेको छ।
दोस्रो प्रश्नको उत्तर थाहा पाउन समुदायमा कोरोना भाइरसविरूद्धको एन्टिबडीको अवस्था थाहा हुनुपर्छ।
तेस्रो कोरोना फैलिने जोखिम कति छ भन्ने चाहिँ आगामी विकसित हुने घटनाक्रमले नै देखाउने छ।
कोरोना भाइरस आफैं फैलिने होइन। यो संक्रमितको मध्यमबाट समुदायसम्म पुग्ने हो। नेपालमा सुरूआती दिनहरूमा संक्रमितहरूको संख्या कम, व्यवस्थित क्वारेन्टिन तथा आइसोलेसन हुँदा संक्रमितबाट अरुमा सरेको देखिएन। तर भारतबाट आउनेहरूमा संक्रमण देखिन थालेपछि 'लोकल ट्रान्समिसन' स्थानीय प्रसारणको चरणमा पुग्यो।
पछि केही ठाउँहरूमा ‘क्लस्टर’ केस पनि देखापर्यो। यस्ता घटना काठमाडौं बाहिर देखिएका थिए। काठमाडौंमा ठूलो जनघनत्व भएकाले अरु ठाउँभन्दा बढी जोखिम देखिन्छ।
आजको मितिसम्म काठमाडौंमा कोरोना समुदायस्तरसम्म व्यापक पुगेको त देखिँदैन तर ढुक्क हुने अवस्था पनि छैन। केही समययता लकडाउन खुकुलो पारेसँगै काठमाडौंमा कोरोना संक्रमित नियमित देखिन थालेको छ। त्यसमा पनि कतिपयमा ट्राभल हिस्ट्री नै छैन। यसले कोरोना काठमाडौंमा व्यापक नभए पनि समुदायमा पुगेको संकेत भने गर्छ।
केही साता अगाडिसम्म घरबेटीले कोरोनाको पिसिआर गर्न पठाएकाहरू अधिकांशले कार्यालयमा उपस्थित हुन काठमाडौं आइपुगेको भन्ने गरेका थिए। अर्थात् उनीहरू बढी सतर्क देखिन्थे भने अधिकांश कार्यालयमा नै समय बिताउनेहरू थिए। त्यो बेलासम्म सार्वजनिक यातायात नचलेको र यसले गर्दा व्यक्तिगत दूरी कायम हुने सम्भावना बढी हुँदा संक्रमण फैलिने जोखिम कम थियो।
यसैबीच एक चरणको समुदायस्तरको पिसिआर परीक्षण पनि सकिसकेको र उक्त नतिजाको आधारमा कोरोना समुदायमा नफैलिएको निष्कर्ष पनि निकालिएको छ। तर पिसिआरको नतिजाले नमूना लिएको समयमा कोरोना संक्रमण थियो वा थिएन भनेर देखाउने मात्र हो। अर्थात् आगामी दिनहरूमा कोरोना संक्रमण हुँदै हुँदैन भनेर ढुक्क भएर बस्ने अवस्था भने होइन।
हाल केही दिनयता अलि फरक उद्धेश्यका साथ काठमाडौं आउनेहरूको घुइँचो देखिन थालेको छ। जो आगामी दिनहरूमा समुदायका मानिसहरूसँग प्रत्यक्ष सम्पर्कमा आउनेहरू हुन्।
अधिकांश नेपालमा कोरोना हटस्पट भनिएका ठाउँहरूबाट आइरहेका छन् भने केही भारतमा बसोबास गर्नेहरू छन्। उनीहरू फुटकर व्यापारीहरूदेखि घर निर्माणमा काम गर्ने छन्। अर्थात् उनीहरूसँगको भेट जो कोहीको पनि कुनै तरकारी,फलफूल,मासु बजारमा वा घर निर्माण कार्यहरूमा हुनसक्छ।
१४ दिनको होम-क्वारेन्टिनमा बस्न अनुरोध गरिएको भए पनि दैनिक ज्यालादारी गर्ने भएकाले साथै उनीहरू क्वारेन्टिनमा बसे/नबसेको अनुगमन पनि नहुने भएकाले कोरोनाको जोखिम आगामी दिनमा बढ्दै जानेछ।
हाल उपलब्ध राष्ट्रिय परीक्षण निर्देशिकाले गर्दा लक्षण नभएकाहरू परीक्षणको दायरामा नआउने र अधिकांश संक्रमितहरूले लक्षण पनि नदेखाउने सहजै उनीहरू समुदायसम्म सहजै पुग्नेछन्।
काठमाडौंको समुदायस्तरमा गरिएको पहिलो चरणको कोरोना परीक्षणको नतिजा आफैंमा राम्रो संकेत भएता पनि उक्त परीक्षणले आगामी दिनको जोखिमलाई प्रतिबिम्बित गर्दैन।
यो परीक्षण हुनुअघि र हाल देखिँदै आइरहेको जोखिमको अवस्थामा भने भिन्नता देखिन सुरू भएको छ। अर्थात् हाल कोरोनाको जोखिम पहिलेको भन्दा बढ्दै गइरहेको छ।
परीक्षण अगाडिसम्म काठमाडौंमा अरु ठाउँहरूको भन्दा तुलनात्मक रूपमा कम संक्रमित संख्या थियो। सार्वजनिक यातायात पनि सुचारू भैसकेको थिएन।
काठमाडौंमा तेस्रो मुलुकबाट आउनेहरूको लागि होल्डिङ सेन्टरहरूको व्यवस्था गरिएको भएता पनि नेपालका अरु भू-भागबाट आउनेहरूका लागि भने त्यस्तो व्यवस्था गरिएको छैन।
दैनिक गुजाराको लागि ज्यालादारी/काम गर्नुको विकल्प नहुँदा चिकित्सकले अनुरोध गरेझैं १४ दिन होम-क्वारेन्टिको पनि पालना गरेको देखिँदैन।
तसर्थ आगामी दिनहरूमा समुदायस्तरको परीक्षणलाई निरन्तरता दिनुपर्ने हुन्छ।
लकडाउन खुकुलो भएसँगै सार्वजनिक यातायात तथा कार्यालयहरू सुचारु हुने र समुदायमा व्यापार व्यवसाय चलायमान हुँदै जाँदा कोरोनाको जोखिम पनि बढ्दै गइरहेको छ।
तसर्थ 'डु नट इग्नोर' कोरोना!
लेखक शुक्रराज ट्रपिकल तथा सुरूवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्।