कोरोना भाइरसको संक्रमण नेपालमा देखा परेसँगै र्यापिड वा पिसिआर कुन टेस्ट प्रयोग गर्ने भन्नेमा ठूलो विवाद र बहस चल्दै आइरहेको छ।
कोभिड-१९ को लागि तयार पारिएको राष्ट्रिय परीक्षण निर्देशिकामा उल्लेख गरिएअनुसार पिसिआर टेस्ट रोग निदान र र्यापिड टेस्ट सर्भिलेन्स तथा अनुसन्धान उद्धेश्यको लागि प्रयोग गर्नुपर्ने भनिएको छ।
र्यापिड टेस्टले संक्रमित व्यक्तिमा 'एन्टिबडी' रोग प्रतिरोधात्मक क्षमता विकास भए/नभएको पत्ता लगाउँछ। त्यसैले क्वारेन्टिनको बसाइँ सकिएपछि र्यापिड टेस्टको प्रयोग गरिन्छ। तर हाल मानिसहरूमा र्यापिड टेस्टमाथि विश्वास नभएकाले अहिले पिसिआर परीक्षणलाई नै व्यापक बनाउनुपर्ने देखिन्छ।
नेपालमा पिसिआर भन्दा र्यापिड टेस्ट नै बढी हुने गरेको छ। अहिले कुल जनसंख्याको एक प्रतिशतमा र्यापिड टेस्ट गरिसकिएको छ। प्रत्येक दिन पिसिआर परीक्षणको नतिजा सार्वजनिक गरिए पनि र्यापिड टेस्टको नतिजा सार्वजनिक हुने गरेको छैन। मतलब अहिलेसम्म कति जनामा कोरोना विरूद्धको एन्टिबडी विकास भइसक्यो भन्ने तथ्यांक सार्वजनिक गरिएको छैन।
अहिले प्रयोग भइरहेको र्यापिड टेस्ट किटले आइजिएम र आइजिजी गरी दुई प्रकारको एन्टिबडी देखाउने गर्छ। कोरोनाको संक्रमण भएपछि आइजिएम सामान्यतया आठदेखि दश दिनमा विकसित हुन्छ भने आइजिजी दुई हप्तापछि देखिन सुरू हुन्छ।
आइजिजी धेरै जसो लामो समयसम्म (कुनैमा आजन्म) संक्रमितमा देखिने गर्दछ। यसले सोही प्रकृतिको संक्रमण दोहोरिएमा शरीरलाई रोग लाग्नबाट रक्षा गर्ने गर्छ। तर सबै संक्रमणहरूमा यस्तो हुँदैन
कोरोनाभाइरस अन्तर्गतको सार्स र मर्स संक्रमणका एन्टिबडी लगभग एक वर्षसम्म रहने गर्दछ। तर कोभिड-१९ को एन्टिबडी भने दुई देखि तीन महिनापछि नै हराउने प्रारम्भिक अनुसन्धानहरूले देखाएको छ।
कोभिड-१९ को एन्टिबडीले संक्रमण दोहोरिएमा रोक्न सक्छ/सक्दैन, शरीरमा रहने अवधि, सबै उमेरकाहरूमा (वृद्ध, बालबालिका वा युवामा) एन्टिबडी विकास हुन्छ/हुँदैन र बने पनि त्यसको मात्रा एकै हुन्छ/हुँदैन भन्ने ठोस प्रमाण भने छैन।
कतिपय युरोपेली देशहरूले कोरोना विरूद्धको एन्टिबडी विकसित भए त्यस्ता व्यक्तिलाई 'इम्युनिटी पासपोर्ट' वा प्रमाणपत्र दिने र आफ्नो दैनिकीमा फर्कन सक्ने गरी अनुमति दिने (लकडाउन भए पनि) बारेमा विचार र बहस गर्दै आइरहेको छ।
तर कोभिड-१९ को एन्टिबडीबारे थप तथ्यहरू आउन बाँकी रहेको र आवश्यक प्रमाणहरू नजुटाएसम्म त्यस्तो नियम लागू गरे परिणाम भयावह हुनसक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्।
हाल नेपालमा प्रयोगमा ल्याइएको र्यापिड टेस्ट किटको गुणस्तर बारेमा अध्ययन भैसकेको भएता पनि सार्वजनिक गरिएको छैन। यसले संक्रमण पहिचान गर्ने क्षमता पचास प्रतिशत भएको विभिन्न संचारमाध्यमहरूले नेपाल स्वास्थ अनुसन्धान परिषद्लाई उद्धृत गर्दै लेखेको छ।
यद्यपि कति व्यक्तिमा (प्रतिशतमा) कोरोनाभाइरस साँच्चिकै (वास्तविक) छैन भनेर देखाउन सक्छ भन्ने जानकारी सार्वजनिक गरिएको छैन।
कतिपय क्वारेन्टिनमा रहेकाहरूमा र्यापिड टेष्ट गर्दा नेगेटिभ देखिएको तर पछि पिसिआर पोजिटिभ देखिएका प्रशस्त उदाहरणहरू छन्। यसले हाल प्रयोगमा रहेको र्यापिड टेस्ट किटको क्षमता कमजोर रहेको देखाउँछ।
र्यापिड टेस्ट किटले संक्रमित भएपछि शरीरमा विकास हुने एन्टिबडी पत्ता लगाउने मात्र नभइ पिसिआरले जस्तै जीवाणु नै छ/ छैन भनेर पत्ता लगाउने पनि हुन्छ। त्यस्तो र्यापिड टेस्ट किटलाई 'एन्टिजेन' टेस्ट किट भनिन्छ।
यो हालै अमेरिकामा प्रयोग गर्न त्यहाँको एफडिएले स्वीकृति दिएको छ भने अरु मुलुकहरू पनि प्रयोगमा ल्याउने योजनामा छन्।
पिसिआरको लागि समय, ठाउँ र तालिम प्राप्त जनशक्ति चाहिने हुन्छ भने र्यापिड टेस्टले द्रुत नतिजा दिने र जहाँ पनि सहज रूपमा प्रयोग गर्न मिल्छ। यो पिसिआर भन्दा सस्तो पनि हुन्छ।
यसमा पोजेटिभ देखाउने क्षमता बढी हुने भएकोले संक्रमण यकिन गर्न पुनः पिसिआर गर्नु पर्दैन।
तर यसले पहिचान गर्ने स्तर अलि कम हुने अथवा नेगेटिभ देखिँदैमा कोरोना छैन भनेर ढुक्क हुन् नसक्ने भएकोले पिसिआर गरेर मात्र निश्चित गर्नुपर्ने हुन्छ।
यसको प्रयोग विशेष गरेर फ्लूजस्तो लक्षण लिएर आउनेहरूमा, लक्षणविहीन तर गम्भीर प्रकृतिका रोगी (मुटु, क्यान्सरको उपचार गरिरहेका), वृद्धवृद्धामा र त्यस्तै सघन शल्यक्रिया गर्नुपर्ने बिरामीहरूमा अथवा मृगौला डायलाइसिस गरिरहेका बिरामीहरूमा कोरोनाको संक्रमण छ/छैन भनेर द्रुत गतिमा थाहा पाउन उपयुक्त हुनेछ।
नेपालमा हाल यो किट प्रयोगमा आइसकेको त छैन तर अधिकांश बिरामीहरूको शल्यक्रिया वा प्रसूती गर्नु अघि कोरोनाभाइरस छैन भनेर निश्चित गर्न पिसिआर रिपोर्टको माग गर्ने र अत्यधिक चापका कारण नतिजा पनि ढिलो आउने हुँदा भाइरस नै पत्ता लगाउने यस्तो र्यापिड टेष्ट किट (अन्तर्राष्ट्रिय मान्यता प्राप्त) प्रयोगमा ल्याउन सकिन्छ।
त्यस्तै, हाल नेपालको क्वारेन्टिनहरूमा भारतबाट आउनेहरूको चाप अत्यधिक भएको र पिसिआर गर्न (नतिजा पाउन) पनि लामो समय कुर्नुपर्ने भएकाले द्रुत जाँच गर्नसक्ने यो किटको प्रयोग प्रभावकारी रहने देखिन्छ। यसले पिसिआरले जस्तै संक्रमण भए/नभएको भनेर पत्ता लगाउँछ।
हाल विश्वका ठूला तथा धनी राष्ट्रहरूले यो महामारीका कारण अर्थतन्त्रमा ठूलो क्षति व्यहोर्नु परेको छ। तसर्थ उनीहरू 'हर्ड इम्युनिटी' को ब्यग्र प्रतीक्षामा छन्। अर्थात् संक्रमण विरूद्धको एन्टिबडीको पर्खाइमा छन्। अधिकांश संक्रमितहरू लक्षणविहीन अवस्थामा देखिएको र परीक्षण बिना एन्टिबडी विकास भए/नभएको थाहा नहुने भएकाले र्यापिड टेस्टको नतिजा नै हेर्नुपर्ने हुन्छ।
यद्यपि आजको मितिसम्म माथि उल्लेख गरिए झैं एन्टिबडीले संक्रमण दोहोरिएमा रोक्छ/रोक्दैन,शरीरमा रहने अवधि र सबै उमेरकाहरूमा उत्तिकै मात्रामा (वृद्ध, बालबालिका वा युवामा) एन्टिबडी बन्छ/बन्दैन भन्ने ठोस प्रमाण भने छैन।
तर पनि अन्तर्राष्ट्रिय मान्यता प्राप्त एन्टिबडी देखाउने र्यापिड टेस्ट किटको प्रयोग गरी संक्रमणपछि विकसित हुने एन्टिबडीको अवस्थाको अध्ययन र विश्लेषण गर्नसके भविष्यमा कोरोना भाइरस विरूद्धको योजना प्रभावकारी बनाउन मद्दत पुग्छ।
अझ नेपालमा लक्षणनै नदेखिने विशिष्ट प्रकृतिको कोरोनाभाइरस विरूद्धको एन्टिबडीको अनुसन्धान र त्यसको नतिजाको निचोड अन्तर्राष्ट्रिय स्तरमा पनि चासोको विषय हुनसक्छ।
* सच्याइएको