अहिले विश्वभरमा ‘काला जाति’को अधिकारको लागि आवाज उठिरहेछ।
‘काला जातिप्रति गरिने अपमान कानुनी र सामाजिक रूपमा ठिक होइन’ भन्ने शब्द सामाजिक सञ्जाल, सडकमा जताजतै देखिन्छन्। तर हाम्रो समाजमा कालो वर्णको महिला, पुरूषबारे अवहेलना गर्ने चलनबारे चाहिँ प्राय: कोही बोल्दैनन्।
हामी धेरैचोटि कुनै महिला वा पुरूषको सुन्दरताको वर्णन गर्नु परे भने भन्छौं ‘ओहो, कस्तो गोरो अनुहार धपक्क बलेको छ’ वा अपमान गर्नु परे भन्छौं ‘कस्तो हाँडीजस्तो कालो अनुहार ?’।
विशेषगरी विवाह गर्ने बेलामा भावी बुहारी हेर्न जानेहरूले ‘केटीको रंग’ कस्तो छ भनेर पहिलो प्रश्न हुन्छ। मानौं सेतो रंगमा नै संसार अडिएको छ। अहिले त ‘सेतो रंगको काला जादूले पुरूषहरूलाई पनि छोएको छ। त्यसैले शाहरूख खानले विज्ञापनमा युवकलाई गिल्ल गर्छन् र भन्छन् - के केटीको गोरो हुने क्रिम लगाएको? केटाहरू गोरो हुन त विशेष क्रिम लगाउनु पर्छ, ‘फेयर एण्ड ह्याण्डसम!’
अनि अहिले केटाहरूलाई पनि ‘गोरो’ हुनुपर्ने बाध्यता छ। यसले गर्दा यस्ता क्रिम बनाउने कम्पनीहरूको व्यापार बढेको छ। मानव जीवनको चाहिँ अवमूल्यन भएको छ।
‘गोरो भए पछि राम्रो श्रीमान पाइन्छ’, ‘गोरो भएपछि केटाहरूको पछाडि केटी झुमिन्छन्’, ‘गोरो हुने क्रिम लगाएपछि काममा पनि सफलता पाइन्छ’ भन्ने जस्ता गलत विज्ञापन पत्रपत्रिका र टिभीमा आउँछ र त्यसैलाई विश्वास गरेर महिला, पुरूष गोरो हुने क्रिम लगाउँछन् तर त्यसले हाम्रो छालामा, स्वास्थ्यमा कति नराम्रा असर पारिरहेको छ भन्ने कुरा हामीलाई पत्तो नै छैन।
शरीर विज्ञानले भन्छ- रंग गोरो वा कालो हुने भन्ने कुरा शिशु जन्मिँदाखेरी नै निर्धारित हुन्छ। गर्मी ठाउँमा वा जाडो ठाउँमा बस्ने मानिसको रंग पनि फरक हुन्छ। शरीरमा पाइने मेलानिन नामक तत्वको कारणले कोही गोरो कोही कालो हुन्छ। कालो वर्ण लिएर जन्मेका तर पछि आफ्नो छालाको रंग अनेक तरिकाले फेरेर गोरो बनेका प्रसिद्ध गायक माइकल ज्याक्सनको दुःखद कथामा गोरो रंग बनाउन उनले कति प्रयत्न गरे, शायद सबैलाई थाहा नै छ।
उनी आफ्नो कालो रंगबाट मुक्ति पाउन चाहन्थे र त्यसलाई अनेक शल्यक्रिया गरेपछि उनको छालाको रंग त परिवर्तन भयो। तर त्यो परिवर्तन गर्न शल्यक्रिया गर्दा पछि लगातारको दुखाइ उनको जीवनको अंग बन्यो। त्यो दुखाइ कम गर्ने औषधि नै उनको मृत्युको कारण बन्यो।
माइकल ज्याक्सनले शायद विचार गरेनन् कि उनको गीतमा झुम्मिनेहरूले उनको रंग होइन उनको स्वरको पछि लागेका हुन्।
कालो रंग नै भए पनि उनी सबैका प्रिय हुन्थे। नेपालमा कालो, गहुँगोरो, पहेंलो छालाको रंग जस्तो सुकै होस् स्वास्थ्य राम्रो हुनुपर्छ, छाला आफैं राम्रो देखिन्छ भन्ने छलफल हुँदैन।
अति बिरामी भएका व्यक्तिहरूले जतिसुकै क्रिम लगाए पनि उनीहरूको अनुहारमा कान्ति र चमक आउँदैन। स्वस्थ मानिसले दूधको ‘तर’ मात्रै लगाए पुग्छ। स्वस्थ युवक युवतीहरूले अुनहारमा अनेक किसिमका गोरोपनका क्रिम लगाउँदा अनुहारमा अनेक किसिमका दाग, धब्बा आदि चाहिँ पछि देखा पर्छन्। एकछिन गोरो रंग होस् भनेर लगाएको क्रिमले शरीरमा पछि धेरै बेफाइदा गर्न सक्छ भन्ने प्राय: याद हुँदैन।
छाला रोग विशेषज्ञ डा. विमला ओझाले भनेकी थिइन्-‘म कहाँ धेरै महिला अनुहारको छाला बिग्रियो दाग आयो भनेर आउँछन्। त्यसको कारण उनीहरूलाई सोध्दा नै थाहा पाउँछु ३–४ महिनादेखि लगाइरहेको गोरो पार्ने क्रिम। तर गोरोपनको क्रिमले छाला बिगारेको हो भन्दा उनीहरू विश्वास गर्दैनन्। किनभने टिभीका विज्ञापनले उनीहरूलाई त यस्तो गोरो पार्ने क्रिमले खराबी गर्दैन भन्ने सिकाउँछ। म गोरोपनको क्रिम छोड्ने सल्लाहको साथै त्यसको सट्टामा स्वस्थ जीवन र पौष्टिक खानामा ध्यान दिन भन्छु। तर कतिले त मेरो सल्लाह मान्दैनन्।’
आफ्नो शारीरिक र मानसिक स्वास्थ्यको बारेमा वास्ता नगरे केवल ‘अनुहार’ गोरो पार्ने विचारले हामीलाई कम्पनीहरूको लागि केवल एक उपभोक्तामा परिणत गरिदिएको छ।
गोरो पार्ने क्रिम, आँखामा लगाउने क्रिम, लिपस्टिक आदि लगाउँदा त्यसको गुणस्तर के छ, त्यसले स्वास्थ्यमा के असर पार्छ भनेर विचार गरिन्न।
विज्ञापनले हामीलाई गोरो पार्ने क्रिम वा ओँठ रातो पार्ने लिपस्टिक राम्रो हुन्छ भन्ने ‘गलत जानकारी’ दिन्छ।
स्वस्थकर खाना, पानी र योगले गर्दा अनुहार र शरीर स्वस्थ रहन्छ र स्वस्थ भएपछि आफैं चमक आउँछ भन्ने कुरा भन्दैन। छालाको रंग गहुँ गोरो होस् वा कालो होस् वा गोरो होस् शरीर स्वस्थ रहन पर्छ भन्ने कुरा सिकाइन्न।
विज्ञापनको मारमा परेको समाजले सबैलाई ‘गोरो’ बन्न लगाउँछ। यदि गोरोपन नै सौन्दर्यको मापदण्ड हुँदो हो, गोरोपन नै योग्यताको मापदण्ड हुँदो हो त अमेरिका र युरोपका सबै महिला पुरूष दंग पर्थे होलान्। तर त्यहीँका कति मानिसहरू घाममा बसेर गहुँगोरो बन्न चाहन्छन्।
कति जना त छालाको रंग गहुँ गोरो होस् भनेर क्रिम लगाउँछन्, सूर्य स्नान गर्छन्।
समय समयमा अनुसन्धान गरेर विश्व स्वास्थ्य संघले आफ्ना विभिन्न रिपोर्टहरूमा हानिकारक र मिसावट भएका श्रृङ्गार सामग्री (गोरो बनाउने, रातो बनाउने लिपिस्टिक) आदिको प्रयोगले छालामा खराबी हुन्छ साथै शरीरका भित्री अंग मुटु, मिर्गौलामा पनि नकारात्मक असर पर्छ भनेर लेखेको छ।
‘गोरोपन’ भनेर बनाउने क्रिममा मर्करीको (एक रसायनिक तत्व) राखिएको हुन्छ। मर्करी थर्मोमिटरमा पनि प्रयोग गरिन्छ तर मर्करीको छालामा प्रयोग गर्दा रोगसँग लड्ने शक्ति विस्तारै कम हुन्छ। तर क्रिमले ‘शरीर भित्रका अंगलाई खतम गर्छ’ भन्ने अनुसन्धानका कुरा आम संचार माध्यमसम्म आउँदैनन्।
यसरी गारेोपनको क्रिमको प्रयोग गर्दा अनुहारमा कति समस्या परेको थियो र कसरी बिरामी डाक्टरकहाँ आए भन्ने कुरा डा. सबिना भट्टराइले मलाई केही फोटो देखाउनु भएको थियो।
त्यसैगरी विभिन्न किसिमका गोरो बनाउने क्रिम र साबुन बनाउने कम्पनीहरूले ‘साबुनमा वा क्रिममा केसर मिसाएका’ भन्छन्। तर एक किलो केसरको ३–४ लाख रुपैयाँ पर्छ । के साँच्ची केसर साबुन वा क्रिममा मिसाएर बेचे होलान् त भनेर कसैले सोच्दैनन्। साबुनले अनुहार गोरो बनाउँदैन तर भविष्यमा ‘स्वास्थ्य’ चाहिँ बिगार्छ।
अहिले कति महिलालाई कोरियनको फिल्ममा देखाइएका महिलाजस्तो ‘छाला’ बनाउन पाए हुन्थ्यो भन्ने लाग्छ। तनक्क तन्केको, चिल्लो, गोरो। त्यसको लागि अनेक रसायन मिसाइएको सौन्दर्य प्रसाधन खोज्दै हिँड्छन्। तर फिल्ममा हेरेर ‘गोरो’ हुन खोज्नेले हिरोइनहरूले त्यसरी देखिन ‘स्वास्थ्यको, खानाको बारेमा कति ध्यान दिएका होलान् भन्ने विचार गर्दैनन्।
अनुहारमा अनेक ‘शल्यक्रिया’ गराएका होलान् भन्ने विचार गर्दैनन्। तर ‘गोरो’ हुने क्रिम लगाएपछि सबै गोरो भइहाल्छन् भन्ने विचार चाहिँ आउँछ।
गोरो पार्ने क्रिम ‘फियर एण्ड लभ्ली’ लगाएको केही समयपछि अनुहारको छालामा कालो भएपछिको वेदना एक महिलाले पोखेकी थिइन्।
‘मेरो नाक र गालामा गोरो बनाउने क्रिमले पोतो आएपछि साथीको सल्लाहमा एक चाइनिज क्रिम लगाएँ। दाग भएको वरिपरि सेतो बनायो। सेतोपन बढ्दै गयो, छालामा पाप्रा पर्यो, पाप्रा झर्यो। अनि छाला रोग विशेषज्ञकहाँ गएर उपचार गराएपछि बिस्तारै छाला ठीक हुन थाल्यो।’
आफ्नो प्राकृतिक रंग छोडौं गोरो बनौं भन्ने धूनमा धेरै महिलाले दुःख पाएका छन्। अस्पतालको छाला रोग विभागमा आउने मध्ये १० प्रतिशत त ‘सौन्दर्य प्रसाधन पीडित’ हुन्छन् भनेर छाला रोग विज्ञ डा. धर्मेन्द्र कर्णले एक अन्तर्वार्तामा भन्नु भएको थियो।
जोन्सन एन्ड जोन्सनबाट उत्पादित बेबी पाउडरले पाठेघरको ओभरीको क्यान्सर गराएको कारणले झण्डै ५५० मिलियन (अर्थात झन्डै ५५–५६ अरब रुपैयाँ) क्षतिपूर्ति तिर्नुपर्ने भन्ने अदालतले आदेश दिएको थियो, सन् २०१८ सालमा। त्यो बेबी पाउडर प्रयोग गर्दा त्यसमा रहेको एसबसटस नामको खनिजका कारणले क्यान्सर गराउन सक्छ भन्ने कम्पनीलाई थाहा थियो। तर यो जानकारी लुकाएको बताइएको थियो।
त्यसैगरी, फेब्रुअरी २०२० मा अमेरिकको न्युजर्सीको अदालतले त्यही कम्पनीलाई ७५० मिलियन डलर ( झण्डै ८३ अर्ब ५० करोड रुपैयाँ) तिराउने आदेश दिएको थियो। ४ जना महिलाहरू जसले यो कम्पनीलाई मुद्दा हालेका थिए।
कम्पनीले अमेरिका र क्यानडामा हाल यो ‘बेबी पाउडर’ बेचिने छैन भनेर निर्णय गरेको छ। तर यहाँ भने निर्वाध रूपमा बेचिइनै रहेको छ। अझ कत्तिले त आफ्नो बालबालिकाको अनुहार ‘गोरो’ होस् भनेर प्रयोग गर्छन्। बालबालिकाहरूलाई नुहाएपछि सफा होस् भनेर ‘गुप्तांग’ मा पनि लगाइदिन्छन्। गोरोपनको लागि हाम्रो यो ‘पागलपन’ले हाम्रो स्वास्थ्य कहाँ पुर्याउँछ थाहा छैन।
विभिन्न सौर्न्दर्य सामग्री बनाउनेहरूले उपभोक्ताको स्वास्थ्यलाई ध्यान राख्दैनन्। तर उपभोक्ताले त आफ्नै स्वास्थ्यको ख्याल राख्नुपर्ने हो कि। गोरो बन्ने ‘पागलपन’बाट मुक्ति हुने कि ?