मेरो मामाघरको हजुरआमाको जन्म सप्तरी जिल्लाको मधवापुर गाउँमा भएको हो। उहाँको सानै उमेरमा भारत, बिहारको मोतिपुर (फकिराना) मा एक पण्डितसँग बिहे भयो।
हजुरआमाका छ सन्तानमध्ये मेरी आमा पनि एक हुनुहुन्छ। हजुरआमाकी दिदीको बिहे सप्तरीकै तिलाठीमा भएको थियो। उहाँहरूको मध्यस्थतामा मेरी आमाको बिहे सप्तरीको तिलाठीमै भयो।
तिलाठीदेखि मधवापुर हुँदै बिहार, फकिरानाको दुरी जम्मा ४५ किलोमिटर छ। तिलाठी र मधवापुर कोशी नदी वारि पर्छ, फकिराना कोशी नदी पारि।
सीमा वारिपारिका गाउँको सम्बन्ध दुई देशको सम्बन्धभन्दा धेरै फरक छ। नातागोता, इस्टमित्र, परिवार र सम्धियारको सम्बन्ध छ। त्यहाँ माया र परस्परता मात्रै छैन, इर्श्या र द्वेष पनि छ।
मेरो गाउँमा जुन सम्बन्ध छिमेकका ठूलो बुवा, काका-काकीसँग छ, ठ्याक्कै त्यस्तै सम्बन्ध केही किलोमिटरपारि बिहारको कुनौली, दगम्बरा, कल्याणपुरको गाउँसँग पनि छ। जस्तो भावनात्मक सम्बन्ध तिलाठी र नजिकैको राजविराजसँग छ, त्यस्तै खाले सम्बन्ध तिलाठी र भारतको दरभंगाबीच छ।
तिलाठीमा केही विपत्ति आउँदा भारतका आफन्तले शोक मान्छन्। बिहारका ती गाउँमा शोक हुँदा मेरो गाउँबासीहरू चिन्तित हुन्छन्। यो देख्दा देख्दा सभ्यताको गहिराई राष्ट्रियताभन्दा कम नभएको पाउँछु। मेरो गाउँमा कुनै यस्तो घर छैन जसको सम्बन्ध कुनै भारतीय परिवारसँग नभएको होस्।
बाल्यकालदेखि आजसम्म बिहेवारीका निम्ति बिहारको अनेकौं गाउँ गएको छु र बिहारका विभिन्न गाउँबाट आएका नातागोता र पाहुनालाई आफ्नै गाउँमा, नेपालमा स्वागत गरेको छु।
हामी राम र सीता, दशरथ र जनक, विध्यापति र उगनाको कुरा गर्छौं। हामी तरुवा, बर्ड र बडी, रहु र बुहारी, खीर र सक्रौरी, खजुर र पुड्कया, गाजा-खाजा र बलुशाही, रस्गुल्ला र लालमोहन, मालपुवा र दालपुडी, दही, पान र मखान जस्ता परिकारले एकअर्कालाई स्वागत गर्छौं।
हामी होली, दीपावली, दशहरा, छैठ, चौर्चन, जितिया, देवुठान, समा-चकेवा, मदुश्रामी, कोजेग्रा जस्ता अनेकौं पर्वसँगै मनाउँछौं। हाम्रो मिथिला चित्रकला, मौलिक कला, लोकगीत, पारम्परिक नृत्यहरू धेरै समान छन्। यो मेरो व्यक्तिगत अनुभव सुनाउँदा आफूलाई धेरै नै समृद्ध पाउँछु।
कति पुरानो इतिहास अनि गर्व गर्ने कति धेरै पक्षहरू। म जति गर्व आफूलाई नेपाली हुनुमा गर्छु त्यति नै मधेशी भएकामा गर्छु। मैले गरेको अनुभूति मेरो मात्रै कथा होइन, सीमानजिक बस्ने करोडौं नेपाली र भारतीयको साझा भावना हो।
नेपालको पूर्वदेखि पश्चिमसम्म भएको मधेशको विविधता बुझ्न प्रयास गर्नैपर्ने हुन्छ। नेताहरूको भाषण अनि भारतीय सिनेमामा सीमित भएर परस्पर सभ्यता र इतिहास बुझ्न सकिँदैन। काठमाडौंका दरबारमा र दिल्लीका महलमा बस्ने भू-राजनीतिक विज्ञ र नेता गणले शताब्दियौं पुरानो भावनात्मक सम्बन्ध बुझ्न धेरै गाह्रो हुनेछ।
यही गहिरो भावनात्मक सम्बन्धले गर्दा १५-१६ वर्षकै उमेरमा मेरी आमा तिलाठीकी बुहारी हुनुभयो। म र मेरा भाइ-बहिनीकी आमा हुनुभयो। सानै उमेरदेखि आफू जन्मेको ठाउँ, देश, परिवार छोडी बिहे भएर आएको नयाँ ठाउँ, परिवार र देशलाई आफ्नो सम्झिनुभयो। निरन्तर खटेर, त्याग र परिश्रमसँगै यो देशको विकासमा पूर्ण योगदान दिँदै ५७ वसन्तनजिक हुनुहुन्छ।
मलाई गर्व लाग्छ मेरी आमासँग। सहनशीलता, त्याग गर्नसक्ने, माफ गर्न सक्ने, परिवारलाई मिलाएर राख्न सक्ने सूत्रधार।
तर उनै आमा कसैकी श्रीमती, बुहारी, भाउजू, छोरी, बहिनी जस्ता धेरै सम्बन्धबाट आफ्नो माइती र घरमा बाँधिएको पनि देखेँ मैले। जन्म भएको आफ्नै घर जब माइती भयो, तब आफ्नै आमाबुवासँग तीन दिनको सम्बन्ध मात्रै रह्यो उहाँको। आफ्ना दाजुभाइको विपरीत उहाँ आफ्नो माइतीको पाहुना मात्रै हुनु भयो।
अझ मेरी आमा र करोडौं महिला जो नेपालबाट भारत वा भारतबाट नेपालमा बिवाहित हुन्छन्, उहाँहरूका लागि त आफ्नो देश नै पराई हुन्छ। पराई घर, जसलाई आफ्नो ठानेर जीवन बिताउनु हुन्छ र त्यहाँ दोस्रो दर्जाको नागरिक सरह जीवन बिताउन बाध्य हुनुहुन्छ।
सामान्यतया जब आमाले परिवारमा फरक मत ल्याउनु हुन्छ, तब बुबा, काका र ठूला बुवाहरूले आमा 'माइती परस्त' भएको आरोप लगाउनु सामान्य मान्ने समाजमा बस्छौं हामी।
कैयौं पटक मैले देखेको भेदपूर्ण दृश्य- सासूका लागि नातिनातिना आफ्नो रगत हुन्छन् तर नातिनातिनीकी आमा अरूको रगत र पराई मात्र हुन्छन्।
आज अधिकांश घरमा बाबु पहिलो दर्जाको नागरिक हुन्, छोरा पनि पहिलो दर्जाकै नागरिक, तर आमा दोस्रो दर्जाको!
अधिकांश नेपालीको घरघरको एउटै कथा हो, त्याग र समर्पणको आदर्श आमा नै हाम्रो घरको दोस्रो नागरिक हो।
यदि कसैले विमति राख्नुहुन्छ भने मेरो साधारण जिज्ञासा हल गरिदिनुहोस्- किन बुवालाई आमाले हजुर भनेर सम्बोधन गर्नुपर्ने अनि आमालाई चाहिँ बुबाले 'तँ' भनेर बोलाउँदा केही फरक नपर्ने? के हाम्रो समाजले आमाले बुवालाई 'तँ' भनेर सम्बोधन गर्दा सामान्य लिन सक्छ?
दुर्भाग्य के भने, यो समाजले मात्रै होइन, आमाहरूले समेत आफूलाई शोषित-पीडित हुनु नै आफ्नो धर्म मान्नुभएको छ। यदि कुनै नारीले यसको विरोध गरेमा, यो परमपरा असमान मानेमा शोषण गर्ने पुरुष मात्रै होइन, शोषित महिला पनि जाई लाग्न पछि हट्दैनन्। एक महिला अर्को महिलामा जाई लाग्दा पुरुषहरू त्यसको पूर्ण मनोरञ्जन लिन पछि हट्दैनन्।
लाजलाग्दो, पक्षपाती इतिहासबाट शोषित महिलाका आँशु, रगत र चित्कार वर्तमानसम्म पनि ताजा नै छन्। महिलालाई मान्छेको दर्जा दिएको पनि धेरै भएको छैन। शताब्दियौं पुरानो दुष्चक्र तोड्न उचित नीति र नियम भएन भने समतामूलक समाज भाषण र किताबमा मात्रै सीमित रहन्छ।
मधेशमा नारी झन् पीडित छन्। सामाजिक बनोट, शिक्षा र पहुँचका कमीले नारीहरू फ्रन्टलाइनमा आउन सकेका छैनन्।
राजा महेन्द्रले मधेशलाई जोड्नुको साटो, दबाउन खोजे, कहिले आफ्नो मान्न सकेनन्। नीतिनियम, कानुन र व्यवस्थाले मधेशलाई खुम्च्याइ रहे। आजसम्म मधेस त्यो विभेदपूर्ण राष्ट्रियताको कम्पनबाट त्रशित छ।
एउटै भाषा, वेशभूषा, परम्परा मान्नु नै राष्ट्रियता हो र? यदि हाम्रो परम्परा, भाषा, सभ्यता संकुचित पार्नु नै राष्ट्रियता हो भने, राजा महेन्द्रको सिद्धान्त किन गलत भयो? राजा महेन्द्र ठीक थिए भने प्रधानमन्त्रीज्यू तपाईं र तपाईैजस्तै नेताले पञ्चायत व्यवस्थाको किन बिरोध गरेका थिए?
तपाईंले राजा महेन्द्रले जस्तै महिला, दलित, सीमान्तकृत, कमजोर आर्थिक अवस्था भएका व्यक्ति, आम नेपालीको अधिकार किन अंकुश लगाउन खोज्नु भएको हो? ल होइन, तपाईंले गरेको बिद्रोह गलत थियो भने, देश र जनतासँग माफी माग्नुस्। यदि सही थियो भने आज समतामूलक समाज निर्माण गर्न उचित नीति र नियम बनाउनुहोस्।
मेरो बिहे नेपालमै भएको हो र मेरो भाइको बिहे भारतमा भएको हो। मेरी श्रीमती र मेरी बुहारीलाई समान अधिकार देशका नीति र नियमले दिन सक्दैन भने मेरो समाज र परिवारले समान व्यवहार गर्छ भन्ने प्रत्याभूति कसरी हुन्छ?
यदि गणतन्त्रमा असमनता हुन्छ भने, मैले कसरी मान्नु यो जनताको शासन हो? यदि कोसँग बिहे गर्ने भन्ने अधिकार हामीसँग हुँदैन भने कसरी म आफूलाई स्वतन्त्र ठान्नू?
यही परिवेशमा रहेर नागरिकता विधेयक पारित गर्ने जनप्रतिनिधिलाई मेरा यी प्रश्नको उत्तर दिन आग्रह गर्छुः
- मेरी आमा जस्ता लाखौं नारी जो भारतमा जन्मेका हुन् वा नेपालमा, उहाँहरूप्रति राज्यको जिम्मेवारी छ कि छैन?
- छोराले विदेशी महिलासँग बिहे गर्दा एउटा कानुन, छोरीले विदेशी पुरुषसँग बिहे गर्दा अर्को कानुन, यो कस्तो न्याय? अब यो देशमा छोरी भएर जन्मिनु दुर्भाग्य बुझे हुन्छ हामीले?
- छोराले विदेशी पुरुषसँग बिहे गर्दा कस्तो नागरिकता पाउने? छोरीले विदेशी महिलासँग बिहे गरे के नियम लाग्ने?
- सरकारले ल्याएको नागरिकता नीतिले नारी सशक्तीकरणलाई कसरी टेवा पुर्याउँछ?
तसर्थ मेरा भावी सन्ततिका लागि- छोरा होस् वा छोरी होस् वा समलिंगी, सबैका लागि समान अधिकारको नीति र नियम, कानुन र व्यवस्थाको माग गर्छु।
विभेदपूर्ण राज्य र नेतृत्व होइन, हामीलाई खाँचो छ यथार्थमा विविधातामा एकतामूलक राज्य निर्माण गर्ने क्षमता भएको नेतृत्वको। नक्सामा मात्र होइन स्वामित्वमा सीमा कायम गर्नसक्ने, यथार्थमा राष्ट्र र राष्ट्रियताको माला उन्न सक्ने अनि आफ्नै जीवनकालमा समृद्धि ल्याउन सक्ने नेतृत्वको।
प्रधानमन्त्री र नेताज्यूहरू, सबैलाई समेट्न सक्ने र भावनात्मक एकीकरण गर्नसक्ने प्रगतिशील बाटो रोज्नु हुनेछ भन्ने मेरो आशा छ!
ट्विटरः @sailjha