नेपालमा कोरोना संक्रमितको संख्या उकालो लाग्दै गर्दा डेंगीको जोखिम पनि बढ्दै गइरहेको छ। नेपालमा डेंगी हरेक वर्ष वर्षातको सिजन सुरु भएसँगै देखिने गरेको छ।
मनसुन भित्रिसकेको र एडिस जातको लामखुट्टे समेत देखा परिसकेको अवस्थामा डेंगी रोगबारे सतर्कता अपनाउने समय आइसकेको छ। तर नेपालमा कोरोना देखिँदै गर्दा डेंगी पनि सँगै देखिए हाम्रो लागि थप चुनौती हुनेछ।
यसको मुख्य कारण भनेको हाल कोरोनाको बारेमा समाजमा देखिएको त्रास, गलत बुझाइ र एक अर्का प्रतिको अविश्वास (कोरोनाको आशंका) हुन्। हुन त डेंगीको बारेमा पनि नेपालीबीच अझै कम जानकारी र भ्रम धेरै भएको गत वर्षको महामारीमा देखिएको थियो।
क्वारेन्टिनमा हाल विशेष गरेर भारतबाट आउनेहरुको चाप बढ्दै गइरहेको छ। यो अझैं बढ्ने प्रक्षेपण गरिएको छ। यो संख्या अप्रत्यासित हुँदा क्वारेन्टिन स्थलहरू अपुग र व्यवस्थित गर्न सकिएको छैन।
मनसुन भित्रिएसँगै काठमाडौं लगायत विभिन्न जिल्लाहरूमा लामखुट्टेकाे जोखिम बढ्दो क्रम छ। गत वर्ष धरानमा मनसुन भित्रिनु अघि नै डेंगी देखिएको थियो।
केही महिना अघि स्वास्थ मन्त्रालयको ब्रिफिङमा क्वरेन्टिनमा बसेका केही व्यक्तिमा मलेरिया देखिएको सार्वजनिक भएको थियो। क्वारेन्टिनमा रहेकाहरुको कोरोना जाँचको नतिजा छिटो नआउँदा त्यहाँ बसेकामा डेंगीको लक्षण देखिए समयमा उपचार नपाउने सम्भावना बढेर जानेछ।
यस्ता व्यक्ति विशेष गरेर भारतमै संक्रमित भएको हुनसक्ने र क्वरेन्टिनमा बसेको अवस्थामा लक्षण देखिन सक्छ। हाल भारतमा डेंगी देखा परिसकेको छ। ज्वरो आएपनि कोरोनाकै शंका लाग्ने र जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको अवस्थामा हामी ढुक्क भएर बस्ने गर्छौं।
जसका कारण डेंगी भए पनि विरामीलाई अस्पताल पुर्याउन अलमल हुने र समयमा उपचार नपाउने सम्भावना बढेर जान्छ। कतिपय क्वारेन्टिनहरूमा न्युनतम भौतिक मापदण्ड पनि पूरा भएको देखिँदैन। त्यसमा पनि आगामी दिनहरुमा देखिनसक्ने सम्भावित सरुवा रोगहरुलाई लक्षित गरेर तयारी अवस्थामा रहेको पाहिँदैन।
क्वारेन्टिनमा विशेष गरेर सफा खानेपानी, शौचालय र लामखुट्टेबाट बच्न झुलको कमी हुँदा डेंगीको जोखिम बढी रहन्छ। एडिस लामखुट्टेले बिहान र सूर्यअस्तको समयमा बढी टोक्ने गर्छ।
क्वारेन्टिनमा रहेका बेला डेंगी संक्रमित लामखुट्टेले टोकेको १० दिन भित्रमा लक्षण देखिन सुरु गर्छ र त्यो बेला सम्ममा सो संक्रमित आफ्नो गाउँ र समाजमा पुगिसकेको हुनसक्छ।
त्यस्ता व्यक्तिमा लक्षण देखिए पनि कोरोनाको शंकामा परिवार र समाजमा त्रास सिर्जना हुनसक्छ। नेपालका केही जिल्लाहरुमा डेंगी संक्रमित र डेंगी फैलाउने लामखुट्टे देखिँदै गर्दा आगामी दिनहरुमा ज्वरोका बिरामीहरु बढ्ने निश्चित छ।
हाल नेपाल सेमी-लकडाउनको अवस्थामा भएकोले अधिकांश मानिसहरु घरभित्र नै छन्। डेंगी फैलाउने लामखुट्टे घरभित्र पनि पानी जम्मा भएका भाडाहरूमा आफ्नो वृद्धि विकास गर्ने गर्छ। यस्तो अवस्थामा लामखुट्टेले मानिसलाई टोक्ने संम्भावना बढी हुन्छ।
अहिले जहाँ पनि कोरोनाको नै कुरा हुने भएकाले टोलबस्तीमा कसैलाई डेंगीको ज्वरो देखिए कोरोनाकै शंका गरिन्छ। किनकि कोरोना र डेंगीबीच मिल्दोजुल्दो लक्षण छ। स्वास्थाकर्मीले पहिले लक्षण नै सोध्ने भएकाले विरामीले पनि सुरुमा कोरोनाकै शंका गर्छन्।
तर यसको निदानको लागि परीक्षण नै आवश्यक हुन्छ। डेंगीको परीक्षण विगतमा आरडिटी किट मार्फत गरिएको थियो। तर गत वर्ष डेंगी महामारी चरम उत्कर्षमा पुगेपछि इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसको गुणस्तरमा प्रश्न उठाएपछि नेपाल भरि यसको प्रयोगमा रोक लगाइयो।
त्यसपछि सामान्य रगतको मात्रामा देखिएको उतारचढाव पनि डेंगी नै हो भनियो। हालै एक अनुसन्धानले वास्तविक कोरोना भाइरसको बिरामीलाई सुरुवातमा डेंगी किटले पोजेटिभ देखाएको र पछि बिरामीमा स्वास्थ सुधार नहुँदा कोरोनाको पिसिआर गर्दा पोजिटिभ देखिएको भनी प्रकाशित गरिएको थियो।
यसले चिकित्सकलाई अन्यौलता थपिदिएको छ। यस्तो अवस्थामा डेंगी भन्दै उपचार गर्दा बिरामी कोरोनाको जटिलताबाट मृत्यु हुने सम्भावना बढ्छ।
दूरी कायम गर्ने, मास्क लगाउने र हात धुने जस्ता कोरोनाबाट बच्ने उपायहरुले डेंगी संक्रमणबाट बचाउँदैन। डेंगीबाट बच्ने उत्तम उपाय भनेकै लामखुट्टेको टोकाइबाट नै बच्नु हो।
यसका लागि आफ्नो घरभित्र र वरिपरि पानी जम्ने अवस्था बनाउनु हुँदैन। त्यस्तै करेसाबारी, गमला, बाल्टिन र ड्रममा जमेको पानी एडिस लामखुट्टेको लागि राम्रो वासस्थान हो।
त्यसैले डेंगी नफैलनको लागि लामखुट्टे बस्ने बासस्थान सिर्जना गर्नुहुँदैन। क्वारेन्टिन स्थल वरिपरि पनि लामखुट्टे बस्ने त्यस्ता ठाउँहरूलाई सुरूमै व्यवस्थित गर्नुपर्छ।
हाम्रो लागि कोरोना र डेंगी सँगै देखिँदा थप चुनौती हुनसक्छ। डेंगीहाल व्यापक त भएको छैन तर कोरोना र डेंगी एकैपटक उत्कर्षमा पुग्दा यसले समाजमा त्रास, दुविधा बढ्नेछ। यस्तो अवस्थामा डर कोरोनाको, संक्रमण डेंगुको नहोला भन्न सकिँदैन।
(पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल, क्लिनिकल रिसर्च युनिट संयोजक हुन्)