आज जुन ३, विश्व साइकल दिवस। संयुक्त राष्ट्रसंघले विगत तीन वर्षदेखि यो दिवस मनाउन थालेको हो। यो दिनलाई साइकलका गुणबारे चर्चा गर्ने र यसको प्रयोग बढाउन आवश्यक वातावरण निर्माणका लागि पहल गर्ने अवसर रूपमा लिइन्छ। गत वर्ष विविध कार्यक्रम गरी मनाइए पनि यस वर्ष कोरोनाका कारण प्रभावित भएको छ।
गत वर्ष यही दिन सुर्खेतमा पहिलोपल्ट दोस्रो विश्व साइकल दिवस मनाएर साइकलमैत्री सहर बनाउने अभियान सुरू भयो। यही क्रममा जुटेका साइकलप्रेमीहरू संगठित भएर कर्णालीकै पहिलो 'कर्णाली राइडर्स क्लब' निर्माण भयो। त्यही वर्ष जुलाई २० मा पहिलो 'काँक्रेबिहार कोरा साइक्लिङ च्यालेन्ज' अयोजना भयो।
यही मार्चको पहिलो हप्ता सञ्चालित कर्णाली उत्सवको सुरूआत पनि बृहत साइकल गतिविधिबाटै गरियो। त्यस्तै विभिन्न समूहहमार्फत छलफल, अन्तरक्रिया र राइड गरेर जनमानस र नीतिनिर्मातामा साइकलप्रति जनचासो बढाउने प्रयास पनि बढ्यो। प्रदेश सरकारका मन्त्रालयले आफ्ना कर्मचारीलाई साइकल उपलब्ध गराए। यी प्रयासले विविध क्षेत्रका सचेत मानिसको निरन्तर सहभागिता बढिरह्यो।
फलस्वरुप, प्रशासक, सरकारी कर्मचारी, गैरसरकारी क्षेत्रमा, बैंकिङ क्षेत्रमा काम गर्ने, नेपाली सेनाका अधिकृतहरू, स्थानीय युवा, समाजसेवी, उद्योगी व्यवसायी र पत्रका मिलेर साप्ताहिक साइकल राइडको चलन सुरू भएको छ।
तर हाम्रा देशका सहरहरू विल्कुलै साइकलमैत्री छैनन्।
सचेत देशका सरकार र सहरका मेयरहरू आफ्नो ठाउँको सडक तथा बस्ती संरचनालाई बढीभन्दा बढी मानवमैत्री बनाउँदैछन्। उनीहरू विगतका अनुभव र गल्तीबाट सिक्दै र सच्चिँदै छन्। विकास संरचनाहरू समाजका सबै तह र वर्गका मानिसको हितलाई ध्यानमा राखेर बनाइँदैछ।
हाम्रोजस्तो देशमा पनि लगातार सहरीकरण भइरहेको छ। तर, हाम्रा सहरमा त्यो दिगो मानवकेन्द्रित विकासको सोच अझै बसेको छैन।
आधुनिक विकास भनेकै चौडा सडक भएको गाउँ-सहर हो भन्ने सोचले बनाइएका संरचना केबल यान्त्रिक साधनलाई केन्द्रमा राखेर निर्माण हुन्छन्। यसरी बन्ने संरचनाले सामान्य मानवीय गतिविधिलाई प्राथमिकता दिँदैन।
सडक बनाउँदा मानिसले हिँड्ने गरिरहेको बाटो नै सुरूमा च्यापिन्छ। जब सडक फैलिन थाल्छ, मान्छे हिँड्ने बाटो खुम्चिन्छ। त्यहाँ फुटपाथ बाँकी नरहेर सडकपेटी बन्छ। हिँड्डुल गर्ने बाटो मेटिन्छ। आममानिस र पशुवस्तुको 'मोबिलिटी' स्वतन्त्रता खुम्चिन्छ। अनि मोटरगाडीसँग डराएर जोगिँदै हिँड्नुपर्छ।
हाम्रा सडक संरचनामा पैदलयात्री, ह्विलचेयर, साइकल जस्ता साधनको प्राथमिकता छैन। यी माध्यम बारे सरकारी चासो र चिन्ता खासै देखिँदैन भने प्रयोगकर्तालाई कुनै ठोस कानुनी सहायता, प्रवर्द्धन र संरक्षण प्रावधान पनि उपलब्ध छैन। यी क्षेत्रको बलियो सांगठनिक आवाज पनि छैन।
मोटरसाइकल, स्कुटर, कारजस्ता यान्त्रिक सवारीसाधनको स्वामित्व र उपभोग उच्च जीवनस्तरको सूचक मानिन्छ। यस्तो समाजमा पैदलयात्रा वा साइकलयात्रानिम्ति पूर्वाधार बनाउने आवश्यकता बोध हुँदैन। सहरी सडक नीति र योजना बनाउनेहरू सबै सडकमा केबल गाडी गुडाएर तीव्र आर्थिक वृद्धि ल्याउन चाहन्छन्। उनीहरूलाई यस्तो लाग्छ, आम पैदलयात्री र साइकलमा दैनिकी चलाउनेले सरकारको अर्थतन्त्रमा खासै योगदान गर्देनन्।
हाम्रा सहरमा बस्ने दुई-तिहाईभन्दा बढी मानिससँग कुनै पनि यान्त्रिक सवारीसाधन छैन। तै पनि उनीहरूलाई हिँड्ने बाटो नराखिकन सहर विस्तारित भइरहेका छन्।
यही निर्दयी र अनियन्त्रित विकासले सहरलाई आफैं उकुसमुकुस, कुरुप र आक्रान्त बनाइरहेको छ। सहरवासीहरू आफ्नो प्रकृतिप्रदत्त स्वभाव बिर्सिएर खुम्चिएर बस्न विवश छन्। वातावरण दिनदिनै दूषित र अस्वस्थकर बनिरहेको छ। सहरी जीवनशैली झनझन् कष्टकर बनिरहेको छ। त्यसैलै सहरलाई पुनर्जीवन दिनु अति आवश्यक भएको छ।
साइकलकेन्द्रित संरचना निर्माणले सहरमा मानवीय गतिविधिलाई नयाँ आयाम दिन्छ। सहरी जीवनलाई नयाँ गतिशीलता मिल्छ। पर्यावरणमा नयाँ सन्तुलन निर्माण हुन्छ। एउटा बस्नलायक सहर बनाउन मद्दत पुग्छ। त्यसैले, साइकलमैत्री बन्नु भनेको नयाँ आधुनिक हुनु पनि हो।
अब साइकल चलाउने बारे कुरा गरौं।
साइकललाई एउटा सुन्दर आविस्कारका रूपमा लिइन्छ। साइक्लिङले मानिसहरूलाई नजिक ल्याउँछ। यसका अनेक सामाजिक, आर्थिक र वातावरणीय फाइदा छन्। साइकल शारीरिक अभ्यासको निकै राम्रो तरिका मानिन्छ। हजारौं मानिस दैनिक काममा जान साइकल प्रयोग गर्छन्। यसले उनीहरूको शारीरिक अभ्यास पनि भएको हुन्छ। विश्व साइकल दिवस उनीहरूको सम्मान गर्ने अवसर हो।
साइकल वातावरण निम्ति अति नै हितैषी साधन हो। यसमा लागू हुने ऊर्जा भनेको मानवशक्ति हो। यसले न धुँवा, न धूलो नै फाल्छ। साइकलले अरू राइडर र साइकलयात्री प्रति भातृत्वको भावना जोड्छ।
नेपालमा भौगोलिक तथा वातावरणीय रूपमा उपयुक्त हुने स्थानमा आधुनिक सहरका लागि साइकल प्रवर्द्धन एउटा शसक्त विकल्प हुनसक्छ। तर सम्बन्धित निकायमा यस्ता विषयमा अग्रगामी सोचको अभाव छ। जस्तो, संघीय सरकारले यो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा साइकल लगायत साधनबारे केही उल्लेख गरेन।
यद्यपी केही महानगरमा भने विस्तारै केही ठोस सक्रियता देखिन्छ। ललितपुर, भरतपुर महानगरपालिकाले साइकल लेन बनाउन सुरू गरेका छन्। अन्य सहरमा साइकल गतिविधि बढेका भए पनि सहरी संरचना सुधारका ठोस कार्यक्रम आएका छैनन्।
गत वर्षदेखि कर्णाली प्रदेशमा पनि साइकलको चर्चा हुन थालेको छ।
कर्णाली सरकारले प्रदेश राजधानी सहरमा केही पहल सुरू गरेको छ। गत वर्ष आफ्नो नीति तथा कार्यक्रममा प्रदेश राजधानीलाई धुवाँधूलो मुक्त सहर बनाउन पहल गर्ने उल्लेख गरिएको थियो। सुब्बाकुनादेखि बांगेसिमलसम्मको राजमार्ग खण्डमा साइकल र पैदलयात्री निम्ति लेन बनाउन दुई करोड बजेट व्यवस्था गरेको छ। भौतिक योजना मन्त्रालय अन्तर्गत कार्यक्रम लागू छ।
चालु वर्षमा प्रारम्भिक अध्ययनको काम पनि भइसकेको छ। विस्तृत परियोजना प्रतिवेदन बनाई काम अघि बढाउन मन्त्रालय तथा निर्देशनालयमा कार्यरत जिम्मेवार कर्मचारीको इमान्दार सक्रियता नभएकाले अड्किएको थियो। हाल कोरोना महामारीका कारण अब त्यो अघि नबढ्ने निश्चित छ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि कर्णाली सरकारले 'सुर्खेत उपत्यकाभित्रका प्रमुख सडकमा पदमार्ग र साइकल लेन व्यवस्था गरिनेछ' भनी उल्लेख गरेको छ।
यसलाई निरन्तरता दिन र मूर्तता प्रदान गर्न सम्बन्धित सहरको स्थानीय सरकार उत्तिकै उत्साहित र जिम्मेवार हुन आवश्यक छ। सैद्धान्तिक रूपमा सहर रुपान्तरण गने सोच राखेको भए पनि वीरेन्द्रनगर नगरपालिकाले गत वर्ष आफ्ना नीति तथा कार्यक्रममा साइकल र पैदलयात्री निम्ति खासै ठोस कार्यक्रम ल्याउन सकेन।
सुर्खेत उपत्यकाको क्षेत्रफल, भूबनोट र हावापानी हिँडडुल गर्न र साइकल चलाउन उपयुक्त ‘साइकलमैत्री’ सहर हो। यहाँ झन्डै दुई-तिहाईसँग कुनै पनि सवारी साधन उपलब्ध छैन। साइकल प्रयोग बढ्ने प्रचूर सम्भावना छ।
प्रारम्भिक अध्ययनले सुर्खेतमा साइकल प्रवर्द्धनका लागि अति उपयुक्त देखाउँदै विभिन्न तत्कालीन र दीर्घकालीन क्रियाकलाप सिफारिस गरेको छ।
साइकलमैत्री सहर बनाउन सुझाइएका क्रियाकलापमा उपत्यकाभित्र पर्ने ९ किमी रत्नराजमार्ग खण्डमा दाँयाबाँया साइकल लेन बनाउने, सहरमा साइकल स्ट्यान्ड बनाउने, कुइनेपानी जंगलमा साइकल सिक्न र मनोरन्जन गर्ने साइकल पार्क बनाउने, गाडी 'फ्री' दिन मनाउने, वार्षिक साइकल गतिवधि गर्ने, साइकल संरचना र प्रयोगको सूचना डाटाबेस राख्ने, साइकल भाडामा लिने वा सेयर गर्ने पद्धति बसाउने र नीति बनाउने पर्छन्।
स्थानीय जनता, साइकल प्रयोगकर्ता, युवा र जनप्रतिनिधिको छलफलबाट साइकल लेनका लागि रुचाइएका ६ वटा रुट छन्। जसमध्ये ३ वटालाई सिटी साइकल लेन बनाउन सकिन्छ। ती हुन्, सुब्बाकुना हुँदै, खजुरा, बुलबुले गेट, मंगलगढी चोक, बाँगेसिमलसम्म। कालुंगचोकबाट, गणेशमानचोक, घण्टाघर, यरीचोकसम्म। मंगलगढीचोकदेखि लाटीकोइलीसम्म।
त्यस्तै सुब्बाकुना, लेखवेसी, दैलेखसडक, कपासेसम्मको बाटो तथा मंगलगडीदेखि बांगेसीमल जंगल क्षेत्र, लाटिकोइली, सुब्बाकुनाको बाटोलाई मनोरन्जननिम्ति 'रिक्रिएसनल' साइकल लेन बनाउन सकिन्छ। यसैगरी काँक्रेबिहार वरिपरि र उपत्यकाको रिङरोडलाई 'क्रसकन्ट्री ट्रेल'का रूपमा विकास गर्न सकिन्छ।
मानिसको आवातजावत र घुँइचो बढी हुनसक्ने विभिन्न १३ वटा ठाउँ मध्यनजर गरी साइकल स्ट्यान्ड राख्न सकिने सम्भावना छ। जसमा वीरेन्द्रचोक, नगरपालिका कार्यालय, नगरपालिका अघिल्तिरको चौर, प्रशासन कार्यालय, प्रदेश अस्पताल, बसपार्क, लाटिकोइली, बुलबुले ताल, काँक्रेबिहार, मध्यपश्चिम विश्वविद्यालय, जन उच्चमाध्यमिक विद्यालय, देउतीबज्यै र एअरपोर्ट क्षेत्र विशेष छन्।
कर्णाली प्रदेश सरकारको साइकलमेत्री राजधानी बनाउन चाहने सोचलाई स्थानीय नगरपालिकाले अवसरको रूपमा लिन सक्नुपर्छ। यसबाट सुर्खेतमा साइकल गतिविधिले प्राथमिकता पाउने आशा छ। इमान्दार र संगठित पहल गरेर सुर्खेतलाई नमूनायोग्य 'साइकल सिटी' बनाउन सम्भव छ।
(लेखक चौलागाईं कर्णाली प्रदेश, तातोपानी गाउँपालिका ५, लाम्रागाउँका बासिन्दा हुन्।)