क्वारेन्टिन कोरोनाभाइरस संक्रमणको शंकाको घेरामा रहेका व्यक्तिहरूलाई सुरक्षित राख्नको लागि अस्थायी रूपमा व्यवस्था गरिएको एक प्रकारको अस्पताल नै हो।
कोरोनाभाइरस मानिसको आँखाले नदेखिने भएको हुँदा कुनै पनि संक्रमित ठाउँबाट आएका व्यक्तिहरूलाई शंकाको घेरामा राखी उनीहरूको उपचार अस्थायी रूपमा रहेको क्वारेन्टिनमा राखेर गरिन्छ।
जसबाट पहिलो, उनीहरू संक्रमित रहेको अवस्था रहेछ भने समाजमा संक्रमित हुन रोक्दछ र उनीहरूको उपचार तत्काल सुरू गर्न सकिन्छ।
दोस्रो, संक्रमण नदेखिएको व्यक्तिलाई सुरक्षित रूपमा उनीहरूको परिवारमा जान र बस्न सक्ने वातावरण सहज हुन्छ।
क्वारेन्टिनसँग ६ वटा महत्वपूर्ण पक्ष
पहिलो, क्वारेन्टिनमा राखेका मानिसहरू संक्रमित नभएका तर संक्रमित भएका हुन सक्ने सम्भावना सबभन्दा बढी भएको हुन्छन्। यसकारण यसमा राखिएका मानिसहरूको तुरून्तै परीक्षण गर्ने व्यवस्था र व्यवस्थित बसोबासको व्यवस्था हुन जरूरी रहन्छ।
यसलाई छात्राबासको रूपमा होइन एक अस्पतालको रूपमा बुभ्न अति आवश्यक छ। जति छिटो परीक्षण त्यति छिटो संक्रमण रोक्ने तथा छिटोभन्दा छिटो ट्रेसिङ गर्न सजिलो हुन्छ, जुन समाजमा हुने संक्रमण रोक्ने एकमात्र आधार हो।
दोस्रो, कुनै एक मानिसमा पनि संक्रमित रहेको अवस्थामा यसको मापदण्ड पूर्ण रूपमा पालना गरिएन भने उक्त क्वारेन्टिनमा रहेका सबै मानिसमा संक्रमण हुने अवस्था हुन्छ। यसकारण क्वारेन्टिन अति उच्च जोखिम रहेको हुँदा उच्च सतर्कताबीच संचालित हुनु पर्दछ।
तेस्रो, क्वारेन्टिनमा बसेका मानिसमा भाइरस संक्रमित नभएता पनि उनीहरू अत्यधिक मनोवैज्ञानिक दवाबमा रहेका हुन्छन्। जसले उनीहरू शारीरिक र मानसिक दुबै रूपमा कमजोर हुने हुँदा उनीहरूलाई शारीरिक र मानसिक रूपमा बलियो बनाउन चाहिने आवश्यक व्यवस्था हुनु अति नै महत्वपूर्ण हुन्छ।
नत्र रोगले भन्दा पनि भयले उसको रोगसँग लड्ने क्षमतालाई झन् कमजोर बनाउन सक्छ।
त्यसैले मानसिक दवाबलाई यस प्रकार संचालित मापदण्डले झन् बढवा दिने गर्दछ।
चौथो, कोरोनाको लक्षण देखिन समय लाग्ने र नेपालमा त अत्यधिक व्यक्तिहरूलाई लक्षण नै नदेखिएको पाइएको छ। यो अवस्थामा पहिलोचोटिको परीक्षणबाट नेगेटिभ देखिए पनि संक्रमित नभएको भन्न सकिने अवस्था नरहने भएकोले निश्चित समयसम्म क्वारेन्टिनमा रहेका व्यक्तिबीचको शारीरिक दूरीलाई तोकिएको मापदण्ड अनसार पूर्णत पालन गर्नु पर्दछ। नत्र उनीहरूबीच नै संक्रमण हुने खतरा अत्यधिक रहन्छ।
पाँचौ, क्वारेन्टिन सबभन्दा उच्च जोखिम भएको ठाउँ हो। यसकारण क्वारेन्टिन स्थापना तथा संचालनमा कुनै पनि हालतमा लापरबाही हुनु हुँदैन। नत्र यही क्वारेन्टिन नै संक्रमणको केन्द्र बन्ने कुरामा दुईमत छैन।
छैठौं, क्वारेन्टिनमा रहेका व्यक्तिहरूमा कोरोनाभाइरसमात्र होइन अन्य विभिन्न सरूवा रोग पनि हुन सक्दछन्। यसकारण न्यूनतम मापदण्डविपरीत यस प्रकार संचालित क्वारेन्टिनबाट कोरोना संक्रमित हुने सम्भावना त पक्कै छ नै सँगसँगै अन्य विभिन्न रोगहरू पनि एक अर्काबिच संक्रमण हुने उच्च सम्भावना हुन्छ।
साथै, उनीहरूमा अन्य रोगहरूको पनि संक्रमण हुने सम्भावना रहन्छ। शौचालय, बस्ने कोठा, फोहोर पानीको कारण निरोगी व्यक्ति १५/२० दिनको क्वारेन्टिनको बसाइँबाट बिरामी भएर घर पुग्नु पर्ने अथवा अर्को सरूवा रोग भिरेर जानु पर्ने अवस्था आउन सक्छ।
हो, यसकारण विश्व स्वास्थ्य संगठनले क्वारेन्टिनको मापदण्ड तोकेको छ र यसैलाई मान्यता दिँदै नेपाल सरकारले पनि क्वारेन्टिनको मापदण्ड जारी गरेको छ।
तर चीनबाट ल्याइएका विद्यार्थी राखेको क्वारेन्टिनबाहेक नेपालमा हाल संचालित कुनै पनि क्वारेन्टिन नेपाल सरकारले तोकेको मापदण्ड अनुसार रहेको देखिएको छैन।
यहाँसम्म कि क्वारेन्टिनमा तातो पानी, सफा शौचालय, उचित खानपान, व्यवस्थित बस्ने, सुत्ने ठाउँजस्ता न्यूनतम व्यवस्था समेत नभएको यथार्थता हामीले देखेका छौं।
क्वारेन्टिनमा बसेको मानिस बिरामी हुँदा अस्पताल लाने एम्बुलेन्स सम्मको व्यवस्था हुन नसकेर बिरामीले मृत्युवरण गर्नु परेको समाचारले हामीलाई लज्जित तुल्याएको छ।
नेपाल सरकार आफैंले बनाएको क्वारेन्टिनमा न्यूनतम व्यवस्था नहुनु सरकारको चरम लापबाही प्रमाणित भएको छ।
नेपाल सरकारले तोकेको न्यूनतम व्यवस्था के-के छन् ?
१) सुरक्षाको पूर्ण ग्यारेन्टी।
२) नुहाउन, कपडा धुन, शौचालय लगायतमा चाहिने स्वच्छ पानीको व्यवस्था।
३) फोहोर व्यवस्थापनको लागि आवश्यक सरसफाइका सामान, आवश्यक डष्टविन लगायतको व्यवस्था ।
४) स्वच्छ, शुद्ध पानी र पोषणयुक्त खानपिनको व्यवस्था।
५) बालबालिका, जेष्ठ नागरिक, गर्भवती, दीर्घरोगी तथा छुट्टै क्षमता भएका व्यक्तिहरूको लागि विशेष खानपिन र अन्य आवश्यक व्यवस्था।
६) पूर्ण सरसफाइको ग्यारेन्टीसहित आवश्यकता अनुसार सरसफाइ कर्मचारीको व्यवस्था।
७) संचार, स्वास्थ्य, सडक अन्य आवश्यक व्यवस्था।
८) एम्बुलेन्स २४ घण्टा उपलब्ध हुनुपर्ने र चालक पनि अनिवार्य रहनु पर्ने।
९) सुत्नको लागि उचित व्यवस्था ओढ्ने, ओछ्याउने, झुललगायत मौसम अनुसार अति आवश्यक व्यवस्था हुनुपर्ने।
१०) सय जना रहने क्वारेन्टिनमा कम्तीमा एक जना एमपिएच, एमडी गरेको चिकित्सक हुनुपर्ने ।
११) मेडिकल अधिकृत र स्वास्थ्य परिचारिका कम्तीमा १/१ जनाको व्यवस्था।
१२) प्यारामेडिक र फर्मासिस्ट १/१ जना।
१३) स्वास्थ्य सुरक्षाको लागि आवश्यक अन्य तातोपानी, साबुन, ह्यान्ड सेनिटाइजलगायत न्यूनतम आवश्यक सामानहरूको व्यवस्था हुनुपर्ने।
क्वारेन्टाइन मापदण्डविपरीत हुनु कानून प्रश्न हो
केन्द्र सरकारले जारी मापदण्ड राज्यको सबै सरकारी निकाय, प्रदेश सरकार तथा स्थानीय सरकारलाई कानून सरह लागू हुन्छ।
विभिन्न स्थानीय सरकार तथा प्रदेश सरकारले हाल संचालित अधिकांश क्वारेन्टिन मापदण्डविपरीत हुनु एक गम्भीर कानूनी प्रश्न हो।
यसले कानूनको उल्लंघन त गरेको नै छ। यस प्रकारको गतिविधि संवैधानिक र मानव अधिकारविरूद्ध पनि छ।
नेपालको संविधान अनुसार पनि सबै नेपालीहरूको उपचार पाउने र स्वच्छ वातावरणको अधिकारलाई आधारभूत मानव अधिकारको रूपमा ग्यारेन्टी गरेको छ । यसकारण पनि यो संवैधानिक अधिकारको समेत विरूद्धमा छ।
यो मानव अधिकारसँग जोडिएको पनि विषय हो। राष्ट्रिय मानव अधिकार आयोगले समेत यस सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएको छ। तोकिए बमोजिमको व्यवस्था सबै क्वारेन्टिन स्थलहरूमा व्यवस्था गर्नको लागि निर्देशन समेत दिएको छ।
अन्तमा,
मापदण्ड विपरीतका सबै क्वारेन्टिन गैर-कानूनी हुन्छन् र त्यस प्रकारको क्वारेन्टिन स्थापना गर्ने व्यक्ति तथा समूहलाई कानूनी कारबाही हुनुपर्दछ।
यदि मापदण्ड अनुसार संचालन गर्न नसकिने हो भने उनीहरूको घरलाई नै क्वारेन्टिन बनाउनु बुद्धिमता हुन्छ। यसरी घरमै क्वारेन्टिनमा रहँदा न्यूनतम मापदण्ड नपुगेको क्वारेन्टिनमा रहनुभन्दा जोखिम कम हुने कुरा यसमा संलग्न चिकित्सकहरूले बताउँदै आएका छन्।
मापदण्ड विश्व स्वास्थ्य संगठनलाई देखाउन र कागजी दस्ताबेज बनाउनमात्र राज्यले बनाउने होइन। यसको पूर्ण परिपालन गर्नु राज्यको मुख्य जिम्मेवारी हो। यस कारण पनि क्वारेन्टिन कुनै देखावटी र प्रचारबाजीको विषय कदापी हुनु हुँदैन। नत्र यो कानूनी शासनको उपहास हुनेछ।
(लेखक अधिवक्ता हुन्)