सामाजिक कार्यकर्ताहरु समाजको अति घनिष्ट साथी हुन्। सायद सामाजिक कार्यकर्ताहरु नभएको समाज आज कल्पना गर्न सकिदैन पनि। समाजमा विभिन्न विचार, स्वार्थ र अभिप्रार्य भएका मानिसहरु हुन्छन्।
त्यस्तै विभिन्न क्षमता भएका पनि हुन्छन् र विभिन्न वर्ग, धर्म, संस्कृतीका पनि हुन्छन्। यहि अनेकता बीचमा समाजलाई एकतामा जोड्ने काममा सामाजिक कार्यकर्ताहरुको महत्वपूर्ण जिम्मेवारी रहेको हुन्छ।
हामीले यसलाई समाज सेवा भनेर बुझ्ने गरेका छौं। हुन पनि हो, सामाजिक अनेकतालाई जोड्ने एक आधार समाज सेवा र सामाजिक कार्यकर्ता हुन।
जब-जब समाजमा अथवा राष्ट्रमा बिपत्ती अथवा आपतको अवस्था आउँछ, त्यसबेला झन् सामाजिक कार्यकर्ताहरुको ठूलो भूमिका हुने गर्दछ। हामीले यो ५० वर्षको इतिहासमा धेरै बिपत्तिहरु भोगेका छौँ र देखेका पनि छौं।
विशेषगरी राजनीतिक आन्दोलनले हाम्रो देशलाई थङथिलो परेको थियो, २०१५ को भुकम्प अनि वर्षेनी आउने बाढी जस्ता बिपत्ति नेपालले सधै व्यहोरी रहेको छ। अहिले हामी कोरानाको महामारीसँग जुधिरहेका छौँ। हुनत यो नेपालको मात्र समस्या नभएर विश्वको सम्स्याको रुपमा उभिएको छ भने हामीजस्ता गरिब मुलुकभन्दा ठूलो र शक्तिशाली भन्ने देशहरुलाई झन् हावाकावा खेलाई रहेको छ।
यस परिपेक्षमा एक सामाजिक कार्यकताले यस प्रकारका राष्ट्रिय संकटहरुमा निभाउनु पर्ने पाँच भूमिका बारे यो लेखमा छलफलको लागि पस्किन्छु।
सामाजिक अभियान्ताबीच समन्यव
आफ्नो क्षेत्रमा कार्यरत सबै सामाजिक अभियान्ताहरुको पहिचान गर्ने र उनीहरु बीच एकिकृत समूह बनाउने अति आवश्यक हुन्छ र यो अति महत्वपूर्ण छ। त्यस क्षेत्रका सबै सामाजिक कार्यकर्ताहरुले भिन्न-भिन्न तरिकाले काम गरिरहेका हुन्छन्। यस अवस्थामा ती सबै कामहरुलाई एकिकृत र सामूहिक रुप गर्न सकियो भने सामाजिक कार्यहरु झन् प्रभावकारी हुन्छन्।
'एकले थुकि सुकी, सयले थुकी नदी' भनेजस्तो यस प्रकारको एकिकृत र सामूहिक कार्यबाट एक-एक्लै गरको कार्यहरु बढी मात्रमा समेत गर्न सकिन्छ।
यस प्रकारको एकिकृत अभियानहरुबाट एक-अर्का बीच डुप्लिकेशन हुँदैन भने वास्तविक समस्यमा परेका व्यक्तिहरुको पहिचान गर्न पनि सजिलो हुन्छ। सरकार सबै ठाउँमा पुग्न नसक्ने र त्यस अवस्थामा त्यो जिम्मा हामी सामाजिक कार्यकर्ताहरुको हुन्छ, यो जिम्मेवारीलाई गहन रुपमा आत्मसाथ गर्नु पर्ने हुन्छ।
आज हामी कोरोनाको माहामारीसँग लडिरहेको अवस्थालाई एक अवसरको रुपमा समेत सामाजिक कार्यकर्ताहरुले लिएर किम्तीमा वडास्तरीय सामाजिक कार्यकर्ताहरु तथा सम्लग्न संघ/संस्थाहरु बीच समन्वय गर्न सकेमा आउँदा दिनहरुमा समेत आउने विपद व्यवस्थापनमा एकिकृत र सामूहिक अभियान संचालन गर्न सजिलो हुन्छ।
विशेष अवस्थाका व्यक्तिहरुकोलाई विशेष व्यवस्थापन
संकट, महामारी र बिपत्तिको समयमा बालबालिका, महिला, जेष्ठ नागरिक तथा विकालांगहरु बढी पिडित, बेवारीस र बेवास्ता हुने गर्दछन् र यस अवस्थामा उनीहरु आफै आफ्नो सुरक्षा समेत गर्न नसक्ने हुन्छन्।
कनै पनि राष्ट्रिय बिपत्तिमा सम्बन्धित निकायहरु विविध कारणले व्यस्त हुने र उनीहरुको ध्यान चाहदा चाहादै पनि नपुगेको हुने हुनाले यस परिस्थितीलाई सामाजिक कार्यकर्ताहरुले विशेष ध्यान दिई यिनीहरुको उचित व्यवस्थापनको लागि सम्बन्धित निकाय, परिवार तथा समुदायलाई घचघचाउने र उनीहरुलाई यस विषयमा ध्यान दिन प्रेरित गर्ने पर्ने हुन्छ।
मनोवैज्ञानिक व्यवस्थापनमा जोड
सानो सहयोग, मयालु वचन, प्रेरक प्रोत्साहन जस्ता मानवीय भावनाहरु यस प्रकारको सन्त्रास, भयभित र अन्यौलको वातावरणमा ठूलो साहारा हुनसक्छ। यसकारण आफ्नो समुदायमा यी मानवीय भावनाहरुलाई अगाडि बढाउनु सामाजिक कार्यकर्ताको दायित्व हो।
विपदमा मुख्यगरी दैनिक श्रमगरी गुजारा गरिरहेका नागरिकहरुलाई सानो सहयोग पनि ठूलो महत्व हुन्छ। त्यसकारण जे-जस्तो सहयोग जुटाउन सकिन्छ, जति सकिन्छ, केही न केही सहयोग गर्ने र उनीहरुलाई आवश्यक सहयोगको लागि सम्बन्धित निकायहरुमा समेत जानकारी दिई सहयोग गर्नु पर्ने हुन्छ। हामी सामाजिक कार्यकर्ताहरु धनका होइनन्, मनका धनि हुनु जरुरी छ।
यस अवस्थामा गतल समाचार, भ्रमित विचारहरु पनि प्रशारित हुने र सामाजिक संजालहरु, जुन हिजोआज एक अफवाह फैलाउने माध्यम भएको छ। यस प्रकारको अफवाहबाट समाजलाई बचाउने काममा सामाजिक कार्यकर्ताहरुको ठूलो महत्व हुन्छ।
समाजमा बितेका यस्ता विपत्तीहरुमा पारिवारीक कलह, अपराध, नैराश्यता, आत्महत्या जस्ता प्रवृत्ति बढ्ने हुदाँ मनोवैज्ञानिक व्यवस्थापन विपत्तीको समयमा एक अति महत्वपूर्ण हुन्छ। यो अवस्थामा बालबालिका, महिला, जेष्ठ नागरिक तथा विकालांगहरुमा नैराश्यता तथा क्रास बढी हुने हुँदा उनीहरुलाई मनोवैज्ञानिक सेवा समेतको व्यवस्थापन गर्न जरुरी हुन्छ।
यो अवस्थाबाट समुदायलाई बचाउनु सामाजिक कार्यकर्ताको महत्वपूर्ण जिम्मेवारी हो।
समुदायिक निगरानी
सामाजिक कार्यकर्ताको अर्को महत्वपूर्ण जिम्मेवारी समुदायिक निगरानी हो। सामाजिक विपत्ति, अभाव र संकटको समयमा केही असामाजिक व्यक्ति, व्यवसायीहरुले यस विषम् परिस्थितिको फाइदा उठाई समाजमा कालोबजारी, मूल्यवृद्धि, नियोजितरुपमा बस्तुहरुको अभाव सिर्जना गर्ने गर्दछन्।
यस प्रकारको असामाजिक व्यक्ति तथा तत्वहरुको सूक्ष्म निगरानी बढाउने र यस प्रकारको गतिविधिहरु जहाँ जसले गरेकोअ छ, ती व्यक्ति तथा व्यवसायीहरुको जनकारी सम्बन्धित निकायमा दिई उनीहरुलाई यस प्रकारको असामाजिक कार्य गर्न रोक्न सहयोग गर्ने एक अति नै महत्वपूर्ण जिम्मेवारी सामाजिक कार्यकर्ताहरुको हुन्छ।
सरकारको निगरानी
हामी सामाजिक कार्यकर्ताहरुको अर्को मुख्य जिम्मेवारी सरकारको निगरानी गर्नु पनि हो। स्थानीय स्तरमा गएका राहत तथा सहयोग समाग्रीहरुको उचित सदुपयोग भए/नभएको, ती समाग्रीहरु जसको लागी आएको हो, सोही समुदायमा पुगेको/नपुगेको र वितरणमा पारदर्शिता र समानुपातिक भएको/नभएको कुराको उचित निगरानी राखी त्यस्तो नभए नगरेको पाएमा सचेत गराउने र सम्बन्धित निकाय तथा पत्रकारहरुलाई जानकारी गराउनु पनि एक महत्वपूर्ण जिम्मेवारी हो।
हाम्रो जस्तो नैतिक मूल्य अति कम भएको समाजमा स्थानीय स्तरमा होस् वा केन्द्रिय स्तरका सरकार तथा प्रशासनिक व्यक्तिहरुले नागरिक तथा राज्यकोषहरुको दुरुपयोग गर्ने हामीले सधैँ व्यहोरेको छौँ। यसो हुनुमा मुख्यतः हामी नमगरिकको सोझोपन र शसक्त प्रतिकारको कमी पनि हो।
यस प्रकारको गलत कामहरु भएको कुरामा स्पष्टसँग समाना गर्न र ती अधिकारीहरुलाई सचेत गराउनु जरुरी हुन्छ। आम-नगरिकहरु निरिह र आफैँ समेत सचेत नहुने यस अवस्थामा सम्बन्धित निकाय तथा व्यक्तिहरुलाई उनीहरुको सामाजिक दायित्व बारे चेत गराउनु एक सामाजिक कार्यकर्ताको महात्वपूर्ण जिम्मेवारी हुन्छ।
सामाजिक कार्यकर्ताहरुको अथक निगरानी तथा सजकताबाट मात्र यस प्रकारका असमाजिक, अनैतिक काम रोक्न सकिन्छ।
(लेखक अधिवक्ता तथा बालअधिकारकर्मी हुन्।)