तपाईं दाहिने वा देब्रे जुनसुकै कित्ताका अर्थशास्त्री भए पनि मान्छेले झेल्दै आएका दुइटा समस्या हल नगरी सुख छैन- अभाव र अनिश्चय।
अर्थशास्त्रले सम्बोधन गर्नुपर्ने मूल समस्या यिनै दुइटा हुन् भन्ने कोरोना भाइरसको प्रभावले फेरि प्रकाशमा ल्याएको छ।
आइआइटी, मद्रासका प्राध्यापक शिवकुमारले यसबारे राम्रो व्याख्या गरेका छन्। उनी भन्छन, 'एउटा चरो प्रत्येक दिन खानाको खोजीमा गुँडबाट बाहिर निस्कन्छ। खानाको खोजीमा निस्केका सबै चरा सकुशल गुँडमा फर्किन्छन् भन्ने निश्चित हुँदैन। यो चराको गुँडमा खानाको अभावले निम्त्याएको समस्या हो। यसमा अभाव र अनिश्चय जोडिएर आएका छन्।'
त्यो चराजस्तै हामी मान्छेले झेल्दै आएको समस्याको चरित्र पनि भिन्न छैन।
प्राग् ऐतिहासिक कालमा मान्छे अरू प्राणीजस्तै खानाको खोजीमा निस्कन्थ्यो। उसको आवश्यकता खानाको उपलब्धताबाट पूर्ति हुन्थ्यो। खाना पर्याप्त थिएन, मान्छेले आफ्नो भाग सुनिश्चित गर्न मान्छेसँगै वा अरू प्राणीसँग प्रतिस्पर्धा र संघर्ष गर्नुपर्थ्यो।
यति संघर्षका बाबजुद खाना प्राप्त गर्ने सबै प्रयास सफल हुन्थेनन्। भोकभोकै धेरै दिन बिताउने र खाना नपाएर मर्ने मान्छेको नियति थियो। कहिले आवश्यकताभन्दा बढी पनि खाना पाउँथ्यो। एकपटक भरपेट खाएर धेरै दिन मस्त आराम गरेर बिताउँथ्यो।
शिकारको खोजीमा निस्केको मान्छे कहिलेकाहीँ आफैं शिकार हुन सक्थ्यो। बिरामी पर्न सक्थ्यो, रूखबाट लड्न सक्थ्यो। कहिले भिरबाट खस्न सक्थ्यो, कहिले बाढीपहिरो र आगलागीमा पर्न सक्थ्यो। कहिले चिसोले कठ्यांग्रिएर मर्न पनि सक्थ्यो।
यस्तो अभाव र अनिश्चय पछिल्ला युगहरूमा पनि कम भएन, बढेरै गयो। कृषि युगमा आउँदा अभाव र अनिश्चयका तत्व शिकारी युगभन्दा फरक रूपमा देखा पर्यो।
शिकारी युगमा जाडो, गर्मी, बर्खा, चट्याङ, हावाहुरी, खडेरी लगायत प्रकृतिका हरेक हस्तक्षेपसामु मान्छे निरीह थियो। कृषि युगमा आएर उसले त्यस्ता प्रकोप व्यवस्थापन गर्न थाल्यो। वन फाडेर खेतीपाती गर्न थाल्यो। बारबेर गर्न थाल्यो। मेरो-तेरो सम्पत्ति भनेर छुट्याउन थाल्यो। छाप्रो बनाउन थाल्यो, बस्ती बसाउन थाल्यो। खेतीपाती, पशुधन, जग्गाजमिन, परिवारको रक्षाका लागि प्रार्थना पनि गर्न लाग्यो। यसरी मान्छेले आधुनिक अर्थतन्त्रको जग बसाल्यो।
कृषि युगको थालनीमा मान्छेले जे गर्यो, हामी अहिले पनि त्यही गरिरहेका छौं। हामीले मुलुकको दक्षिणी समथर भूमिमा जंगल मासेर खेतीपाती गरेको, बस्ती बसाएको हालसालैको घटना मान्नुपर्छ।
कृषि युगमा पनि मान्छेका समस्या कम भएनन्। खडेरी पर्थ्यो, बालीमा अनेक किसिमका रोग लाग्थे, पाकेको बाली शत्रुले लुटेर लान्थे। यी समस्या मान्छेले कम गर्न सक्यो, निमिट्यान्न भने पार्न सकेन।
विश्व औद्योगिक र व्यापारको युगमा आउँदा अभाव र अनिश्चयले अर्को रूप लियो। सबै उद्योग बजारमा सफल हुँदैनन्। मुलुकभित्र र बाहिरको कारोबार तथा व्यापारिक सम्बन्धले मान्छे सबैको हित गरेको छैन। बजारमा कमाउने र गुमाउने प्रशस्तै छन्। मान्छेले हासिल गरेको आर्थिक उन्नतिको फलबाट वञ्चितहरूको संख्या ठूलो छ।
उन्नत आर्थिक क्रियाकलापले अभाव र अनिश्चय कम हुँदै गएको मान्न सकिएला, तर यो समस्या निर्मूल भएको छैन। कोरोना भाइरस यसको ताजा उदाहरण हो।
मान्छेले बचत, बैंकिङ, बिमा, भौतिक विज्ञान, मेसिन–औजार, सूचना प्रविधिमार्फत् अत्याधुनिक अर्थतन्त्र रचना गरेको भए पनि यो पर्याप्त रहेनछ भन्ने पुष्टि भएको छ। शून्य बनाउने त टाढाको कुरा, जोखिमलाई नियन्त्रण सीमाभित्रै राख्ने प्रयास पनि अपर्याप्त रहेछन्।
अभाव के हो?
सन १९९० मा विश्वभरका १ अर्ब ९० करोड मान्छे चरम गरिबीमा बाँचेका थिए। उनीहरूलाई एक छाक खाना जुटाउन हम्मे हुन्थ्यो। यो संख्या २०१५ मा ७३ करोडमा झर्यो। प्रत्येक वर्ष झन्डै ५ करोडका दरमा मान्छे गरिबीबाट माथि उठेका छन्। अब विश्व जनसंख्याको १० प्रतिशतलाई मात्र खाना जुटाउने समस्या छ।
मान्छेको आवश्यकता खानामा मात्र सीमित भने छैन। मान्छेलाई राम्रो लुगा, सुविधायुक्त घर, असल शिक्षा, स्वास्थ्य, धनसम्पत्ति, इज्जत, पहिचान लगायत धेरै मूर्त र अमूर्त चीज चाहिन्छन्। यी सबै चीज पूर्ति गर्न मान्छेलाई स्रोतको अभाव भइरहन्छ। हाम्रा आवश्यकताले नयाँ किसिमका अभाव सिर्जना गरेको छ।
अनिश्चय के हो?
मान्छेले अपेक्षा गरेको नतिजा हात पार्न नसक्नु अनिश्चय हो। हामीले धेरै चीजको अनुमान गरेका हुन्छौं। चराले जस्तै खाना पाइन्छ र सकुशल फर्किन्छु भन्ने अनुमानमा हामीले गुँड छाडेका हुन्छौं। आफूसँग उपलब्ध सूचना, ज्ञान र अनुभवका आधारमा हामी त्यस्ता अनुमान गर्छौं। तर, हाम्रा सबै अनुमान सही साबित हुँदैनन्।
परीक्षा दिएको विद्यार्थीले अपेक्षा गरेअनुसार अंक नपाउन सक्छ। चार मुरी धान फल्ने अनुमान गरेको किसानलाई तीन मुरी मात्र हात पर्न सक्छ। बढ्छ भनेर खरिद गरेको सेयर मूल्य घट्न सक्छ। कुनै गन्तव्य ताकेर निस्किएको यात्री दुर्घटनामा पर्न सक्छ। हाम्रो अनुमान र नतिजामा जति ठूलो अन्तर आउँछ, त्यसले त्यति ठूलो जोखिम निम्त्याउँछ।
हामीले आफ्नो व्यक्तिगत र सामाजिक जीवनका धेरै पक्षमा अनुमान गरेका हुन्छौं। अझ सामाजिक जीवनमा त धेरै व्यक्तिका सम्बन्धमा कुनै एक शक्तिशाली निकाय वा व्यक्तिलाई अनुमान र निर्णय गर्न दियौं भने त्यसले निम्त्याउने जोखिम कति होला?
कोरोना भाइरस प्रकरण
कोरोना भाइरस संक्रमणले अपुरणीय मानवीय क्षति भएको छ, हुँदैछ। आर्थिक क्षति पनि कम छैन। संसारकै दोस्रो ठूलो अर्थतन्त्र चीनबाट सुरू संक्रमण विश्वव्यापी भएको छ। यसले आर्थिक गतिविधि सुस्त बनाएको छ। दैनिक उपभोग्य वस्तुको आपूर्ति क्रमिक रूपमा घट्दो छ। कयौं बेरोजगार भएका छन्। धेरै मान्छे फेरि गरिबीमा धकेलिने छन्।
समाज विज्ञानका रूपमा अर्थशास्त्रले मान्यता पाउनुभन्दा हजारौं वर्षअघिदेखि नै मान्छेले आफ्नो र अर्काको आर्थिक व्यवहार नियाल्न र विश्लेषण गर्न थालेको हो। अर्थशास्त्रका सिद्धान्तहरू प्रतिपादन हुनुभन्दा धेरै अघिदेखि अहिले विश्वविद्यालयका कक्षाकोठामा पढाइने अर्थशास्त्रको केन्द्रीय समस्याबारे चर्चा भएको थियो।
अर्थशास्त्रको उदय हावामा भएको होइन, माटोबाट भएको हो। मान्छेका आर्थिक व्यवहारले अर्थशास्त्रीय चिन्तन परम्परालाई जन्म दिएको हो। आधुनिक अर्थशास्त्र अस्तित्वमा आउनु अघिदेखि नै मान्छेले अभाव र अनिश्चयलाई सम्बोधन गर्ने प्रयास गर्दै आएको हो।
अहिले पनि हामी अभाव र अनिश्चयबाट मुक्त भएका छैनौं। हाम्रा आवश्यकता तथा असुरक्षाले नयाँ रूप धारण गरेका छन्। विगतमा मान्छेले अभाव र अनिश्चयबाट मुक्तिका लागि के-के गरे? राम्रो–नराम्रो के गरे? उनीहरूबाट हामीले सिक्नुपर्ने कुरा के हो भन्ने जान्न जरुरी हुन्छ।
आमनागरिकलाई अभाव र असुरक्षाबाट जोगाउन कस्ता खाले सार्वजनिक नीति र व्यवहार आवश्यक हुन्छ भन्नेमा राजनीतिक तथा प्रशासनिक नेतृत्व सजग हुनुपर्छ। यो अर्कालाई दोष थुपार्ने, अनिर्णयको बन्दी बन्ने, अकर्मण्यताको शिकार हुने समय होइन। जिम्मेवार, जवाफदेही र पारदर्शी नीति निर्माण र अभ्यासबाट हामी कोरोनाको पीडा कम गर्न सक्छौं।