अमेरिकीको रोजगारी खोस्ने कारक मेक्सिकन र चिनियाँलाई ठान्दै राष्ट्रपति डोनाल्ड ट्रम्प क्यालिफोर्नियामा पर्खाल लगाउँदैछन्। चीनसँग व्यापार युद्ध गर्दैछन्।
तर मान्छेको रोजगारी मान्छेले होइन, प्रविधिले खोस्न सक्छ- इतिहासकार युभल नोहा हरारेले आफ्नो किताब 'ट्वान्टी वान लेसन्स् फर दी ट्वान्टी फर्स्ट सेञ्चुरी'मा भनेका छन्। सन् २०५० सम्ममा प्रविधि विकासले समाजमा पार्ने अकल्पनीय बहुआयामिक प्रभावबारे यो किताबमा अनुमान गरेका छन्।
प्रविधि विकासले भविष्यमा ल्याउने हलचलबारे आजको राजनीति र समाज बेखबर छ। यसले निर्माण गर्ने आर्थिक-सामाजिक सम्बन्धकै जगमा राजनीतिक दर्शन निर्माण हुने हो।
मान्छे विगत, वर्तमान र भविष्यको वर्णन कथामा गर्छ। कुनै तथ्य, संख्या वा समीकरणमा गर्दैन। बीसौं शताब्दीका सम्भ्रान्तले त्यस्तो वर्णन तीनटा ठूला कथाका माध्यमबाट गरेः तानाशाहीको कथा, साम्यवादको कथा र उदारवादको कथा।
दोस्रो विश्वयुद्धले तानाशाही कथा अन्त्य गर्यो। सन् १९४५ देखि सन् १९८० सम्म साम्यवादी र उदारवादी कथाबीच द्वन्द्व रह्यो। साम्यवादी कथा अन्त्यसँगै उदारवादी कथाको प्रभुत्व कायम भयो।
सन् २००८ को विश्वव्यापी वित्तीय संकटपछि उदारवादी कथामा पनि प्रश्न उठ्दै गयो। डोनाल्ड ट्रम्पको 'अमेरिका पहिलो' तथा जलवायु परिवर्तनप्रति तटस्थ रहने नीति वा 'ब्रेक्जिट' पक्षीय जनमत वा विभिन्न देशमा स्थापित तथाकथित राष्ट्रवादी नेतृत्वको उभारले उदारवादी संकथनको औचित्यमा प्रश्न उठ्यो।
त्यसैले, आजको समय विकल्पविहीन, विचारशून्यता र दिग्भ्रमित देखिन्छ। जसरी धेरै टाउको दुख्नुले ब्रेन ट्यूमरको संकेत गर्छ, त्यसरी नै उदारवादीका लागि ब्रेक्जिट र डोनाल्ड ट्रम्प सभ्यताकै अन्त्य हो कि जस्तो प्रतीत हुँदैछन्। त्यस्तो पनि होइन।
औद्योगिक क्रान्तिले सिर्जना गरेको आर्थिक-सामाजिक सम्बन्ध व्यवस्थित गर्न उदार राजनीतिक प्रणाली उत्पत्ति भयो। उक्त सम्बन्धबाट सिर्जित आर्थिक-सामाजिक विषमता र शोषण सम्बोधन गर्ने दावीका साथ साम्यवादी दर्शन जगमगायो। तर साम्यवादी विकल्प सफल नहुने सन्दर्भ छोटो समयमै सिद्ध भयो।
अब औद्योगिक क्रान्तिको विशिष्टता सम्बोधन गर्न निर्मित उदार राजनीतिक प्रणालीले सूचना क्रान्ति तथा जैविक प्रविधिद्वारा निर्मित विशिष्टता कसरी सम्बोधन गर्ला? प्रविधि विकास भोट हालेर हुने होइन। इन्टरनेट क्रान्ति जनअभिमतबाट नभई इञ्जिनियरिङ प्रतिभा प्रस्फुटनको परिणाम थियो। त्यसैले अहिले भइरहको विकास न राजनीतिले बुझ्न सक्छ न मतदाताले।
प्रविधि क्रान्तिले ल्याउने आघात सम्बोधन गर्ने क्षमता आजको राजनीतिक प्रणालीले राख्छ कि राख्दैन?
अहिले भएका प्रविधिमा आधारित वित्तीय प्रणाली केही मान्छेले मात्र बुझ्ने अवस्था छ। भोलि के होला !
विगतमा मान्छेले शरीर र मनभन्दा बाहिरी संसार नियन्त्रण गर्न सिक्यो। प्रविधि प्रयोगबाट प्राकृतिक श्रोत दोहन गर्दै भौतिक सुखसुविधा बढायो। तर वातावरणमा पर्ने प्रभाव आकलन गर्न सकेन। नदी प्रवाह रोक्न सक्यो, तर आफ्नो उमेर बढ्ने प्रक्रिया रोक्न सकेन। जहाज र रकेट डिजाइन गर्न सक्यो, तर मस्तिष्क डिजाइन गर्न सकेन। निद्रा बिगार्ने लामखुट्टे मार्ने ज्ञान र प्रविधि सिक्यो। तर निद्रा बिगार्ने आफ्नै विचार मार्न जानेन।
आज प्रविधिमा हुँदै गरेको विकासले मान्छे आफ्नै शरीर र मन पुनर्संरचित गर्ने, आकार दिने प्रयत्न गर्दैछ। मान्छे आफूभित्रको संसारलाई नै नियन्त्रण गर्दैछ। मान्छे कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) मार्फत् आफ्नै मस्तिष्क डिजाइन गर्न, आयु लम्ब्याउन तथा मनका तरंग प्रभावित गर्ने कोशिस गर्दैछ।
औद्योगिक क्रान्तिले बरू शोषित श्रमिककै स्वरूपमा सही, सर्वसाधारण मान्छेको महत्व दर्साउँथ्यो। दोस्रो विश्व युद्ध ठीकअघिका शोभियत संघ, जर्मनी वा अमेरिकी समाजले सर्वसाधारण मान्छेलाई 'तिमी संसारको महत्वपूर्ण चिज हौ' भन्ने भाष्य निरन्तर निर्माण गर्थ्यो। कोइला खानी वा स्टील कारखानाको मजदुर आफ्नो फोटो पोस्टरमा छापिएको देखेर दंग पर्थ्यो र ठान्थ्यो कि 'म पोस्टरमा छु, म भविष्य निर्माता हुँ'।
तर निकट भविष्यको मान्छे आफूलाई अर्थहीन ठान्दैछ। के हुँदैछ, बुझ्दैन। प्रविधिका महत्वपूर्ण शब्द केका लागि हुन् भन्ने थाहा पाउँदैन। यिनको सम्बन्ध उसँग के छ भन्ने जान्दैन।
उदारवादी कथाभित्र सामान्य मान्छे आफ्नो घट्दो लाभांशप्रति गुनासो गर्ने एउटा पात्र हुन्छ। भविष्यका उत्पादन प्रणालीमा मान्छेले श्रमिकको हैसियत गुमाउँदैछ। प्रविधि संसारले उसको ठाउँ र हक खोस्नेछ। ऊ असान्दर्भिक हुँदैछ।
बीसौं शताब्दीमा श्रमिक मान्छे सम्भ्रान्त वर्गीय शोषणविरूद्ध आन्दोलित हुन्थ्यो। अब श्रमिक नै नरहे शोषण कहाँ रहला? अब कोविरूद्ध लड्छ? आफूसँग सरोकारै नभएको सम्भ्रान्तसँग ऊ कसरी संघर्ष गर्ला?
'शोषण विरूद्धको लडाइँ' भन्दा 'असान्दर्भिक हुनु' विरूद्धको लडाइँ कठीन हुनेछ।
सन् २०५० सम्ममा मान्छेको ज्ञान र सीप असान्दर्भिक हुने कुरा कोरा अनुमान मात्र होइन। कृत्रिम बौद्धिकताको द्रूत विकासले गरेको तथ्यपूर्ण संकेत हो।
कृत्रिम बौद्धिकताले विस्थापित गर्दा जीवनभर एउटै पेशा गर्न असम्भव हुनेछ। एउटै पेशाको मान्यता खण्डित हुनेछ। निरन्तर विकसित भइरहने प्रविधिसँग अभ्यस्त हुन मान्छे निरन्तर प्रशिक्षित हुनै पर्नेछ। सुपरमार्केटको एउटा 'सेल्स पर्सन' कसरी रोबोट मेकानिक हुन सम्भव होला?
रोबोटिक्स प्रयोग गर्ने ठूला कम्पनीको वर्चस्व बढ्दै जाँदा साना उद्यमीको अस्तित्व हराउनेछ। सीमित व्यक्तिको सम्पत्ति अधिक बढी हुनेछ। आर्थिक असमानता विकराल बनेर बेरोजगारको जीवन कठीन हुनेछ।
यस्तो आर्थिक-सामाजिक सम्बन्धमा राष्ट्रका राजनीतिक सीमा गौण हुनेछन्। वैश्विक सरकार (ग्लोबल गभर्मेन्ट)को अवधारणा विकसित हुनेछ। जसले वैश्विक कर (ग्लोबल ट्याक्स)को प्रस्तावना अगाडि ल्याउने छ।
नोवेल लरिएट अर्थशास्त्री प्रा. जोसेफ स्टिगलिजले त 'ग्लोबल ट्याक्स'को वकालत गरिसकेकै छन्। आम बेरोजगारलाई जीवनयापनको प्रत्याभूति गर्न 'सबैलाई आधारभूत आय' वा 'सेवा' नीति लिनुपर्ने अवस्था आउने छ।
'सबैलाई आधारभूत आय'को परिभाषा चुनौतीरहित भने छैन। एक त विकसित र विकासोन्मुख मुलुकका लागि आधारभूत शब्दको मानक नै फरक हुन्छ। दोस्रो, वैश्विक सरकार स्थापना यसको पूर्व शर्त हो। प्रविधि विकासको विश्वव्यापी प्रभाव सामना गर्ने वैश्विक सरकार जरूरी हुन्छ।
'सबैलाई आधारभूत आय-सेवा' अवधारणा साम्यवादी ढाँचा जस्तो पनि लाग्न सक्छ। बीसौं शताब्दीको शोषण र विषमता निर्मूल गर्ने प्रयोजनले प्रतिपादित साम्यवाद आफ्नै काममा त असफल सिद्ध भयो। एक्काइसौं शताब्दीको कृत्रिम बौद्धिकताले निर्माण गर्ने 'असान्दर्भिक मान्छे' को समस्यालाई साम्यवादले कसरी सम्बोधन गरोस् !
इतिहास सधैं सिधा रेखामा हिँड्दैन। अहिलेको उभार उदारवाद विरोधी भए पनि इतिहासको क्षणिक 'जिगज्याक' मात्र हो। प्रविधि विकासमा उदारवाद र प्रविधि उपयोगमा मानवतावाद सँगसँगै नजोडिइ सक्दैनन्। व्यक्तिगत स्वतन्त्रता, मानव अधिकार र उदार आर्थिक व्यवस्था द्रुत प्रविधि विकास गरिरहेको समाजका लागि अपरिहार्य हुन्छ।
इतिहासकार युभल हरारेले भनेजस्तो वर्तमान समय विचारशून्यताबाट होइन, विचार निर्माणको प्रसव पीडाबाट गुज्रिरहेको प्रतीत हुन्छ। कुनै कथाको अन्त्य इतिहासको अन्त्य होइन। एउटा कथाको पटाक्षेपमा अर्को मञ्चन हुने हो। कथा निर्माण रहस्यमय नै हुन्छ, प्रविधि विकास जस्तै।
यद्यपी, नाम जे दिइयोस्, निकट भविष्यमा पनि उदारवादकै पटकथामा कथा बन्नेछ। यसले नै मानव सभ्यतालाई प्रविधिसँगै निरन्तरता दिनेछ। उक्त पटकथामा मानवतावाद मात्र होइन 'चराचर जगतको हीत' पनि अन्तरघुलित हुनेछ। 'चराचर जगतको हीत' बिना जलवायु संकट टर्दैन, विकास दीगो हुँदैन।
सन् १९९७ मा आइबिएम कम्प्युटरको चेस प्रोग्रामले विश्व चेस च्याम्पियन गेरी कास्पारोभलाई हराएको थियो। सन् २०१६ सम्म चेस च्याम्पियन रहेको उक्त प्रोग्रामलाई सन् २०१७ मा गुगलको प्रोग्रामले हरायो। गुगल प्रोग्रामले मान्छेको निर्देशनबिना चार घन्टामै असाधारण बौद्धिक क्षमता आर्जन गर्न सक्यो। कृत्रिम बौद्धिकताले आफैं बौद्धिकता तिखार्दै जान्छ।
तर मान्छेले चेस खेल्न छोडेनन्।
त्यसैले, कृत्रिम बौद्धिकतासँग प्रतिस्पर्धा गर्नुको सट्टा मिल्नुपर्छ।
उदाहरणका लागि अमेरिकी सेनामा मानवरहित ड्रोन व्यापक प्रयोगले सानो संख्यामा पाइलटको रोजगारी खोस्यो। तर ड्रोन सञ्चालनमा आवश्यक धेरै काम सिर्जना भयो। सिरियाको आकाशमा एउटा ड्रोन उडाउन ३० भन्दा बढी विज्ञ जनशक्ति चाहिने भयो। त्यस्तो जनशक्ति नपाउँदा मानवरहित ड्रोन उडाउने अमेरिकी सेनाको योजना संकटग्रस्त भयो।
त्यसैले, सन् २०५० को श्रम बजारमा कृत्रिम बौद्धिकता र मान्छेबीच प्रतिस्पर्धात्मक नभई समन्वयात्मक सम्बन्ध स्थापना हुनसक्ने इतिहासकार युभल नोहा हरारे आकलन गरेका छन्।