केही महिनाअघि सेयर बजार सम्बद्ध संस्थाहरूको अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटनमा लाखे नाच प्रस्तुत गरिएको थियो। एसिया प्रशान्त क्षेत्रका ३२ मुलुकका प्रतिनिधि सहभागी रहेको उक्त सम्मेलनमा अर्थमन्त्री युवराज खतिवडाले भनेका थिए, 'सेयर बजारमा लाखे हुन सक्छ। तपाईंहरूले देख्नुभयो, लाखे हेर्दा कति डरलाग्दो हुन्छ। तर यो दयालु हुन्छ र हाम्रो रक्षा पनि गर्छ।'
अर्थमन्त्रीले भनेझैं लाखेका बारेमा हामीकहाँ प्रचलित एउटा कथा छ। लाखे एउटा राक्षस हो, रातो रङको ठूलो अनुहार, राता जगल्टा, दारा निस्किएका, ठूल्ठूला आँखा, यसको रूप डरलाग्दो हुन्छ। तर उसको हृदय कोमल हुन्छ। ऊ मान्छेसँग मिलेर बस्न चाहन्छ। उनीहरूका बालबच्चाको सुरक्षा गर्छु भन्छ।
हो, अर्थमन्त्रीले भनेजस्तै सेयर बजारमा किन्ने र बेच्ने मान्छे मात्रै हुँदैनन्। बजारलाई उचाल्ने र पछार्ने तत्व पनि हुन्छ। त्यो डरलाग्दो तत्वलाई पहिचान गरेर आफ्नो पक्षमा काम गराउन सक्ने लगानीकर्ता सफल हुन्छन्।
सेयर बजारमा 'लाखे' हुन्छ भन्ने हाम्रा अर्थमन्त्री खतिवडा पहिलो व्यक्ति होइनन्। अर्थशास्त्रका ठूल्ठूला विद्वानले धेरैअघि फरक भाषामा यस्तो भनाइ राखेका छन्।
पश्चिमा संसारमा पनि केही पशु मनोवृत्तिलाई सेयर बजारमा प्रतीकका रूपमा उभ्याउने गरिन्छ। यसको चर्चा हुँदा साँढे र भालुको चित्र हामीले प्रायः देखेका हुन्छौं। साँढेले आक्रामक मनोवृत्तिको प्रतिनिधित्व गर्छ भने भालुले डराउने जुम्सो मनोवृत्ति प्रतिनिधित्व गर्छ। साँढे मनोवृत्तिले बजारलाई बढाउँछ र भालुको पाराले बजार घट्छ भनिन्छ।
चलाख लगानीकर्ताले साँढे र भालु दुवै मनोवृत्तिसँग लय मिलाउन सक्छन्। अझ यो पनि भनिन्छ- सेयर बजारमा साँढेले पनि कमाउँछ, भालुले पनि कमाउँछ, कमाउन नजान्ने त बंगुर हो। बंगुर सेयर बजारका लागि सर्वथा नौलो जनावर हो। यसले बजारको उतारचढावसँग ताल मिलाउन जान्दैन।
जसरी लाखे हाम्रो मनोविज्ञानको उपज हो, त्यसैगरी सेयर बजारको गति पनि लगानीकर्ताको मनोविज्ञानकै उपज हो। अधिक लोभले मान्छेलाई जोखिम मोल्न लगाउँछ। अधिक डरले अवसर गुमाउने बाटोमा लैजान्छ।
लोभ र डरको यो अन्तर्क्रिया हामी सेयर बजारमा देख्छौं। यो खेल कहिले तीव्र हुन्छ, कहिले मन्द। कहिले रमाइलो हुन्छ, कहिले झर्कोलाग्दो। कहिले यसले धेरै खेलाडी, दर्शकस्रोता तानेको हुन्छ, कहिले झन्डै अस्तित्वशून्य अवस्थामा हुन्छ। कहिले यत्रतत्र सेयर बजारको मात्रै चर्चा हुन्छ, कहिले देशमा सेयर बजार पनि छ र? भन्ने माहौल बन्छ।
पछिल्लो एक महिनामा यसले धेरैको ध्यान खिच्यो। एक महिनामै सेयर बजार परिसूचक नेप्से ३ सय अंक बढेर १६३२ भन्दामाथि पुग्यो र दुई सय अंक घटेर १४३५ मा आइपुग्यो। यो तीव्र उतारचढाव केले ल्याएको हो भन्नेबारे धेरै विश्लेषण आए।
पहिलो विश्लेषण थियो अर्थमन्त्री खतिवडाको छवि।
यस्तो विश्लेषण गर्नेहरूको तर्क छ- अर्थमन्त्रीको बोली-व्यवहार सेयर बजार लगानीकर्ताप्रति मैत्रीपूर्ण छैन। जब अर्थमन्त्रीबाट खतिवडा बाहिँरिदै छन् भन्ने हल्ला चल्यो, लगानीकर्ताले सेयर माग गर्न थाले, मूल्य बढ्यो र नेप्से पनि बढ्यो। राजनीतिमा सेयर लगानीकर्ताले सोचेकैजस्तो हुनुपर्छ भन्ने छैन, भएन। पछि अर्थमन्त्रीका रूपमा खतिवडा दोहोरिए। लगानीकर्ता डराए, सेयर बेच्न थाले, आपूर्ति बढ्यो, मूल्य घट्यो र नेप्से पनि घट्यो।
अर्काथरी विश्लेषकको भनाइअनुसार कोरोनो भाइरसको महामारीका कारण चीनसँगको व्यापार रोकिएको छ। त्यता व्यापार गर्नेको पैसा सेयर बजारमा भित्रियो, त्यसैले सेयरको माग बढ्यो, मूल्य बढ्यो र नेप्से बढ्यो।
तर चीनमा पैसा पठाउन पाइएन भन्दैमा किन कसैले सेयर बजारमा लगानी गर्छ? पैसा निष्क्रिय रह्यो भन्दैमा जोखिमयुक्त क्षेत्रमा कसले पैसा हाल्छ? एउटा असल उद्यमीले लगानी गर्दा जहिल्यै पनि र जुनसुकै क्षेत्रको पनि जोखिम र प्रतिफल तुलना गरेकै हुन्छ। अर्काको देखासिकीमा, सतही ढंगले ठूलो रकमको जोखिम असल व्यवसायीले उठाउँदैन। त्यसैले यो विश्लेषण कमजोर छ।
सही नै भए पनि चीन व्यापार गर्ने कसले कति रकम ल्यायो र त्यो परिमाणको रकमले सेयर बजारलाई एक महिनामै तीन सय अंक माथि पुर्याउने र दुई सय अंक झार्ने गरी उथलपुथल पार्न सक्छ कि सक्दैन भन्ने अर्को प्रश्न हो।
यो अवधिमा बजारको सम्पत्ति झन्डै तीन खर्ब रुपैयाँ बढेर २० खर्बभन्दा माथि पुग्यो र पछि घटेर १८ खर्बमा आयो। दैनिकजसो २–३ अर्ब रुपैयाँको सेयर कारोबार हुन थाल्यो। सर्वसाधारणमा कौतुहल बढ्यो- दिनदिनै यत्रो पैसा कहाँबाट आउँछ?
ठूलो कारोबार रकमले पनि बजारलाई कौतुहलमय बनायो।
यसको अर्को पक्ष छ। बजारमा सेयर सस्तोमा किन्नु र महँगोमा बेचेर नाफा कमाउनु सामान्य मान्यता हो। तर सेयर सस्तो भएका बेला लगानीकर्ता कम हुन्छन्। उनीहरूलाई डर हुन्छ, बजार अझै झर्छ भन्ने। जब बजार बढ्न थाल्छ, लगानीकर्ताको उपस्थिति बढ्छ। उनीहरूलाई लाग्छ अझै बढ्छ। उनीहरू अनुमान गर्न थाल्छन्, नेप्से यो वा त्यो विन्दुमा पुग्छ भनेर।
तर सामान्य मान्यता विपरीत सस्तो भएका बेला मान्छे सेयर बेचिरहेका हुन्छन्, महँगिएका बेला किनिरहेका हुन्छन्। संसारभर नै यस्तो हुन्छ। यो नेपालमा मात्र हुने होइन। बहुसंख्यक लगानीकर्ताको अविवेकी लगानी व्यवहारले बजारमा तीव्र उतारचढाव ल्याउँछ।
अर्को विश्लेषण बैंक-वित्तीय संस्थाले सेयर किन्न सस्तो ब्याजमा ऋण दिन थाले अनि बजार बढ्यो भन्ने छ। बैंकसँग पहिलेका तुलनामा लगानीयोग्य रकम बढेको भन्ने समाचार आइरहेका छन्। तर मान्छेले सस्तोमा ऋण पायो भन्दैमा सेयर किनिहाल्ने भन्ने पनि हुँदैन।
सेयर कारोबारमा संलग्न हुन केही आधारभूत ज्ञान आवश्यक हुन्छ। थाहा नभएको ठाउँमा पैसा लगाउन मान्छे हत्पत्ति तयार हुँदैन। सेयर बजारबारे सामान्य जानकारी भएको मान्छेलाई लगानी गर्ने उपयुक्त समय हो भन्ने लागेको अवस्थामा मात्र सस्तो ब्याजदरको ऋणले सहयोगी भूमिका खेल्छ। 'बजार बढ्दो छ, मैलै सस्तोमा ऋण पाएको छु, अहिले सेयर किन्छु, बढेको मूल्यमा बेच्छु, ऋण तिर्छु र नाफा कमाउँछु' भन्ने आत्मबल लगानीकर्तामा पलाउनुपर्छ।
सेयर बजारबारे गरिएका सबै विश्लेषण सही हुँदैनन्। सबै विश्लेषण पूर्ण गलत वा पूर्ण सही पनि भन्न सकिँदैन। सेयर बजारमा सत्य स्थिर रहँदा पनि रहँदैन। हिजो जुन कुरा सेयर बजारका लागि सत्य थियो, त्यो आज नहुन सक्छ। विश्लेषण आंशिक सत्य पनि हुन सक्छन्। ती सबै आंशिक सत्यको समग्र रूपले बजारलाई प्रभाव पारेको हुन सक्छ।
बेलायती अर्थशास्त्री जोन मिनार्ड केन्सले सेयर बजारको चाल र सुन्दरी प्रतियोगिताको बिजेता पहिल्याउनु उस्तै हो भनेका छन्। त्यहाँ आफूलाई राम्री लागेकै प्रतियोगीले सुन्दरीको ताज पहिरिन्छिन् भन्ने हुँदैन। बरू उपस्थितमध्ये धेरैले कसलाई सुन्दरी ठानेका छन्, उनैले ताज पहिरिन्छिन्। त्यसैले सेयर बजारमा धेरै मान्छेले के सोचिरहेका छन् भन्ने अनुमान गर्नु महत्वपूर्ण हो। महत्वपूर्ण भए पनि यो सजिलो भने होइन।
किंवदन्ती अनुसार कान्तिपुरवासीले लाखेलाई नियन्त्रणमा लिएर आफ्ना केटोकेटीको रक्षा गर्न कबुल गराएका थिए। कान्तिपुरकै युवतीसँग प्रेममा परेको लाखेले उनलाई खेतीपातीमा सघाएको थियो। त्यसैले लाखे डरलाग्दो भए पनि मान्छेको काम आउने राक्षस हो।
सेयर बजारको खेल अर्काको हार मेरो जीत हुने 'जिरो सम गेम' होइन। यो सकारात्मक योगफल प्राप्त हुने 'पोजिटिभ सम' वाला खेल हो, यसमा सबैको जीत हुन सक्छ। यसको चाल पहिल्याएर हामीले सेयर किन्ने वा बेच्ने निर्णय गर्यौं भने यसबाट पुँजीगत लाभ र लाभांश पाउन सक्छौं।
बजारको तीव्र उतारचढाव लाखेको जस्तै डरलाग्दो रूप हो। बजारले दिने प्रतिफल लाखेको माया र सुरक्षा जस्तै हो। मान्छेको वस्तीमा मान्छेको रूपमा बसेको राक्षस लाखेलाई चिन्नुपर्छ, काबुमा राख्नुपर्छ र आफ्नो अनुकूल काममा लगाउन सक्नुपर्छ।