हालै सामाजिक सञ्जालमा एउटा भिडिओ व्यापक भाइरल बन्यो। उक्त भिडिओमा नेपाली सेनाका पूर्वब्रिगेडियर जर्नेल हेम खत्रीकी श्रीमती भएको दाबी गर्दै उनको घर घेराउ गर्न गएकामध्ये एक बच्चा बोकेकी महिलामाथि अमानवीय तवरले प्रहरी प्रभाग, बुङमतीका इन्स्पेक्टर देवी पौडेलले लाठी प्रहार गरेको देखिन्छ।
भिडिओलाई हेरेर स्टाटस लेख्दै प्रहरीलाई गाली गर्नेहरूको लहर नै लाग्यो।
साँच्चै त्यो भिडिओ हेर्दा सामान्य अपराधमा असामान्य बल प्रयोग गरिएको देखिन्छ नै।
सरसर्ती हेर्दा सेनाका पूर्ववरिष्ठ अधिकारीको प्रभाव परेको हो कि? भन्ने भान जनमानसमा धेरै परेको देखिन्छ।
यस भित्रको कथा जे जस्तो भए पनि यो भिडिओले प्रहरीको छविमा नराम्रो दाग भने लगाएको देखिन्छ। सायद यही कुरालाई मध्यनजर राखेर नै होला अहिले काठमाडौं मेट्रो प्रहरी र ललितपुर प्रहरीले तत्कालै छानबिन कार्य अगाडि बढाएको देखिन्छ।
अहिले नागरिक सँगसँगै काम गर्ने प्रहरी संगठनको नीति बमोजिम 'प्रहरी मेरो साथी', 'मुस्कानसहितको प्रहरी' लगायतका नारासहित अगाडि बढिरहेको प्रहरीलाई यस्ता घटना 'दाँतमा लागेको ढुंगा' भने झैं हुने गरेको देखिन्छ।
विशेषतः यस्ता अस्वभाविक घटनामा वरिष्ठ व्यक्ति संलग्न रहेको देखिने गरेको छ। उनीहरूले आफ्नो गल्तीबाट आफूलाई बचाउन आफ्नो अनुकूलतामा प्रहरीलाई आफ्नो प्रभावमा पार्ने गरेको देखिन्छ।
प्रहरीका केही कर्मचारीहरूले आफ्नो पदीय मर्यादा बिर्सिदिँदा यस्तो हुने गरेको छ। यसले प्रहरीले गरेका राम्रा कार्य ओझेलमा पर्ने मात्र हैन, प्रहरीको सम्पूर्ण संगठनलाई नै दूरगामी असर पर्ने गरेको छ।
प्रभावशाली व्यक्तिहरूले प्रहरीलाई आफ्नो स्वार्थ अनुकूल प्रयोग गर्न चाहनु त स्वभाविकै मानिएला, तर प्रहरी कर्मचारी आफैं उनीहरूको प्रभावमा आएर कसैविरूद्ध प्रयोग हुनु चाहिँ फरक कुरा हो।
प्रहरीमा मेरो प्रभाव छ है भन्ने देखाउन खोज्ने प्रयास जहाँ र जहिले पनि भइरहेको हुन्छ। जबसम्म सिस्टमले काम गर्ने परम्परा पूर्णत स्थापित भएको हुन्न, तबसम्म यस्तो भइनै रहन्छ।
अहिलेको नेपाली सेनाको पूर्वजर्नेल हेम खत्री संलग्न घटनामा भएको प्रहरी कारबाहीलाई पनि त्यसकै एउटा भागको रूपमा लिन सकिन्छ।
आखिर किन हुन्छ त यस्तो?
नेपालमा प्रहरीलाई प्रभावशाली व्यक्तिहरूले कतिसम्म र कुन हदसम्म प्रयोग गर्न खोज्छन् भन्ने दृष्टान्त आफ्नै अनुभव प्रस्तुत गर्न सान्दर्भिक ठान्दछु।
जब म इलाका प्रहरी कार्यालय धरानको इञ्चार्जको रूपमा कार्यरत थिएँ, तब एक सत्तारूढ पार्टीका स्थानीय नेताले भनेका थिए, 'सर, तपाईं प्रहरीको गाडीमा धरान बजारतिर जानु भएको बेला छाता चोकतिर म अरु मानिसहरूसँग हुँदा 'हेल्लो' भन्दै यसो हात उठाइ दिने गर्नुस् न है।'
मैले 'किन र?' भनेर सोध्दा उनले प्रहरीसँग आफ्नो सम्बन्ध महशुस गराउन आफ्नो प्रभाव त्यस ठाउँमा बढ्ने कुरा भनेका थिए।
कति नेता अनि ‘ठूला भनाउँदा’ सार्वजनिक ठाउँमा प्रहरीका इञ्चार्जसँग बिना प्रसंग कानेखुसी पनि गर्न भ्याउँथे। जुन उनीहरू युवा र विशेषगरी गुन्डागर्दीमा संलग्न युवाहरूलाई प्रभावमा पार्न देखाउने ध्येयले गर्छन्।
एक पटक धरानमा नै नेपाल प्रहरीका पूर्ववरिष्ठ प्रहरी अधिकृतका छोरा लागुऔषध ओसारपसारमा संलग्न भनेर असईको कमाण्डको टोलीले पक्राउ गरेर हिरासतमा राखेको थियो।
तर उनका बाबु तुरुन्तै प्रहरी कार्यालयमा आइपुगे। छोरालाई पक्राउ गरेकोमा प्रहरीप्रति खनिँदै थिए। मैले तत्काल छाड्न नमिल्ने कुरा बताउँदा त उहाँ यस्तरी पड्कनु भयो कि, अब तपाईंलाई देखाइदिन्छु भन्दै फन्किएर निस्किनु भयो।
संयोग कस्तो थियो भने, तत्कालीन आइजिपी (प्रहरी प्रमुख) अनि क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरका प्रमुख डिआइजी पनि उहाँका ब्याचमेट थिए।
तसर्थ संभावित आदेशको पर्खाइमा बस्दै गर्दा विराटनगरका डिआइजी सा'बको फोन आयो। 'हे कान्छा, तैले मर्यादा राखिनस्, टेरिनस् भनेर तेरो बारेमा कम्प्लेन आएको थियो। तैले जे गरिस् ठीक गरिस्, यसरी नै काम गरेस्।'
त्यतिखेर मन एकदम आनन्दित भएको थियो। अनि ती पूर्ववरिष्ठ अधिकृतका छोरालाई लागुऔषधमा मुद्दा चलाइयो, जेल नै पठाइयो। अहिले ती कुरा सम्झिँदा आत्मसन्तुष्टि मिल्छ।
प्रहरी कर्मचारीलाई विभिन्न किसिमले प्रभाव पर्ने प्रयास गरिन्छ। यस्तामा विशेषतः दुई किसिमका प्रवृत्ति देखिन्छन्- एक पदीय र सत्तामा रहेका प्रभावका हैसियतले अनि दोस्रो प्रहरीसँग रहेको आफ्नो सम्बन्धको आधारमा।
एक पटक त यस्तो व्यक्ति नै संलग्न भइदियो कि जुन हाम्रो सोच बाहिर थियो।
कुरा हो दुई दशक अगाडिको।
म जिप्रका सप्तरीको राजविराजमा मुद्दा शाखा इञ्चार्जको रूपमा कार्यरत थिएँ, सुरक्षाको माग गर्दै एउटा निवेदन आयो।
निवेदन बोकेर आउने व्यक्ति सामान्य भए पनि निवेदक असामान्य थिए। अर्थात् पूर्वप्रधानन्यायाधीश अनिरुद्रप्रसाद सिंह (नेपालका दोस्रो प्रधानन्यायाधीश, जो प्रथम प्रधानन्यायाधीश हरिप्रसाद प्रधानका उत्तराधिकारी थिए पो, भनिन्थ्यो)।
उहाँले प्रधानमन्त्री बाहेकका अधिकांश प्रमुख पद (मन्त्री, राजसभा स्थायी समितिका सभापति) ग्रहण गरिसकेका थिए।
पूर्वप्रधानन्यायाधीशमाथि नै सुरक्षा खतरा परेको भन्ने निवेदन परिसकेपछि प्रहरी सतर्क हुनु स्वभाविकै भयो।
हामीले स्थानीय प्रहरी चौकीलाई अलर्ट गरायौं। सुरक्षा थ्रेट गर्ने को रहेछन् भनेर बुझ्दा उहाँकै विधवा छोरा बुहारी पो रहिछन्!
उहाँलाई उपस्थित गराएर बुझ्दा त ती बुहारीले रुँदै भएको व्यहोरा बताइन् कि पूर्वप्रधानन्यायाधीश सिंह आफैंले छोरा मरेपछि अंश नदिनको लागि अनेक आरोप लगाएर कानुनी प्रपन्च रच्न प्रहरीको साथ लिन खोजेको रहेछन्। उनले त, बुहारी र नातिमाथि समेत कुटपिट गर्न लगाएको र खान/लगाउन नदिएर उल्टै अन्याय गरेर प्रहरीलाई नै आफ्नो प्रभावमा पारेर प्रयोग गर्न खोजेका रहेछन्।
उहाँलाई बोलाइयो, भएको व्यहोरा बताउँदै निवेदनमा लेखिएको भन्दा यथार्थ फरक देखियो नि श्रीमान् भनेर हामीले सोध्दा उल्टै कानुनी दाउपेचका कुरा गर्दै अप्रत्यक्ष धम्की पो दिन थाल्नु भयो।
मैले त्यतिबेला जिल्ला प्रहरी प्रमुखलाई सोधेको थिएँ, 'सर उहाँमाथि नै छानबिन गरेर कारबाही अगाडि बढाउने कि?'
तब एसपी सा'बले हाँस्दै भने 'हैन पूर्वप्रधानन्यायाधीशको मर्यादा राखिदिउँ, कारबाही नै चाहिँ नगरी हालौं। बरु उहाँको बुहारीलाई पूर्वप्रधानन्यायाधीशको माग बमोजिमको कारबाही नगरी अंशको लागि अदालत जान सुझाऊँ।'
अहिले लाग्छ त्यतिखेर पूर्वप्रधानन्यायाधीशको हर्कतविरूद्ध एउटा कदम उठाउन सकेको भए, एउटा इतिहास बन्थ्यो कि? त्यो अवसर गुमाए पनि प्रहरीको त्यस कदमले त्यस बखत राम्रै प्रभाव छाडेको थियो।
अर्को घटना
जब म वडा प्रहरी कार्यालय महाराजगञ्जको इञ्चार्ज थिएँ। एकाबिहानै हस्याङ्फस्याङ् गर्दै एक जना रुकुमतिरका कछाड लगाएका सोझा मगर आत्तिँदै निवेदन लिएर आए।
निवेदनमा १० वर्ष अगाडि वैदेशिक रोजगारीका लागि अरब पठाइदिन्छु भनेर एक पूर्वब्रिटिस सैनिकले ४५ हजार रुपैयाँ लिएका रहेछन्। गाउँको जग्गा बेचेर दिएको त्यो पैसा पाएपछि उनी सम्पर्कविहीन भएछन्।
१० वर्षपछि उनी नेपाल आएको थाहा पाएर पैसा फिर्ता माग्न जाँदा उल्टै धम्काएछन्। उनलाई तत्कालै प्रहरी कार्यालयमा उपस्थित गराइयो, छलफल गराइयो, तर उनले त झन् ठूला ठूला कुरा गर्न थाले। उनलाई छाडिदिन भन्दै धमाधम प्रभावशाली फोन आउन थाले, मानिसहरू भेट्न आउन थाले।
उता मगरको पक्षमा बोलिदिने कोही भएनन् न नै पैसा दिएको कुनै प्रमाण थियो।
यस्तैमा एक जना नेपाली सेनाका मेजर युनिफर्ममै आएर आफ्नो परिचय दिँदै थर्काउन थाले- किन उनलाई पक्रिएको? भनेर।
ती पैसा लिने व्यक्ति मेजरका साढु भाइ रहेछन्। झन् अब उसलाई के चाहियो र! हुँदाहुँदै ती पैसा लिने व्यक्ति त ठाडै लिएको हुँ तर तँसँग के प्रमाण छ? भनेर हाम्रै अगाडि कड्किए।
मैले मेजर सा'बलाई एक्लै राखेर स्थिति सम्झाएँ, स्थितिको बारेमा बेलिविस्तार लगाएँ। तर मेरो बस् चलेन।
मेजरको आडमा सबैको ठूलो स्वर भएपछि मैले मुद्दा शाखाका सई सा'बलाई भनेको थिएँ - पूर्वबेलायती सैनिकलाई हिरासतमा राखेर ठगी मुद्दा दर्ता गर्ने प्रोसेस सुरू गर्नू, अनि नेपाली सेनाका बहालवाला मेजर सा'बले आफ्नो पदको प्रभावमा पारेर प्रहरीको कामलाई दबाब दिन खोजेको बेहोराको चिठी नेपाली सेनाको सैनिक प्रहरीलाई लेखेर पठाउनू।
यतिमात्र के भनेको वातावरणले कोल्टे फेर्यो।
ती पूर्वबेलायती सैनिककी श्रीमतीले बिलौना गर्न थालिन् र आफूले आधा घण्टाभित्रै पैसा फिर्ता गर्न बचन दिइन्।।
साँच्चै, ती पूर्वसैनिकका श्रीमतीले भनेको समयभित्रै ती रुकुमेली मगरका ४५ हजार फिर्ता गरिन्। ती मगर यति खुसी भए कि उनको अनुहार धपक्क बलेको थियो।
उसको पैसा फिर्ता त भो, तर ती प्रहरीलाई प्रभावमा पार्न खोज्ने बहालवाला मेजरको बारेमा उनको मजकुर कार्यालयमा जानकारी गराउन सकेको भए केही हुन्थ्यो कि भन्ने कुरा अझै पनि मनमा लागिरहन्छ। तर त्यतिखेर आफूले गरेको कार्यबाट एक किसिमको आत्मसन्तुष्टि भने मिलिरहेझैं लाग्छ।
बेलाबखत प्रहरीलाई आफूअनुकूल उपयोग गरेर विवादमा पार्न खोज्ने शक्ति र पदका ती व्यक्तिहरू हेर्दा लाग्छ- तत्कालीन व्यवहारिक कुराहरूलाई हेरेर यस्ता प्रभावशाली व्यक्तिहरू, जसले प्रहरीलाई प्रभाव पारे वा पार्ने प्रयास गरे, उनीहरूलाई ठाउँको ठाउँ ठीक पार्न सकेको भए यस्ता घटनाहरू धेरै कम हुँदै जाने थिए कि!
प्रहरीलाई कतिसम्म उपयोग अनि दुरूपयोग गर्ने प्रयास गरिन्छ भने एउटा धरानको घटना हेरौं।
धरानमा रहँदा एक मानव अधिकारकर्मीको घरमा चोरी भएको उजुरी पर्यो। चोरीमा ती मानव अधिकारकर्मीकै घरमा काम गर्ने केटोमाथि शंका गयो।
प्रहरीले निकै केरकार गर्दा पनि केटोले केही बोलेन। उसले आफूले चोरेको हो भन्ने स्वीकार गरेन। यी कुरा ती मानव अधिकारकर्मीलाई भन्दा उनले अचम्मको प्रतिक्रिया दिँदै भने- 'त्यसरी सजिलै कहाँ गल्छ र सर? अलिक ठोकठाक गरे आफैं ठाउँमा आइहाल्छ नि।'
‘प्रहरीले निर्दोषलाई यातना दियो’ भन्दै बेलाबखत प्रहरी कार्यालयमा दबाब दिन आउने ती मानव अधिकारकर्मी आफूलाई परेपछि भने 'थर्ड डिग्री' लगाउन सिफारिस गर्दै थिए।
प्रहरीले कर्तव्य पालन गर्दै जाँदा यस्ता अनेकथरीका पात्र भेटिन्छन् अनि हुने/नहुने प्रभाव र दबाब भोग्नुपर्ने हुन्छ।
ती कुरा मान्दा प्रहरीले बाटो बिराउनुपर्ने हुन्छ अनि नमान्दा निमुखामाथि प्रहार गर्दै बदनाम हुनुपर्ने हुन्छ। यदि यस कुरामा प्रहरी थोरै सजग भइदिने मात्रै हो भने प्रहरी यस्तो समस्याबाट उन्मुक्ति पाउने देखिन्छ।
एउटा निहत्था न्याय माग्न भनेर गएका महिलामाथि अमानवीय तवरले लाठी बर्साउने इन्स्पेक्टर देवी पौडेल जस्ता पात्रहरूले आफूले गरेका अतिरिक्त कारबाहीका रिललाई थोरै रिवाइन्ड गरेर हेर्ने हो भने पनि धेरै कुरा क्लियर हुन्छ।
हामी प्रहरीलाई कतिसम्म दुरूपयोग गर्न खोजेका हुन्छन्, अनि यस्ता प्रभावशालीका प्रभावमा परेर हामीले कहिलेकाहीँ कतिसम्म पद र पावरको दुरूपयोग गरिरहेका हुन्छौं? यसको असर त स्वयम् दुरूपयोगकर्ता प्रहरी कर्मचारीलाई त परेकै हुन्छ नै, तर त्यो भन्दा पनि बढी चाहिँ सिंगो प्रहरी संगठनलाई परेको हुन्छ।
जसको नकारात्मक परिणाम सिंगो प्रहरी संगठन अनि यसका सदस्यहरूले कालान्तरसम्म भोगिरहेका हुन्छन्।
बहालमा रहेका प्रहरी कर्मचारीले आज आफूले गरेका कामले भोलि आफूलाई कसरी सम्झेलान्? भन्ने थोरै हेक्का मात्रै राखिदिने हो भने पनि आफ्नो कार्यशैलीमा धेरै फरक पर्छ।
तसर्थ प्रहरी कर्मचारीले अब विगतबाट पाठ सिकेर आफ्नो लागि मात्र नभएर सिंगो प्रहरी संगठनको आत्मसम्मानको लागि र प्रहरीप्रति जनताको विश्वास जित्नको लागि कुनै पनि प्रभावशालीहरूको प्रभावभन्दा पनि जनतामा प्रहरीको सकारात्मक प्रभाव पार्नेतर्फ ध्यान दिन जरूरी छ।
(लेखक नेपाल प्रहरीका पूर्वप्रहरी नायब उपरीक्षक हुन्)