नेपालमा अहिलेसम्म कोरोना भाइरसका ३५ जना शंकास्पद बिरामी परीक्षण भएकामा एक जनामा संक्रमण भेटिएको थियो। ती पनि निको भइसकेकोले हाल नेपालमा ‘कोभिड-१९’ बिरामी छैनन् भन्न सकिन्छ।
यति हुँदाहुँदै नेपाल कोरोना भाइरसमुक्त छ भनी घोषणा गर्नु अवैज्ञानिक र अव्यवहारिक हुनेछ।
केही कारण हेरौं।
कोरोना भाइरस नेपालमा उब्जिएको होइन, चीनबाट आएको हो। त्यहाँका जनता यसबाट मुक्त हुने प्रयासमा छन्। कोरोनामुक्त नभई उनीहरू हिँडडुलसम्म गर्न पाउँदैनन्। उनीहरूकै अगाडि हामीले नेपाल त कोरोनामुक्त छ, घुम्न जाऔं भन्नु कति जायज होला?
कोरोनाको महामारी मुलभूत रूपमा चीनकेन्द्रित छ। विश्वभर जति बिरामी भेटिएका छन्, ती सबै चीनबाटै संक्रमित भएर गएका हुन्। जनस्वास्थ्य दृष्टिले यो विश्वव्यापी आपतकालीन अवस्था भए पनि विश्वव्यापी महामारीको अवस्था होइन।
चीन भाइरस नियन्त्रण निम्ति युद्धस्तरमा लडिरहेको छ। सबै परिस्थिति अनुकूल भए यो लडाइँ सकिन अझै केही साता लाग्नेछ। नयाँ संक्रमण दर घटिरहेको छ। सायद क्वारेन्टाइनका कारण भाइरस सर्ने बाटो रोकिँदैछ। मौसम परिवर्तन र तापक्रमले भाइरसको स्वभाव कस्तो हुन्छ हेर्न बाँकी छ। कतिपयले तातो बढ्दै जाँदा भाइरस कमजोर हुनसक्छ भनेका छन्।
हामी कोरोनामुक्त छौं भन्दै उनीहरूलाई सुनाउनुअघि केही साता उताको परिदृश्य कसरी अगाडि बढ्छ भनेर नियाल्नु र आफूलाई तत्पर बनाइरहनु बुद्धिमानी होला।
नेपालको निगरानी प्रणालीमा पनि प्रश्न उठाउन मिल्ने केही ठाउँ छन्।
जनवरी अन्तिम साता नै हाम्रो एयरपोर्टमा थर्मल स्क्यानर मेसिनसहित हेल्थडेस्क राखिएको थियो। तर धेरै यात्रु नजाँचिएरै बाहिरिए। सात सयभन्दा बढी त चिनियाँ यात्रु नै आए। नेपालमा वुहान सहरबाट सिधै यात्रु आउँदैनन्। त्यसैले जो आए, सम्भवतः निरोगी नै थिए। तै पनि उनीहरू कसैले कोरोना भाइरस बोकेर आएका थिएनन् भन्ने ग्यारेन्टी छैन।
नेपालमा हालसम्म कोरोना भाइरस पत्ता लगाउने एउटै प्रयोगशाला टेकुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला हो। त्यहाँ परीक्षण गरिनेमध्ये धेरै शुक्रराज सरुवारोग अस्पतालमा आएका बिरामी वा एयरपोर्टबाट छानिएकाहरू छन्। के यति मात्र परीक्षणले कोरोनामुक्त घोषणा गर्नु उचित होला?
नेपाल आउने विदेशी बिरामी पर्दा प्रायः निजी अस्पताल जान्छन्। ती निजी अस्पतालले शंकास्पद बिरामीको सूचना सरकारी संयन्त्रलाई दिएको पाइन्न। शंंकास्पद बिरामी भेटिए पनि सरकारी संयन्त्रलाई जनाउ दिँदा आइपर्ने व्यवस्थापकीय झन्झट, गोपनीयता, फलोअप लगायत कारणले उनीहरू चुपै रहन्छन्।
कति अस्पतालले नमूना जाँच्न देश बाहिरका प्रयोगशाला पठाउँछन्। यस्ता प्रवृतिबारे धेरै कुरा प्रस्ट छैनन्। त्यसैले, अहिले नै हामी कोरानामुक्त छौं भन्नु सैद्धान्तिक रूपले सही होइन।
अर्कातिर, आनुवांशिक गुण परिर्वतन गरिरहने कोरोनाजस्ता भाइरसको वातावरणमा फैलिने स्वभावबारे बुझ्न बाँकी नै छ।
भाइरस पशुजन्य भए पनि यसबाट संक्रमित हुने पहिलो मान्छे अर्थात् ‘प्यासेन्ट जिरो’ अज्ञात नै छ। जनावरको शरीरमा रहुन्जेल शान्त र लक्षणविहीन बस्ने भाइरसले मानव शरीरमा प्रवेश गरेपछि रुघाखोकीजस्ता लक्षण देखाएर बिरामी पार्छ। हालसम्म भाइरसको महामारी हेर्दा जंगली बिरालो, उँट, बंगुर, चमेरोजस्ता जन्तुबाट फैलिएको हुनसक्ने अनुमान छ। जनावरसँग संसर्ग भइरहने समुदायमा यस्ता भाइरस फैलिने सम्भावना सधैं रहन्छ।
हाम्रो देशका गाउँमा बस्ने आममानिस जनावरको प्रत्यक्ष सम्पर्कमा रहन्छन्। त्यहाँ पटक-पटक फैलिरहने रुघाखोकीमध्ये कुनै प्रकोप यस्तै कोरोना प्रजातिका भाइरसकै कारण पो भइरहेको छ कि?
हामीले सबै शंकास्पद बिरामीको नमूना परीक्षण गरेका हुँदैनौं। हाम्रो प्रयोगशालामा नयाँ प्रजातिका भाइरस भेटिँदा त्यसको आनुवांशिकता जाँच्ने क्षमता पनि छैन। जेनेटिक कोड प्राप्त भएपछि बल्ल ती भाइरसको गुण कोरोनासँग कति प्रतिशत मिल्दोजुल्दो छ भन्न सक्छ।
प्रायः महामारी बेला प्रकोप दर एकचोटि उच्च विन्दुमा पुगेर विस्तारै घट्दै नियन्त्रण विन्दुमा आउँछ। कुनै बेला एक ठाउँ वा समयमा कम भइसकेको प्रकोप अर्को स्थानमा देखापर्न सक्छ। नियन्त्रणमा आइसक्यो भन्दाभन्दै दोहोरिन सक्छ। चीनले कोरोना नियन्त्रणमा लिएको आक्रामक नीतिका कारण भाइरस यसै हराउँछ कि भविष्यमा यसका नयाँ तरंग देखापर्छन् यसै भन्न सकिन्न।
अब नेपालले कोरोनाजस्ता महामारी नियन्त्रणमा गरेका तयारी, कार्यान्वयन र प्रतिक्रियाको समीक्षा गरौं।
कोरोना भाइरसको सम्भावित संक्रमण देशमा पस्न र फैलन नदिन सरकारले गरिरहेको प्रयास सबैले सराहनीय मानेका छन्। विशेषगरी महामारी केन्द्र मानिएको चीनको हुवेई प्रान्तका नेपालीलाई आफ्नै हवाईजहाजबाट उद्धार गरी क्वारेन्टाइनमा राखेको कुराले सर्वाधिक चर्चा बटुलेको छ।
सरकारले आफ्ना नागरिक उद्धार गर्नुले भूराजनीतिक अर्थ पनि राख्छ। आपद पर्दा हामी आफैं केही गर्न सक्छौं भन्ने सकारात्मक सन्देश दिन्छ।
कोरोना प्रजातिका भाइरससँग जुध्ने अचुक उपाय हालसम्म पत्ता लागेको छैन। न खोप छ, न निर्मूल पार्ने उपचार पद्धति। धेरैजसो भाइरस संक्रमण क्षणिक हुने र भाइरसको स्वभाव परिवर्तन भइरहने हुँदा उपचार पद्धति प्रभावकारी भएका छैनन्।
सार्स प्रकोपपछि कोरोना प्रजातिका भाइरसविरुद्ध खोप तथा उपचार पत्ता लगाउन निकै प्रयास गरिएका थिए। केही परीक्षण सफल भए पनि राजनीतिक तथा व्यावसायिक चासोमा परेनन्। सार्स महामारी रोकिएसँगै ती प्रयास अघि बढेनन्। अहिले कोरोना संक्रमण फैलिँदा विश्व अचुक अस्त्रविहीन छ।
यस्तो अवस्थामा भाइरस फैलिन नदिने र कमजोर बनाउँदै नियन्त्रण गर्ने एक मात्र उपाय हो। यसका लागि भाइरसको स्रोत र फैलिन सक्ने सम्भावित बाटो बन्द गर्नुपर्छ। शंकास्पद बिरामीलाई क्वारेन्टाइनमा र संक्रमितलाई ‘आइसोलेसन’ मा राख्नुको विकल्प छैन। जति चाँडो नियन्त्रण सुरू भयो, त्यति सजिलो, कम खर्चिलो र प्रभावकारी हुन्छ।
अर्को प्रश्न पनि उठ्छ– यो भाइरस नेपालमै उब्जिएर फैलिन सुरू गरेको भए के हामी यस्तो महामारीसँग जुध्न तयार थियौं?
झट्टै उत्तर दिनुपर्दा थिएनौं र सायद छैनौं पनि। तर तयारी गर्न सकिन्छ।
नेपालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत् स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई छ। प्रदेशस्तरमा पनि यस्ता समिति बनाउने चलन छ। तर, यी संरचनाले निगरानी पद्धति विकास गरेर प्राप्त सूचनाका आधारमा सम्भावित महामारी पूर्वानुमान र पूर्वतयारी गर्दैन। मिडियामा समाचार फैलिएपछि मात्र राजनीतिक र प्रशासनिक दबाबको प्रतिक्रियास्वरुप काम गर्ने परिपाटी देखिन्छ।
विज्ञतासहित समाधान दिनसक्ने गरी स्थापना भएका सरकारका विभागीय संस्थाहरू स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, शुक्रराज ट्रपिकल अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंको टेकुमा एकैठाउँ छन्। ती संस्थाहरूबीच नियमित समन्वय र सहकार्य हुँदैन। वैज्ञानिक र व्यवहारिक ढंगले काम गर्ने परिपाटी पनि बसेको छैन।
हरेक सरुवा सिजनमा कसले कसलाई सारेर कसलाई ल्याउने भन्ने खिचातानी चल्छ। नेतृत्वमा पनि तीव्र परिवर्तन आइरहन्छ। राजनीतिक नेतृत्व परिवर्तनसँगै निर्देशक बनाउने, हटाउने वा सार्ने प्रवृत्तिले संस्थामा अस्थिरता भइरहन्छ। संस्थाको नेतृत्वमा आउन वरिष्ठता र राजनीतिक सामीप्यले बढी काम गर्ने भएकाले कसैले पनि विशेष दक्षता प्रदर्शन गर्नु पर्दैन।
त्यसमाथि संस्था प्रमुखहरू प्रायः समान तहका हुनाले आ–आफ्नै पदीय मर्यादा र व्यवहार खोज्छन्। कसैले भनेको कसैले नसुन्ने वा नटेर्ने प्रवृति पाइन्छ। यस्तो अवस्थामा कुनै ठोस योजनाले सहजै मूर्तरुप लिन सक्दैन। समन्वयमा गरिनुपर्ने कयौं काम अघि नबढेका दृष्टान्त छन्।
महामारीको चर्चा गर्दा पशुजन्य रोगसम्बन्धी काम गर्ने संस्थाहरूसँग समन्वय अत्यावश्यक विषय हो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत पशुपन्छी रोग अन्वेषण तथा नियन्त्रण महाशाखा काठमाडौंको त्रिपुरेश्वरमै छ। कोरोना महामारीको सन्त्रास फैलिरहेका बेला त्यस्ता संस्थाले कस्तो भूमिका खेले, थाहा छैन।
मानिस र पशुपन्छीबीच रोगको सम्बन्ध ध्यानमा राखेर ‘एक स्वास्थ्य रणनीति’ बनाउने प्रयासले मूर्तता पाएको छैन। यस्ता रणनीति लागू गर्न चुस्त र समन्वयकारी संयन्त्र आवश्यक पर्छ।
महामारीबारे चर्चा चल्दा महामारी विज्ञान पढाउने प्राज्ञिक संस्थाहरूको संलग्नता नै छैन। यस्तो बेला विश्वविद्यालयहरूले बौद्धिक चिन्तन र बहस गरेर नयाँ ज्ञान प्रवाह गर्न सक्नुपर्छ। नेपालको प्राज्ञिक क्षेत्र भने यस्तो संस्कृतिप्रति बिल्कुल उदासीन छ। सरकारी निकाय पनि उनीहरूलाई वास्तै गदैनन्।
त्यस्तै महामारीबारे अनुसन्धान, अध्ययन गर्ने प्रणाली स्थापना, क्षमता विकास, सुदृढीकरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय गर्न आवश्यक स्रोत र साधनकै कमी छ। स्वास्थ्य क्षेत्रमा बजेट कम विनियोजन हुन्छ। अध्ययन अनुसन्धानमा त झन् नगन्य खर्च हुन्छ।
यो क्षेत्र मजबुत बनाउन सबै प्रकारका सरुवारोग अध्ययन अनुसन्धान, पहिचान, व्यवस्थापन, नियन्त्रण लगायत सम्पूर्ण जिम्मेवारी एउटा कमान्डबाट गर्न मिल्ने गरी ‘सेन्टर फर डिजिज कन्ट्रोल’ (सिडिसी) जस्तो संरचना स्थापना गर्नुपर्ने सल्लाह आइरहेको छ।
प्रदेश स्तरमा प्रयोगशालाहरू सक्षम बनाउन आवश्यक छ। प्रदेश अस्पताल, प्रदेशमा रहेका प्रतिष्ठान र विश्वविद्यालयले समन्वय गरी चलाउन सके उत्तम हुन्थ्यो। हाम्रो प्रशासनिक व्यवस्थाले त्यो सम्भव छैन। प्रदेशमा रहने स्वास्थ्य आपतकाल तथा विपद् तयारी समितिहरूले समन्वयात्मक भूमिका खेल्न सक्छन्।
सँगसँगै, अहिले परिवर्तन भएको स्वास्थ्य सेवा प्रणालीले संघीय संरचनाअनुसार आफूलाई ढाल्न अप्ठ्यारो मानिरहेको छ। कतिपय अवस्थामा तीनै तहका संरचनामाझ समन्वयमा कमजोरी देखापरेको हुन्छ। यसले जिम्मेवारीबाट पन्छिन सहज हुने प्रवृत्ति देखिन्छ। कुनै महामारी सामना गर्नुपरे कसरी चल्छ अहिल्यै भन्न सकिन्न।
गत वर्ष डेंगी नियन्त्रणको प्रयासमा कतिपय नगरपालिका र प्रदेश तथा संघीय निकायबीच तादात्म्य नमिलेका प्रसंग बाहिरिएका थिए।
कोरोना भाइरसको खतराबाट मुक्ति पाएको अनुभूति त्यति बेला मात्र हुनेछ, जति बेला यस्ता विपत्ति सामना गर्न मेरो देश हरदम तत्पर छ भन्ने आमजनतालाई महशुस हुन्छ।
त्यसैले, कोरोनामुक्त भएको घोषणा गर्नुअघि अहिलेका सबै प्रयास र देशको वर्तमान मानव तथा पशुस्वास्थ्य सेवा प्रणालीको अवस्था समीक्षा गरौं। अर्को महामारी भोग्नुपरेछ भने यसपालि भन्दा धेरै प्रभावकारी हुनेछौं।
(लेखक चौलागाईं जनस्वास्थ्य क्षेत्रमा कार्यरत छन्।)