काठमाडौंको एउटा सुकुम्बासी बस्तीमा मैले यस्तो संवाद सुनेको थिएँ:
महिलाः के साइकल चलाइ’रा, एउटा बाइक किन्नुस्।
पुरुषः हो, किन्दैछु। बाइक भए धेरै काम भ्याइन्थ्यो।
उनको साइकलमा राखिएको औजारले भन्थ्यो, उनी प्लम्बर हुन्।
मलाई लाग्छ, प्लम्बर पेसा मान्छेको अस्तित्व रहुञ्जेल रहन्छ। निकट भविष्यमा मेसिनले मान्छेबाट यो पेसा खोस्ने देखिँदैन। एउटा राम्रो प्लम्बरले सम्मानजनक जीवन बाँच्न पर्याप्त आम्दानी गर्छ। उसलाई यसको राम्रो जानकारी छ, यो क्षेत्रमा मैले आफूलाई सक्रिय राख्न सके एउटा अर्थपूर्ण जीवनयापन गर्न सक्छु भन्ने।
महिलाको उक्साहटलाई उसले सकारात्मक रूपमा लिएको छ। एउटा बाइक हुने हो भने म धेरै ‘साइट’हरूमा गएर काम गर्न सक्छु, बढीभन्दा बढी कमाइ गर्न सक्छु, खर्च गर्न सक्छु, बचत गर्न सक्छु, लगानी गर्न सक्छु।
उसलाई लाग्छ बाइकले उसको उत्पादनशीलता वृद्धि गर्छ। भविष्यमा अतिरिक्त आम्दानी हुन सक्ने गरी कुनै चिजमा खर्च गरिन्छ भने त्यो लगानी हो। यहाँ प्लम्बरका लागि बाइक पुँजी हो।
हरेक पेसा-व्यवसायमा संलग्न व्यक्तिसँग कुनै न कुनै पुँजी हुन्छ। हामीले भन्ने-सुन्ने गरेजस्तो पुँजी कुनै एउटा समूहमा थुप्रिएर बसेको हुँदैन। यो फैलिएको हुन्छ। नगद र केही वित्तीय पुँजीहरूलाई मात्र पुँजी मान्ने हो भने त्यो केही समूहमा थुप्रिएर रहेको हुन्छ भन्ने मान्न सकिन्छ।
नगद वा धितोपत्र मात्र पुँजी होइन। किसानसँग हुने हलो, चित्रकारको कुची, कार्यालयमा हुने कम्प्युटर, कारखानाका मेसिन, मोटरगाडी, घरजग्गा सबै पुँजी हुन्। तपाईंको ज्ञान, सीप, कला, उद्यमशीलता, स्वास्थ्य लगायत पनि पुँजी हो।
एउटा पूर्ण स्वतन्त्र आर्थिक, राजनीति, सामाजिक वातावरणमा मान्छेले आफूसँग उपलब्ध यी पुँजीहरूको अधिकतम उपयोग गर्न सक्छ। स्वतन्त्र समाजमा मान्छे बढी उत्पादनशील हुन्छ। त्यो उत्पादनशीलताबाट बढीभन्दा बढी धन सिर्जना हुन्छ र हामी नयाँ सिर्जित धनले दिने अतिरिक्त लाभको उपयोग गर्न सक्छौं।
अपवादबाहेक सामान्यतया मान्छे जिज्ञासू, उद्यमशील र सक्रिय हुन्छ। मान्छे समाजमा देखिन खोज्छ। देखिनलाई केही न केही गर्नुपर्छ।
एडम स्मिथ भन्थे- मान्छे प्रशंसाको भोको हुन्छ। प्रशंसाको भोको मात्र हुँदैन, प्रशंसायोग्य बन्ने प्रयत्न पनि गर्छ।
स्कटल्यान्डका दर्शनशास्त्री एडम स्मिथलाई धेरैले ‘अर्थशास्त्रका पिता’ भनेर चिन्छन्। स्मिथ अर्थशास्त्रीभन्दा दर्शनशास्त्री हुन्। अर्थशास्त्रलाई सामाजिक विज्ञानको हाँगाका रूपमा विश्वविद्यालयले स्मिथभन्दा धेरैपछि मात्र मान्यता दिएका हुन्।
उनले सन १७५९ मा ‘द थ्योरी अफ मोराल सेन्टिमेन्ट’ भन्ने किताब लेखेका थिए। यसमा उनले व्यक्तिको स्वभाव चित्रण गरेका छन्। मान्छेले आफैंसँग र समाजका अरू सदस्यसँग कस्तो व्यवहार गर्छ भन्ने विश्लेषण गरेका छन्।
तर, उनको दोस्रो किताब ‘द वेल्थ अफ नेसन्स’ बाट उनी बढी चर्चित बने।
यहाँ प्लम्बरले ऋणै काढेर भए पनि एउटा बाइक किन्छु, धेरै कमाउँछु भन्ने योजना बनाइसकेको छ। मान्छे स्वभावैले आफ्नो योजना बनाउँछ, आफ्नो योजनामा अघि बढ्न मन पराउँछ। अर्काको योजनामा हिँड्न जो बाध्य छन्, ती दास हुन्।
व्यक्तिको योजनाविरुद्ध हुने गरी केन्द्रीकृत योजना बनाएर समाजलाई एउटा गन्तव्यमा पुर्याउँछौं भन्नेहरू असफल भएको हामीले देखेका छौं। पूर्व सोभियत संघ, चीन लगायत विश्वको झन्डै आधा भाग ढाक्ने गरी भएका प्रयोग असफल भएका छन्। तिनले ठूलो मानवीय क्षति गरेका छन्। शासकले त्यस्तो व्यवस्था बनाउँछु भन्दा, त्यसलाई टिकाउँछु भन्दा करोडौं मान्छे मारिएका छन्।
मान्छेलाई केन्द्रको शासकले तोकेको गन्तव्यमा पुग्नु नै हुँदैन। आफ्ना निकटवर्तीसँगको सम्बन्धबाट उसले जीवनको परिभाषा बनाएको हुन्छ। त्यसको प्राप्तिलाई पछ्याइरहेको हुन्छ। हामी हाम्रा आमाबाबु, साथीभाइ, छिमेक, गुरूहरूका माध्यमबाट समाजलाई बुझेका हुन्छौं। यही बुझाइबाट हाम्रो महत्वाकांक्षा विकास भएको हुन्छ।
माथिको संवादमा महिलाले पुरुषको महत्वाकांक्षामा मलजल गरिरहेकी छन्। मोटरसाइकल समृद्धिको प्रतीक हो भनिरहेकी छन्। पुरुष र महिलाबीच हुने विविध किसिमका सम्बन्धमध्ये यो एउटा सम्बन्ध हो। महिला-पुरुष एकअर्कालाई माया गर्छन्, क्रोध देखाउँछन्, उक्साउँछन्, होच्याउँछन्।
महिला र पुरुषको सम्बन्ध मात्र होइन, महिला-महिला र पुरुष-पुरुष सम्बन्धले पनि मान्छेलाई केही गर्न वा नगर्न प्रेरित गरिरहेको हुन्छ। मान्छे आफू देखिने केही चिज निर्माण गर्न खोजिरहेको हुन्छ। मान्छेले ध्वंस मात्र गर्दैन, निर्माण पनि गर्छ।
सन् १९४३ मा आएको अब्राहम मास्लोको ‘अ थ्योरी अफ मोटिभेसन’ मा मान्छेका आवश्यकताको स्तरीकरण गरिएको थियो। मास्लोले भनेका थिए, मान्छे सुरूमा जैविक आवश्यकता पूर्तिका लागि दौडिन्छ। त्यसको पूर्ति भएपछि सुरक्षा खोज्छ, त्यसपछि पहिचान खोज्छ, आदर खोज्छ अनि आत्मउपलब्धता खोज्छ।
यो सिद्धान्त आलोचनारहित छैन। तै पनि, मान्छेको स्वभाव बुझ्न यसले धेरै सहयोग गर्छ।
मास्लोले अघिल्ला दुई आवश्यकतालाई आधारभूत, तेस्रो र चौथोलाई मनोवैज्ञानिक र पाँचौंलाई आत्मउलब्धताको स्तरमा राखेर श्रेणीबद्ध गरेका थिए।
मास्लोलाई मान्ने हो भने सरकारले नागरिकका लागि योजना बनाउनै पर्दैन। आफ्ना आवश्यकता पूर्ति गर्न मान्छे आफैं उद्यत हुन्छ। योजना बनाउँछ। टाढा केन्द्रको सरकारले बनाउने योजनाले उसको योजनामा बाधा पुर्याउँछ। सबै मान्छेलाई समान रूपमा आर्थिक, सामाजिक र राजनीतिक रूपले अधिकारसम्पन्न बनाउँछु भन्ने बाचासहितका केटौला योजनाले काम गर्दैनन्।
बरू मान्छेलाई त्यही एउटा बाइक किन्नुस् भनेर हौस्याउने प्रेरणाले काम गर्छ। निर्देशनले काम गर्दैन। सरकारी निर्देशनले पानी पार्न वा नपार्न, गर्मी या जाडो, भुइँचालो आउने वा नआउने, ज्वालामुखी फुट्ने वा नफुट्ने, हावाहुरी चल्ने वा नचल्ने, बाढीपहिरो आउने वा नआउने बनाउन सकिँदैन।
निर्देशनबाट कसैलाई राम्रो गीत गाउने, राम्रो चित्र कोर्ने, राम्रो कथा भन्ने, राम्रो नाच्ने बनाउन सकिँदैन। यी प्राकृतिक क्षमता वा अक्षमताबाट मान्छेलाई अलग्याउन सकिँदैन। त्यसमा सामान्य सुधार गर्न सकिएला तर कालोलाई सेतो बनाउन सकिँदैन।
तसर्थ सबैलाई समान बनाउँछु भन्नु झूट हो।
यो झूटले हामी सबैलाई दुःख दिएको छ। एउटा समूह आएर भन्छ, हामी तिमीहरूलाई समृद्धि ल्याइदिन्छौं। हामी पत्याउँछौं। आफ्ना धेरै अधिकार उसलाई दिएर हामी सरकार बनाउँछौं।
हामी एकअर्कालाई पिट्नु हुँदैन भन्छौं। तर त्यस्तै पिट्ने अधिकार सरकारलाई दिन्छौं। सेना, प्रहरी, प्रशासनले हामीलाई सदियौंदेखि पिट्दै आएको छ। जुन कुरा हामीले गर्दा गलत हुन्छ, त्यो सरकारले गर्दा पनि गलत हुन्छ। तर हामीले बल प्रयोग गर्न सक्ने सत्तालाई मान्यता दिएका छौं। वर्दी लगाएको मान्छेले नलगाएकोलाई पिट्न पाइन्छ?
वर्दी लगाएको मान्छेले हामीलाई पिट्दैन्थ्यो भने हामी कर पनि तिर्दैनथ्यौं। त्यसैले, अमेरिकी अर्थशास्त्री मरी रोथवार्ड कर उठाउने कुरालाई राज्यले फिरौती उठाएको भन्थे।
तपाईंको कञ्चटमा बन्दुक नराखी तपाईं कर तिर्नु हुन्न। जनताको स्वतन्त्रतालाई बन्धक बनाएर उठाएको फिरौतीलाई नैतिक भन्न नसकिने उनको तर्क हुन्थ्यो।
रोथवार्ड अराजकतावादी 'लिबरटेरियन' भनेर चिनिन्छन्। नोम चोम्स्कीहरूले रोथवार्डहरूलाई ‘बजार जडसूत्रवादी’ भन्छन्। चोम्स्कीले अर्थशास्त्री मिल्टन फ्रिडम्यानलाई पनि यो पगरी गुथाइदिएका छन्। रोथवार्डहरूले भन्नेजस्तो राजनीतिक सामाजिक सम्बन्ध निकट भविष्यमा सम्भव नहोला, तर उनीहरूले गर्ने तर्कहरूलाई ठाडै खारेज गर्न सकिँदैन।
योजना बनाएर मात्र हुँदैन। बितेका ७० वर्षमा हामीले १५ वटा योजना बनायौं, तर हाम्रो आर्थिक जीवनमा उल्लेख्य परिवर्तन आएको छैन। यसबीच राज्यले बनाएको योजनाले प्रतिफल दिँदैन भनेर हामीले जान्न पायौं। राज्यले बनाउने योजनामा सूचना, ज्ञानको अभाव हुन्छ। योजना लागू गर्ने अहम् र बल मात्रै हुन्छ। नागरिकका योजनाविरुद्ध आएका यस्ता सरकारी योजनाले द्वन्द्व मात्रै सिर्जना गर्छ।
अस्ट्रियाली दार्शनिक एफ ए हायक सूचना तथा ज्ञान कुनै एउटा निकायमा केन्द्रीकृत भएर बसेको हुँदैन, फैलिएको र स्थानीयकरण भएको हुन्छ भन्थे। त्यसैले, स्थानीय समस्या हल गर्ने सूचना तथा ज्ञान धेरै परको केन्द्रीय योजनाकारसँग नहुने उनको जिकिर थियो।
हाम्रो सन्दर्भमा त झन् सरकारसँग सूचना र ज्ञानको अभाव मात्र होइन, नियत, सीप तथा व्यवस्थापकीय क्षमता पनि नभएको देखिन्छ। हाम्रा नीति-निर्माताको आचरणले योजनाप्रतिको प्रतिबद्धता पनि देखाउँदैन।
हाम्रोमा पनि अन्तर्राष्ट्रिय पुरस्कार जित्ने योजना नबनेका होइनन्। देश-विदेशमा ख्याति कमाएका अर्थशास्त्रीले योजना आयोगको कमान नसम्हालेका होइनन्। तर, केन्द्रीकृत राष्ट्रिय योजनाको अवधारणामै समस्या छ, कार्यान्वयन त झन् परको विषय हो।
त्यसैले, प्लम्बरको मोटरसाइकल किन्ने योजनामा बाधा नपुग्ने स्वतन्त्रता सरकारले सुनिश्चित गर्नुपर्छ। सरकार, प्रहरी, प्रशासन, अदालत भनेका प्लम्बरले योजना बनाउन र कार्यान्वयन गर्न पाउने अधिकार वा स्वतन्त्रताको रक्षा गर्न गठन भएका हुन्।
सरकारको नीति-नियम र गतिविधि नागरिकका योजना बनाउने र कार्यान्वयन गर्ने स्वतन्त्रताको रक्षा गर्नेतर्फ केन्द्रित हुनुपर्छ। योजना सुकुम्बासी बस्तीमा आश्रय लिएकाहरूले पनि बनाउँछन्।