सेतोपाटीमा छापिएको छोराको आशले भ्रुणहत्याः सुर्खेतमा एक वर्षमै ३ हजार २ सय गर्भपतन लेखले सोच्न करै लाग्छ। यो मुद्दाले महिलाहरूको सामाजिक अवस्था कस्तो छ पनि देखाउँछ तर विषयको बारेमा लेख्दा भ्रुणहत्याा शब्द भने गलत प्रयोग गरिएको र यो हुने खानेहरूको र कर्णालीको मात्र समस्या होइन।
गरिबले पनि छोरा पाउन, छोरी छ भने गर्भ तुहाउँछन्। तीन वर्षअघि नेपालगञ्जका अस्पताल जाँदा पत्ता लाग्यो कि डोल्पा, कर्णाली अञ्चलका र तराई, पहाडका थुप्रै महिलाहरूले लिंग पहिचान गरी गर्भ तुहाउँछन्।
महिलाहरू गर्भजाँच गराउन नेपालगञ्ज आउँछन् र छोरी भए त्यहीँ गर्भपतन गरेर जान्छन्।
‘यहाँ एउटा अस्पताल छ, महिलाहरूलाई भिडिओ एक्सरे गरेपछि बच्चाको स्वास्थ्य कस्तो छ भनेर देखाउँछ भनेर गर्भ जाँच गराउँछन्। छोरी छ भने राख्ने कि फाल्ने भनि सोधिन्छ। यदि ‘फाल्ने’ अर्थात् गर्भपतन गर्नुपर्ने भए त्यहीँ नै गरिन्छ।
अहिले पनि तपाईं त्यस अस्पतालमा हेर्न जानु भयो भने १५/२० जना महिला पालो कुरिरहेका होलान्’, नेपालगञ्जमा एक स्त्रीरोग विशेषज्ञले भनेकी थिइन्,‘सरकारले गर्भपतनको कानुन बनाएपछि त गाउँघरका महिलाहरूलाई झन् सजिलो भएको छ गर्भपतन गराउन नेपालगञ्ज त कर्णाली र सुदूर पश्चिमको लागि त केन्द्र नै भएको छ।’ विकासमा अन्य पक्ष जस्तो शिक्षा, सडक सामाजिक चेतना आदिमा कर्णाली जति पछि परे पनि महिलाहरूलाई अपहेलना र शोषण गर्ने काममा चाहिँ निकै नै माथि छ। त्यसैले गर्दा टेलिफोन र बाटो नपुगेको ठाउँबाट समेत भ्रुणको लिंग पत्ता लगाई गर्भपतन गराउन आउँछन्।
उपल्लो डोल्पामा भने यसरी पहिचान गर्ने र गर्भपतन गराउने चलन चाहिँ छैन। फेरि उपल्लो डोल्पाबाट प्लेन आउने ठाउँ पुग्न नै ६–७ दिनको बाटो हिँडनुपर्छ। र उपल्लो डोल्पाको संस्कृति रहन सहनमध्ये डोल्पाको भन्दा निकै फरक पनि छ।
मध्य डोल्पामा शायद हिन्दु संस्कृतिको प्रभाव परेर अनुसार, मरेपछि छोरा नै चाहिने भएर छोरीलाई गर्भपतन गराइन्छ। तर समस्या नेपाली समाजमा ‘लिंग पहिचान गरेर’ यदि छोरी छिन् भने ‘गर्भपतन’ गराउनु अहिले मात्र देखिएको समस्या होइन।
पहिले गर्भपतन कानुनी नभएकोले आर्थिक अवस्था राम्रो भएका परिवारका महिलाहरू धेरै पैसा तिरेर प्राइभेट रूपमा स्त्रीरोग विशेषज्ञ कहाँ गएर जाँचेर छोरी छन् भने गर्भपतन गराउँथे र तराई भागका महिलाहरू चाहिँ भारतमा गएर गर्भपतन गराउँथे। तर अहिले नेपालमा काठमाडौं र विराटनगरमा नै गर्भ पहिचान गर्ने र छोरी छिन् भने गर्भपतन गराउने चलन बढ्दै मात्र आएको हो।
यो एउटा सामाजिक समस्या हो यसमा केही शंका नै छैन। तर यसरी गर्भपतन गराउने गर्भपतनलाई ‘स्त्री हत्या’ ‘बालहत्या’ र ‘भ्रुण हत्या’ भनेर जसरी सञ्चार माध्यममा आइरहन्छ त्यसले गर्दा गर्भपतनको अधिकार महिलालाई दिनु नै गलत थियो कि भन्ने मानसिकता बढ्दै गइरहेको छ।
कृपया गर्भपतनसम्बन्धी लेख लेख्नेहरूले यस्ता सम्बन्धमा लेख्दा ‘गर्भपतन’ नै लेखिदिनुहोस्। ‘छोरीहरू छ भन्ने थाहा पाएपछि गर्भपतन गराउने डाक्टरहरू दोषी हुन् तिनलाई सजाय दिनुपर्छ’, ‘डाक्टरहरू बदमास हुन्, पैसा कमाउन जस्तो पनि गर्भपतन गर्छन्’ भन्ने भ्रम जनमानसमा फैलिएका छन्।
डाक्टरहरूले गर्भपतन गराउन आउने महिलाहरूलाई सेवा दिनु त उनीहरूको कर्तव्य हो।
कति परिवारले महिलालाई एक ठाउँमा लगेर जाँच गराएर छोरी भएको पत्ता लगाउँछ र अर्को डाक्टरकहाँ गएर गर्भपतन गराउने सेवामात्र लिन्छ।
नेपालको कानुनअनुसार नै यदि आमाको मानसिक र शारीरिक स्वास्थ्यमा नराम्रो असर परेको छ भने गर्भपतन गराउन पाउने अधिकार छ भनेर लेखिएको छ।
परिवारले गर्भको लिंगको पहिचान गरेको/नगरेको खुलासा नै नगरेर गर्भवती महिला धेरै बिरामी भएको, मानसिक रूपमा पनि चिन्तित भएको र जसरी भए पनि गर्भपतन गराउनै पर्ने अड्डी लिएपछि डाक्टर पनि विवश हुन्छन् गर्भपतन गराउन।
४/५ महिनाको होस् वा ६ महिनाको होस्। यस्तो समस्यामा डाक्टरलाई दोष दिने कि ती सामाजिक मूल्य जसले छोरीलाई दोस्रो दर्जाको नागरिक बनाएर आमाबुवालाई नै छोरा चाहिँदैन भन्ने भावना छ? छोरी नभए पनि हुन्छ तर छोरा नभइ हुँदैन भन्ने हाम्रा धार्मिक किताब, पण्डितहरूको विचार, गरुड पुराण, स्वस्थानी, तराईतिरको कठोर पर्दा प्रथा र छोरीहरू र बुहारीहरूप्रति गरिने अमानवीय व्यवहार आदि सबैले नै परिवारलाई छोराको चाहना बढाएको हुनाले गर्भबाटै हटाइ दिने गरिन्छ छोरीलाई।
नेपालगञ्ज मेडिकल कलेजमै कार्यरत एक कर्मचारीले भनिन्, ‘मेरो जेठो छोरी भएपछि दोस्रो गर्भ रहँदा छोरी हो भने फालेर आउन भनियो, घर परिवारका मानिसले दबाब दिएपछि म पनि भिडिओ एक्सरे गराउन अस्पतालमा पुगें।
चार महिनाको गर्भ रहिसकेकोले मलाई गर्भपतन गराउन पिर त लागेको थियो। तर के गर्नु परिवारलाई छोरा नभई नहुने। म कमाउने र पढेलेखको भएपनि विवश थिएँ गर्भपतन गराउन, यदि भ्रुण छोरी भएको भए। धन्य मेरो छोरा नै रहेछ। खुसी मानेर घर फर्कें।’
‘तर कानुन अनुसार त भिडिओ एक्सरे गरेपछि छोरा कि छोरी भनेर भन्न पाइन्न नि’ मैले भन्दा ती कर्मचारीले भनिन्, ‘खोइ कानुनमा के छ थाहा छैन। भिडिओ एक्सरे गर्ने सबै ठाउँमा त डाक्टरले भनि हाल्छन् नि। कसले गएर हेर्छ र? कसले कानुन पढ्छ।’
उनको कुरा सुनेर मलाई नमज्जा चाहिँ लाग्यो। हामीले गर्भपतनको कानुन ल्याउने लडाइँ लड्ने प्रमुख कारण थियो, नेपाली महिलाहरूको मातृ मृत्यृ दर घटोस्,असुरक्षित गर्भपतनले उनीहरू जीवन भए बिरामी भएर बस्न नपरोस् तर अहिले त यसरी विज्ञान प्रविधिको दुरुपयोग गरेर समाजमा छोरी भ्रुणलाई, शिशुलाई गर्भपतन गरिँदै छ।
यसले गर्दा पछि त समाजमा महिलाहरूको संख्या कम भएर सामाजिक विचलन पनि आउन सक्छ। जसरी भारतका केही ठाउँमा यस्तो अवस्था पञ्जाब, हरियाणमा देखिएको छ तर यसो भनेर गर्भपतनलाई ‘हत्या’ सँग जोडिनु चाहिँ अति नै गलत हो।
यसले त नेपाली महिलाहरूले पाएको अधिकारको नै अवमूल्यन गरिरहेको अवस्था सृजना भएको छ।
‘गर्भपतनको अधिकार पाएकोले नै छोरीलाई मार्ने चलन’ बढ्न गएको हो भन्ने जस्ता नकारात्मक सन्देश जान्छन्।
किनभने गर्भपतनको अधिकारले महिलाहरूलाई जीवन बचाउन र अनिश्चित गर्भ तुहाउन र असुरक्षित तरिकाले गर्भपतन गरेर बिरामी हुने र मृत्यु हुनबाट बच्न सकियोस् भनेर ल्याइएको थियो यो कानुन। तर यदि कसैले अधिकारको दुरुपयोग गर्छ भने त्यो अधिकार नै गलत हो भनेर कदापी मिल्दैन।
सकेसम्म गर्भपतनको अवस्था नै आउन नदिन पुरुष र महिलाहरूले प्रयोग गर्ने अस्थायी साधन प्रयोग गर्नुपर्छ र ती साधनहरू असफल हुँदा अनिश्चित गर्भ रहन जान्छ, त्यो बेलाको लागि गर्भपतनको सुविधा लिनुपर्ने हो।
यही सकारात्मक पक्षलाई ध्यान दिएर नै गर्भपतनको कानुन ल्याउने कसरत भएको थियो र आजभन्दा १९ वर्षअघि गर्भपतनको कानुन आयो।
अहिले केही व्यक्तिहरूले ‘भ्रुण हत्या’ भन्ने शब्दलाई बारम्बार प्रयोग गरेर त्यो कानुनलाई महत्व नै कम गर्न खोजिरहेका छन्। ‘भ्रुण हत्या’ होइन कि लिंग पहिचान गरेर गर्भपतन गर्ने समस्या एक सामाजिक समस्या हो भनेर लेखिनु पर्छ।
जबसम्म धार्मिक र सामाजिक रूपमा छोरा छोरीलाई समान मूल्य दिइँदैन कानुनी रूपमा महिलाको अधिकार पुरुष सरह मानिन्न तबसम्म शायद लिंग पहिचान गरी गर्भपतन गराउने काम रोकिने छैन।
मुलुकी ऐनमा गर्भपतनलाई हत्यासँग जोडिएर भ्रुणहत्या भन्ने शब्द लेखिएको तर यो शब्द उपयुक्त शब्द होइन, अहिलेको सामाजिक अवस्थामा मिल्दैन।
भ्रुणहत्या भने शब्द प्रयोग गर्दा महिलाहरूले कानुनी गर्भपतन गरेको पनि ‘हत्या’ हो भन्ने जस्तो भान हुन्छ त्यसैले आम सञ्चार माध्यमले भ्रुणहत्या र गर्भपतनलाई एउटै शब्द जस्तै गरेर प्रयोगमा ल्याउनु हुँदैन।
यसरी लिंग पहिचान गरी गर्भपतन गराउने कार्यको विरूद्ध सामाजिक चेतना जगाउनु पर्छ, गर्भपतनको अधिकार नै हटाउने मानसिकता त्याग्नुपर्छ।