त्रिभुवन विश्वविद्यालयलाई सुधार्न विज्ञहरूले आयोग, भेटघाट, संचार माध्यमबाट जति भने पनि राजनीतिक नेतृत्वको मनस्थिति परिवर्तन भएन।
यो उनीहरुको दम्भ हो कि अज्ञानता? मैले थाहा पाउन सकेको छैन। तैपनि उच्च शिक्षामा पुनर्सरचना गर्नुपर्यो भने पनि उनीहरू सुन्न चाहँदैनन्।
यसैका बीचमा प्रस्तावना, प्रतिबद्धता र सम्झौताविना नै भरपर्दो व्यक्ति भनेर सरकारले त्रिविमा नयाँ भिसी (उपकुलपति) पठाएको छ।
भिसीमा धर्मकान्त बाँस्कोटा नियुक्तिलाई त्रिविको साख उठाउन पठाइएको भन्ने चर्चा छ। उनले मेडिकल काउन्सिलमा विवादमुक्त र सक्षमको छवी बनाएकाले त्रिविलाई पनि सुधार्छन् भन्ने अपेक्षा रहेछ।
राष्ट्रपतिको नातेदार, निजी चिकित्सक भएकैले उनलाई यो अवसर दिएको हो भन्ने पनि मत छ। यी तर्कको फैसलामा न्यायाधीश हुने अवसर पनि अब भिसिकै हातमा पुगिसकेको छ। जुन कुरा कामबाट महशुस गराउन पर्नेछ।
उच्च शिक्षामा पुनर्सरचना नहुँदा पनि यथास्थितिको सीमामा रहेर इच्छाशक्ति हुने हो भने केहि सुधार गर्न सक्ने अवस्था छ।
केदारभक्त माथेमा पछि कुनै पनि भिसिले न त आफ्नो कार्यकलमा उल्लेखनिय काम गर्न सकेका छन्। न त पद बहिर हुँदा कुनै उच्चस्तरका आयोगलगायतका मन्चमा उपस्थिति जनाउन सके। न कसैले शिक्षाविद्को रुपमा मान्दछ।
एउटा कुरा भन्छु, भिसिको निधनपछि संचार माध्यमले “त्रिविका पूर्वउपकुलपति....को मृत्यु, उहाँ उच्च रक्तचाप र मधुमेहबाट पीडित हुनुहुन्थ्यो। उहाँको अन्त्येष्टिमा उहाँका आफन्त र उहाँले जागर लगाइदिइका २/४ जना उपस्थित थिए। उहाँका १ छोरा १ छोरी र १ श्रीमती छन्” भन्ने खबर आउनु उनका लागि मात्र हैन देशकै लागि दुर्भाग्य हो।
भिसिको योगदानको चर्चा कम्तिमा २/४ दिन मिडियामा छाएको हेर्न पाए परिवारजनलाई गर्व र आनन्दको महशुस हुन्थ्यो होला। यस्ता गुमनामहरूको लाइनमा नबस्नु होला।
स्थिर र शक्तिशाली सरकारका प्रधानमन्त्री र राष्ट्रपतिले पत्याएका भिसिलाई ऐतिहासिक हुने यो अवसर हो। यो उत्कृष्ट मानव जुनीमा मास्लोको तल्लो पिरामिडमा बसेर मोज मस्तीका चार बर्ष मात्र नबाँच्नुहोला पिरामिडको माथिल्लो तहमा बसेर ‘इजुकेसनल अर्गनाइजेसन चेन्ज’ को तपाईंको हाइपोथेसिस परीक्षण गरेर थियरी बनाउनु होला। जुन कुरा “हायर इजुकेसन रिर्फम इन नेपालः अ लेसन टु अन्डर डिवलव्ड कन्ट्रिज” भनेर लेख छापियोस् र त्यसले निधनपछि पनि तपाईंलाई बँचाइराखोस्।
तपाईं यही अभिलाषाले संस्थाको सर्वोपरी हितलाई ध्यानमा राखेर काम गर्नुहोला भन्ने अपेक्षाका साथ तत्काल चाल्न पर्ने केहि कदम यहाँ उल्लेख गर्दछु।
१. विगतमा पदाधिकारी नियुक्ति गर्दा सम्भावित व्यक्तिका सम्वन्धमा संस्थाभित्र व्यापक निजको कार्य योजना, क्षमता, योग्यता, प्रतिवद्धता, इमान्दारिता आदिमा वहस गर्ने काम भएन।
२/४ जनाको मिलिभगतमा टपक्क टिपेर पदाधिकारी बनाइयो। यस कार्यले विश्वविद्यालयमा पदिय दायित्व, पारदर्शिता र जवाफदेहिता, पद्धति आदिको ह्रास र स्वेच्छाचारित, अराजकता र चाकरी प्रथाको बढबा भएको छ।
अव नयाँ उपकुलपतिको सक्षमताको प्रदर्शनको शुरूवात रेक्टर रजिस्ट्रार, डिन, क्याम्पस प्रमुखलगायतका पदमा नियुक्ति गर्ने तौरतरिकामा प्रदर्शन हुनेछ भन्ने अपेक्षा गरिएको छ। इच्छुक उमेदवारका कार्य योजना सम्बन्धित संस्थाका शिक्षक र कर्मचारीले सुन्न पाउन्, निजको इमान्दारिता, सक्षमता, योग्यता, प्रतिवद्धतामा खुल्ला वहस गर्न पाउन् र आफैले चुन्न पाउन्।
२. त्रिविका सबै पाठ्यक्रमलाई रोजगारमूखी बनाएर पूर्नसंरचना गरौं। पास प्रतिशत (आन्तरिक सक्षमता) र रोजगारी प्रतिशत (वाह्य सक्षमता) अबको चौथो बर्षमा ५० र आठौं बर्षमा ८० प्रतिशत पुर्याउने कार्यनीति बनाऔं। विगतका तीन भिसिका कार्य असक्षमता वा लालचले भनौं कक्षा शिक्षण र परीक्षा प्रणालीको स्तर लज्जा जनक भइसकेको छ अझ थेसिसको स्तर र सुधारको उपाय युजिसिका अध्यक्षको प्रतिवेदनले औंल्याएको छ। पैसाको लोभमा प्राध्यापकलाई निकृष्ट अभ्यास गराउने यो संरचना भिसिले चाहेमा सुधार्न सकिन्छ।
३.चिकित्सा शिक्षा आयोगले डाक्टरमा नैतिक मूल्य, मान्यता र मानवीय संवेदनाको विकास गराउने भनेको, निजामति सेवाको प्रथम श्रेणीसम्म पूर्विय दर्शनमा नैतिक मूल्य मान्यतालाई पाठ्यक्रममा समेटिएको तथा हाम्रो राष्ट्रिय सस्कृति मूल्य, मान्यता र पहिचान मा नै ह्रास आएको छ भनेर चिन्तित भएको अवस्थामा अव स्नातक तहका सबै कार्यक्रममा यी कुरालाई समेटौं।
हाल कक्षा भार नपुगेका संस्कृति, इतिहास, भूगोल, राजनीति शाष्त्र, संस्कृत र मैथिली भाषा आदिका प्राध्यापकहरुलाई १, २ र ३ बर्ष तोकेर कोर्षको मोडुल विकास गर्न र पढाउन लगाऔं। आवश्यक आर्थिक र प्राविधिक सहयोग गरे पछि अव्वल स्तरमा विकास हुन सक्ने यो उपलव्ध जनशक्तिलाई सदुपयोग गरौं। पूर्विय दर्शनले मानव जीवनको चार लक्ष्य वा पुरुषार्थहरु (क) काम (शारीरिक आवश्यकताः सुरक्षा, आहार निद्रा, मैथुन आदि पूर्तिका लागि गरिने कार्य), (ख) अर्थ (अर्थ भनेको आर्थिक सम्वृद्धि हो, सामाजिक प्रतिष्ठा प्राप्तिको साधन भनिएको हो ।
यहाँ विश्वविद्यालय आर्थिक सम्वृद्धि वा अन्तराष्ट्रिय इज्जत् मार्फत आफ्नो इज्जत कमाउने वा सामाजिक प्रतिष्ठा हासिल गर्ने कर्म), (ग) धर्म (धर्म भनेको कर्तव्य हो, यहाँ ख्याती प्राप्त व्यक्तिले गर्ने ख्याती कमाउने कर्म भनिएको हो जुन परोपकार पुण्याय हुन्छ। देव, पितृ, र गूरु ऋण तिर्नका लागि गरिने कर्म ), र (घ) मोक्ष (फलका आशक्ति विना गरिने सबै कर्म) को सिफारिस गरेको छ।
मान्छे मर्दा पञ्च महाभौतिक आकाश, तेज वायु, जल पृथ्वी बाट बनेको शरिर मात्र हैन शरिरलाई चलाउने मन वा आशक्तिलाई पनि यहिँ विर्सजन गर्नुपर्छ तव मात्र एक शुद्ध आत्माले गति पाउँछ नत्र अगति/ओभरलोडेड भएर प्रेतात्मा हुन्छ भनिन्छ।
हाम्रा विद्यार्थीमा यो चेत र अभिवृत्ति विकास गराएर असल नागरिक उत्पादन गर्ने हो भने शुरुवात हामीबाट गरौं। संस्थापर्तिको लगाव, आर्थिक मितव्ययी र पारदर्शीता, उत्तरदायित्व, सार्वजनिक सम्पत्तिको संरक्षण भिसिबाट अरू पदाधिकारी, पदाधिकारीबाट शिक्षक कर्मचारी, र शिक्षक कर्मचारीबाट विद्यार्थीले सिक्ने हो, पालना गर्ने हो। त्यसैले तपाईं अर्थ र धर्मको पुरुषार्थहरुले निर्देशित हुनोस्।
४. आर्थिक र अन्य प्रलोभनले सम्वन्धन बाँड्ने कर्मले कालन्तरमा पछुतो हुन्छ। पदमा रहँदा गलत कार्य गर्ने केहि व्यक्तिले पश्चातापले आत्महत्या गरेको पनि देखियो। कोहिले बुढेसकालमा भक्ति संगित सुनेर पापको प्रायश्चित गर्नुपर्छ। सम्वन्धन लोभ नगरी मन बाँधेर स्नातक तहका सबै कार्यक्रममा विद्यार्थी भर्ना छनोट परीक्षा मार्फत लिउँ। ल्याकतै नभएका बच्चा वा रोजगारको बजार नै नभएको बिषयमा बाआमालाई सपना देखाएर समय, आशा, शुल्क र अवसर कष्ट लुटेर पापको भागी नबनौं।
५. शिक्षकको शिक्षण उत्कृष्टतालाई उसको वृत्ति विकासमा जोड्ने हो भने कार्य सम्पादन मूल्याङ्कन गर्ने क्याम्पस प्रमुख प्राविधिक र वास्तविक रुपमा प्रोफेसर तहको हुनु पर्छ। नामै नसुनेको शिक्षकको मूल्याङ्कन माथिबाट गराउने काम हास्यस्पद हुन्छ।
६. क्याम्पस एकाइमा नै ज्ञान निर्माण र त्यसको प्रयोगको अभ्यास गर्ने र त्यसका लागि सानो फण्डको व्यवस्था गरी अनुसन्धान तथा प्रकाशन समितिमार्फत व्यवस्थित गर्ने हो भने त्यसको अध्यक्षता गर्ने क्याम्पस प्रमुख पिएचडिलाई अनुसन्धानको कक्षा १ पास भन्ने हो भने ५ कक्षा जतिको स्तर भएको चाहिन्छ।
७. क्याम्पस प्रमुखलाई आन्तरिक स्रोत सृजना गर्न उत्प्रेरित गरौं। निजको तलव बराबरको भत्ताको व्यवस्था गरौं। भत्ताको आधा रकम केन्द्रले र आधा सम्बन्धित क्याम्पसको स्रोतले ब्यहोरौं। क्याम्पस प्रमुखलाई न्यूनतम खर्चका लागि लोभ गर्न पर्ने अवस्था नबनाऊँ र एक पैसा पनि आर्थिक अनियमिता गर्ने अवशर पनि नदिऊँ।
सिफारिस गर्ने र नियुक्त गर्ने व्यक्तिलाई आर्थिक प्रलोभनमा पारेर पद हत्याउने क्याम्पस प्रमुखका लागि कमाउने बाटा पनि प्रसस्तै हुन्छन्। कोटा तोकिएका विषयमा भर्ना लिँदा प्रश्न पत्र लिक, उत्तर पुस्तिका साट्ने, गोप्य बडाबढ गरी मेरिटमा नपरेकोलाई भर्ना गर्ने आदि र निर्माणमा कमिसन खाने।
यस्तो काम गर्ने जो कसैलाई पनि भिसिले पद खोसेर कानुनी कारवाही गर्ने हो भने मात्र वास्तविक योग्यता प्रणाली कायम हुन्छ र कलेजमा उच्च आर्थिक तथा नैतिक आदर्शको जगेर्ना हुन्छ।
८. शैक्षिक कार्यक्रमको गुणस्तरको जिम्मा र उत्पाादित जनशक्तिको रोजगारीको ग्यारेन्टी डीनले गर्ने हो। त्यसैले यो पदमा हाम्रो देसको प्राकृतिक स्रोत र साधन तथा जागिर वजार बुझेको साथै सरकारी, नीजि, गैरसरकारी रोजगारदातासँग समन्वय गर्न सक्ने ल्याकतको मान्छे चाहिन्छ।
विश्वविद्यालय आफैंमा अन्तराष्ट्रिय हुन्छ यदि र्याङ्किङमा जान चाहने हो भने, पाए सम्म विदेशमा पनि पत्तिएको नत्र भने कम्तिमा विदेशी स्तर बुझेको व्यक्ति डीन पदमा ल्याउनु होला।
९. सबै क्याम्पसमा, अनुसन्धान केन्द्रहरुमा र डिग्रि उपाधिहरुमा हुने ज्ञान निर्माणलाई समन्वय, आँकलन, अनुगमन र पृष्ठपोषण गर्ने रेक्टर अन्तरराष्ट्रिय प्राध्यापकको विचमा सुहाउने ज्ञानी मनिषि ल्याउनु होला। आफैंले गराएका र समकक्षता दिइने पिएचडिको गुणस्रतर यहिँबाट नियन्त्रण गर्ने भएकोले सुझवुझ र साहसको संगम खोज्नुहोस्।
१०. विश्वविद्यालयको भौतिक र आर्थिक स्रोत साधनको दीर्घकालनि योजना बनाउन सक्ने व्यक्तिलाई रजिष्ट्रार बनाउनु होस्। त्रिविको भौतिक सम्पत्ति प्रयोग गरी फण्ड रेजिङ गर्ने क्षमता उसमा हुनुपर्छ।
जसले गर्दा शिक्षकको लागि नियमित अनुसन्धान फण्ड, र पेन्सन कोषको ढुकुटि बलियो बनाउन सकियोस्। त्रिपुरेश्वरको ट्रेड टावरजस्ता संरचना बनाउँन परे नातिले सम्म गर्व गर्ने कुराको पहिचान गर्न सक्ने होस्। साथै यस पदको लागि एकातिर प्राध्यापक कै संख्यामा रहेका जम्मो कर्मचारीलाई परिचालन गर्ने सिप र कला भएको तथा अर्कोतिर विश्वविद्यालयको कर्मचारी तन्त्रको सिद्धान्त बुझेको त्यो अनुशारको रणनीति बनाउन सक्ने व्यक्ति चाहिन्छ।
११. पूरानो क्यालेण्डर लागू गर्ने हैन नयाँ बनाउनुहोस्। बार्षिक प्रणालीका स्नातक तहको चारै बर्षको भर्ना मंशिर १ मा लिने, आसार सम्म नियमित पढाउने। साउन १ महिना चार हप्ता चारवटा बर्षको परीक्षा संचालन गर्ने। साउनबाट कार्तिक सम्म शिक्षक आफ्नो प्राज्ञिक काममा घनिभूत रुपमा लाग्दछ। त्यसको अनुगमन सम्बन्धित क्याम्पस प्रमुखले गर्दछ।
लिखित परीक्षा संचालनका लागि प्रत्येक आगिंक क्याम्पसमा १००० देखि २००० आर्म चियर क्षमताको हल बनाऔ त्यहाँ सिसि क्यामेराले सर्भेलन्स गरौं। परीक्षा चल्ने १ महिना वाहेक अरु समय त्यसलाई मल्टिपरपस हलको रुपमा प्रयोग गरौं। बर्षैभरी परीक्षा चलायो, व्याक पेपर छ भन्दै विद्यार्थी सेसन चलेको ३ महिनासम्म कलेज आउँदैन। केन्द्रबाट अव्जरभर भनेर पठाउने घिन्ते चलन तुरुन्तै बन्द गरौं।
१२. विद्यमान अवस्थामा एक उपप्राध्यापकले विश्वविद्यालयलाई दिएको समय र विद्यार्थीको सिकाइमा गरेको योगदानको आधारमा हेर्दा मासिक रु ४०००० तलव पनि बढी हो तर त्यहि प्राध्यापकलाई क्याम्पस प्रमुख मार्फत भिसिले चलाउन जान्ने हो भने उसले रु १००००० भन्दा बढीको योगदान विश्वविद्यालयलाई दिन सक्छ।
पिएचडी गरेर विज्ञता हासिल गरेको प्राध्यापकलाई रु ४०,००० तलव पर्चेजिङ पावर प्यारिटिको आधारमा हेर्दा अति न्यून पैसा दिएर विश्वविद्यालयले काम लगाएको छ। खर्च धान्न प्राध्यापकहरु वाहिरका शिक्षा पसलहरुमा गएर लुकीचोरी पढाइरहेका छन् र वहिरका पिरेड मिलाउँदा सरकारी क्याम्पसको शिक्षाको स्तर खस्केको छ।
यो कुरो सबै पदाधिकारीलाई थाह छ र अप्रत्यक्ष रुपमा यिनीहरु पनि ‘कर्मचारी प्रतिनिधिले तलव बढाइदेउ भनेर अनुरोध गर्दा घुष खाओ भन्ने प्रधानमंत्री’ जस्ता भएका छन्। अब स्नातक तहका सबै कार्यक्रम १० देखि ४ चलाउन पर्छ। सबै प्राध्यापकलाई पुरा समय काम लगाएर शिक्षण र अनुसन्धानमा व्यस्त बनाउनु पर्छ। यद्यपि तलव स्केलको समायोजन जिडिपिको आधारमा हुन्छ तर हाम्रो जस्तो अनौपचारिक अर्थतन्त्र सकृय भएको मुलुक जहाँ लुकीचोरी रु १ लाख त कमाइरहेका छन्। त्यही रकमलाई एउटै संस्थाबाट पारदर्शी रुपमा दिने व्यवस्था गर्नु पर्छ।
१३. त्रिविमा ४५ बर्षको उमेरमा नै प्रोफेसर भएको व्यक्ति ६३ बर्षसम्म त्यही पदमा रहनु पर्ने वाध्यता छ। यसो हुँदा बढुवाको प्रलोभनले काममा उत्प्रेरित गर्ने अवस्था रहँदैन। अतः स्थायी प्राध्यापक पद चार तहको बनाऊँ। ६० बर्षको उमेर कट्दा खासगरी अन्तरराष्ट्रिय रुपमा विश्वविद्यालयको नाम राख्न गरेको क्युमुलेटिभ योगदानलाई मूल्याङ्कन गरी इमेरिटस् प्रोफेसर दिउँ। बढुवा प्रयोजनमा प्राज्ञिक उन्नयनलाई ४०%, अध्यापन निपूर्णता, विद्यार्थी सन्तुष्टि तथा सिकाइलाई ४०%, र क्याम्पस विकासमा योगदानलाई २०%, स्थान दिऔं।
१४. कुनै सरकारी अस्पतालमा एक रेडियोग्राफरले अस्पतालको मेसिनको एकएक पार्ट चोरेर आफ्नो घरमा लगेर फिट गरेछ, अत्पतालमा एक्सरे नभएपछि त सबै विरामी उसैको क्लिनिकमा । यही घटना जस्तै हामीले पनि सरकारी क्याम्पस विगारेर वाहिर वेपार गरीरहेका छौ। सस्तोमा पढ्न पाउनेलाई महँगो तिराएर लगानीकर्ता, पदाधिकारी र प्राध्यापकले धन्दा चलाइरहेका छौं । यसमा राजनीतिक पहूँच भएकाहरु पनि मिसिएका छन्।
शैक्षिक माफियाको विशेषण पाएको यो ऐकवद्धतालाई तोड्न भिसिमा इमान्दारिता, साहस र तरिका चाहिन्छ। इमान्दार व्यक्तिहरुको साथ खोजेमा यो सहज पनि छ।
गुणस्तर सुधारको यो दिशामा अघि बढ्नको लागि भिसिलाई हजारौंको संख्यामा प्राध्यापकको शुभकामना र साथ छ। एकातिर सहजता र दाम छ, अर्कोतिर चुनौति र नाम छ। अब राजकुमार दिक्पालले झैं बाटो रोज्ने यहाँको खुसी। परन्तु त्रिविको एक स्थायी फ्याकल्टीको रुपमा यहाँको प्रत्येक कदमलाई सचेतता पूर्वक नियाल्दै गलत हुन लाग्दा खवरदारी गर्न मलाई सधैं आफ्नो पेशाकर्मी र नागरिकको धर्मले निर्देशित गरिरहने छ।
(लेखक चितवनस्थित वीरेन्द्र वहुमुखी क्याम्पसका उप–प्राध्यापक हुन्।)