अचेल विश्वभर गाउँहरू घट्दैछन्। तीव्र सहरीकरण भइरहेको छ। तर अव्यवस्थित ढंगले बनेका सहरमा अनेक प्रतिकूलताहरू थपिइरहेका छन्।
अनियन्त्रित फैलिएका सहरीबस्तीका बासिन्दा अपुग संरचना, बढ्दो ट्राफिक चाप र घट्दो खुलास्थलको संक्रमणले आक्रान्त छन्। जनताको दैनिकी आवागमन र स्वास्थ्य प्रभावित छ। यसको प्रत्यक्ष सम्बन्ध वातावरण, जनस्वास्थ्य र अर्थतन्त्रसँग छ।
विकसित देशका सहरहरू दशकौंदेखि भइरहेका गलत अभ्यासबाट आफूलाई सुधार गर्दैछन्। ती सहरहरू बाटोघाटो बनाउँदा गाडीबाहेक अन्य माध्यमबाट आवागमन गर्नेहरूको अस्तित्वको ख्यालै नगरी बनेका संरचना फेरबदल गरी मानवमैत्री बनाउँदैछन्। यसबाट विकासोन्मुख देशका सहरले पाठ सिक्न जरुरी छ।
अनियन्त्रित विकासको परिणाम- हाम्रो देशका धेरैजसो पुराना सहरहरू अहिले नै साँघुरा र अव्यवस्थित भइसके। स्वास्थ्यका दृष्टिकोणले कतिपय सहरका बासिन्दाको जीवनस्तर अहिले नै औसतभन्दा निकै तल छ।
यहीमा गतिमा गाडी थपिँदै जाने, संरचना बढ्दै जाने, खुलाठाउँ खुम्चिँदै जाने र मानिसको सक्रिय जीवनशैलीमा कमी हुँदै जाने हो भने भविष्य कस्तो होला?
यही अवस्थामा हरित वा स्मार्ट सहर बन्ने सपना साकार हुँदैन। त्यसैलै सहरोन्मुख नगरले बेलैमा आफ्नो सहरी विकासको आकांक्षा र अवधारणामा मानव केन्द्रित र दीर्घकालीन दृष्टिकोण ल्याउनु आवश्यक छ।
भौगोलिक तथा वातावरणीय रुपमा उपयुक्त हुने स्थानमा आधुनिक सहरका लागि साइकल प्रवर्द्धन एउटा शसक्त विकल्प र माध्यम बनेको छ। युरोप, अमेरिका, ल्याटिन अमेरिका, चीनका केही सहरमा साइकलको विकल्प बढाएर गाडीको अनावश्यक प्रयोग घटाउने, ट्राफिक नियन्त्रण गर्ने, वातवरण प्रदूषण कम गर्ने तथा स्वस्थकर जीवनशैलीका उपाय अपनाउने अभियानमा लागेका छन्।
यसका लागि सहरमा कारमुक्त फ्री गल्ली बनाउने, साइकल लेन र पार्किङ थप्ने, खुल्ला ठाउँ विस्तार गर्ने तथा हरियाली फैलाउने क्रम बढिरहेको छ। आजभोलि काठमाडौंमा पनि खुलास्थल जोगाउन र बढाउन आवाज बुलन्द हुँदेछ। न्यूरोड गाडी निषेध क्षेत्र, 'अकुपाई टुँडिखेल'का समाचार आइरहेका छन्।
सुर्खेत उपत्यकाको वीरेन्द्रनगर तीव्र सहरीकरण भइरहेको नगर हो। बि.सं. २०२९ सालमै योजनाबद्ध पूर्वाधारसहितको नगर विकास गुरुयोजना बनेको नगरपालिका २०४६ सालको व्यवस्था परिवर्तन पछि सुस्ताएर गयो।
पछिल्लो समय २०६२-६३ को परिवर्तन यता र अझ कर्णाली राजमार्ग खुलेपछि यहाँको सामाजिक तथा आर्थिक गतिविधि चलमलाउन थालेको छ। हाल कर्णाली प्रदेशकै प्रशासनिक केन्द्र बनेपछि यहाँ जनसंख्या, बस्ती तथा सवारीको चाप तीव्र बढिरहेको छ। फलस्वरुप प्रदूषण दिनानुदिन बढ्दो छ।
गत साता मात्रै यहाँको वायुको गुणस्तर सूचक औसत १५० थियो जुन विश्व स्वास्थ्य संगठनको मानक ५० भन्दा तीन गुणा बढी हो। पिएम २.५को मात्रा ६० माइक्रोग्राम प्रतिघनमिटर थियो। यो पनि विश्व स्वास्थ्य संगठनले भनेको २५ भन्दा निकै बढी हो।
सहर व्यवस्थित बनाएर यस्ता समस्या सुधार्ने प्रयास अहिलेबाटै सुरू हुनुपर्छ। सुर्खेत उपत्यकाको क्षेत्रफल, यसको भूबनोट र यहाँको हावापानी हिँडडुल गर्न र साइकल चलाउन अति उपयुक्त छ। त्यसैले वीरेन्द्रनगरलाई 'साइकलमैत्री' सहरका रूपमा विकास गरेर यसमार्फत सहरको पहिचान बढाउने प्रयास सुरू पनि भएको छ।
भूमध्य रेखाबाट २८.६ डिग्री उत्तरमा रहेको यो उपत्यकाका बस्तीहरू समुद्र सतहभन्दा औसतमा ६५० देखि ७५० बीचको सरल उचाइमा छन्। हावापानीका दृष्टिकोणले यहाँको बार्षिक औसत तापक्रम २२ डिग्री आसपास हुन्छ। गर्मीका केही महिनामा भने अधिकतम तापक्रम ३३ डिग्रीसम्म पुग्छ। पर्याप्त रुखविरुवा भएको अवस्थामा यो वातावरण साइकल चलाउन उपयुक्त हो।
क्षेत्रफलको आधारमा यो उपत्यकाको लामो दुरी नै रत्न राजमार्गले काटेर गएको भाग हो जुन १० किलोमिटर छ। उपत्यकाको कुनै पनि कुनाबाट सहरको केन्द्र औसत ५ किमी मात्र छ। सबभन्दा टाढा सानो सुर्खेत जोड्ने पास ७.५ किमी छ। दुरीको आधारमा साइकल प्रयोग गरी दैनिक आवागमन गर्न निकै सहज र सामान्य हो।
नगरपालिकाले गत वर्ष गरेको सर्भेक्षणअनुसार उपत्यका भित्रमात्र करिब २६ हजार पाँच सय घरधुरी छन्। विगत सात वर्षमा करिब १२ प्रतिशतले बढेका घरहरू अब तीव्र गतिमा बढिरहेको देखिन्छ। यसै अवधिमा मोटरसाइकल र गाडीको स्वामित्व भएका घरधुरी २०६८ सालभन्दा १४३ प्रतिशतले बढेको छ। कुनै पनि सवारी नहुने घरधुरी संख्या पनि १३ प्रतिशत बढेको छ। यस अवधिमा नबढेको अर्थात् घटेको साधन साइकल मात्र हो जुन ६० प्रतिशतले घट्यो।
समग्र घरधुरीमा हेर्दा झण्डै दुईतिहाईसँग कुनै पनि सवारी उपलब्ध छैन। दुई प्रतिशत जतिसँग आफ्नै गाडी छ। बाँकी नौ प्रतिशतसँग साइकल छ भने २६ प्रतिशतसँग मोटरसाइकल छ। यहाँ विचारणीय के छ भने, सात वर्षअघि १३ प्रतिशत घरधुरीसँग मोटरसाइकल हुँदा २५ प्रतिशतसँग साइकल थियो।
ठूलो संख्यामा साइकल प्रयोगकर्ताहरू स्कुल र कलेजका विद्यार्थी हुन्थे। अचेल ४ हजार ५ सय हाराहारी विद्यार्थी भएको मध्यपश्चिम विश्वविद्यालयको प्रांगणमा ४५ वटा साइकल पनि देखिँदैन।
यसबाट के देखिन्छ भने आर्थिक गतिविधिमा आएको परिवर्तनसँगै साइकल चढ्नेहरू अब मोटरसाइकल चढ्न थाले। साइकलप्रतिको आमधारणा सकारात्मक नहुँदा नयाँ मानिसहरू त्यसप्रति आकर्षित हुन छाडे र साइकलको प्रयोग घट्यो।
स्थानीयसँग कुरागर्दा सबैले साइकलसँग जोडिएका आफ्ना रमाइला अनुभव सुनाउँछन्। आफ्नो ठाउँमा साइकल चढ्दा हुने सहज, स्वास्थ्यलाभ र आर्थिक बचतबारे जानकार छन्। तर पूर्वाधार र नियमन अभावमा असुरक्षित महशुस हुने तथा आमधारणाले नियमित चलाउन संकोच लाग्ने गरेको बताउँछन्।
साइकलबारेका चर्चाहरूमा सबै उमेरका महिला र पुरुष उत्तिकै उत्साहित भएर भाग लिइरहेका पाइन्छ। सबैलाई साइकल लिएर बाहिर निस्किने रहर पलाएको छ तर सबैलाई लाग्छ- यहाँ सुरक्षित वातावरण छैन।
यी तथ्यले संकेत गर्छ, सुर्खेतमा साइकलका पूर्वाधार बने, यसप्रति सकारात्मक सोच जगाउने गतिविधि चले, प्रभावकारी नियमनका काम गरेर प्रवर्द्धन गर्न सके स्थानीयहरू पुनः साइकलतिर फर्किने छन्।
यसका लागि केही महिनायता प्रयासहरू सुरू भएका छन्। यही वर्ष जुन ३ मा सुर्खेतमै पहिलोपल्ट दोस्रो विश्व साइकल दिवस मनाएर साइकलमैत्री सहर बनाउने अभियान सुरू भयो। यही क्रममा जुटेका साइकल प्रेमीहरू संगठित भएर कर्णाली राइडर्स क्लबको अवधारणामा अघि बढेको छ।
यही प्रयासलाई निरन्तरता दिँदै यसै वर्ष जुलाई २० मा पहिलो पल्ट 'काँक्रेबिहार कोरा साइक्लिङ च्यालेन्ज' गरी सहभागिता जनाउने प्रयास गरियो। समूहमार्फत छलफल, अन्तरक्रिया र राइड गरेर जनमानस र नीतिनिर्माताहरूमा साइकलप्रति जनचासो बढाउने प्रयास भइरहेको छ। कर्णाली प्रदेशका प्रमुख सचिव, सरकारी कर्मचारी, गैरसरकारी संस्थामा काम गर्नेहरू, सुर्खेतमा रहेका नेपाली सेनाका प्रमुख अधिकृतहरू, स्थानीय युवा, समाजसेवी, उद्योगी व्यवसायी र पत्रकार मिलेर साप्ताहिक साइकल राइड गर्ने चलन सुरू भएको छ।
कर्णाली प्रदेश सरकारले यसलाई निकै सकारात्मक ढंगले अघि बढाएको छ। प्रदेश सरकारका प्रमुख सचिव केवल भण्डारी साइकल प्रयोग तथा वातावरणमैत्री व्यवहारका निम्ति सक्रिय छन्। मन्त्रिपरिषदका कर्मचारीमा पनि साइकलप्रति रूचि बढ्दै छ।
यसै वर्ष आफ्नो नीति तथा कार्यक्रममा प्रदेश सरकारले राजधानीलाई धुवाँधूलोमुक्त सहर बनाउन पहल गर्ने उल्लेख गर्यो। त्यसको प्रयास स्वरुप सुब्बाकुनादेखि बांगेसिमलसम्मको राजमार्ग खण्डमा साइकल र पैदलयात्रीका निम्ति लेन बनाउन दुई करोड बजेट व्यवस्था छ। कार्यक्रम लागू गर्न भौतिक योजना मन्त्रालयलाई भनिएको छ। 'स्टोरी साइकल'मार्फत प्रारम्भिक अध्ययन पनि सम्पन्न भइसकेको छ।
अब विस्तृत परियोजना प्रतिवेदन बनाएर काम अघि बढाउन मन्त्रालय तथा निर्देशनालयमा कार्यरत जिम्मेवार कर्मचारीको इमान्दार सक्रियता आवश्यक छ। नभए, यो बजेट वर्षको अन्ततिर रकमान्तर गरी अन्यत्रै दुरुपयोग हुनसक्ने सम्भावना छ। यसका लागि निरन्तर 'फलोअप' चाहिने भएको छ।
त्यसैगरी वीरेन्द्रनगर नगरपालिकाले पनि प्रदेश सरकारसँग सहकार्य गरी साइकलमैत्री सहर बनाउने नीति बनाएको छ। मेयर देवकुमार सुवेदी आफैं साइकलमा विद्यार्थी जीवनकाल बिताएका स्थानीय प्रतिनिधि हुन्। सुर्खेतलाई साइकल सहर बनाउँदा हुने वातावरणीय, आर्थिक, सामाजिक र राजनीतिक लाभका बारेमा उनी सचेत छन्।
अब देशकै पहिलो वातावरणमैत्री सपनाको सहर बन्नसक्ने प्रशस्त सम्भावना भएको वीरेन्द्रनगरलाई नगरपालिकाका नीतिनिर्माता र निर्णयकर्ताले सक्रियता लिएर स्थानीय जनता र संगठन परिचालन गरी अभियानका रुपमा अघि बढाउन आवश्यक छ।
नगरपालिकाले प्रदेश सरकारबाट सम्भाव्यता अध्ययन प्रतिवेदन लिएर त्यसमा उल्लेखित खाका बमोजिम पहिचान गरिएका राजमार्ग बाहिरका नगरपालिकाले गर्नसक्ने पूर्वाधार निर्माण तथा प्रवर्द्धन कार्यक्रमहरू गर्ने ठोस पहल गर्न जरुरी छ। सही र संगठित पहल भए यहाँ छोटो समयमै साइकल पुनर्जागरण हुन सम्भव छ। र, निकट भविष्यमा नमूना 'साइकल सहर' बन्न सक्छ।
यसै सन्दर्भमा सुर्खेत उपत्यकामा साइकलको वर्तमान अवस्था र सम्भावना समेटेर 'स्टोरी साइकल'ले तयार पारेको भिडिओ हेर्नुहोस्ः
यी पनि पढ्नुस्ः
धूलोधुवाँले ग्रस्त सुर्खेतलाई बनाउन सकिन्छ 'साइकल सहर'
वाह! हाम्रो सरकार क्या 'स्मार्ट' छ!