यो स्टोरी लेख्छु भनेर मैले सोचेकै थिइनँ। जुन पात्रहरूका बारेमा म लेख्दैछु, उनीहरूलाई मैले स्टोरीको निम्ति भेटेको पनि होइनँ। त्यसैले, मलाई कसैको नाम याद छैन। अनुभव भने सुनाउन मन लाग्यो, अहिलेको बेला सान्दर्भिक लागेर।
यो मैले विभिन्न समयमा भेटेका टुटल–पठाओ राइडरहरूको कथा हो।
म समयले भ्याएसम्म जहाँ पनि पैदलै पुग्छु। हतार हुँदा पहिले माइक्रो वा ट्याम्पो चढ्थेँ। अचेल टुटल–पठाओ सजिलो लाग्छ। यही क्रममा धेरै राइडरसँग भेट भयो। उनीहरूको व्यक्तिगत जीवन र अनुभव सुन्ने मौका पाएँ।
हामी स्वभावले निकै फरासिला छौं। अलिकति आफ्नो बारेमा बताउनुस्, त्योभन्दा धेरै बढी अरूको बारेमा थाहा पाइन्छ। मैले यही सूत्र लगाएर टुटल–पठाओ राइडरहरूको जीवन खोतलेको हुँ।
म प्रायः दुइटा प्रश्नबाट कुराकानी सुरू गर्छु — कति समय भयो राइडिङ गर्न थालेको? पार्टटाइम कि फुलटाइम?
उनीसँग पनि बातचितको सिलसिला यसैगरी सुरू भयो। उनी भैंसेपाटी बस्थे। फुलटाइम राइडर थिए। दिउँसो १२ बजे मैले भेट्दासम्म छ जनालाई गन्तव्य पुर्याइसकेका थिए।
‘अब मेरो खाना खाने टाइम भयो,’ उनले भने, ‘तपाईंलाई झम्सीखेल छाडेर त्यतैबाट घर जान्छु।’
फेरि कति बजे निस्कनुहुन्छ?
‘एकछिन आराम गर्छु,’ उनले भन्दै गए, ‘सुत्छु अलि बेर। अनि एकैचोटि तीन बजेतिर निस्कन्छु। बेलुकी अबेरसम्मै व्यस्त भइन्छ।’
राति कति बजेसम्म मान्छे पाइन्छ?
‘आफू खटिन सके त मान्छे जत्ति पाइन्छ। राति न हो टुटल–पठाओ खोज्ने।’
पक्कै हो। रातको ट्याक्सी, मानौं देवराज इन्द्र! एक त भेट्नै मुश्किल, भेटिहाले उनीहरूकै सर्तमा चल्नुपर्ने। खाली हो दाइ भनेर सोध्नुस्, एकछिन गमक्क परेर बस्छन्। यस्तो लाग्छ, हामीले उधारो तिर्न बाँकी छ। बडो कष्टले जवाफ दिन्छन्, कहाँ जाने? नजिकै जानुछ भने मरेकाटे मान्दैनन्। टाढा जानुछ भने बल्ल सिटमा चल्मलाउँदै भाउ भन्छन्– पाँच सय। वा, हजार।
मनलाग्दी भाडा माग्न मिटरवाला ट्याक्सी हो कि निजी कार हँ!
यो हेरी त टुटल–पठाओ कता हो कता आनन्द। एप खोल्यो, जानुपर्ने ठाउँ टाइप गर्यो, बाइक हाजिर। भाउ पहिल्यै तय छ, मोलमोलाइको लफडै छैन। मन लागे दस–बीस रुपैयाँ बढी दिनुस्, राइडरहरू दंग पर्दै लिन्छन्। मन नलागे नदिनुस्, केही भन्दैनन्। यो मेरो व्यक्तिगत अनुभव हो है। अरूको अनुभव फरक हुन सक्छ।
‘हामी राइडरसँग बढी पैसा माग्दैनौं, माग्नै मिल्दैन, तर धेरैले अलिअलि टिप्स त दिन्छन्,’ टेकु पुल तरेर सानेपा उकालो लाग्दा उनी भन्दै थिए, ‘कहिलेकाहीँ भने यस्ता यात्रु फेला पर्छन्, ठाउँमा पुगिसकेपछि पैसा छैन दाइ भन्दै ङिच्च दाँत देखाउँन्। त्यस्तो बेला चाहिँ साह्रै झोँक चल्छ। रात–बिरात अनकन्टार ठाउँमा झगडा गरेर के गर्नु, जति छ टिपेर हिँडिन्छ।’
त्यही भएर उनी प्रायः आठ बजेभन्दा उता राइड गर्दैनन्। ढिलोमा नौ बजेसम्म घर फर्किसक्छन्। बिहान छ–सात बजेदेखि दिउँसो खाना र हल्का आरामबाहेक बेलुकी आठ बजेसम्म खट्दा २० जनाभन्दा बढी यात्रु हुन्छ।
‘म यात्रुको संख्या गन्दिनँ, पैसा गन्छु,’ उनले भनेका थिए, ‘छोटो–छोटो दुरीमा जति धेरै कुदे पनि के गर्नु, पैसा थोरै हुन्छ।’
उनले आफ्नो कामको ‘बटमलाइन’ बनाएका छन्। यात्रु जतिसुकै होस्, दिनको हजार रुपैयाँ चोख्खो खल्तीमा नआएसम्म घर फर्कंदैनन्। त्यो भनेको कम्पनीको कमिसन, तेल खर्च, आफ्नो खाजा, चिया–चुरोट जम्मै कटाएर।
‘धेरै लोभ गर्न हुन्न, छ बजे नै हजार रुपैयाँ पुग्यो भने सन्तोक मानेर घर फर्कन्छु। चाँडै घर फर्के बूढी पनि दंग, आफू पनि दंग, हैन त सर! मरी लानू के छ र!’
उनी यति भनेर मज्जैले हाँसेका थिए।
भैंसेपाटीका यी मेरा सहयात्रीले राइडिङ गर्न थालेको छ महिनाजति भएछ।
त्योभन्दा अगाडि के गर्नु हुन्थ्यो?
‘म इञ्जिनियर हुँ, कन्स्ट्रक्सन कम्पनीमा काम गर्थें।’
के?
त्यही बेला छेउबाट एउटा टिपर ठूलो आवाज निकालेर हुइँकियो। गल्ती सुनेँ कि भन्ने लागेर फेरि सोधेँ।
‘सिभिल इञ्जिनियर,’ उनले दोहोर्याए।
कौतूहल झनै बढ्यो। उनले भारतबाट इञ्जिनियरिङ गरेका रहेछन्। कानपुर हो कि पुना हो, मैले बिर्सें। यहाँ आएर १६ वर्ष इञ्जिनियरिङ काम गरेपछि दिक्क भएछन्।
‘सधैं तनाव, सधैं व्यस्त, एकदमै झ्याउ लाग्यो। जागिर–सागिर छाडेर छ–सात महिना त्यसै बसेँ,’ उनले भने, ‘त्यसपछि राइडिङ गर्न थालेको।’
अब जिन्दगीभरि यही गर्ने त होइन नि?
‘कहाँ हुनु सर, यो त यसो अस्थायी बिसौनीजस्तो। अर्को फुलटाइम काम नभइञ्जेल टाइम पास।’
के गर्ने त अब?
‘बिजनेस गर्ने सर।’
‘ओहो गज्जब,’ मैले उनलाई फुर्काउँदै भनेँ, ‘केही तयारी छ कि, कल्पना मात्र?’
‘हैन सर, तयारी गरिसकेँ,’ उनले भने, ‘लुभूमा थोरै जग्गा किनेको छु। सोह्र वर्षको कमाइ त्यही हो। त्यसैमा तरकारी खेती सुरू गरिसकेँ। केही महिनापछि रिसोर्ट खोल्ने विचार छ। आफ्नै बारी, आफ्नै रिसोर्ट।’
‘वाउ,’ यसपालि चाहिँ म साँच्चै दंग परेँ।
‘तपाईंलाई एउटा कुरा भनुँ,’ उनले यस्तरी सोधे, के पो भन्न लागे भनेर म एकछिन तर्सें।
भन्नुस् न।
‘खासमा मैले राइडिङ गर्नुको उद्देश्य त्यही रिसोर्ट खोल्नलाई हो।’
‘राइडिङबाट दिनको हजार रुपैयाँ कमाएर रिसोर्ट खोल्न सकिएला त?’ म जिज्ञासु भएँ।
‘होइन होइन, तपाईंले गलत बुझ्नुभो, राइडिङ गरेर त त्यत्रो पैसा कहाँबाट कमाउनु!’ उनको योजना सुनेर मलाई आफ्नै जिज्ञासा तुच्छ लाग्यो, ‘म त यसबाट मेरो रिसोर्टको निम्ति ग्राहक बनाउँदैछु।’
कसरी?
‘म हरेक दिन १५–२० जना यात्रु ओसार्छु। ती सबैको नाम र फोन नम्बर मसँग सेभ छ। अब हिसाब गर्नुस्, छ महिना, एक वर्षमा कति जनासँग मेरो सम्पर्क होला?’ उनले विस्तार लगाए, ‘रिसोर्ट खोलेपछि म ती सबैलाई सम्पर्क गर्छु। तपाईंलाई मैले राइड गरेको थिएँ नि भनेर सम्झाउँछु, अनि आफ्नो रिसोर्टमा निम्ता गर्छु। तीमध्ये आधा मात्र आइदिए पनि रिसोर्टले राम्रो बिजनेस गर्दैन त?’
‘एक वर्षपछि तपाईंलाई नै फोन गरेर ‘सुदीपजी, म तपाईंको राइडर, मैले रिसोर्ट खोलेको छु, तपाईं सपरिवार आउनुपर्यो’ भनेँ भने तपाईं आउनुहुन्न?’ उनले जोड दिएरै भनेँ।
‘किन नआउनु,’ मेरो मुखबाट प्वाक्क निस्क्यो।
‘अनि त, अरू पनि पक्कै आउँछन्।’
म उनको योजना सुनेर कायल भएँ। मेरो गन्तव्य आइसकेको थियो। छुट्टिने बेला उनले मेरो घर सोधेँ।
‘तनहुँ,’ मैले भनेँ।
‘ओहो, मेरो पनि एक जना साथी थियो तनहुँको।’
मलाई के भनुँ, के भनुँ भयो। तनहुँका कति मान्छे कति जनाका साथी होलान्!
‘पत्रकार हुन्,’ उनले भने।
मैले उनलाई आफू पत्रकार भएको बताएकै थिइनँ। सोधेँ, ‘नाम के हो, तनहुँको एक–दुई जना पत्रकार त म पनि चिन्छु।’
‘सञ्जीव बगाले,’ उनले भने, ‘कान्तिपुर टिभीमा काम गर्छन्।’
‘ए, म चिन्छु,’ मैले उनलाई यत्ति मात्र भनेँ।
यो चाहिँ भनिनँ, सञ्जीव अचेल कान्तिपुर टिभीमा होइन, सेतोपाटीमा हामीसँगै काम गर्छन्।
भैंसेपाटीका ती मित्रलाई भेटेर मेरो दिन बन्यो। उनले मलाई दिउँसै सपना देख्न सिकाए, सपना पछ्याउन हौसला जगाए।
म आज पनि उनको फोनको प्रतीक्षामा छु। र, उनलाई विश्वास दिलाउँछु, उनले रिसोर्ट खोलेर खबर गरे भने म अवश्य जान्छु, सपरिवार।
उनले जस्तै अर्का एक राइडरले पनि मलाई गुन लगाएका छन्। उनको घर कहाँ हो मैले बिर्सें। टेकुतिर हो कि जस्तो लाग्छ। तर, उनलाई म यस कारण बिर्सन सक्दिनँ, किनकि उनले मलाई पठाओ एप चलाउन सिकाए।
यी राइडरलाई भेट्नुअघिसम्म मेरो एप प्रयोग अतिसामान्य थियो। म एप खोलेर राइड बुक गर्थें, अनि त्यसमा आउने नम्बरमा फोन गरेर आफ्नो ठाउँ बताउँथेँ। राइडरलाई अलमल होला भनेर म प्रायः सजिलो ठाउँमा बोलाउँथेँ। जस्तो, म घरमै छु भने राइडरलाई सोल्टी होटलको गेटमा डाक्थेँ। वा, श्रम कार्यालयको गेट। र, आफू त्यहाँ गएर कुरेर बस्थेँ।
उनलाई पनि त्यस्तै गरेँ।
मलाई भेट्दा उनी झोक्किँदै आइपुगे, ‘तपाईं कस्तो मान्छे, जहाँबाट राइड बुक गर्नुभो, त्यहीँ बसेको भए त भइहाल्थ्यो। तपाईं सुइँ सुइँ अगाडि बढ्नुभो, म त्यही बाटो तपाईंको पछि पछि थिएँ।’
अरे! म कुन बाटो आएँ भनेर कसरी थाहा पाए यिनले?
‘एपमा राइडरको बाइक पनि देखिन्छ नि साथी,’ उनले मलाई एपको एबिसी सिकाउँदै भने, ‘राइडर कहाँबाट आउँदैछ, यसैमा हेर्न मिल्छ। तपाईंको लोकेसन चेन्ज भएको पनि देखिन्छ। तपाईं जुन बाटो हिँड्दै आउनुभयो, म त्यही बाटो आएँ। म्याप हेर्नुभएको भए यति बाटो हिँड्नै पर्थेन।’
म चुपचाप कुरा सुनिरहेँ। आफू बेवकूफ सावित भएपछि के बोल्नु र!
यो पाँच मिनेटको दुरी म बिनासित्ति किन पैदल हिँडे भनेर उनले चासो देखाएकोमा खुसी पनि भएँ।
झोक्किँदै आएका उनी कुराकानी गर्दै जाँदा रमाइला मान्छे रहेछन्। लामो समय अमेरिका बसेर छुट्टीमा आएका। केही समयपछि फेरि उतै फर्कने रे।
अमेरिकामा के गर्नुहुन्छ?
‘त्यहाँ पनि यस्तै हो,’ उनले भने।
‘पठाओ चलाउनुहुन्छ,’ मैले जिस्क्याएँ।
‘उस्तै उस्तै हो।’
उस्तै उस्तै, मतलब उबर। उनी अमेरिकाको न्यूयोर्कमा ‘उबर’ कार चलाउँदा रहेछन्। भन्दै थिए, ‘उबर भनेको पनि यस्तै हो। यहाँ बाइक बुकिङ हुन्छ, उबरमा कार। अचेल न्यूयोर्कमा त उबरले हेलिकप्टर सर्भिसधरि दिन थालिसक्यो नि साथी।’
कति समय भयो उबर चलाउनुभएको?
‘तीन–चार वर्ष भइसक्यो, अहिले परिवार भेट्न आएको। फुर्सदमा यसै के बसुँ भनेर राइड गरेको।’
मैले उनलाई आफू पत्रकार भएको परिचय दिएँ, ‘म तपाईंको अनुभव लेख्न चाहन्छु– अमेरिकाको उबर र यहाँको पठाओ अनुभव।’
उनी ज्यानजाला मानेनन्। ‘हुँदैन, आफ्नो कुरा भन्दै हिँड्यो भनेर श्रीमती रिसाउँछे।’
यति कुरा सुनेपछि कर गर्न सकिनँ। श्रीमतीलाई नै दुःखी बनाएर त के अन्तर्वार्ता दिँदै हिँड्नु र, होइन?
छुट्टिने बेला उनले मलाई सम्झाए, ‘साथी अबदेखि राइड बुक गरेपछि खुइँखुइँ हिँड्ने होइन, म्यापमा राइडरलाई पनि फलो गर्ने।’
उनले दिएको ‘दिव्यज्ञान’ मैले कहिल्यै बिर्सिनँ। म्यापमा देखिने फुच्चे बाइक कहाँबाट कहाँ आइपुग्यो भनेर ‘जुम’ गरी–गरी हेर्दै बस्न खुब रमाइलो लाग्छ। राइडर कुरेर बस्दा टाइम पास गर्ने साथी पनि हुँदो रहेछ।
धन्यवाद ‘उबर’ साथी!
एकले दिउँसै सपना देख्न सिकाए, अर्कोले एप चलाउन– कसैले मलाई बाइक वा कारको ब्रान्ड चिन्न पनि सिकाइदिए हुने नि! एलिअनका झैं लाग्ने यी अजीब–अजीबका नामहरू मलाई यादै हुन्न, चासो पनि दिन्नँ।
त्यस दिन उनी जुन बाइक लिएर आएका थिए, त्यसको पनि ब्रान्ड थाहा छैन। तर, त्यो अरू सामान्य राइडरले प्रयोग गर्नेभन्दा फरक थियो। सायद, महँगो पनि। रोयल इनफिल्ड त होइन, किनकि त्यसको आवाज म चिन्छु। आवाज फरक भए पनि त्यो बाइक रोयल इनफिल्डजस्तै देखिन्थ्यो।
तपाईं बाइकको पारखी हो भने पक्कै थाहा पाइसक्नुभयो होला। मलाई पनि भन्नुस् है, कुन रहेछ!
बाइकका बारेमा मरिमठ्ठै भए पनि थाहा नपाएजस्तो किन गर्नु र! मैले सोधेँ, ‘यस्तो बाइकले राइडिङ गर्दा पोसाउँछ त? यसले त तेल बढी खान्छ होला नि?’
‘ठिकै छ,’ उनले शान्त स्वरमा भने, ‘सधैं यही काम गर्ने होइन, दुई–तीन महिनाको कुरा हो।’
अनि?
‘अनि जापान,’ उनले भने।
मेरा ती राइडर छ महिनाअघि कोरियाबाट फर्केका रहेछन्, दुई वर्ष उतै काम गरेर। उनले त्यहीँ कमाएको पैसाले त्यो बाइक किनेका रे। भन्दै थिए, ‘जापान खुलेको छ रे, अब त्यता ट्राई गर्छु। भएन भने मलेसिया जान्छु।’
कोरियाबाट फर्केदेखि जापान वा मलेसिया नजाँदासम्मको फुर्सद काट्न ‘राइडिङ’ लाई रोजगार बनाएको उनले सुनाए।
छुट्टिँदा उनलाई शुभकामना दिएँ। मलाई गन्तव्यमा छाडेर हिँडेका ती राइडर अहिलेसम्म आफ्नो गन्तव्य पुगिसके होलान् भन्ने आशा छ।
मैले भेटेका धेरैजसो टुटल–पठाओ चालकको कथा उनीसँग मिल्दोजुल्दो छ। धेरैले एउटा जागिर छाडेर अर्को नपाउँदासम्म यसलाई रोजीरोटी बनाएका छन्। कतिले त अस्थायी रूपमा सुरू गरेर वर्षदिनभन्दा बढी यसैमा बिताइदिएको पनि भेटेँ।
‘जागिर खोज्दा खोज्दै यसमा लागेँ, अहिले यही रमाइलो लाग्छ,’ एक राइडरले भने, ‘हाकिमको करकर छैन, टेन्सन पनि छैन। आफैं मालिक, आफैं नोकर। मन लागे काम गर्यो, मन नलागे एप बन्द गरेर सुत्यो।’
अर्का एक राइडरको अनुभव अझ रोचक थियो। उनले टुटल चलाउने एक महिला राइडरको अन्तर्वार्ता युट्युबमा हेरेका रहेछन्।
‘ती बहिनी विदेश जान भनेर काठमाडौं आएकी थिइन्। दलालले खर्लप्पै पैसा खाइदिएछ। विदेश जाने सपना त मर्यो–मर्यो, सिंगै ऋण बाँकी राखेर खाली हात घर फर्किन पनि सकिनन्। बिरामी भाइको उपचार र परिवार चलाउने भार पनि उनीमाथि नै रहेछ। थाहा छ ती बहिनीले के गरिन्?’
उनले सुरूमै टुटल राइडरको युट्युब वार्ताको कुरा नगरेका भए मलाई थाहा हुन्नथ्यो! त्यति सुनिसकेपछि सजिलै जवाफ दिएँ, ‘टुटल चलाइन्।’
‘त्यही त, उनी यस्तो महँगो काठमाडौंमा घरभाडा तिरेर, खाएर, लाएर मज्जाले बाँचिरहेकी छन्। कलेज भर्ना पनि भइछन्। बिरामी भाइको उपचार गर्दै छिन्। घरखर्च चलाउँदैछिन्। बाइक हाँकेरै यतिसम्म गर्न सकिन्छ भने विदेश–विदेश भनेर किन मरिहत्ते गर्नु,’ उनले भने।
‘उसो भए तपाईं सधैं यही कम गर्ने?’ मैले उनी हौसिएको देखेर सोधेँ।
‘जिन्दगी नै यसबाट चल्छ भनेर म भन्दिनँ, तर गुजारा हुन्छ,’ उनले भने, ‘तपाईंसँग दलाललाई खुवाउने लाख–डेढ लाख पैसा छ भने विदेश जानुभन्दा बरू एउटा सेकेन्ड–ह्यान्ड बाइक किन्नुस्। अनि मज्जाले राइडिङ गरेर बस्नुस्।’
अगाडि थपे, ‘आम्दानीको हिसाब गर्नुहुन्छ भने, घरपरिवारबाट टाढा अरबको ५० डिग्री गर्मीमा पसिना बगाउनु र यहाँ आफ्नै घरमा बसेर आनन्दसँग काम गर्नु बराबरजस्तै हो। अझ राम्ररी मिहिनेत गर्ने हो भने यतै बढी हुन्छ होला।’
‘मान्छे यसै ताल न सुरसँग विदेश जान हानथाप गर्छन्, मलाई त अचेल यही काम ठिकजस्तो लग्न थालिसक्यो,’ उनले आफ्नो बुझाइ बुझाए।
त्यसो भए तपाईं सन्तुष्ट हुनुहुन्छ?
‘एकदमै। आफ्नो तजबिजमा काम गर्न पाइएको छ। धूलोधुवाँ र ट्राफिकको दुःख हो, तर यतिलाई के दुःख भन्नु? अर्काको नोकरी गरेको भए योभन्दा कति ठूल्ठूलो दुःख झेल्नुपर्थ्यो। हाकिमले भनेको मान्नुपर्यो, हप्काएको सहनुपर्यो, बरू यही ठिक छ। आफ्नो दुनियाँको राजा हुन पाइएको छ।’
मैले उनलाई भविष्यको योजना पनि सोधेको थिएँ। उनको जवाफ थियो, ‘अहिले त खासै केही सोचेको छैन। राम्रो जागिर खोज्दैछु। चित्तबुझ्दो नपाएसम्म यही गर्छु।’
उनले ‘चित्तबुझ्दो’ जागिर पाइसके कि पाएनन्, कुन्नि! नपाए पनि केही छैन, उनी राइडिङबाट सन्तुष्ट छन्।
यत्ति हो, सरकारको गिद्देदृष्टि उनको पेसामा नपरोस्!
यातायात व्यवस्था विभागले केही दिनअघि रातो नम्बर प्लेटका सवारीले भाडामा मान्छे बोक्न नपाउने सूचना निकालेको थियो। त्यसयता ट्राफिक प्रहरीको सक्रियता हलक्कै बढेको छ। राइडरहरू त्रसित छन्। टुटल र पठाओमा गरी ६५ हजार राइडर दर्ता छन्। एप डाउनलोडका आधारमा भन्दा, ९ लाखले यो सेवा लिइरहेका छन्।
मैले भेटेकामध्ये उनी एक मात्र यस्ता राइडर हुन्, जोसँग मेरो दुईचोटि जम्काभेट भयो। उही रूटमा। उनी मैले भेटेको एक मात्र महिला राइडर पनि हुन्।
पहिलो भेटमा हाम्रो एक शब्द गफ भएन। म सडकवारि थिएँ। पारि उनको स्कुटर रोकिएको थियो। मैले आफ्नो मोबाइल एपमा आएको नम्बर उनको स्कुटर नम्बरसँग भिडाएँ। उही हो भन्ने ठम्याएपछि वारिबाटै हात हल्लाएँ। उनी स्कुटर घुमाएर मेरैछेउ आइन्।
भर्खरै झरी थामिएको थियो। उनले तलदेखि माथिसम्म गम्लङ्ग रेनकोट ओढेकी थिइन्। आँखा मात्र टुलुटुलु देखिने गरी रंगबिरंगी फूलबुट्टे स्कार्फले अनुहार ढाकेकी थिइन्। त्यसमाथि उनको हेल्मेट। मैले उनको आँखा मात्र देखेँ।
बाटोमा एकाधचोटि कुरा गर्न नखोजेको होइन, तर उनले खासै जवाफ फर्काइनन्। त्यसपछि एकोहोरो प्रश्न सोधिरहने आँट आएन। अलि दकस पनि लाग्यो।
अर्कोचोटि एपमा ‘रिक्वेस्ट’ पठाउँदा फेरि उनैले ‘एसेप्ट’ गरिन्। उही ठाउँमा उसैगरी कुरेर बसेँ। यसपालि भने उनलाई हात दिएर डाकिरहनुपरेन। उनी आफैं मेरोछेउ आइन्।
झरीको बेला थिएन। उनले रेनकोट ओढेकी थिइनन्। अनुहार भने उही स्कार्फले उसैगरी ढाकिएको थियो। आँखाबाहेक केही देखिन्थेन।
यसपालि मैले दकस मारेर भनेँ, ‘तपाईंलाई याद छ, म पहिले पनि तपाईंको स्कुटर चढेको छु नि।’
उनले ‘याद छ’ भनिन्।
त्यसपछि अलि खुलेर कुरा गरिन्, ‘म तपाईंलाई चिन्छु नि।’
म छक्क परेँ। अघिल्लोचोटि एक शब्द नबोलेकी केटी अहिले मलाई चिन्छु भन्दै थिइन्।
कसरी?
‘तपाईंको अफिस झम्सीखेलतिर छ हैन?’ उनले सोधिन्।
हो।
‘म झम्सीखेलकै ... क्याफेमा काम गर्थें। तपाईंहरू आइरहनुहुन्थ्यो,’ उनले विस्तार लगाइन्, ‘डेढ वर्ष भयो छाडेको।’
‘क्याफे मन परेन?’
‘होइन, राम्रो थियो। प्रेग्नेन्ट भएपछि छाडेँ। एक वर्ष घरमै बसेँ। अहिले बच्चा छ महिना भयो। यत्तिकै के बसुँ भनेर पार्टटाइम राइडिङ गर्छु,’ उनले भनिन्, ‘दिउँसो घरमा बच्चा हेर्ने मान्छे हुन्छ, त्यही मौकामा निस्कन्छु। यस्तो बेला यही काम सजिलो भएको छ। धेरै व्यस्त हुनुपर्दैन, घरखर्च पनि चल्छ।’
‘बच्चा ठूलो भएपछि के गर्ने त?’ मैले सोधेँ, ‘त्यही क्याफे ज्वाइन गर्ने?’
‘त्यहाँ त जान्न अब, आफैं क्याफे खोल्छु कि?’
झम्सीखेलतिरै खोल्नू है।
उनी हाँसिन्, ‘झम्सीखेलमा त सकिन्न होला, भाडा महँगो छ, धान्नै सकिन्न।’
‘ल जहाँ खोले पनि तपाईंलाई अग्रिम शुभकामना,’ मैले भनेँ, ‘खबर गर्नुभयो भने हामी आउँछौं नि।’
छुट्टिने बेला पैसा तिर्दा पनि उनले आफ्नो स्कार्फ खोलिनन्। मैले आँट गरेर भनेँ, ‘तपाईं मलाई चिन्नुहुँदो रहेछ। आफ्नो चाहिँ अनुहार पनि देखाउनुभएन। म तपाईंलाई कसरी चिनुँ त?’
उनी मेरो कुरा सुनेर हाँसिन् मात्र। स्कार्फ भने अझै हटाइनन्।
दुईचोटि जम्काभेट भएकी उनको मलाई आँखा मात्र याद छ।
कतै क्याफे खोल्ने तर्खरमा होलिन् कि! कि खोलिसकिन्! अर्कोचोटि राइडमा भेट भए सोध्छु।
सरकारले रोकतोक नगर्ने हो भने राइडिङबाट पनि उनको गुजारा मज्जाले चल्ला!
आज सरकार तिनै राइडरहरूको रोजीरोटी खोस्दैछ। बीसौं वर्ष पुरानो कानुन देखाएर उनीहरूको कामलाई ‘गैरकानुनी’ साबित गर्न खोज्दैछ। आइतबार त हदै भयो। स्वयम्भूमा यात्रु लिन गएका पठाओ राइडर विकास तामाङलाई १५–२० जना ट्याक्सी चालकले घेरे। दुर्व्यवहार गरे। ट्राफिक प्रहरीले ट्याक्सी चालकहरूलाई कारबाही गर्नु सट्टा पठाओ राइडरलाई नै हजार रुपैयाँको चिट काट्यो।
तामाङ ‘फुलटाइम’ राइडर हुन् भने त्यो हजार रुपैयाँ उनको दिनभरिको कमाइ हो। ‘पार्टटाइमर’ हुन् भने दुई वा तीन दिनको कमाइ।
यो कारबाहीले कानुनको लाज त जोगियो होला, तर के विकास तामाङ वा उनीजस्ता हजारौं राइडरमाथि न्याय गर्ला?