मेरा आमा र बा पूर्वी पहाडको सोलुखुम्बु जिल्लाबाट धेरै वर्षअघि सुखद अवसर खोज्न काठमाडौं आउनुभएको हो। म यहीँ जन्मिएँ, यहीँ हुर्किएँ।
म जुन परिवारमा जन्मेँ, त्यही परिवारको भाषा, संस्कार, संस्कृति लगायत सबै कुराले मलाई स्वाभाविक रूपमा प्रभावित गर्ने नै भयो। तर, त्यतिले मात्र प्रभावित गरेन। काठमाडौंभित्रका तमाम संस्कृति र जात्रापर्वले पनि मलाई उत्तिकै प्रभावित गरे।
सानोमा दसैं बेला मेरो घरअगाडि जब बाजा बज्थ्यो, म दौडेर हेर्न जान्थेँ। मभन्दा साना भाइबहिनी बाजा बजाउँदै, बाँसुरी बजाउँदै अगाडि बढिरहेको देख्थेँ। अलि ठूलो भएपछि बुझ्दै जाँदा थाहा पाएँ, यहाँको कला, साहित्य, जात्रापर्व कुनै सरकारले जोगाएको होइन रहेछ। यहीँका रैथानेहरूको गुठीले जोगाएको रहेछ। यो जात्रापर्व सबै कुरा विस्तारै विस्तारै मलाई मेरैजस्तो लाग्न थाल्यो।
म अहिले स-साना दुइटा छोरी यहीँ काठमाडौंमा हुर्काउँदैछु। उनीहरूलाई सबै जात्रापर्वमा लिएर जान्छु। मच्छिन्द्रनाथको जात्रामा लिएर जान्छु, इन्द्रजात्रामा लिएर जान्छु र भन्छु, यो नै हो हाम्रो शान, यो नै हो हाम्रो सभ्यता, यो नै हो हाम्रो परिचय र यो नै हो हाम्रो अस्तित्व।
राजा-महाराजालाई मात्र होइन, हामीजस्तो एउटा सामान्य नागरिकलाई पनि काठमाडौंले बस्न दियो। काठमाडौंले बाँच्न दियो। हामीलाई आफ्नो इतिहाससँग, सभ्यतासँग जोडिने ठाउँ दियो।
सम्माननीय प्रधानमन्त्रीजी, मजस्तै तपाईं पनि झापाबाट आउनुभएको हो। मलाईजस्तै तपाईंलाई पनि काठमाडौंले माया गरेको छ। मलाईजस्तै काठमाडौंले तपाईंलाई पनि आफ्नै ठानेको छ। काठमाडौंले हामीलाई आफ्नो ठान्ने अनि हामीले काठमाडौंको परिचय र पहिचानलाई आफ्नो ठान्न नपर्ने?
तपाईंले काठमाडौंसँग जे गर्नुभएको छ, त्यो गर्ने अधिकार तपाईं राख्नुहुन्छ? राख्नुहुन्न। त्यसैले, प्रधानमन्त्रीजी, आज काठमाडौं छिर्नासाथ मलाई काठमाडौंबासीले के भने भनेर उहाँले सोध्नुभयो रे। उहाँको साथीले भन्नुभयो रे, ‘भाजुला बेइमान खनी।’ अर्थात्, ज्वाईं त बेइमान रहेछ भनेर प्रधानमन्त्रीलाई सुनायो रे।
यो सरकारसँग दुईतिहाइ बहुमत छ। जनताको मतबाट आएको, विरासतबाट होइन। भोलि अर्को सरकारसँग तीनचौथाइ पनि होला। कोही अर्को सरकारसँग पूरापूर पनि होला। यसको अर्थ मनपरि आफूले चाहेको कानुन बनाउने होइन।
यसका पछाडि संविधान छ। जनभावना छ। के भन्छ जनभावनाले? यत्रो परिवर्तनपछि आएको सरकारले गर्नुपर्ने काम एउटै गर्दैन। नगर्नुपर्ने काम सबै गर्छ। संविधानले स्पष्टसँग भन्छ- गुठीबारे कुनै पनि कानुन बनाउनुछ भने गुठीको मूलभूत मान्यतालाई तिमी चलाउन पाउँदैनौं।
यो संविधानले भन्छ- सनातनदेखि चलिएको संस्कृति रक्षा गर्नु तिम्रो दायित्व हो, यसलाई तिमी चलाउन पाउँदैनौ।
सम्माननीय प्रधानमन्त्रीजी, तपाईंसँग संख्याको तागत छ। तर, तपाईंसँग भएको संख्याको तागतले तपाईं संविधान नाघ्न पाउनुहुन्न। संविधानको सीमाभित्र बसेर जनभावना मानेर मात्र कानुन बनाउने अधिकार तपाईंको संख्याले राख्छ।
तपाईं केका आधारमा संसदमा विधेयक प्रस्तुत गर्दै हुनुहुन्छ? प्रधानमन्त्रीका साथीहरू भन्नुहुन्छ, विधेयक आएकै छैन, विधेयक बल्ल आउँदैछ, संसदभित्र आइसकेपछि यसबारे छलफल हुन सक्छ। हामीलाई पनि संसदको परम्परा थाहा छ। तपाईं जे नियतबाट यो विधेयक ल्याउँदै हुनुहुन्छ, संसदभित्र छलफलबाट सच्याउने मनसुबा राखेर ल्याउनुभएको छैन।
त्यसैले, आज सडकमा आएर तपाईंलाई प्रश्न गर्नु, खबरदारी गर्नु हाम्रो कर्तव्य भएको छ। काठमाडौंबाहिर दाङमा, सिन्धुपाल्चोकमा केही किसान साथीहरू आन्दोलनमा आउनुभएको छ। काठमाडौंको गुठीको आफ्नो महत्व छ। यो नेपाल भन्ने देश अस्तित्वमा आउनुभन्दा पहिलेदेखि यो अस्तित्वमा छ। यो नशाजस्तै हो, शरीरसँग जोडिएको। योसँग अलग रहेर यहाँको रैथाने सभ्यता र संस्कृति केही बाँकी रहँदैन।
काठमाडौंबाहिर अर्कै खालको अवस्था पनि छ। कतिपय ठाउँका किसान मर्कामा पनि छन्। यी सबै विषयमा छलफल गर्न सकिन्छ। सरकारले के अध्ययन गरेको छ? कति ठाउँमा कुतसमेत तिर्न नसकेका किसान छन्। जसले गुठीको जग्गाको भोगचलन गरेका छन्, आज सरकारले बनाएको यो कानुनबाट ती किसानले एक इन्च जमिन पाउनेवाला छ?
म यो ठाउँबाट कांग्रेसका तर्फबाट दाङको सडकमा आउनुभएका साथीहरूलाई भन्न चाहन्छु, सिन्धुपाल्चोकका किसानलाई भन्न चाहन्छु, कोही काठमाडौंबासी वा कांग्रेस किसानको विपक्षमा छैन।
किसानले पाउने अधिकार निम्ति सरकारसँग अरू बाटाहरू छन्। अरू विकल्प छ। ती अरू बाटो र विकल्पबाट किसानलाई हकअधिकार दिन सकिन्छ। तर, कोही किसान नझुक्किनुस्, यो विधेयक कोही किसानका निम्ति आएको होइन। यो बाटोबाट अन्तिममा हुने भनेको, जसरी हिजो बुटवलका सुकुम्बासी झुक्किए, बुटवलका सुकुम्बासीले बालुवाटारको जग्गा पाएजस्तै त्यही नक्कली सुकुम्बासीले पाउँछ।
यहाँभित्रका गुठीबाट केही बफादारलाई पोस्ने, केही यारहरूलाई पोस्ने, केही आफ्ना साथीहरूलाई पोस्ने, केही आफ्ना माफियाहरूलाई पोस्ने नियतले मात्र यो विधेयक आएको छ। जनतालाई जनतासँग भिडाउने कुत्सित नियत यो सरकारले राखेको छ। यसलाई पनि बेलैमा चिर्न आवश्यक छ।
म तमाम काठमाडौंबासीका बाहिरी जिल्लाका तमाम किसान साथीहरूलाई भन्न चाहन्छु, तपाईंहरूलाई झुक्याइँदै छ। तपाईंलाई जग्गा दिन यो विधेयक ल्याइएको होइन, आफ्नो परिवारलाई पोस्न हो। आफ्नो यारलाई, आफ्नो साथीलाई, माफियालाई पोस्न हो। यो कुरा बुझ्न म आग्रह गर्छु।
प्रधानमन्त्रीजीले आज विमानस्थलमा ओर्लदै गर्दा भन्नुभएछ- कसैकसैले चान्स मार्ने भन्ठानेका थिए होलान्, म आइसकेँ अब चान्स मार्नु पर्दैन।
प्रधानमन्त्रीजी, चान्स मार्ने तपाईंको जस्तो बानी हाम्रो छैन। हामी कहीँ पनि आगो बाल्न चाहँदैनौं। हिजो तपाईं मधेसमा आगो बाल्न जानुभयो, पानी लिएर जाने हामी नै हो। तपाईंका साथीहरू हिजो नेपालमा संघीयताको आन्दोलन हुँदै गर्दा सबैलाई राज्य बाँड्दै हिँड्नुभो, पानी हाल्ने हामी नै हो।
हामी कहीँ पनि आगो बाल्न जान चाहँदैनौं। हामी अहिले पनि आगो बाल्न चाहँदैनौं। समय छ प्रधानमन्त्रीजी, अहिले पनि समय छ। स्थगित गर्ने होइन, यो विधेयक फिर्ता लिएर जानुस्।
फिर्ता गरेपछि छलफल हुन्छ। सबै ठाउँमा बसेर छलफल हुन्छ। सरोकारवालाहरू राखेर छलफल हुन्छ। आज तपाईंको पार्टीको एक जना सांसदले भन्नुभयो, जो जो यो विधेयकको विपक्षमा छन्, ती सबै सामन्ती हुन्। अर्को सांसदले भन्नुभयो, यो विधेयकको विपक्षमा जो जो छन् ती राजावादी हुन्। तपाईंको अर्को सांसदले भन्नुभयो, यो विधेयकको विपक्षमा जो जो मान्छे आएका छन्, ती सबै भाडामा ल्याइएका हुन्।
प्रधानमन्त्रीजी, धेरै नजिस्क्याउनुस्, काठमाडौंका जति पनि जनता सडकमा ओर्लिएका छन्, ती सरकारी घ्यू खाएका सरकारी अरिंगाल होइनन्। यी मनमनमा आफ्नो संस्कृतिका लागि, सम्पदाका लागि, सभ्यता र अस्तित्वका लागि सबै सीमा नाघेर आफ्नो जीवन आहुति दिन तत्पर भएर आएका जनता हुन्।
त्यसैले, सत्यमोहन जोशीले तपाईंलाई दिएको सुझाव सुन्नुस्, बेलैमा सुन्नुस्। नजिस्क्याउनुस् काठमाडौंलाई। काठमाडौंले माया गर्न जानेको छ। तपाईं, हामीलाई माया गरेको छ। तर, काठमाडौं रिसायो भने यसले भष्म पनि गर्न जानेको छ।
प्रधानमन्त्रीजी, तपाईंको स्वास्थ्य लाभको कामना गर्छु धन्यवाद।
(नेपाली कांग्रेस काठमाडौं महानगरले आइतबार गरेको गुठी विधेयक विरोध सभामा कांग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले राखेको मन्तव्यको सम्पादित अंश)