राओ जोधा डेजर्ट रक पार्क, थार मरुभूमि, जोधपुर। चट्टानको पहाडमा म नवविवाहिता पत्नीको काखमा शिर अड्याएर सुतिरहेको छु। बादल लागेको फागुनको दिनमा झण्डै मुलायम भन्न मिल्ने मौसम छ- न जाडो, न गर्मी। नजिकै हाते फोनमा पियुष मिश्रको सुमधुर गीत ‘ओ हुस्ना’ गुन्जिरहेको छः
लाहोर के उस पहेले जिलेकि दो पर्गना में पहुँचे
रेशम गलीके दुजे कुचेके चौथे मकाँ में पहुँचे
और कहेते हें जिसको दुजा मुलुक उस पाकिस्ताँ मे पहुँचे
लिख्ता हुँ खत में हिन्दुस्ताँ से पेहलु–ए–हुस्ना में पहुँचे
भारतको आशक्त प्रेमीले विभाजनपछि पाकिस्तानमा छुटेकी प्रेमिकालाई लेखेको काल्पनिक चिठीलाई मिश्रले कालजयी गीत बनाइदिएका छन्। कोक स्टुडियो इण्डियाको दोस्रो सिजनमा रेकर्ड गरिएको त्यो गीत सुन्न जोधपुर आदर्श ठाउँ हो।
थार मरुभूमिको असीमित लाग्ने विराटतामा पर कतै एउटा कृत्रिम डोरोले भारत र पाकिस्तानलाई छुट्याउँछ। संसारकै धेरै जनघनत्व भएका मरुभूमिमध्येको एक थारमा मानिसदेखि कीराफट्यांग्रा र चराचुरुंगीसम्म सीमाको कुनपट्टिका हुन् भनेर छुट्याउन नसकिने। मायाप्रेमले त सीमा भन्ने कुरै भएन। बिहे गरेलगत्तै हामी प्रेमी–प्रेमिकासमेत नेपालबाट हानिएर थार पुगेका थियौं।
मानिसको जीवन अन्तहीन विरोधाभासको श्रृंखला हो। सात वर्षअघिको गीतमा मिश्रले बन्धनरहित प्रेमको नोस्टाल्जियालाई गीतमा उनेर बेजोड संगीत दिंदै गर्दा भारत र पाकिस्तानबीच खास मैत्रीपूर्ण सम्बन्ध थिएन। यसबीच उग्रराष्ट्रवादी भाजपाका ‘डेमागग’ नेता नरेन्द्र मोदीको सरकारले भारतीय समाजलाई चिन्नै नसक्ने गरी बदलिदिएको छ।
त्यो परिवर्तनको ज्वारभाटामा पाकिस्तानसितको सम्बन्ध पनि परेको छ। सधैंजसो कायम रहने दुई देशबीचको वैमनस्यताको पारो हामी भारत भ्रमणमा लागेसँगै आकाशिएको थियो। भारतीय कश्मीरको पुलवामामा त्रासद आतंककारी हमला भएसँगै सिंगो भारतमा पाकिस्तानविरोधी राष्ट्रवादको उभार आएको थियो।
अनि त्यही उभारमा चढेर आसन्न आम चुनावको नाउ पार लगाउन भाजपाले कुनै कसर बाँकी राखेको थिएन, छैन। केही समयअगाडि मात्रै दुई फरक खोजमूलक सामग्रीमार्फत रफायल विमान खरिदमा भएको भ्रष्टाचार अनि सरकारले लुकाउन खोजेको लाजमर्दो रोजगारीसम्बन्धी तथ्यांक क्रमशः दि हिन्दु र बिजनेश स्ट्याण्डर्ड पत्रिकाले उदांगो बनाइदिएका थिए। स्वाभावतः दुवै विषय चर्चाको उत्कर्षमा पुगेका थिए। विकास र रोजगारीको नारा दिएर सरकारमा पुगेको मोदी सरकारका लागि चुनाव अगाडिका त्यस्ता समाचार घातक बन्न सक्थे।
यो पुष्ठभूमिमा पुलवामा घटना भाजपाका लागि जीवनबुटी सिद्ध भयो। तत्काल देशभर बदला लेखिएका काला पोस्टकार्डसहितका जुलुस निस्के। मथुरा र जयपुरमा हामीले प्रत्यक्ष ती जुलुस देख्यौं।
सामाजिक सञ्जालमा यो विषयमा आएको देशभक्ति र बदलाभावको उभारको तुलनामा त सडक प्रदर्शन केही पनि थिएन।
दिल्लीमा पुस्तक किन्न पुग्दा पसलमा मानिसहरू जम्मा भएर मोदीले त्यही दिन उत्तर प्रदेश पुगेर दिएको प्रतिशोधपूर्ण भाषणको भिडियो चरम् उत्तेजनापूर्वक हेरिरहेका थिए। तिनका अनुहारमा भारतप्रेम, पाकिस्तानप्रतिको घृणा र मोदीप्रतिको विश्वास बराबर झल्किरहेको थियो। जब मोदीले पाकिस्तानी प्रम भिखारीजस्तै कटौरा लिएर हात पसार्दै संसार घुमेको भनेर अशोभनीय र नीचतापूर्ण कटाक्ष गरे, गौरवले उनीहरुका अनुहार यसरी धपक्क बले, लाग्थ्यो भारतीयहरूको खुसी र पाकिस्तानीहरुको पीडा पर्यायवाची कुरा हुन्।
आतंककारीलाई ठीक पार्न सबै आवश्यक कदम उठाउन सेनालाई आदेश दिइसकिएको भनेर जब मोदीले घोषणा गरे, उनीहरुले केटाकेटीजस्तै हुटिंग गरे।
त्यही बिहान भारतीय राजनीतिको नाडी छामेका दिल्ली निवासी दाइले निष्कर्ष सुनाएका थिएः ‘यता अब जातीय रुपमा कित्ताकाट भइसकेको छ। सबै माथिल्लो जातिकाले फेरि पनि भाजपालाई भोट हाल्छन्। ती यति प्रभावशाली छन् कि तिनका कारण अरु जातका पनि ठूलो संख्याका मानिसले उसैलाई भोट हाल्छन्। विकासका काम गरे पनि, नगरे पनि मोदीको सरकारले फेरि पनि जित्छ।’
मानिसको मनोविज्ञान बुझ्न र त्यसमा धूर्त चलखेल गर्न मोदी अद्वितीय छन्। त्यस दिनको उनको भाषण खास गरी ती मानिसप्रति लक्षित थियो जो उनको आर्थिक ट्रयाक रेकर्डप्रति असन्तुष्ट वा रुष्ट थिए। तर जसका लागि सिर्जना नभएका रोजगारी र आफ्नो विपन्नताभन्दा आफ्नो र देशको सुरक्षा मुख्य हुन सक्थ्यो। अर्थात् मोदीले मानिसको अवचेतन मनलाई यसो भनेर अपील गरिरहेका थिएः म रोजगारी दिन नसके पनि सुरक्षा दिन्छु, ज्यान बचे जीविकाको खोजी गर्दै गर्न सकिन्छ। वाह राजनीति!
जीवन विचित्र छ। बितेका पाँच वर्ष मैले आफ्ना शारीरिक र मनोवैज्ञानिक आवश्यकताहरुलाई दबाएर बिताएँ। कुनै खास उदात्त वा परोपकारी मनसायले हैन कि जीवनमा कुनै बेला गरेका खराब व्यक्तिगत निर्णयका कारण म उमेर–सुलभ मानवीय आत्मीयता र संसर्गबाट वञ्चित भएँ।
त्यो अवस्थाप्रति गुनासो गर्नुको साटो त्यो अभावलाई आफैंले अवसरमा बदलेजस्तो लाग्छ मलाई। निजी जीवनको विराट खाडल भर्न सामाजिक र सिर्जनशील जीवनको गियर बढाएँ। मेरो कर्मबाट समाजले लाभ लियो कि लिएन थाहा छैन। तर त्यसखालको कर्म गर्नबाट मलाई निजी जीवनले बाधा पारेन।
तर के यसरी पूरै जीवन चल्न सक्थ्यो? म दुविधामा थिएँ।
वर्षौंको मन्थनपछि निष्कर्ष निस्क्योः यस्तो नयाँ मानवीय सम्बन्ध जरुरी छ जसले मेरो सामाजिक जीवनमा घर्षणको सट्टा थप सहजता पैदा गरोस्। धैर्यतापूर्ण अभ्यासपछि जसै त्यस्तो सम्भावना देखियो, म अघि बढें। बिहे भयो। अर्थ संकलन गरेर जाऔंला भन्न नमिल्ने हनिमुन यात्रा लगत्तै सुरु भयो।
जीवनमा मैले कमाएका थोरै मुल्यवान कुरामध्ये केही आत्मीय मित्र छन्। तीमध्ये एकको आग्रहमा भारत भ्रमण तय भयो। विना योजना सुरु भएको हतारको भारत भ्रमण सुविधाजनक पक्कै थिएन। तर लता मंगेशकरले गाएकै छन् निः तेरा साथ हे तो...।
फेरि जगजीत सिंहले यो पनि गाएका छन्ः प्यारमें फर्क नहीं हे जीने और मर्नेका..उसीको देखकर जीते हें जिस काफिर पे दम निकले। अर्थात् मानिस प्रेममा यति निरपेक्ष हुन्छ कि उसलाई जीवन र मृत्युको भेद समेत हेक्का रहँदैन।
मानव मनको वैज्ञानिक अध्ययन गर्ने विज्ञ स्कट एम पेक भन्छन् व्यक्तिले समय, स्थान र व्यक्तिचेत गुमाउने प्रेम (जसमा दुई व्यक्तिका ’इगो बाउन्ड्री‘ एकाकार हुन पुग्छ, जसलाई अंग्रेजीमा फलिङ इन लभ भनिन्छ) चिरस्थायी र वास्तविक प्रेम हैन तर स्वभाविक र क्षणिक अनुभव हो।
त्यो पार भएर मानिस वास्तविक प्रेमको चरणमा प्रवेश गर्नुपर्छ जहाँ दुवै जना आआफ्नो समय, स्थान र व्यक्तिचेत भएका फरक-फरक व्यक्ति हुन्छन् तर तिनको ‘इगो बाउन्ड्री’ एकाकार नभई केही हदसम्म खप्टिएको हुन्छ। पेकका अनुसार दुई व्यक्तिबीच प्रेमको एउटै अर्थ एकअर्काको बृहत्तर मानसिक विकासमा पारस्परिक सहयोग पुर्याउनु हो। प्रेम सचेत र सक्रिय प्रक्रिया हो, निष्क्रिय रोमान्टिक भावना हैन भन्ने पेकको बलियो तर्क छ।
पेकबाट त्यो रहस्य थाहा पाएकैले अलौकिक प्रतित हुने र कला–साहित्यमा प्रेम भनेर चित्रण गरिने क्षणभंगुर भावनाको भरपुर आनन्द लिन म आतुर थिएँ। बिहे अगाडि चलेका लामा टेलिफोन वार्ताहरुमा रोमान्टिक कुराकानीको बीचबीचमै मैले उनलाई मानिसको ‘इगो बाउन्ड्री’, क्षणिक रोमान्टिक प्रेम र त्यसपछि आउने वास्तविक सक्रिय–सचेत प्रेमको अवधारणाबारे लामै व्याख्यान पेश गरेको थिएँ।
बादलले ढाकिएको मरुभूमिको चट्टानमा वसन्तको सँघारको साँझमा सँगै ‘ओ हुस्ना’ गीत सुन्नु वास्तवमै हामीलाई समय, स्थान र व्यक्तिको सीमानापारि पुर्याउने अलौकिक काम थियो। हाम्रा लागि ब्रह्माण्डको अस्तित्व हामी दुईमै सीमित थियो।
...
उल्लिखित रक पार्कमा चट्टानहरुको यस्तो अद्भूत संकलन छ जसले पृथ्वीको बीसौं करोड वर्ष पुरानो इतिहास भन्छ। तीमध्ये १० देखि १४ करोड वर्ष पहिले बनेको देखिने ‘एबर लाइम्स्टोन’ नामको एक पत्थरमा त्यो बेलाका समुद्री जीवका अनेक अवशेष सुरक्षित छन्। त्यहाँका अलग अलग पत्थरले विभिन्न समयको कथा बोल्छन् तर तीमध्ये अधिकांश तब बनेका थिए जब अहिलेको थार मरुभूमिमाथि समुद्र बग्थ्यो र अहिलेका महादेशहरु बनेकै थिएनन्।
इण्डियन र युरेसियन टेक्टोनिक प्लेटहरूबीचको ठाकठुकबाट हिमालयको जन्म अनि हिमालयमा जमेको हिउँबाट स्वच्छ पानीको स्रोतका रुपमा इन्डस, गंगा र ब्रह्मपुत्र नदीहरूको जन्म भएको पछि मात्रै हो। ती नदीले करोडौं वर्ष लगाएर हिमालयको दक्षिणपट्टि विशाल मलिला मैदानहरु बनाएपछि मात्रै यो क्षेत्रमा जलचर, थलचर हुँदै मानिस जातिको अस्तित्व सम्भव भएको हो।
वैदिक कालका हाम्रा पूर्खाबारे खोजीनीति गर्ने हो भने त्यसमा थार र वरपरका क्षेत्रको ठूलो महत्व छ।
मरुभूमिको उत्तरतर्फ हरियाणाको ओट्टु गाउँसम्म वर्षायाममा मात्र बग्ने घाग्गर नदीलाई धेरैले सतलज र यमुना नदीको बीचमा पर्ने भनेर ऋग्वेदमा उल्लिखित सरस्वती नदी मान्छन्। पश्चिममा उत्तर अफ्रिकाको सहारा मरुभूमिबाट सुरु हुने पृथ्वीकै दुरुह पत्थरिलो मरुभूमि साउदी अरब, इरान, अफगानिस्तान र पाकिस्तान हुँदै झण्डै थारसम्मै आइपुग्छ। पाकिस्तानमा समेत पर्ने थार र पश्चिम पाकिस्तानको मरुस्थललाई गुगल नक्सामा एउटा साँघुरो हरियो पेटीले छुट्याउँछ जहाँबाट गुज्रँदै हिमालयको पश्चिम छेउमा जन्मने इण्डस नदी अरेबियन खाडीमा पुग्छ।
त्यो पेटीको उत्तरी भागमा रहेको हरप्पामा आजभन्दा ५३०० वर्ष अगाडि सुरु भएको हारप्पन वा इण्डस उपत्यका सभ्यता संसारकै पुराना प्रमाणित सभ्यतामध्ये पर्छ। हारप्पा र मोहेनजो–दारो गरी दुई सहरमा ६० हजारसम्म जनसंख्या पुर्याएको मानिने त्यो सभ्यता कसरी लोप भएर गयो भन्नेमा अनेक मत छन्। तर हावापानी परिवर्तन र खडेरीका कारण छोटिंदै गएको मनसुनमा आधारित घाग्गर नदी निकै माथिसम्म सुक्नु र कृषियोग्य जमिनको मरुभूमिकरण हुँदै जानुलाई त्यसको प्रमुख कारण मानिन्छ।
हारप्पन सभ्यता नाश भएपछि त्यहाँका मानिस कता गए होलान् त? पुरातत्वविदहरुका अनुसार इण्डस उपत्यकाबाट सभ्यता हराउनु र त्यही समय हाराहारी गंगाको मैदानमा नयाँ सभ्यता सुरु हुनु संयोग मत्रै थिएनन्, दक्षिण एसियाको सभ्यताको केन्द्र इण्डस नदी किनारबाट पूर्वपट्टि सरेर गंगा नदीको किनार पुग्यो। पहिले ससाना गाउँ र पछि सहर अनि सहर–राज्य बने।
दक्षिण एसियाका बहुल समाजमा विकसित अनगिन्ती मान्यता र कर्मकाण्डका आधारमा अद्वितीय विविधताले भरिपूर्ण हिन्दु धर्म र सभ्यताको उदय भयो।
हारप्पन सभ्यता नाश भएको हजार वर्ष नबित्दै हिमालयको फेदीमा शाक्य वंशको सानो शहर–राज्यका राजकुमार सिद्धार्थ गौतम बूद्धका रुपमा उदाए। उनले तबसम्म विकसित रुढीवादी विश्वासहरुको चिरफार गरेर युगान्तकारी नयाँ दर्शन संसारलाई दिए। त्यही समय हाराहारी चीनमा कन्फ्युसियस र युरोपमा सुकरातले उस्तै युगान्तकारी दर्शन दिएर आफ्ना समाजलाई नयाँ चरणमा प्रवेश गराए।
त्यसको केही शताब्दीपछि पश्चिम एसियामा जन्मेका जिसस क्राइस्टका कर्म र वचनका आधारमा इसाइ नामक विशाल धर्म र सभ्यता जन्म्यो। झण्डै अरु छ शताब्दीपछि अरबको मरुभूमिमा मुहम्मदले इस्लाम धर्म स्थापना गरे। पछि इसाइ र इस्लाम धर्मबीच भीषण धर्मयुद्ध भए। तिनको पृष्ठभूमिमा युरोपमा प्रोटेस्टेन्ट सुधार अभियान, पुनर्जागरण र प्रबोधन युग आए।
दैवी शक्तिको सट्टा मानिस र उसको विचार प्रधान हुने प्रबोधन युगको काँधमा विज्ञानको विकास भएसँगै औद्योगिक युग आयो। त्यसबाट लाभ लिएका युरोपेलीले संसारभर उपनिवेश कायम गरे। ती उपनिवेशबीच गहिरो घर्षण र भीषण युद्ध भयो। अघिल्लो शताब्दीमा विश्वयुद्ध भएपछि शुष्क बनेका युरोपेली उपनिवेशको चिहानमा नयाँनयाँ स्वतन्त्र राज्य बने।
उता औद्योगिक क्रान्तिद्वारा सिर्जित असमानता र उत्पीडनको प्रतिक्रियास्वरुप रुस र चीनमा साम्यवादी भनिने क्रान्ति सफल भए र सोभियत साम्राज्य जन्म्यो। युरोपेली साम्राज्य विघटन भएको केही दशकमा सोभियत साम्राज्यको पनि पतन भयो। र आजको विश्वको मानचित्र तयार भयो।
मानव समाजमा अनेक अवस्था र कोणबाट आएका यस्ता उथलपुथलको जगमा हामी बाँचेको अहिलेका समाज अस्तित्वमा आएको हो। समाज त समाज, व्यक्तिका रुपमा हामी हरेक व्यक्तिसमेत हारप्पन सभ्यतादेखि गान्धीको दर्शनसम्मको छाप बोकेर हिँडेका छौं।
...
पन्छी दिनभर जति उडे पनि साँझमा वास बस्न गुँडमै फर्किन्छ। थार मरुभूमिको असीमित विराटतामा बिताउन सकिने प्रेमिल समयको सीमा बढाउन हामीले सकेको प्रयास गर्यौं। भ्रमण तन्किए पनि एक दिन घर फर्कनु अनिवार्य थियो। फिर्ती तालिका यस्तो बन्यो कि बसमा ४८ घण्टा निरन्तर यात्रा गर्नुपर्यो।
जोधपुरबाट जयपुर आउँदा बिहानको छ बजेको थियो। त्यहाँबाट दिल्लीसम्मको यात्राका लागि दुई अंग्रेजी पत्रिका किनेँ। दुईमध्ये हिन्दुस्तान टाइम्समा मोदी युगको मिडिया व्यवस्थापनको प्रभाव प्रस्टै देखिन्थ्यो। तर इण्डियन एक्सप्रेसको पत्रकारिता अब्बल निस्क्यो। इन्दिरा गान्धीको संकटकालमा समेत राज्यसित आँखा जुधाएर पत्रकारिता गरेको यो संस्थाले मोदीको अघोषित मिडिया संकटकालमा पनि आफ्नो धर्म निभाइरहेको रहेछ।
प्रसंग पुलवामा आतंककारी घटनापछि भारतभर सिर्जित उग्र–राष्ट्रवादी हिस्टेरियाको हो।
बाँकी सबैजसो मिडिया त्यो हिस्टेरियाको बलेको आगो ताप्ने होडमा थिए। राष्ट्रियदेखि स्थानीय, अंग्रेजीदेखि हिन्दी र अन्य भाषाका अखबारहरु अखबार कम र युद्धको बेला प्रकाशित हुने प्रोपागाण्डा पोस्टर बढी लाग्थे। एकाधबाहेकका टेलिभिजन च्यानलहरु त भारतीय सत्ता–संस्थापनका मुखपत्र भएको धेरै भइसक्यो।
पाकिस्तानी सरकार, त्यहाँको सेना र खुफिया संस्था आइएसआइले भारतमा आतंक मच्चाउने समूहहरूलाई दिएको सुरक्षा र प्रश्रयको विरोध र निन्दा गर्नुसम्म कुरा जायज हो। तर पाकिस्तान भनेको त्यहाँको सरकार, सेना र आइएसआइ मात्रै हैन। त्यहाँ पनि भारतमा जस्तै हातमुख जोड्न संघर्षरत दशौं करोड निर्दोष मानिस छन्। त्यहाँ पनि सरकारको आतंकवादी–मैत्री व्यवहारको कटु आलोचना गर्ने र उसलाई जवाफदेही बनाउन चाहने मानिस छन्। पाकिस्तान आफैं आतंकवादको चपेटामा पिल्सिएको समाज हो।
पाकिस्तानी समाजलाई नै भारतको विपरीतार्थी सिद्ध गर्न खोज्ने कुनै पनि मिडिया कभरेजलाई यस्ता कुरासँग सरोकारै थिएन।
त्यस दिन इण्डियन एक्सप्रेसले उदांगो पारेको कुरा चाहिँ भारतमा फैलिएको पाकिस्तानप्रतिको अन्ध–घृणाभन्दा पनि निकै भयावह थियो।
पुलवामा घटनालगत्तै भारतका धेरै ठाउँमा कश्मिरीहरुमाथि सांघातिक हमला भएका थिए। तीन कश्मिरी युवाले दिल्लीमा चलिरहेको रेलबाट हाम फालेर क्रुद्ध भिडबाट आफ्नो ज्यान जोगाएका थिए। उत्तराखण्डमा भिडको आतंकमा परेर कलेजहरुले कश्मिरी विद्यार्थी भर्ना नलिने घोषणा गरेका थिए। सामाजिक सञ्जालमा कथित ‘राष्ट्रद्रोही’ कुरा लेखेको आरोपमा २४ जना कश्मिरी कलेजबाट निष्कासित गरिएका थिए भने कम्तीमा १० जनामाथि मुद्दा चलाइएको थियो। असुरक्षाका कारण उत्तराखण्ड र हरियाणाबाट ठूलो संख्यामा कश्मिरीहरू बाहिरिएका थिए।
संंविधानको रक्षा गर्ने जिम्मा पाएका मेघालयका विवादास्पद गभर्नर तथागत रोयले ‘कश्मिर र कश्मिरको हरेक चीज’ बहिष्कार गर्ने आग्रहसहितको ट्विट गरेका थिए। त्यसै दिनको इण्डियन एक्सप्रेसमा पेचिलो स्तम्भ लेख्दै इतिहासकार रामचन्द्र गुहाले हिस्टेरियाग्रस्त भारतवासीलाई सोधेका थिए- कश्मिर नभई नहुने कश्मिरीहरू चाहिँदै नचाहिने कस्तो राष्ट्रवाद हो यो? सम्पादकीयले मेघालयका गभर्नरको उत्तिकै कडा शब्दमा निन्दा गरेका थियो।
दिल्लीमा मोदीको उत्तेजक भाषण सुनिरहेको भिडलाई हेर्दा लागेको थियोः यो आतंकवादी आक्रमण मोदीलाई आशीर्वाद भयो। तर गुहाको विश्लेषणपछि लाग्योः आक्रमणपछि भारतीय राज्य र समाजको ठूलो हिस्साले जे गर्यो, त्यो त आतंकवादीलाई पो आशीर्वाद भयो। ती निर्दोष कश्मिरी, जो गृहप्रदेशको अन्तहीन आतंक (राज्य र विद्रोही दुवैका कारण) छलेर भविष्य बनाउन अन्यत्र पुगेर पढ्दै र व्यवसाय गर्दै थिए, तिनलाई हिंसापूर्वक खेदेर आतंकित पार्दै घर फर्काएपछि कसको भलो भयो?
आतंकवादीले चाहेको दुरुस्त यही ध्रुविकरण हैन जहाँ कश्मिरीहरू मध्यमार्गी नभई या त राज्यपक्षीय गद्दार हुन्छन् या पृथकतावादी र स्वतन्त्रता पक्षीय लडाकु? जनसंख्याको ठूलो हिस्सालाई त्रस्त भेडाबाख्रा झैं एउटा भौगोलिक क्षेत्रमा कैदी बनाएर संसारमा कुनै देशको राष्ट्रियता बलियो भएको छ?
भारतमा आमचुनाव यति नजिकै हुँदैनथ्यो भने यति सामान्य कुरा सायद सबैले बुझिसक्थे र मनन पनि गर्थे। तर मोदीको विकास, समृद्धि र रोजगारीको रेल अहिले लिकबाट निकै पर उछिट्टिइसकेको छ। मोदीको भाजपा र चुनाव जित्ने उसको गन्तव्यबीच अब बाँकी एउटै साधन साम्प्रदायिक भावनाले लैश राष्ट्रवादको हिस्टेरिया छ।
तत्काल नगदमा प्रतिफल दिने यस्तो हिस्टेरिया समाज र देशको दीर्घकालीन हित गर्ने उधारो सम्भावना बोकेको बहुलवादभन्दा यति मोहक छ कि त्यसको सम्मोहनबाट प्रतिपक्षी काँग्रेससमेत बच्न सकेको छैन। आम मतदाता चिढिने डरले निर्दोष कश्मिरीमाथि भएको अमानवीय ज्यादतीप्रति ऊसमेत मौन रह्यो।
के एउटा चुनाव जित्ने लोभले विश्वकै ठूलो लोकतन्त्र भनिने भारतका प्रमुख दललाई यति मानवता–निरपेक्ष बनाएको होला? सायद कुरा त्यति मात्रै हैन। दुवै दल आगामी चुनावको परिणाम मात्रै नभई आफ्नो अस्तित्वका लागि चिन्तित छन्। लोकतान्त्रिक अभ्यासको नवीनतम चरणमा सम्भवतः मानवता र मानववादजस्ता कुनै बेला निरपेक्ष मानिने अवधारणाहरु बासी र निष्प्रभावी भइसकेका छन् र तिनको स्थान नश्ल–भेदी र साम्प्रदायिक उग्र–राष्ट्रवादको हिस्टेरियाले लिइसकेको छ।
मरुभूमिको प्रेममय यात्रापछि मैले निकालेको कठोर निष्कर्ष यही हो- परिवर्तनशील संसारमा कहिलेकाहीँ खराबको स्थान झन् खराब अवस्थाले लिने रहेछ। यो तमाम खराबी र दुःखका बीचमा जसले प्रेम दिएर र लिएर बाँच्न सक्यो, घृणा र अहंकारको गलपासोबाट बच्न सक्यो, ऊ नै खुसी हुने रहेछ। भारत र पाकिस्तान सायद भविष्यमा कहिल्यै नमिल्लान् तर पियूष मिश्रको कालजयी गीतले प्रेम र बितेको समयको नोस्टाल्जियालाई तबसम्म जीवितै राख्नेछ जबसम्म वर्तमान सभ्यता कायम हुनेछ।