आभासको सांगीतिक परिचय उनले भोगेको अतीत र सामाजिक-राजनीतिक परिवेशबिना अधुरो हुन्छ।
२०४६ को प्रजातन्त्र पुनर्स्थापनापछि घटनाक्रम जसरी अघि बढे, त्यसले नेपाली राजनीति दूषित बन्दै गयो। अन्तर्घात, सत्ताको लुछाचुँडी, सांसद किनबेचजस्ता गलत राजनीतिक अभ्यासले आशालाग्दो भविष्यको आकांक्षामै तुषारापात गरायो।
राजनीतिप्रति जुझारु आभास आफूले पछ्याएको तत्कालीन मालेका नेताहरूको रवैयाबाट दिक्क भए। उनले भौतिक प्रतिकार गरेनन्, बरू आफूले जानेको गीत रचनाका माध्यमबाट प्रतीकात्मक प्रतिकार गरे।
आफ्ना नेता र आफूजस्तै राजनीतिमा होमिएका युवाहरूप्रतिको वितृष्णा र असन्तुष्टि उनले एउटा गीतबाट पोखे–
गोधुलीमा हिँड्ने एउटा जिउँदो मान्छे
संसारलाई फेर्छु भन्थ्यो आफैं फेरिएछ
मझेरीको अँध्यारोलाई खाल्डो खनी पुर्छु भन्थ्यो
उनी आउने पूर्णिमालाई जुनीभरि कुर्छु भन्थ्यो
अँध्यारोको अंगालोमा आफैं बेरिएछ
संसारलाई फेर्छु भन्थ्यो आफैं फेरिएछ...
मौसम सारै उजाडियो
पालुवाझैं झुल्छु भन्थ्यो
मेरो जन्म मेरो हैन
अरू निम्ति फुल्छु भन्थ्यो
पुरानो त्यो हिसाबकिताब सबै केरिएछ
संसारलाई फेर्छु भन्थ्यो आफैं फेरिएछ
गोधुलीमा हिँड्ने...
यो गीत आभासले त्यसै रमाइलोका लागि लेखेका होइनन्। यो लेख्दा उनले सम्भवतः अतीतका प्रगतिशील कदमहरूप्रति आत्मालोचना गरे होलान्।
२०३६ ताका गोकर्णपारिको काँठ आलापोट गाउँको स्कुलमा राजनीतिक चेत पलाएको क्षण सम्झे होलान्।
देशकाल र समाज परिवर्तन गर्ने आकांक्षासहित जन्मेहुर्केको परम्परागत ब्राह्मण घरको आँगनमा जनै फालेर प्रगतिशील यात्रा थाल्दाको क्षण सम्झे होलान्।
जनजागरणका नाममा गाउँबस्ती चहारेर 'गाउँ गाउँबाट उठ' भन्दै रामेश-मञ्जुल लगायतलाई पछ्याएको क्षण सम्झे होलान्।
'म कम्युनिस्ट' भनी सगौरव छाती फुलाएर हिँडेको क्षण पनि सम्झे होलान्।
२०५० सालतिर यो गीत लेख्दाको अनुभूति उनी यसरी पोख्छन्, 'आफू फेरिएको कुरा आफैंले थाहा पाउनु चेतना हो भनेर नेपालका स्वनामधन्य समाजवादी नेताहरूलाई र आफैंलाई पनि सम्झाउन खोज्नु विवशता हो।'
पञ्चायती व्यवस्थाविरूद्धको संघर्ष क्रममा राजनीतिक संगतले किशोर आभासमा चेतनाको बीउ त रोप्यो नै, समाजलाई विभिन्न असीमित कोणबाट नियाल्ने दृष्टि पनि दियो। यही सामाजिक-राजनीतिक चेत उनका सिर्जनाहरूमा निरन्तर छायो, अहिले पनि छाएकै छन्।
पञ्चायतले राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाएको थियो। नेताहरू भूमिगत थिए। सतहमा देखिएर पार्टीको काम गर्नेमा पार्टी 'समर्थक' विद्यार्थी, पत्रकार, शिक्षक, वकिल, कलाकार लगायत हुन्थे।
राजनीतिक नेतृत्व र कार्यकर्तामा लगन, प्रतिबद्धता, समाज परिवर्तन गर्ने जोश, इमानदारी, अनुशासन र निस्वार्थता भरिएको थियो। उनीहरू पार्टी र नेताको एक बचनमा झोला बोकेर हिँडिहाल्थे। त्यसरी हिँड्नेमा विद्यार्थीहरू धेरै हुन्थे।
त्यही क्रममा पाकिस्तानमा पहिलो जननिर्वाचित प्रधानमन्त्री जुल्फिकर अली भुट्टोलाई फाँसी दिइएपछि त्यसको राजनीतिक असर नेपालमा पर्यो।
२०३६ सालको विद्यार्थी आन्दोलनको झिल्को भारतपारि पाकिस्तानबाट नेपाल पसेको थियो। थुप्रै विद्यार्थी समातिए। जेलमा राखिए।
त्यस बेला प्रहरीले पक्राउ गर्नु भनेको माइतीघरमा पक्राउ दिएजस्तो खेलाँची थिएन। जेलनेल, केरकार, 'थर्ड डिग्री', बेपत्ता जे पनि हुन सक्थ्यो। राजकाज मुद्दा चल्न सक्थ्यो, जसको नतिजा सोचेभन्दा गम्भीर हुन सक्थ्यो।
त्यसैताका पूर्वका अखिल नेता चन्द्र भण्डारी नख्खु जेलमा बन्दी थिए। त्यहीँ उनले एउटा गीत कोरे। आभासहरू भेट्न जाँदा गितार बजाउँदै सुनाए-
भुइँ कुहिरो उड्न थाल्यो गाउँबस्ती ढाकेर
कालो बादल डुल्न थाल्यो निलो आकाश छेकेर
उड्दै छन् दिशाहिन भई रंगीचंगी प्वांखहरू
सिर्जनाको आशभित्र तुँवालोका छापहरू
भुइँ कुहिरो उड्न थाल्यो है ...
आभासले यी शब्द र धुन टिपे, गाए। यही गीत उनको पहिलो एकल गीतका रूपमा स्थापित हुन पुग्यो।
पञ्चायतकालमा आभाससँग भूमिगत भई पूर्णकालीन वाम राजनीतिमा होमिने विकल्प र दबाब पनि थियो। उनले भूमिगत राजनीति भने रोजेनन्। उनमा सांगीतिक चेत देखेरै होला, रामेशले उनलाई अम्बर गुरुङसँग भेट गराइदिए।
त्यहीँबाट सुरु भयो, अम्बर गुरुङको संगीत शिष्यको यात्रा। सामाजिक-राजनीतिक चेतको संगीतबाट मानवीय चेतयुक्त संगीतको यात्रा।
यही दौरान आभासले लेटर प्रेसमा लेटर खेलाए, पत्रकारिता गरे, छाडे। संगीत भने निरन्तर राखे।
अम्बर गुरुङको संगतले उनमा सांगीतिक समझ, ज्ञान र चेत बढ्यो। अम्बर स्वयंले मलाई भनेको याद छ, 'आभास मेरा थोरै कुशल शिष्यमध्येका हुन्।'
उनको यो भनाइबाट आभासको सांगीतिक योग्यताबारे अड्कल लाउन धेरै सोच्नुपर्दैन। अम्बर प्रखर सांगीतिक हस्ती भइकन अरू संगीतकर्मीको तारिफमा शब्द झार्न निकै 'कन्जर्भेटिभ' थिए, मैले उनीसँग गरेको संगत र अनुभव नियाल्दा।
आभाससँग मेरो भेट भने सन् २००२ मा भएको हो। नेपालयले नेपथ्यको 'शान्तिका लागि शिक्षा' शीर्षकमा पहिलो संगीतयात्रा आयोजना गरेपछि आधुनिक संगीतको पनि कार्यक्रम गर्ने सल्लाह भयो। त्यसैअनुरुप हामी गायक फत्तेमानको कार्यक्रमको तयारीमा थियौं।
संगीत संयोजनतर्फ को बेस होला भनेर सोच्दा नेपथ्यका अमृत गुरुङले आभासको नाम सुझाए।
२०५९ साउन २५ को साँझ वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित फत्तेमान दाइको कार्यक्रम भव्यसँग सम्पन्न भयो। त्यही समयदेखि हाम्रो संगत निरन्तर छ।
अधुनिक संगीतसँगको संगत अघि बढाउने क्रममा पलेँटी सुरु भयो।
२०६१ बाट सुरु यो लघु सांगीतिक शृंखलामा आभासले सुरुआती प्रस्तुति दिए। त्यसपछि पलेँटीमा नेपाली संगीतका करिब ५० नक्षत्रसँग सहकार्यको सुअवसर जुर्यो। यी सबैको सांगीतिक संयोजन पलेँटीको नेपथ्यमा रहेर आभासले नै गरे।
रामेश-मञ्जुलको संगत, अम्बर गुरुङको गुरुत्वबाट आभास अब्बल संगीतकर्मी त बनेका थिए नै, गुरूहरूको स्वाभिमान र अभिमान दुवै टिपेका पनि थिए।
पलेँटीमा उनले पाएको अग्रजहरूसँग सहकार्यको अवसर र अनुभवले उनको संगीत र व्यवहारमा सकारात्मक बदलाव आएको अनुभव हुन्छ- पन्ध्र वर्षअघिका र अहिलेका आभासको गीत सुन्दा, आचरण नियाल्दा।
एकदिन आभासबारे अमृत र म गफ गर्दै थियौं।
मैले सोधेँ, 'आभास कस्ता संगीतकर्मी हुन् तिम्रो लागि?'
उनले विस्तारमा विस्तारै भने, 'नेपाली आधुनिक संगीतमा अम्बर गुरुङ, गोपाल योञ्जन, नातीकाजी, नारायण गोपाल, रामेशको पुस्तापछि बीचमा एक जना दिप श्रेष्ठ हुन्, त्यसपछि हाम्रा समकालीनहरूमा आभास मात्रै हो।'
मैले फेरि कोट्याएँ, 'किन? कसरी?'
उनले भने, 'संगीतमा लाग्न गाउन मात्र होइन, साहित्य र संगीत बुझ्ने क्षमता पनि आवश्यक हुन्छ। तीनवटै प्रतिभा एकै व्यक्तिमा हुनु दुर्लभ नै हो। आफूसँग नभए पनि राम्रो-नराम्रो, ठिक-बेठिक छुट्याउने बौद्धिक क्षमता त हुनैपर्छ। एक व दुईमा पकड भएका स्रष्टाहरू नभएका होइनन्, तर तीनवटै प्रतिभामा गहन दख्खल भएका दुर्लभ व्यक्तिहरूमा अम्बर दाइ, गोपाल दाइ, नारायण दाइ, रामेश दाइहरू थिए र छन्। अहिलेका हाम्रा समकालीनहरूमा यस्तो क्षमता विरलै छ। त्यो क्षमता आभाससँग छ।'
'आभासको संगीतमा जुन सरलता र गहनताको सम्मीश्रण छ, जुन साहित्य र संगीतको सम्मीश्रण छ, जुन ताल र सुरको तादात्म्य छ, जुन धैर्य र संयमको छनक छ, आजकलको नेपाली आधुनिक संगीत र संगीतकर्मीमा भेट्न गाह्रो भैसक्यो,' अमृतले थपे, 'अचेल सबैलाई तुरुन्तै हिट हुनुपरेको छ। संगीतमा लागेको ४० वर्ष भैसक्दा पनि आभासमा त्यो हतारो छैन।'
अमृतले ठिक भने, आभास हतारमा छैनन्। आफ्नो मुड लेख्छन्, गाउँछन्। आफ्नो मुडअनुसार अरूको शब्द पाए टिप्छन्, सहकार्य गर्छन्।
नेपालले भोगेको द्वन्द्वकालीन कालरात्रिहरूमा आभासले द्वन्द्वको मर्म श्रवण मुकारुङको शब्दमा भेटे। त्यसैमा संगीत भरे, गाए। आफैं लेख्नुपर्छ भनेर कनेनन्।
गौंथलीझैं यो गाउँमा कसको मायाले भन तिमी आयौ
कुन घरको दलानमा गुँड लगाउने कसको खेतको पानी र माटो चलाउने
गौंथलीझैं यो गाउँमा...
तिमी गएदेखि नै हिमाल रोइरह्यो
जून डुलेन धान झुलेन
करेसाको लालुपाति फेरि फुलेन
दियो बलेन मादल बजेन
मान्छेदेखि मान्छे पुग्ने पुलै रहेन
यस्तो थाहा पायौ कि
कसको मायाले भन तिमी आयौ गौंथलीझैं यो गाउँमा ...
हुन त आभासले द्वन्द्वकालमा आफैंले गीत नलेखेका होइनन्। नेपथ्यले गाएको 'टाढा धेरै टाढा उडेका रंगीन चरा' उनकै शब्द र संगीत हो।
उनले लेखेको बाल गीत 'लेकका हामी केटाकेटी' पनि सर्वाधिक लोकप्रिय छ नै।
आभासलाई नेपाली साहित्य, कला र संगीतका प्राय: अग्रज एवं विज्ञहरूले चिन्छन्, तारिफ गर्छन्। यत्रो लामो साधनापछि पनि आमलोकप्रियता भने उनलाई नसीब भएको छैन।
मैले सोधेँ, 'आभासजी तपाईंमा हिट हुने आकांक्षा छैन?'
आभासले भने, 'आकांक्षा छैन भन्नु ढाँटेको हुन्छ। यसो भनौं, आकांक्षा छ, महत्वाकांक्षा छैन। मेरो संगीत आजै सुनिनुपर्छ भन्ने छैन। मैले आफू बाँचेको समयलाई सांगीतिक हिसाबले व्यक्त गरेको हुँ। गोधुलीमा हिँड्ने, भुइँ कुहिरो, रंगीन चरा, गौंथलीझैं, ल्यामपोस्टजस्ता गीतमार्फत् हामीले बाँचेको समय प्रतिविम्बित गर्ने प्रयत्नसम्म गरेको हुँ।'
अम्बर गुरुङका शिष्य न परे, आफ्नो सुरमा संगीत गर्छन्। गर्नैपर्ने बाध्यताबाट विमुख। गुरूबाट पाएर आफूले गाएको एउटा गीतजस्तो, खोजेर पाइने कुराको पछि नलागी फेरि नपाइने जीवन आफूखुसी बाँचिरहेका छन्। हार्मोनियमको रीड र तनपुराको र्याइँमा लय मिलाई संगीत साधनामा लीन।
खोजे मात्र सोधे मात्र नपाइने के छ यहाँ
पाइँदैन मात्र एउटा जीवन यो फेरि यहाँ
गुरु अम्बर गुरुङले भनेको एक वाक्य सधैं आत्मसात् गर्छन् आभास– 'कति होइन कस्तो गीत भन्नेमा ध्यान देऊ।'
त्यसै ‘कस्तो’ को परिभाषा बदल्दै आफ्नो मापक आफैं पुनर्निर्धारण गर्दै, अघि बढ्दै, एक्लो यात्रीजस्तै। जो अरूका लागि भन्दा आफ्ना लागि यात्रा गर्छ। स्वआत्मरञ्जन गर्छ। र, यात्रा निरन्तर राख्छ।