गाँजाजन्य खाद्य, पेय र औषधिहरूको अध्ययन, अनुसन्धान र उत्पादन लगभग परिपक्व अवस्थामा पुगिसकेको छ। गाँजा खेती, प्रशोधन, विक्री-वितरण र उपभोगलाई कानुनी मान्यता दिने क्रम बढ्दैछ। गाँजा गैर–अपराधीकरण गर्नु राष्ट्रको हितमा होला भन्ने बहसले संसारका कुनाकाप्चामा उच्च महत्त्व पाइरहेको छ।
नेपालमा पनि यसलाई वैधानिक छुटसहित गैर–अपराधीकरणमार्फत खुला गर्दा हुने तात्कालिक र दूरगामी असरबारे चर्चा हुन थाल्नु स्वाभाविक हो।
विगतमा अमेरिकी सरकारको तीव्र दबाबका कारण नेपालले संयुक्त राष्ट्रसंघको ‘सिंगल कन्भेन्सन अन नार्कोटिक ड्रग्स, १९६१’ मा हस्ताक्षर गरेको थियो। राष्ट्रसंघको ‘नार्काेटिक्स कन्ट्रोल बोर्ड’ले गाँजालाई हेरोइनजस्तै उच्च जोखिमपूर्ण लागुऔषधको दर्जामा राखेको छ। यसकारण नेपालले पनि सोही मान्यता हुबहु मान्दै ‘लागुऔषध नियन्त्रण ऐन, २०३३’ जारी गरी प्रतिबन्ध लगायो। त्यही प्रतिबन्धका कारण नेपालमा आजसम्म पनि गाँजा र गाँजाजन्य सम्पूर्ण पदार्थ पूर्ण गैरकानुनी छन्।
त्यसो त नयाँ–नयाँ वैज्ञानिक अनुसन्धानका नतिजाले आज गाँजाप्रति विश्वबजारको दृष्टिकोण बदलिइसकेको छ। अमेरिका, स्वीटजरल्यान्ड, इटाली, मेक्सिको, इजरायल, क्यानडा, जमैका, थाइल्यान्ड, उरुग्वे, पेरु, स्पेन, दक्षिण अफ्रिका, नेदरल्यान्डस लगायत ३० भन्दा बढी राज्य-देशमा गाँजा कानुनी रुपमै उत्पादन र कारोबार हुन थालेको छ। छिमेकी राष्ट्र भारतमा समेत गाँजाबाट आयुर्वेदिक औषधि बनाउने तयारी छ।
हाम्रो ‘लागुऔषध नियन्त्रण ऐन, २०३३’ मा गाँजासहित भाङ, गाँजा मूलका बोट, पात, फूल, बोटबाट आउने चोप, खोटो र चरेस सबैलाई लागुऔषध किटान गरिएको छ। यहीँ गाँजा, धतुरो र भाङ लगायत लागूभागूलाई ‘शिवजीको बुटी’ मानिन्छ। शिवजीको प्रसाद रुपमा गाँजाभाङ शिवरात्रिमा सेवन गरिन्छ। यसबाहेक विभिन्न रोगमा गाँजाबाट औषधि बनाइन्थ्यो।
त्यसअनुसार पाका उमेरका आधाजसो नेपाली गम्भीर अपराधमा सहभागी बनेको करार गर्छ। उसो त कानुनी रुपमा जघन्य अपराध करार गरिए पनि उनीहरू गाँजा सेवन अपराध रहेको विश्वासै गर्दैनन्। मान्न पनि तयार छैनन्।
गाँजा सेवनलाई जघन्य अपराध करार गरिनु नेपाली परम्परा, संस्कृति, सामाजिक मान्यता र आयुर्वेदिक विश्वासविरुद्ध छ। प्रत्यक्ष विदेशी हस्तक्षेपमार्फत लादिएको जनविश्वासविरुद्धको उक्त कानुनी व्यवस्थाले कानुनी राज्यकै गम्भीर उपहास गरेको छ।
गाँजाले दिमागको चेतना अवस्था परिवर्तन गर्छ। यसको कारण गाँजामा पाइने मुख्य नशालु साइकोएक्टिभ रसायन ‘डेल्टा–९ टेट्रा–हाइड्रो–क्याना–बिनोल’ हो। यसलाई छोटकरीमा ‘टिएचसी’ भनिन्छ। गाँजामा सिबिडी रसायन पनि पाइन्छ। सिबिडी भने नशालु र साइकोएक्टिभ प्रकृतिको होइन।
गाँजाले मानिसको दिमागलाई छोटो समयका लागि लठ्ठाइदिन्छ। साथै यसले अल्मेन्जर जस्ता रोगमा दिमागका तन्तुहरू छियाछिया भएर सानोसानो हुँदै जाने क्रम पनि रोक्छ। गाँजाले दिमागको संरक्षण गरेको भेटिएपछि संसारको ध्यान यसतर्फ मोडिएको हो।
हाम्रो शरीरमा विशेष खुबी हुन्छ। दुखाइ कम गर्ने, वाकवाकी नियन्त्रण गर्ने, डिप्रेसन लगायत दिमागसँग सम्बन्धित समस्यामा शरीर आफैंले उपचार गर्ने प्रयास गर्छ। यसलाई शरीरको 'सेल्फ हिलिङ' प्रक्रिया भनिन्छ। यो उपचारक्रममा शरीरले एक किसिमको रसायन बनाउँछ र आवश्यक प्रक्रिया पूरा गर्छ। गाँजामा पाइने टिएचसी र उपचार प्रक्रियामा बन्ने रसायनको बनावट मिल्दोजुल्दो हुन्छ। यसकारण गाँजाले माथिका शारीरिक समस्या समाधान गर्न सघाउ पुर्याउँछ।
अति भोक लाग्ने, भतभत पोल्ने, सुन्निने, मर्किने, दुख्ने र रोगसँग जुध्ने प्रतिरोधात्मक शक्ति कमजोर हुँदा पनि शरीरको 'सेल्फ हिलिङ' प्रक्रियामा गाजाँमा पाइने तत्व प्रभावकारी हुन्छ।
हाम्रो शरीरिक गतिविधि सञ्चालन र नियन्त्रण गर्ने रसायन कम हुँदा चिन्ता, डिप्रेसन र मुड बिग्रिरहने लगायत समस्या हुन सक्छ। यस्तो अवस्थामा गाँजाले यो रसायन उत्पादनमा मद्दत गर्छ। त्यसैले यस किसिमका मानसिक समस्याका औषधि बनाउँदा गाँजा प्रयोग गरिन्छ।
हामीले खाना खाँदा, नशालु पदार्थ लिँदा, सम्भोग गर्दा, जुवा खेल्दा, हितैषीसँग भेट्दा, टाँसिदा वा भलाकुसारी गर्दा लगायत प्रिय गतिविधिमा संलग्न भइरहँदा आनन्दित, पुरस्कृत, रोमाञ्चित, आत्मविभोर र धन्य महशुस गराउने काम पनि एक प्रकारको रसायन 'डोपामिन' ले गर्छ। यो शरीरले आफैं उत्पादन गर्छ। शरीरले 'डोपामिन' बनाउने क्रममा गाँजा धेरै खाए मान्छे पूर्ण रूपमा लठ्ठिन्छ।
तर गाँजामा पाइने अरू तत्वले यसो गर्दैनन्।
हालसम्म गाँजामा हाम्रो शरीरमा प्रभाव पार्ने चार सयभन्दा धेरै तत्व भेटिएका छन्। यिनै तत्व र तिनका औषधिजन्यका साथै आनन्द अनुभूति दिन सक्ने जटिलताका कारण यो पाँच सयभन्दा धेरै प्रकारका रोगव्याधका ओखती र मनोरञ्जनका लागि नशालु पदार्थ बनेको हो।
कतिपय अवस्थामा गाँजाका विभिन्न रसायनको परस्पर विरोधी भूमिका समेत भेटिएको छ।
उदाहरण, गाँजाले भोक घटाउन पनि सक्छ। जगाउन पनि। यसमा पाइने दुई फरक तत्वले यी काम गर्छन्। ओखतीका रुपमा गाँजा प्रयोग गर्दा दुब्लाउनुपर्ने भए दुब्लाउने तत्व र मोटाउनुपर्ने भए मोटाउने तत्व हालिन्छ।
नेपालमा गाँजा परम्परागत रुपमा चुरोटजस्तो सल्काएर धुँवाको सर्को लिने चलन छ। तर गाँजा खुला गरेका देशमा यो इ–भ्याप, बिस्कुट, कुकिज, क्यान्डीका साथै खानासँगै पकाएर, चिया, जुसमा हालेर खाने क्रम बढेको छ। गाँजाको तेल बनाएर अन्य तेल, क्रिमसँग मिसाइ शरीर मसाज गर्न पनि यसको उपयोग हुन थालेको छ। गाँजाको बियर, रक्सी समेत बन्न थालेको छ।
आयुर्वेदका अनुसार गाँजा शरीरको दर्दनाशक हो। पाचन गडबडी र झाडापखाला ठीक पार्ने, डिप्रेसन, छारेरोग लगायत धेरै मनोवैज्ञानिक रोग निदानमा यसले ओखतीको काम गर्छ। गाँजा सेवनले पुरुषमा शुक्रकिट बढाउने, बाँझोपनपीडित महिलामा गर्भधारण र महिला–पुरुष दुवैको सहवास क्षमता बढाउने, तौल र रक्तचाप घटाउने, दिमागमा आनन्द दिने लगायत अब्बल गुण हुन्छन्। यसैकारण कम्तीमा ८० वटा प्राचीन आयुर्वेदिक औषधि सूत्रमा गाँजा अटाएको छ। कुनै समय सिंहदरबार वैद्यखानाले गाँजा प्रयोग गरेर १० प्रकारका औषधि बनाउने तथ्य समेत भेटिएको छ।
नेपालमा गाँजाजन्य पदार्थ मिसाएर बनाइएका औषधि पनि लागुऔषधकै श्रेणीमा पर्छन्। त्यसको अर्थ गाँजा प्रयोग हुने ८० भन्दा बढी प्राचीन आयुर्वेदिक औषधि सेवन गरिरहेका बिरामी, छारेरोगको औषधि सेवन गर्दै गरेका बालबालिका, क्यान्सरको चरम दुखाइ घटाउने औषधि, गाँजाको तेलले मालिस लिइरहेका आफन्त, युद्ध वा यातनापूर्ण कारबाहीको दुःख कम गर्न गाँजा प्रयोग गरिरहेका राष्ट्रसेवक सैनिक, प्रहरी वा अन्य पीडित समेत लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार अपराधी नै करार हुन्छन्।
आज विज्ञानसमेत आफ्नो परीक्षणबाट शताब्दियौंअघि आयुर्वेदले देखाएको बाटो सही रहेछ भन्ने नतिजामा पुगिसकेको छ। औषधि विज्ञानको नयाँ निचोडअनुसार गाँजा पाँच सयभन्दा बढी रोगमा पश्चिमा औषधि जस्तो नकारात्मक असर्रहित ओखती हुने प्रमाणित छ। विभिन्न रोग निदानमा संसारभर गाँजा र यसबाट निकालिएका पदार्थ उत्साहवर्द्धक रुपमा धमाधम प्रयोग भइरहेका छन्।
नेपालमा भने गाँजा अझै पनि हेरोइनजस्तै उच्च जोखिमपूर्ण लागुऔषधको दर्जामा छ। रक्सी र सूर्तीलाई भने अम्मलअन्तर्गत राखी खुला बिक्री वितरणका लागि अनुमति छ। उता अनुसन्धानबाट भने रक्सी र सूर्तीभन्दा गाँजा धेरै सुरक्षित रहेको प्रमाणित भएको छ।
इन्स्टिच्युट अफ मेडिसिन अफ द नेसनल एकेडेमी अफ साइन्सका अनुसार आनन्दका लागि सूर्ती खाने सिकारुमा ३२ प्रतिशत सूर्तीको अम्मली बनेको भेटियो। रक्सी पिउने सिकारुमध्ये १५ प्रतिशत रक्सीको अम्मली भएको देखियो। गाँजा खाने सिकारुमा मात्र ९ प्रतिशत मात्र गाँजाको वास्तविक अम्मली बन्ने गरेको पाइयो।
अन्य अनुसन्धानमा सूर्ती वा रक्सी धेरै खाएर मान्छेको मृत्यु भएको पाइए पनि गाँजा धेरै खाएर कसैको मृत्यु भएको रेकर्ड भेटिएन। उल्टै गाँजा प्रतिबन्ध लगाउँदा वास्तविक तथ्यका आधारमाभन्दा भावनात्मक प्रभावमा बहेर यसको असरबारे निकै बढाइचढाइ गरिएको यथार्थ बाहिरियो।
अनुसन्धानले गाँजा सेवनका कारण हुने स्वास्थ्यसम्बन्धी राष्ट्रको व्ययभार सूर्ती र रक्सी लगायत अन्य अम्मलभन्दा अत्यन्त कम रहेको पनि प्रमाणित गरिदियो। गाँजा प्रयोगकर्ता रक्सीका अम्मलीजस्तो सन्किएको वा आपत्तिजनक असामाजिक व्यवहार देखाएको पनि खासै भेटिएन। यथार्थमा आज रक्सी र सूर्तीभन्दा धेरै सुरक्षित प्रमाणित भएको छ गाँजा।
हामीकहाँ भने रक्सी र सूर्ती अपराध नियन्त्रण अभिभारा पाएको निकायकै कार्यालयमा आरामले चल्दै आएको छ। कम हानिकारक वस्तु सेवन अपराधीकरणमा र बढी हानिकारक अम्मलले पूर्ण छुट पाइरहनु विडम्बना हो।
आज पनि कति मान्छे हचुवामै नेपालजस्तो देशमा गाँजा, चरेस खुला गर्दा दुर्व्यसनी बढ्छ, बस्न लायकै रहँदैन समेत भन्न भ्याउँछन्। त्यस्ता दावीबारे गहिरिएर बुझ्न हामीले अन्तको अनुभव पुनरावलोकन गर्न जरुरी छ। संसारले आज अनुभवबाट निकालेको निचोड हो, गाँजा, चरेस, रक्सी, सूर्तीजस्ता अम्मल प्रयोगलाई गैरकानुनी घोषणा गरेर नियन्त्रण गर्ने नीतिले केवल कालोबजारी बढाउँछ।
रक्सी नियन्त्रण गरेका ठाउँ हेर्न सकिन्छ, त्यहाँ उत्पादन र ढुवानी मात्रै गैरकानुनी बन्यो। खानपिनमा नियन्त्रण हुन सकेन। यसले कालो बजारमा गुणस्तरहीन सामान भित्र्यायो। रक्सी पिउनु जोखिमपूर्ण बन्यो। विषालु रक्सी सेवनबाट मान्छे मरेका खबर आउन थाल्यो। कम उमेरका युवा धेरै संख्यामा रक्सीका अम्मली भेटिन थाले। समाजमा अपराध मौलाएर व्यावसायिकीकरण नै हुन थाल्यो।
गाँजा, चरेस उपभोगमा गरिएको अपराधीकरणको नियति पनि त्यस्तै भेटियो। समाजका दसौं हजार मान्छे लुकीलुकी गाँजा खाने अम्मली बने। किशोरकिशोरीको उल्लेखनीय संख्या उच्च जोखिमयुक्त लागुऔषध प्रयोगकर्ता बनेको भेटिन थाल्यो। गाँजा, चरेसको गुणस्तर यकिन गर्ने काम असम्भव बन्यो। किशोरकिशोरीहरू असुरक्षित बने। संगठित अपराध बढ्दै गयो।
अहिले यो फेरिएको छ।
गाँजा, चरेस सेवनलाई गैर–अपराधीकरण गरेर अमेरिकाका धेरैजसो राज्यमा कानुनी रुपमै तर नियन्त्रित तवरबाट गाँजा बिक्री खुला गरियो। लगत्तै यसका उत्पादनकर्ता, प्रशोधनकर्ता र बिक्रीकर्ताले राज्यले निर्धारण गरेका मापदण्ड अनिवार्य पूरा गर्नुपर्ने भयो। तोकिएको विधि र कानुनी प्रक्रिया पूरा गर्दा सबैले चाहेका बेला सुरक्षित रूपमा गाँजा सेवन गर्नसक्ने अवस्था बन्यो। कालोबजारी गर्दा वा उमेर नपुगेकालाई बिक्री गर्दा आर्थिक लाभ खासै नहुने, उल्टो जोखिम हुने भएकाले लगभग अन्त्यजस्तै भयो। गाँजा सेवन अनुशासित र सुरक्षित बन्दै जाँदा किशोरकिशोरीको जीवन र भविष्य पनि सुरक्षित हुने देखियो। कालो बजारमा बगिरहेको ठूलो धनराशी राजस्वरूपमा जम्मा हुन थाल्यो। गाँजा कारोबारले मुलुकलाई लोभलाग्दो आय दिनसक्यो।
वैधानिक गरिएका अमेरिकी राज्यमा दुई वर्षभित्र गाँजा-चरेसका कारण हुने झैझगडा र अदालती मुद्दामामिला ८१ देखि ९६ प्रतिशतसम्म घटेको पाइएको छ। सेवनकर्तालाई प्रहरीले नसमात्ने हुँदा सुरक्षा खर्च उल्लेखनीय रूपमा कम भएको छ। गाँजा-चरेस कारोबार धेरैलाई उच्च आय दिने रोजगार क्षेत्र बनेको छ। वैधानिक गरिएपछि गाँजा-चरेस सेवन गर्ने उमेर पुगेका युवकयुवतीको संख्या पनि धेरैजसो राज्यमा घटेको छ।
एकाध राज्यमा भने पहिले जस्तै समान रहेको तथ्यांकले देखाउँछ। हालसम्म एउटा पनि राज्यमा गाँजा खुला गरिएपछि तथ्यांक बढेको भेटिएको छैन। अचम्म के भने, गाँजा, चरेस सेवनलाई पाँच वर्षअघि नै कानुनी मान्यता दिएका वासिङ्टन, कोलोराडोजस्ता राज्यमा रक्सी र अन्य जोखिमपूर्ण लागुपदार्थ प्रयोग उल्लेखनीय रुपमा घटेको तथ्यांक छ। गाँजा, चरेस खुला गरिएका राज्यमा सवारी दुर्घटना दर प्रतिबन्धित अन्य राज्यको भन्दा बढी पाइएको छैन।
त्यस्तै गाँजा, चरेस वैधानिक भएका मुलुकमा 'ओपोइड' नामक दुखाइ कम गर्ने औषधि धेरै भएर अस्पताल आउने बिरामी र मृत्यु हुनेको संख्या पनि २५ प्रतिशत कम भएको उत्साहजनक तथ्यांक छ। यसबाहेक राज्यले पाउने लाखौं डलर शिक्षा, स्वास्थ्य र जोखिमपूर्ण लागुपदार्थको समुचित नियन्त्रण र विकृति उपचारमा प्रयोग गर्न पाएको छ।
नेपालमा पनि दुखाइ कम गर्ने र आनन्द लिने लोभमा हेरोइन, मर्फिन लगायत हानिकारक लागुऔषध बढी खाएर ज्यान गुमाउनेहरू धेरै छन्।अनुसन्धानबाट प्राप्त वैज्ञानिक तथ्यले गाँजा यस्ता खतरनाक र हानिकारक लागुपर्दाथको लत छुटाउन दरिलो बाटो हुने पनि स्पष्ट पारेको छ।
नेपालको वातावरण गाँजा खेतीका निम्ति उपयुक्त छ। विदेशीले दुःख गरेर फलाउनुपरे पनि हामीकहाँ घरबाहिर जताततै हुन्छ। मौसम र ठाउँअनुसार उम्रने गाँजाको गुणस्तर फरक पाइएको छ। नेपाली गाँजाको रैथाने प्रजाति सेटिभा र इन्डिका उच्च गुणस्तरका मानिन्छ। यसैले नेपाल संसारका गाँजाका पारखीबीच प्रख्यात छ। नेपालमा गाँजाले कानुनी रुप पाउँदा यसले विश्व बजारमा उच्च मूल्य पाउनेमा कुनै दुविधा छैन।
नेपालमा अवैध रुपमा भित्रिने लागुऔषधबाट बर्सेनि लाखौं डलर बाहिर जाने अनुमान छ। पछिल्लो तथ्यांक अनुसार झन्डै दुई लाख हाराहारी दुर्व्यसनीमा ९२ हजार जतिमा कडा लागुऔषधको लत छ। यो संख्या बढिरहेको छ।
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको तथ्यांकअनुसार सन् २०१३ यता साढे १९ हजारभन्दा बढी लागुऔषध कारोबारी पक्राउ परेका छन्। लागुऔषधका रुपमा हुने कारोबारमा गाँजा र चरेस सबभन्दा धेरै ८७ प्रतिशत छ।
प्रतिबन्धका बाबजुद पनि दार्चुला, बझाङ, डोटी, रुकुम, सल्यान, बाग्लुङ, म्याग्दी, मकवानपुर, धादिङ, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, उदयपुर, सुनसरी, मोरङ, बर्दिया, सप्तरी, रूपन्देही, नवलपरासी, चितवन, सुर्खेत लगायत जिल्लामा व्यावसायिक रुपमै गाँजा खेती हुँदै आएको छ।
चीन र भारतको माग पूरा गर्न नेपालमा गाँजा उत्पादन हुने गरेको तथ्य भेटिएको छ। नेपाली कृषकले गाँजा खेती गर्न बीउ, मल र पेस्कीसमेत पाउने गरेका छन्। एक अनुमान अनुसार हाल नेपालबाट वार्षिक लगभग २० करोड डलर खुद्रा मूल्यको गाँजा र ३५ करोड डलर मूल्यको चरेस विश्वबजारमा प्रवेश गरिरहेको छ। एसियाबाट युरोप र अमेरिकामा तस्करी हुने ६ प्रतिशत गाँजा र चरेस नेपालकै भेटिन्छन्।
तर नेपाली उत्पादक र बिचौलियाको हातमा भने थोरै रकम मात्र पर्ने गरेको बुझिन्छ। नेपालमा गाँजाले कानुनी मान्यता पाउँदा अर्बौंको निकासी र आम्दानी गर्न सकिन्छ। यसका साथै अन्य लागुऔषधमा बाहिरिने पैसा कम हुँदै जान्छ।
सन् २०१७ मा ७ अर्ब ७० करोड डलर कारोबार हुँदै गरेको विश्वको गाँजा कारोबारको औसत वृद्धि ३७ प्रतिशत कायम हुँदै २०२३ सम्ममा ६५ अर्ब डलर पुग्ने अनुमान छ। विभिन्न स्रोतका रिपोर्टहरू केलाउँदा सात वर्षभित्रै संसारमा गाँजामा कुल बजार मूल्य १ खर्ब ९४ अर्ब डलर पुग्ने देखिन्छ।
त्यसैले पनि नेपालले वैधानिक रूपमा गाँजा खुला गर्न आफ्नो आन्तरिक कानुन संशोधन गर्नुपर्छ। अनि अन्तर्राष्ट्रिय महासन्धिको प्रावधानबाट गाँजाजन्य कारोबारका लागि छुट पाउने निर्णयमा पुगेको जानकारी राष्ट्रसंघीय नार्कोटिक्स बोर्डमा दिनुपर्नेछ। नार्कोटिक्स महासन्धिमा धेरै मुलुकले गाँजाजन्य औषधी बनाउन पाउने छुट लिएर मात्र हस्ताक्षर गरेको भए पनि नेपालले भने गाँजाजन्य औषधिमा समेत बन्देज लगाउने गरी हस्ताक्षर गरेको छ।
महासन्धिबाट औपचारिक रूपले छुटकारा नलिँदा मुलुक नै लागुऔषधका लागि जोखिमपूर्ण कालोसूचीमा पर्नेछ। नार्कोटिक्स सन्धिमा हस्ताक्षर गरेका तर हाल गाँजाको वैधानिक उत्पादन, प्रयोग र बेचबिखन गरिरहेका देशकै बाटो नेपालले पनि पछ्याउनुपर्छ। हुन त अन्तर्राष्ट्रिय रुपमै नार्कोटिक ड्रग्सको सूचीबाट गाँजा हटाउन बहस पनि सुरु भइसकेको छ। सूचीबाट हट्नासाथ नेपाललाई आफ्नो आन्तरिक कानुन संशोधन गरी गाँजा कारोबार थाल्ने बाटो स्वतः खुल्छ।
(लेखक घिमिरे क्यानडा निवासी खाद्यवैज्ञानिक हुन् ।)