म कफीको अम्मली हैन। पारखी पनि हैन। गफको हुँ, सायद।
मलाई लाग्छ, आफूलाई कफी पारखीको बक्साभित्र राख्ने अधिकांश नेपालीहरू ती हुन्, जो केही समय अमेरिका वा युरोप बसेर आएका छन्। यो मेरो पूर्वाग्रह पनि हुनसक्छ, नहुन पनि सक्छ।
पेटले सहने भएको भए म दूधचियाको अम्मली हुन्थेँ होला। अदुवा र चियापत्तीमा धेरै दूध र थोरै पानी हालेर आगोमा डाडुले चलाउँदै पकाएको बाक्लो दूधचिया नेपालीहरूको खास पेय हो। वा थियो।
कफी भन्ने जिनिस त हाम्रो गाउँमा एनजिओहरूले कृषि सहकारीमार्फत् म त्यस्तै आठ पढ्दाताक भित्र्याएका थिए। उनीहरूले सहुलियतमा वा सित्तैमा बाँडेका कफीका बेर्ना बुबाले घरबारीमा टन्नै सार्नुभएको थियो।
ती छिट्टै हुर्किए। सुरिला हाँगा हालेर चारै दिशा फैलिए। तिनमा लटरम्म लागेका हरिया दाना पाकेर राता हुन थालेपछि हामी केटाकेटी तिनलाई चुँडेर मुखमा हाल्थ्यौँ, केहीबेर चुस्थ्यौँ, अनि जिब्रोले दुईफ्याक पार्थ्यौँ र कसले टाढा पुर्याउने भन्दै फाल्दिन्थ्यौँ।
तिनलाई सही तरिकाले खान जानेको भए नारायण वाग्लेका जस्ता गफ आउने रहेछन्, हाम्लाई के थाहा!
कफीकै गेडा मुखमा खेलाउँदै स्कुलबाट फर्केपछि एकदिन आँगनीमा वनमाराको चुङ्गी खेल्दै गर्दा मैले यिनकी पल्पसा भेट्टाएकी थिएँ।
'कुन किताब हो दाइ यो?'
मुढामा बसेर मुसुमुसु हाँस्दै पढ्दै गरेका छिमेकी दाइछेऊ गएर सोधेँ।
दाइले मलाई किताबको खोल हेर्न दिए। सुम्सुम्याउन दिए। बुकमार्क राखे कि राखेनन् कुन्नि तिनले?
गातामा घाम अस्ताउँदै गरेको कुनै डाँडाको टुप्पोमा एउटा केटो थियो जस्तो लाग्छ। के गर्दै थियो ऊ त्यो डाँडामा? मलाई कौतूहलले छोप्यो।
'म'नि पढ्छु नि!'
'तैँले बुझ्दिनस्।'
'किन, के छ र त्यस्तो?'
'अलि केटाकेटी नै छेस्।'
के उनले किताबभित्रको 'आर यु भर्जिन?' वाला संवाद पढेर त्यसो भनेका थिए? मलाई थाहा छैन।
यदि थिए भने सायद उनी सही थिए। म केटाकेटी नै थिएँ।
आजकालका केटाकेटीलाई भर्जिनको अर्थ बुझ्न कति कक्षा लाग्ला? वा वर्ष?
तर शब्द नबुझ्दैमा पात्रसित प्रेममा नपरिने भन्ने हुन्न रै'छ त।
सायद पल्पसा मेरो पहिलो प्रेम थिई।
अँ, पल्पसा।
दृश्यलाई उति सम्झन्नँ। सायद लेखक पनि लेख्दालेख्दै पल्पसासित प्रेम गर्न थालिसकेका थिए। त्यसैले उनी पूर्वाग्रही भएका थिए, सायद। पल्पसाको तुलनामा दृश्य पाठक मनमा उसैगरी जमेर बस्दैन। त्यो उनले नियतवश पनि गरेका हुन सक्छन्।
हरेक लेखकसित आ-आफ्ना एजेन्डा हुन्छन् चाहे उनीहरू म सन्देशका लागि लेख्दिनँ भनेर किन नतर्किऊन्। एजेन्डा र सन्देश फरक कुरा हुन्। एजेन्डा पक्डिनु सन्देश छाँट्नु होइन।
सायद 'पल्पसा क्याफे' मा लेखकको एजेन्डा नै पल्पसालाई पाठक मनबाट कहिल्यै मर्न नदिनु थियो कि? मलाई थाहा छैन।
त्यसो भए कफीगफको एजेन्डा के हुन्छ?
केही हुँदैन। वा सबै हुन्छ। कोरियादेखि खोरियासम्म, मन्जुलदेखि शिवा रिउसम्म, उडुसदेखि अणुबमसम्म ...
म पेज ५५ मा छु।
भर्खर चोकमा निस्किएर आँखा पूरै उघारेको छु। किनकि लेखकले भनेका छन्, चोकमा निस्केपछि तपाईं आँखा पूरै उघार्नुहुन्छ। उघार्न सक्नुहुन्छ होइन, उघार्नुहुन्छ।
त्यो सोलमा। सि-ओलमा। अङ्ग्रेजी उच्चारण कति विचित्रको छ, म बुझ्दिनँ। 'एस्', 'ई', 'ओ', 'यू', 'एल्' लाई किन सोल भनिएको मलाई थाहा छैन। अथवा सोललाई किन सजिलो गरी 'एस्', 'ओ', 'एल्', 'ई', वा 'एस्', 'ओ', 'ल' नलेखी 'एस्', 'ई', 'ओ', 'यु', 'एल्' लेख्नुपरेको मलाई थाहा छैन।
काठमाडौं, काठमाण्डु वा काठमाण्डौं? र, अङ्ग्रेजीमा किन अन्तिममा 'एम्', 'ए', 'एन्', 'डी', 'यू' नै? म कहिलेकाहीँ सोचिबस्छु। इन्टरनेटको पहुँचमा हुनासाथ बिर्सन्छु। आजको इन्टरनेट दुनियाँ नै त्यस्तै छ। सायद यसको आविष्कार नै बिर्साइदिनलाई भएको हो।
नभनिकनै यो भन्छ, सबथोक मेरो छातीमा स्टोर छँदैछ, तिमी दिमागलाई धेरै दुःख नदेऊ।
दिमाग भन्छ, तिमीले मेरो प्रयोग गरेकै छैनौ। कति अल्छी, परनिर्भर भएको तिमी?
किताबमै झुण्डिएको निलो रिबनले बुकमार्क गरेर मैले अघि स्वैरकल्पनालाई व्यङ्ग्य गरिएको लेख वा 'गनगन' पढेकी थिएँ। अहिले म सिर्जनशील लेखनको कार्यशालामा भाग लिन सोल पुगेको लेखकसित सोलका गल्ली र पहाड डुल्दैछु।
उसको कल्पना र जीवनदर्शनको उडानमा घरी पहाडका टाकुरा माथिमाथि उड्छु, घरी धरतीमा झरेर सुस्ताउँछु। भर्खरै माछासँग बाँसका सुइराले भात खाएँ। तर पनि अर्धचन्द्राकार पुरी पकाएर कार्यक्रम भ्याउन पुगेकी लेखकको पुरीको चिल्लोले भुँडी ढुस्स पारिरहेछ।
वाह, क्या विरोधाभास पढ्दैछु म!
केहीअघि कसैले मलाई भनेको थियो, 'तिमी विरोधाभास नै विरोधाभासले भरिएकी छौ।'
'हो र? कसरी?' मैले नपत्याएर सोधेकी थिएँ।
'तिमी एकैसाथ तीन उमेर बाँचिरहेकी छौ। १४, २४ र ३४।'
सायद हरेक मान्छे हुन्छ। उमेर परिपक्वताको एकमात्र मानक होइन। केहीअघि मेरो फेसबुकमा डुल्दै आइपुगेको एउटा भिडियोमा निकै पाका उमेरका एक व्यक्ति खेलौना मुखमा हालेर अनौठो आवाज निकाल्दै भुइँमा लडिबुडी गरिरहेका थिए। उनकी आमाले उनलाई चम्चाले बेबी फुड खुवाइदिएकी थिइन्।
म सानो छँदा मैले मेरो बालपन राम्ररी बिताउन पाइनँ। हामी एकदमै छिटोछिटो बसाइँ सरिरह्यौँ। म अहिले बालखा पल्टने मेरो रहर बाँच्दैछु।
उनले यस्तै केही भनेका थिए।
रहरहरू क्रेजी हुन्छन्। कहिलेकाहीँ ती मानिसले जानीनजानी पालेका कुण्ठालाई बग्न दिने बाटो बन्छन्। हरेक मानिसमा कुण्ठा हुन्छ। इगो हुन्छ। हामी हाम्रा इगोको तुस मेट्नका लागि मरिमेट्छौँ।
के सफलता त्यसकै अर्को नाम हो? व्यावहारिक नाम? मलाई थाहा छैन।
लेखकलाई थाहा छ कि? हँ, मिस्टर वाग्ले?
लेखक अद्भूत छ। सोलमै भएर पनि ऊ सोलमा छैन। उसका सोचाइहरू त्यसैत्यसै उड्छन्। एउटा हाँगोबाट अर्को हाँगामा बाँकटे हान्छन्, बुर्कुसी मार्छन्। तर पनि बिझाउँदैनन्।
के कफीका अम्मलीहरू गफ गर्न माहिर हुन्छन्?
वा उड्न? उडाउन?
विचारका पखेटा हाल, मसँगै उड, ऊ भनिरहेछ।
'उडेर कहाँ जाने, मिस्टर वाग्ले? हँ, मिस्टर वाग्ले?'
उसका गफ सुन्न च्यूँडोमा हात लगाएर बसिरहेकाहरू सोध्छन्।
'हेरौँ, कहाँसम्म पुगिन्छ...' अनन्तमा हेरेर ऊ भन्छ।
गफ गर्नेले अनन्तमा हेर्नु हुँदैन। गफ सुनिरहेकाहरूको आँखामा हेर्नुपर्छ। अनि मात्र ऊ उत्तेजित भएको वा अल्मल्लिएको वा उसले मुख बिगारेको देख्न सकिन्छ। कतिपय अवस्थामा त ऊ बिल तिर्न उठ्न खोजेको पनि हुनसक्छ। वा उसकी प्रेमिकाले तुरुन्तै मलाई २ बजे भेट भनेर मोबाइलमा सन्देश पठाएकी पनि हुनसक्छे।
तपाईंले उसको उकुसमुकुस वा हतारो वा उसले भर्खरै आफूलाई सजिलो हुनेगरी फेरेको सोफाको आसनबारे थाहा पाउन पनि उसलाई हेर्नुपर्छ।
मतलब, सुन्नुपर्छ। लेखक यसै भन्छन्।
गर्दागर्दैको काम रोकेर एकछिन सुन्नुस् त, भान्सामा कोही डेक्ची मस्काइरहेको छ वा तेल झ्वाइँय्य पार्दै छ?
नरसिङ्गाको धुनसित झिँजो मान्दै कुनै बेहुली डोलीमा बसेर रोइरहेकी छ?
कतै ऊ तपाईंकी पूर्वप्रेमिका त होइन?
मलामी हिँड्दा शङ्ख फुक्ने व्यक्तिसँगै रामराम भन्नुभएको छ?
छ? मिस्टर प्रेमी? छ, मिस्टर फलानो एण्ड फलानो?
लेखक प्रेमीहरूसँग मात्र बसेर कफी खाइरहेछन्। प्रेमिकाहरूसँग लजाउँछन्, सायद। बात लाग्छ भनेर पो हो कि? वा सायद मिस लीहरू ग्रिन टी मात्र खान्छन्, कफी खाँदैनन्। वा मिस वा मिसेसहरूले भान्सामा डेक्ची मस्काउनुपर्छ, अबेर हुन्छ भनेर उनको अफर नकारे कि?
हँ, मिस्टर वाग्ले?
'भान्सा कुराउनु हुँदैन।'
लेखक मिस्टरहरूलाई भन्छन्।
वाग्ले यदि नारायणी वाग्ले हुन्थिन् भने लेख्दी हुन्, भान्सा कुर्नु निकै पट्यारलाग्दो काम हो।
तपाईंको नाकले यतिखेर नारीवादको हरक पायो भने तपाईंले सही ठम्याउनुभयो। तपाईंको नाक टाठो रहेछ।
मेरो अगाडि भाइले भर्खरै कालो भटमासको एक बटुको तातो झोल टक्राइदिएर गएको छ। आँखा चिम्म गरेर नाक नजिकै लानुभयो भने तपाईं त्यसमा पनि नारीवादको बास्ना सुँघ्न सक्नुहुन्छ।
वा गन्ध।
त्यसमा बास्ना देख्नुहुन्छ भने तपाईं र मेरो चस्माको पावर एउटै हुनसक्छ। गन्ध देख्नुहुन्छ भने पनि एउटै हुनसक्छ, अलि पछि।
उपसर्ग वाद झुण्डिए पनि नारीवाद 'वाद' होइन। हुनुहुन्न। विद्वानहरू वादले टुक्र्याउँछ भन्छन्। जातिवाद, बाहुनवाद, हिन्दुवाद, समाजवाद, साम्यवाद...
नारीवाद चेत हो। फरकफरक आवश्यकताबीच समानता कसरी कायम गर्न सकिन्छ भन्ने चेत। चेतले जोड्छ। जोड्नुपर्छ।
जसरी नारायण वाग्ले आफ्नो लेखनीमा घरिघरि मञ्जुल वा शिवा रिउका कविता जोड्छन्, म भाइले पकाएको झोलको मिठास जोड्छु। चाख्नुहुन्छ?
यो कुनै शिवा रिउले हिउँमा कोरेका कविताभन्दा कम स्वादिलो छैन।
प्रेमको स्वाद नै गजबको हुन्छ। तपाईं त्यहाँ नारीवाद देख्न पनि सक्नुहुन्छ, प्रेम देख्न पनि सक्नुहुन्छ।
मैले अहिले पढ्नुपर्ने हो। तर लेखिरहेकी छु।
मेरो पनि नारायण वाग्लेको जस्तै बानी छ। लेख्नुपर्ने बेला पढ्न मन लाग्ने। पढ्नुपर्ने बेला लेख्न मन लाग्ने।
सायद लेखकहरूका धेरैजसो बानी मिल्दाजुल्दा हुन्छन्।
तर म आफूलाई ठ्याक्कै लेखक नै चाहिँ भन्दिनँ। भन्नैपरे सिकारु लेखक भन्छु। अलिअलि लेख्छु, भन्छु। म कहिले लेखक बन्छु मलाई थाहा छैन। बन्छु वा बन्दिनँ पनि मलाई थाहा छैन।
आजभन्दा नौ वर्षअघि नै मलाई कसैले लेखक भनिदिएको थियो।
मैले उसलाई उसैगरी हेरेकी थिएँ, जसरी लेखकले 'सोध्नुभएन भने गल्ती के हो तपाईंलाई कहिल्यै थाहा हुनेछैन' भन्दा लीले लेखकलाई हेरेकी थिइन्।
जसरी आमाको हातको सुकेको हलुवाबेदलाई रोइरहेको बच्चाले हेरेको थियो।
जसरी बाहिर उनीहरूका कुरा सुनिरहेको बाघले बच्चालाई हेरेको थियो।
लेखक भनिने कुण्ठा मलाई सायद केटाकेटीदेखि नै थियो। लेखक बन्ने पनि होइन, लेखक भनिने। भनिने रहर बन्ने रहरभन्दा ज्यादा खतरनाक हुन्छ।
लेखककी श्रीमती भनिने रहरले मैले जिन्दगीमा पहिलोचोटि कसैलाई प्रेम गरेकी थिएँ। ऊ लेख्थ्यो। राम्रो लेख्थ्यो। कमसेकम मलाई त्यस्तो लाग्थ्यो।
मलाई त्यतिन्जेल मैले लेख्न सकूँला, थाहा थिएन।
जुन दिन मलाई 'कसैले' लेखक भन्यो, मेरो कुण्ठाले बग्ने बाटो पायो। सायद त्यसै दिनदेखि म लेखक बन्नलाई लेख्न थालेँ, भनिनँलाई होइन।
म यतिखेर 'कोरियाना' पढ्नुपर्ने मान्छे। किन आफूमा घोत्लिँदैछु?
किन हेर्दैछु मेरो सिरानीनेरको चुच्चो पेनड्राइभलाई र टोलाउँदैछु?
के म कफीगफको अम्मली हुँदै छु?
यो पेनड्राइभले प्लेन चढेको छ। हिँडेर हुम्ला पुगेको छ। त्यहाँका मान्छेले हातैले थिचेर बडो कुशलतापूर्वक बाटुलो कोदाको रोटी पकाएको देखेको छ।
दुर्योधन उर्फ दुर्याले खेलाउँदा खेलाउँदै भाइलाई कुर्सीबाट लडाइदिएको देखेको छ। तपाईंले ओखरको भित्रपट्टिकोलाई गुदी भन्दा मुर्च्छा परेर हाँसेकी लक्ष्मी दिदी देखेको छ।
उतातिर जाँदा ओखरको भित्रपट्टिकोलाई गुदी नभन्नू। तपाईं अप्ठेरोमा पर्न सक्नुहुन्छ।
प्लेन चढ्नु ठूलो कुरा होइन तर हिँडेर हुम्ला पुग्नु हो। हुम्ला भनेको सिमकोट होइन जसरी नेपाल भनेको काठमाडौँ होइन। यदि सिमकोट घुमेर तपाईं हुम्ला पुगेको छु भनेर सोच्दै हुनुहुन्छ भने तपाईं गलत हुनुहुन्छ।
'तपाईंलाई एउटा कुरा भनूँ?'
कसैले मलाई सोधेको थियो।
म झस्किएकी थिएँ। 'एउटा कुरा' को रहस्यले वा अब त्यो भनिँदै छ भन्ने आभासले मलाई थाहा छैन। सम्बोधन 'तिमी' वा 'तपाईं' के थियो पनि मलाई थाहा छैन। अङ्ग्रेजी त्यसैले विचित्रको छ।
'भन्नु न' वा 'भन न' अलिकति उत्साहित हुँदै र अलिकति डराउँदै मैले भनेकी थिएँ।
जिन्दगीमा 'एउटा कुरा' मात्र भन्ने मान्छे थोरै हुन्छन्। कोही भएभरका सबै कुरा भन्छन्, कोही केही भन्दैनन्। केही नभन्नेहरूको मन कति गुम्सँदो हो? वा कति विशाल हुँदो हो?
भन्नु, अर्थात् बाहिर निकाल्नु। बाहिर निकाल्नु अर्थात् जमेर रहेको कुरालाई कुलो काटेर बग्न दिनु। बग्न दिनु अर्थात् आफू रित्तो हुनु। रित्तो हुनु, हलुङ्गो हुनु वा शून्य हुनु। तपाईं एउटै कुरालाई जसरी पनि हेर्न सक्नुहुन्छ। किनकि कुरा निरपेक्ष हो, दृष्टि सापेक्ष हो। दृष्टि एक्लो हुँदैन। दृष्टि जहिल्यै आग्रह, पूर्वाग्रह, अनुभव, घटना वा दुर्घटनासित जोडिएर आउँछ। दृष्टि तपाईंसित आउँछ। तपाईं निरपेक्ष होइन।
'मलाई लाग्छ, तपाईं हुम्लीहरूलाई पेट्रोनाइज गर्दै हुनुहुन्छ।'
एउटा कुरा। भनिएको एउटा कुरा। बग्न दिइएको एउटा कुरा।
'शायद' वा 'साँच्चिकै?' वा 'मलाई थाहा छैन' वा 'होइन, हुनै सक्दैन'।
यीमध्ये तपाईंको उत्तर जे पनि हुनसक्छ।
मेरो सुरुका तीनवटै थियो। सँगसँगै।
अन्तिमको हुने सम्भावना थियो भने 'एउटा कुरा' भनिने थिएन।
भन्नलाई आत्मविश्वास चाहिन्छ। बगाउनु जति सजिलो छ, बग्न दिने निर्णय गर्नु उति गाह्रो।
एउटा न्यानो आलिङ्गन। एक कप टिमुर हालेको तातो चिया। आधा कप्टेरो इरेजरको टुक्रो। दुवै गालामा डिम्पल पर्नेगरी ङिच्च हाँसेको एउटा सेल्फी। बेलेर पकाएको एउटा गहुँको रोटी। इन्स्टाग्रामको फोटोमुन्तिर एउटा ह्यासट्याग 'हुम्ली'। वा 'स्ट्रोङवुमन'। वा 'लर्निङ टु ड्रिम'।
तपाईंको एउटा कुराले कसैलाई पेट्रोनाइज गर्न सक्छ र तपाईंलाई एक चिम्टी अन्दाज पनि नहुन सक्छ।
त्यसैले 'एउटा कुरा' हरू भनिनुपर्छ। 'एउटा कुरा' हरूले तपाईंलाई ल्यापटपको किबोर्डमा औँला चलाउन छाडेर झ्यालबाहिर हेर्न लगाउन सक्छन्। सुन्न लगाउन सक्छन्। उठेर एक गिलास तातोपानी खाने मन गराउन सक्छन्। वा एक कप कफी। एक कप कफीगफ।
के स्मार्ट भनेको आनसान पहाड चढ्ने गोरेटोहरूमा सिलित्त परेका काठका फलेक ओच्छ्याउनु हो?
वा पहाड छेक्ने गरी अग्ला टावरहरू बनाउनु हो?
थाहा छैन, किनकि समृद्धि परिभाषित छैन।
'तपाईंलाई एउटा कुरा भनूँ प्रधानमन्त्रीज्यू?'
'मलाई लाग्छ, तपाईं समृद्धिलाई पेट्रोनाइज गर्दै हुनुहुन्छ' भनेर प्रधानमन्त्रीलाई कसैले 'एउटा कुरा' भन्यो कि भनेन?
के प्रधानमन्त्रीसँग त्यति कुरा बग्न दिने आत्मविश्वास भएका कोही छैनन्?
के प्रधानमन्त्री त्यति एक्ला छन्?
हँ, मिस्टर प्रधानमन्त्रीज्यू?
तपाईंसित एकछिन चिया खाने फुर्सद छ भने आउनुस्, म तपाईंलाई 'एउटा कुरा' भन्छु।
वा खर्पनमा रायो, पालुङ्गो, प्याज अनि लसुनका पातबाट एकाबिहानै पानी चुहाउँदै हिँडिरहेका दाइलाई एकछिन खर्पन बिसाउन लगाएर सोध्नुस्, 'तपाईंलाई मसित केही भन्नु छ?'
वा रोडछेऊ टिनको गुड्ने पसललाई ढुङ्गाले अड्याएर पीठो फेटिरहेकी दिदीलाई सोध्नुस्। उनले सिन्काले सेल घोच्दाघोच्दै तपाईंलाई एउटा कुरा भनिदिनेछिन्। उनलाई पीठोमा चिनी नफेट्न भन्नुहोला, किनकि तपाईंको स्वास्थ्यले चिनी नसहन सक्छ।
आत्मविश्वास बडो गज्जब कुरा हो। कहिलेकाहीँ यो नजिक भएर पलाउँछ। कहिले टाढा भएर। तपाईंसँग केही लिनुदिनु नभएका मान्छे तपाईंसँग सबैभन्दा इमानदार हुन्छन्। इमानदारहरू निर्भीक।
नेपालीहरू पैतालाले सुकेका पातको स्पर्श गर्न पाउने पहाडहरू चढ्न चाहन्छन्। वा नदीकिनार फुलेका काँसको कापकापबाट चिहाउने अस्ताउँदो घामसित दिनभरीको गर्मी र थकाइ साट्न चाहन्छन्।
साइकलपछाडि प्लाष्टिकको कार्टुनमा बोडीको बिटो बाँधेर लालबन्दीको तरकारी बजार हिँडेका लालु यादवले तपाईंलाई भनिदिनेछन्, 'पार्क बनाउँदा काँस चाहिँ नफाँड्नुहोला, पर्धानमन्तरीज्यू।'
तपाईं उनीसित मुसुक्क हाँस्नू। अलिक पर पुगेर उनले तपाईंतिर फर्केर हाँसेनन् भने मलाई भन्नू।
ओरालो झर्ने अवसर उकालो चढेपछि मात्र आउँछ, लेखक भन्छन्।
राजनीतिको उकालोमा यहाँभन्दा अझै कति सिँढी हुन सक्लान्? यदि एडमण्ड हिलारीले भनेजस्तै आरोहण भनेको अवतरण पनि हो भने सुरक्षित अवतरणका लागि कम्मरको पेटी कस्दै रहनु पर्दैन?
म पेज १८२ मा छु। लेखक घर लैजानलाई भिक्षुले बौद्ध परिकार खाने काठे बटुका खोज्दै हिँड्दैछन्।
पेजको कुरा किन भनिरहेकी छु भने म पढ्दै लेख्दै गरिरहेकी छु।
पढ्दै लेख्नुपर्ने कुराहरू बहुत कम हुन्छन्। जस्तो कि कोर्सबुक। वा धेरै अप्ठ्यारा शब्द प्रयोग गरेर लेखिएको मीठो अङ्ग्रेजी साहित्य। वा कुनै महत्त्वपूर्ण न्यूजपिस, जसबाट भोलि तपाईंलाई जागिरको अन्तर्वार्तामा प्रश्न सोधिन सक्छ।
वा कसैले पैतालाले भन्दा दिमागले गरेको यात्राको कफीगफ।
दिमाग कति छिटोछिटो यात्रा गर्न सक्छ? विचारको यात्रा भौतिक यात्राभन्दा कयौँ गुणा छिटो हुन सक्छ। चीनले एकपछि अर्को गर्दै विकास गरिरहेका संसारलाई चकित तुल्याउने रेलका गतिभन्दा छिटो। हवाइजहाज वा किमले अस्ति भर्खर परीक्षण गरेका क्षेप्यास्त्रभन्दा तेज।
हैन, यी लेखक कति धेरै सोच्छन्?
भुइँमा खसेको पारिजातको फूल हेरेर घन्टौं टोलाउनुहुन्छ भने तपाईं कवि हो। वा सम्भावित कवि।
त्यसमा इन्स्टाग्रामका लागि भनेर ज्यान बङ्ग्याउँदै फोटो खिच्नुहुन्छ भने तपाईं र म 'सेम पेज' मा हुनसक्छौँ।
झ्यालबाहिर कसैले छिमलेको फूलका बोटको ख्याटख्याटमा तपाई १२ पेज सोच्न सक्नुहुन्छ भने तपाईं लेखक हो।
लेख्नु ठूलो कुरा होइन। सोच्नु हो।
सोचको गर्भबाटै लेखक जन्मिन्छ। वा लेखन। लेखन जन्मनु भनेकै लेखक जन्मनु। जब तपाईं यति धेरै सोच्नुहुन्छ कि त्यसलाई बग्ने बाटो दिइनँ भने निस्सासिन्छु भन्ने तपाईंलाई लाग्छ, तब तपाईं लेख्न बस्नुहुन्छ। सोच्नु भनेको गर्भवती हुनु हो। लेख्नु भनेको आफूभित्र हुर्किरहेको भावनालाई निकास दिनु। लेखनको प्रसव पीडाजस्तो सुन्दर के होला?
आमाबाहेक प्रसव पीडा महशुस गर्न सक्ने एकमात्र प्राणी भनेका लेखकहरू हुन्।
लेखक र आमा दुवै हुनुहुन्छ भने तपाईं यी दुवैलाई तुलना गर्न सक्नुहुन्छ र तुलना गर्न नसक्नेहरूका लागि लेख्न सक्नुहुन्छ।
लेख्दा सजिलो गरी लेख्नू। बुझिने गरी लेख्नू। लेख्नेले बुझ्दैमा पढ्नेले बुझ्छ नै भन्ने हुँदैन। लेखेर छाडिदिएपछि अक्षरहरू आफैँमा स्वतन्त्र हुन्छन्। मेरा कुरा म आफैँ भन्न सक्छु, तँ बढ्ता जान्ने हुने होइन। तिनले यही भन्छन्, हैन्त मिस्टर वाग्ले?
हाम्रोमा क्लिष्टलाई राम्रो भन्ने चलन छ। जे बुझिन्न, त्यो उपल्लो स्तरको भन्ने बुझाइ छ। विज्ञहरूका सम्बन्धमा एक जनाले मलाई भनेका थिए, 'विज्ञ को हुन्?'
'अत्यन्तै सजिलो कुरालाई पनि जो अत्यन्तै नबुझिने गरी भन्न सक्छन्, तिनै विज्ञ हुन्।'
'विज्ञ बन्नबाट जोगिनु है, मिस्टर वाग्ले।' सोफाको अर्कोछेऊ कफीको अन्तिम चुस्की लिँदै गरेको कफीगफी भन्छ।
उपमाहरूले लेखनमा स्वाद भर्छन् तर यी रिस्की पनि हुन्छन्।
ध्यान पुर्याउन सकिएन भने यिनले लेखकहरूलाई झुक्याउँछन्, पाठकहरूलाई अल्मल्याउँछन्।
जीवन र जगतलाई सोलसँग जोड्न उपमाहरूको भर अलि धेरै परेका हुन्, लेखक? हँ, मिस्टर वाग्ले?
गफ गर्न भनेर बोलाएर आफूमात्र एक्लै फत्फताउनेहरू गफाडी हुन्। गफ गर्दागर्दै झ्यालको पर्दा उघार्न लगाउने, छेवैको पेन ड्राइभको इतिहास खोतल्न लगाउने, पुरानो प्रेम सम्झेर मुसुक्क हसाउने वा ससाना कुरालाई पनि नियालेर हेर्न लगाउने गफाडीहरू भने लेखक मात्र हुन सक्छन्।
पढ्दै लेख्दै गर्नुपर्ने बनाउने धेरै कम पुस्तक हुन्छन्। गफ त झन् थोरै। तर 'हान्न' जाने गफ पनि सशक्त हुन्छ। कसैलाई कफीसँग गफ आउँछन्, कसैलाई साकेसँग, त कसैलाई भटमासको तात्तातो झोलसँग।
छेवैको डस्टबिनमा सिँगान पुछेर फालिएका एक पाथी टिस्यु पेपर थोपरेर म पेज नम्बर १८४ पल्टाउँदैछु।
'साँच्चै हो र?' लेखक सोध्छन्।
'ढाँट्नु केलाई छ र?'
देख्नुभो, अर्काको शैली चोर्न कति मज्जा आउँछ?