सिंहदरबार, शासनको थलो। कहिले निरंकुश शासनको, अहिले गणतन्त्रको।
यही सिंहदरबारको शक्ति दुरूपयोगले नागरिकलाई रुवाउँछ। असाध्यै भएपछि नागरिक एकबद्ध हुन्छन्। विद्रोह गर्छन्। सडक तताउँछन्। सडक तताउने थलो, माइतीघर।
अर्थात्, सिंहदरबार भनेको शासन। माइतीघर, शासनलाई चुनौती।
संसारमा शासन रहेसम्म शासनलाई चुनौती दिने थलो पनि रहन्छ। हरेक देशका आफ्नै सिंहदरबार, आफ्नै माइतीघर। जस्तो, इजिप्टको कायरोमा रहेको ताहिर चोक। न्यूयोर्कको युनियन चोक। पेरिसको बेस्टिल चोक। लन्डनको ट्राफाल्गार चोक।
यस्ता थलोमा नागरिक आवाज गडगडाउँछ। यसको महत्व तब तीव्र हुन्छ, जब शासकले नागरिक हक कुण्ठित गर्ने कोशिस गर्छन्।
नेपालमा विभिन्न शासकहरूले हाम्रो आधारभूत हकमै बन्देज लगाएका प्रशस्त अनुभव छन्। पञ्चायत र राणा शासनमा त कति कति!
यही परिदृश्य फेरि दोहोरिने डर बढेको छ। दुईतिहाइ सरकारले विभिन्न ऐनमार्फत् नागरिकको स्वतन्त्र विचार राख्न पाउने अधिकार कस्दै लगेको छ। सामाजिक सञ्जालजस्ता खुला 'थलो'हरू कुण्ठित गरिँदैछन्। सरकारी प्रवृत्तिबारे बोल्नै नपाउने वातावरण बन्दैछ। यसले गणतन्त्रलाई 'मौनतन्त्र' मा परिणत गराउने डर बढ्दैछ। मौनतन्त्र फैलिएर लुटतन्त्र हुन कुनै बेर लाग्दैन।
अहिले जुन किसिमका 'बन्देज' देखिएका छन्, यही ताल हो भने, तपाईं कहीँ भेला हुन, बोल्न, गाउन पाउनुहुन्न। केही जानकारी लिन र दिन पनि राज्यकै अनुमति चाहिने दिन धेरै टाढा नरहेको छाँट देखिन्छ।
यही सेरोफेरोमा शान्ति सुरक्षा विधेयक २०७५ र सूचना प्रविधिसम्बन्धी विधेयक संसदमा विचाराधीन छ।
दु:खले आर्जेको गणतन्त्र र हजारौंका कुण्ठा पोखिने थलो सामाजिक सञ्जालमा अंकुश लगाउन सक्ने विधेयक सिंहदरबारले संघीय संसदबाट पास गराउन खोज्दै छ। नागरिकले बिनाडर र व्यवधान, शान्तिपूर्ण रूपमा भेला भई राज्यलाई जवाफदेही बनाउन पाउने संवैधानिक हक सुरक्षा गर्ने कि निषेध, यही ऐनले निधो गर्नेछ।
देशको सार्वभौम संसद नै चक्रव्यूहमा फसेको छ। यो चक्रव्यूहबाट देश उकास्न 'माइतीघर' आवाज उठाउँदैछ।
सर्वसत्तावादी शासक बन्न आँट्नेका लागि भने माइतीघर आँखाको तारो बनेको छ। राज्य यसलाई पहिलो नम्बरमै ‘निषेधित क्षेत्र' घोषणा गर्न ब्याकूल देखिन्छ।
उनीहरूले यो देखून् र बुझून्, 'लूट' को सर्वोच्चतालाई मात दिने ‘नागरिक सर्वोच्चता' को प्रतीक हो, माइतीघर।
सिंहदरबारका प्रचारबाजी थमथम्याउने गरी झन्डै तीन करोड नागरिकको बलियो आवाज हो, माइतीघर।
हिंसालु आचरण र पृष्ठभूमि बोकेका शासकहरू सामना गर्नसक्ने अहिंसाका पुजारीको शरण हो, माइतीघर।
माइतीघर किन र कसरी गणतन्त्रकै संरक्षण स्थल बन्दैछ र यसलाई किन रक्षा गर्नुपर्छ भन्ने बुझ्न एकचोटि यसले विगतमा पारेका केही प्रत्यक्ष-अप्रत्यक्ष प्रभावबारे थाहा पाउनु जरुरी छ।
‘नेपाल बन्द' ले आजित दसौं लाख बासिन्दालाई त्यही माइतीघरमा उभिएर वर्षौंसम्म युवाहरूले ‘नेपाल खुल्ला छ' भने।
‘बन्दलाई बन्द गर' भन्दै बन्दकर्ताविरूद्ध भद्र सडक सन्देश दिने संस्कार बसाले। आज विस्तारै भए पनि हामीले नेपाल बन्दको कुसंस्कारबाट राहत पाउन थालिसकेका छौं।
देशभरि जनताले आवाज उराल्ने ठाउँहरूलाई निषेधित क्षेत्र घोषणा गर्ने सरकारको षड्यन्त्र चार-पाँच महिनाअघि यही माइतीघरमा उभिएर नागरिकले असफल बनाए।
दु:खसाथ आर्जेको लोकतन्त्रमा स्वतन्त्र भेला हुन र अभिव्यक्ति दिन पाउने नागरिक हक अपरिहार्य मानिन्छ। यही संवैधानिक हक जोगाउन भूमिका खेलिरहेको प्रमुख ठाउँ हो माइतीघर।
तानाशाही बन्न कम्मर कसेका ‘लोकमानसिंह कार्की' विरूद्ध नैतिक साहस बोकेका हजारौंलाई जम्मा हुने माहोल माइतीघरमै बन्यो। लोकतन्त्रका निर्वाचित निकाय र पदाधिकारीलाई बन्धक बनाउन चाहने ‘लोकमानतन्त्र’ ढाल्न उही माइतीघर र ‘माइतीघरे' ले अहम् भूमिका खेले।
सिंहदरबारबाट निर्देशन दिनेहरूले आफू त्यहाँ रहिरहनुमा त्यही हठी माइतीघरेको पनि महत्वपूर्ण देन छ भन्ने यति चाँडो भुलेका त छैनन् होला!
कयौं विवादास्पद निर्णयमा फसेका तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीलाई न्यायालयबाट बाहिरन बाध्य तुल्याउने ठाउँ हो, माइतीघर। देशकै उच्च न्यायपालिकाको महिमा र शक्ति पृथकीकरणलाई धरापमा पार्न खोज्ने कार्यशैली रोक्न आँटेका थिए तिनै गुमनाम ‘माइतीघरे' ले।
देशकै पहिलो महिला प्रधानन्यायधीश सुशीला कार्कीलाई हचुवा भरमा महाअभियोग लगाएर निलम्बन गरियो। न्यायालयको गरिमा र स्वायत्तता जोगाउन त्यही माइतीघरमा उर्लिएर हिँडेका थिए, विभिन्न राजनीतिक र गैरराजनीतिक ‘माइतीघरे’।
कहिले घाममा पाकेर, कहिले पानीमा रुझेर, कहिले धूलोमा धमिलिएर, शासक सरकारलाई सेवक बनाउन आवाज उठ्ने जनताको थलो हो, माइतीघर।
‘निर्मलाहरूलाई न्याय देऊ' भन्दै आवाज उठाउने १५-१६ वर्षका विद्यार्थीदेखि ५०-६० उमेरका पेसाकर्मीसमेत सडकमा आएर बाटो बन्द नगरी गुहार माग्ने सामूहिक चौतारी हो, माइतीघर।
स्वास्थ्य र शिक्षामा राज्यको दायित्व जबरजस्त खोज्ने र स्वास्थ्य नागरिकको नैसर्गिक अधिकार हो भन्दै सरकारलाई औंलो ठड्याउनेहरूको मूल चोक हो, माइतीघर।
#IamwithDrKC देखि #metoo सम्म, #JusticeforNirmala देखि #Backoff… सम्म अनि #Wedeservebetter देखि #Nobandh… सम्म। यस्ता धेरै ह्यासट्यागलाई मूर्तरूप दिने अभियानको उद्घोषण स्थल हो, माइतीघर।
विगतका पाँच वर्ष हेर्नुभयो भने देशमा ठूल्ठूला आन्दोलनका स्वरुप अभद्रबाट भद्रतर्फ परिणत हुँदैछ। माइतीघरमा भएका वा यसबाट प्रेरणा पाएका अभियानले नेपाली समाजमा हिंसा, द्वन्द्व र अभद्रता अस्वीकार गर्ने आँट बढेको छ। ‘स्वतन्त्रता' को प्रतिविम्ब बन्दै गइरहेको माइतीघर समाजका विविध लोकतन्त्रका संरक्षकलाई एकजुट गराउने ऊर्जा बनिरहेको छ।
सरकारलाई सेवक बनाइराख्ने हाम्रो नागरिक जिम्मेवारी व्यवहारबाटै परिष्कृत गर्दै लाने संस्कार पनि हो, माइतीघर। लोकतन्त्रलाई उन्नत बनाउन राज्यमा चाहिने अपार जवाफदेहिता र पारदर्शिता खोजिरहने अटेरीको जमात हो, माइतीघर।
झन्डै एक दशकमा माइतीघर र त्यहाँ उभिएका कयौं परिचित-अपरिचित माइतीघरेहरू लोकतन्त्रमा विश्वास गर्नेका लागि धन्यवादका पात्र हुन्।
गणतन्त्र जोगाउन यस्तै उत्कृष्ट ‘जवाफदेहिता माग्ने थलो’ हरू हरेक प्रदेश र गाउँ-नगरमा हुनु अपरिहार्य छ। हामीले चुनेका नेतृत्वमा जाग्नसक्ने ‘सिंहदरबारे' अहम् तह लगाउन स्थानीय नागरिकमा ‘माइतीघरे' संस्कार उजागर गर्नु जरुरी छ।
जब जब राज्यमाथि औंलो ठड्याउने विचार र अभिव्यक्ति निषेध गर्न थालिन्छ, तब तब माइतीघरबाटै लोकतन्त्र रक्षा गर्न सिंहदरबार नै थर्कने गरी बुलन्द गर्जन सुनिन्छ, लाखौं ‘अटेरी’ नेपालीको।