बिक्रम सम्वत् १९९०, माघ २ गते नेपाल ठूलो भुइँचालो गएको थियो। यसैको सम्झनामा हरेक वर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवस मनाइन्छ।
नयाँ पुस्तालाई भने २०७२ वैशाख १२ गतेको भुँइचालोले बेस्सरी झस्काएको छ। गोरखा केन्द्रविन्दु भएर गएको उक्त भुइँचालोबाट ५ लाखभन्दा बढी घर र ७ हजार बढी स्कुल भवन ध्वस्त तथा अधिक क्षति भए। करिब ९ हजार मान्छेको मृत्यु र २३ हजार घाइते भएका थिए।
यो भुइँचालोको करिब ६ महिनापछि (सन् २०१५) चिलीमा पनि शक्तिशाली भुइँचालो गएको थियो। यो नेपालकोभन्दा शक्तिशाली थियो। नेपालमा ७.८ म्याग्निच्युडको थियो भने चिलीमा ८.३ को। योपछि चिलीमा ७.० भन्दा ठूला दुइटा र ६.० ठूला धेरै परकम्पन गएका थिए।
यसका बाबजुद चिलीमा भएको मानवीय तथा भौतिक क्षति नेपालको तुलनामा अति कम थियो। जसमा करिब १६ जनाको मृत्यु भयो।
हुन त भुइँचालोबाट हुने क्षति केन्द्रविन्दुको दूरी र गहिराइ, भू-बनोट, जमिनको गति लगायतमा भर पर्छ।
यही सेरोफेरोमा रहेर सन् २०१७ मा मलाई अमेरिकी राष्ट्र चिली भ्रमण गर्ने अवसर मिलेको थियो। भुइँचालोबारे अध्ययन-अनुसन्धान गर्ने तथा विश्वव्यापी रुपमै यसबाट हुने क्षति न्यूनिकरण गर्ने काम गरिरहेको एक अमेरिकी प्राज्ञिक संस्था 'अर्थक्वेक इन्जिनियरिङ रिसर्च इन्स्टिच्युट' को निमन्त्रणामा 'भुइँचालोबाट सिक्ने' कार्यक्रममा म सहभागी भएको थिएँ।
यो भ्रमणको उद्देश्य सन् २०१० मा चिलीमा गएको भुइँचालो र सुनामीले पारेका प्रभाव र त्यसपछिका पुनर्निर्माण कार्यहरूको अध्ययन तथा अवलोकन गर्ने, पुनर्निर्माणमा संलग्न विज्ञ, प्राध्यापक, सरकारी निकायका प्रमुखहरू र पीडितहरूसँग अन्तर्क्रिया गर्ने थियो।
चिली विश्वमै धेरै भुइँचालो जाने स्थानमध्येमा पर्छ। गत ६० वर्षमा विश्वका ५ ठूला भुइँचालोमा दुइटा चिलीमै गएका थिए। सन् २००० पछि ६.० म्याग्निच्युडभन्दा ठूला २१ र ८.० म्याग्निच्यूडभन्दा ठूला ३ वटा भुइँचालो गइसकेका छन्। चिली संसारकै लामो देश हो। प्यासिफिक समुद्रसँग जोडिएको करिब ४३०० किलोमिटर लम्बाइ र ३५० किमी चौडाइले यसलाई संसारकै लामो समुन्द्री तट भएको देश पनि बनाएको छ।
सन् २०१० फेब्रुअरी २७ मा माउले क्षेत्रमा गएको ८.८ म्याग्निच्युडको भुइँचालो र त्यसले ल्याएको सुनामीले यहाँ ठूलो क्षति भएको थियो। यसले देशको राजधानी सान्टिआगो लगायत जनघनत्व धेरै भएका अन्य क्षेत्रमा तथा सुनामीले करिब ५०० किलोमिटर समुद्रीतटमा धेरै असर पुर्याएको थियो। यो विपदबाट करिब २ लाख २० हजार घर ध्वस्त भएका र पाँच सय २८ जनाले ज्यान गुमाएका थिए। राष्ट्रिय उत्पादनको करिब १५% नोक्सान भएको थियो। विभिन्न कारणले मानवीय क्षति न्यून भए पनि भौतिक तथा आर्थिक क्षति धेरै थियो।
त्यस्तै सन् २०१४ अप्रिल र २०१५ सेप्टेम्बरको ८.० म्याग्निच्युड भन्दा ठुला भुइँचालोमा क्रमशः १० र २० जनाको मृत्यु भएको थियो। सन् २०१० को हाइटी (७.० म्याग्निच्युड) र २०१५ को नेपाल (७.८ म्याग्निच्युड) भुइँचालोमा चिलीका लागि सामान्य हो।तै पनि हजारौं मानिसको ज्यान गयो।
विगत केही वर्षदेखि चिलीमा ठूल्ठूला भुइँचालो जाँदा किन न्यून मानवीय तथा भौतिक क्षति हुन्छ? र, चिलीमा सामान्य लाग्ने भुइँचालो नेपालमा किन त्रास बनिरहेको छ? सन् २०१० को माउले, चिली भुइँचालोपछि करिब ४ वर्षमै कसरी पुनर्निर्माण सफलतापूर्वक सम्पन्न गर्यो? चिलीको अध्ययन भ्रमणबाट बुझेका केही कुरा यो लेखमा प्रस्तुत गरिएको छ।
सन् २०१० भुइँचालोपछि विपदसँग सम्बन्धित सबै सरोकारवालाहरू, विशेषगरी विश्वविद्यालयमा विपदको क्षेत्रमा काम गर्ने प्राध्यापकहरूसँगको गहन अन्तर्क्रियापछि ल्याइएको 'विपद क्षति न्यूनिकरण राष्ट्रिय रणनीति' चिलीका लागि कोशेढुङ्गा सावित भएको त्यहाँका प्राध्यापक तथा विज्ञहरूले बताउँदा रहेछन्।
यो रणनीति अन्तर्गत स्थापना भएको 'एकीकृत विपद व्यवस्थापन केन्द्र' ले विपद व्यवस्थापन तथा क्षति न्यूनिकरणका ६ वटा क्षेत्रमा अध्ययन तथा अनुसन्धान गर्दै राष्ट्रिय नीतिहरू तयार गर्दो रहेछ। नेपालमा भने करिब एक दशकदेखि चर्चामा रहेको 'विपद जोखिम न्यूनिकरण विधेयक' संसदबाट पारित हुन सकेको छैन। गोरखा भुइँचालोपछि पनि हाम्रा नीतिनिर्माताहरूको चेत खुलेको देखिँदैन।
चिलीमा सन् १९७२ देखि भवन आचारसंहिता लागू गरिएको रहेछ। आचारसंहिता राम्रो छ। बेलाबेला अद्यावधिक गरिन्छ। र, यसको पालना कडाइका साथ गरिएको छ। सामान्यतया: १५-२० वर्षमा म्याग्निच्युड ८ भन्दा ठूलो भुइँचालो गएको देखिन्छ। तैपनि विगत दशकदेखि भुइँचालोले हुने क्षति न्युन हुँदै गएको छ। प्रत्येक ठूला भुइँचालोपछि आचारसंहिता अनुसार बनेका घरमा परेको असर अध्ययन गरी आवश्यक परिमार्जन गरिँदो रहेछ। त्यहीँको भू–वनोट तथा सम्भावित भुइँचालोलाई आधार मानेर भवन आचारसंहिता विकसित गरिएको रहेछ।
जबकि, हाम्रो भवन आचारसंहिताको अधिकांश भाग नेपालको वास्तविक अवस्थालाई भू–बनोट, जमिनका चिराहरू, निर्माण सामग्री तथा पद्धति लगायतलाई आधार मानेरभन्दा पनि भारतीय भवन आचारसंहितालाई आधार बनाएर बनाइएको छ। जसले गर्दा आचारसंहिता अनुसार बनाइएका कतिपय घर पनि भुइँचालो बेला क्षति भएका थिए।
चिलीका बासिन्दा भुइँचालोसँग अभ्यस्त भइसकेका छन्। जुनसुकै बेला ठूलो भुइँचालो आउन सक्छ भन्ने उनीहरुलाई हेक्का छ। तर नेपाल भुइँचालोको उच्च जोखिम क्षेत्रमा पर्ने भए पनि बारम्बार ठूलो भुइँचालो नगएकोले यहाँका जनतालाई भुइँचालो जान्छ भन्नेमा खास विश्वास थिएन। जसले गर्दा भुइँचालो प्रतिरोधात्मक निर्माणमा कसैको चासो भएन।
गोरखा भुइँचालोले केही झस्काए पनि पछिको निर्माण हेर्दा जति सचेत हुनुपर्ने हो, त्यो राज्य र जनता दुवै तहमा भएको पाइएन। अधिकांश नगरपालिकाहरू अझै भवन आचारसंहिता लागू गर्न तयार छैनन्। गाउपालिकाको त कुरै नगरौं।
चिलीका मानिस भुइँचालोसँग डराउनेभन्दा जीवनकै एउटा अंगका रुपमा स्वीकारेर अघि बढेका छन्। भवन निर्माण संहितालाई संस्कृतिकै रुपमा लिन्छन्।
गत भुइँचालोमा काठमाडौंका अग्ला भवनहरूमा ठूलो क्षति पुग्यो। काठमाडौं अग्ला भवनका लागि उपयुक्त छैन भन्ने टिप्पणी पनि आएका थिए। काठमाडौं भन्दापनि उच्च जोखिममा रहेको चिलीको राजधानी सान्टिआगोलाई अग्ला भवनहरूको सहर भन्दा पनि हुन्छ। सान्टिआगोको माटो काठमाडौंको भन्दा राम्रो भए पनि (इन्जिनियरिङ हिसाबले) स्थान विशेष अनुसारको भवन आचारसंहिता र भुइँचालो प्रतिरोधी तत्वहरूको उचित प्रयोग गर्ने हो भने बारम्बार भुइँचालो जाने स्थानमा पनि धेरै अग्ला-अग्ला भवन बनाउन सकिन्छ भन्ने सान्टिआगोबाट सिक्न सकिन्छ।
अग्ला भवन तथा अन्य महत्पूर्ण संरचनाको 'कन्सल्टेन्ट'ले डिजाइन गरिसकेपछि त्यो डिजाइनलाई तेस्रो पक्ष (विश्वविद्यालयका प्राध्यापक तथा अन्य विज्ञहरू) बाट समीक्षा गरी उनीहरूको राय लिइँदो रहेछ। सन् २०१० को भुइँचालोपछि नयाँ बन्ने सबै सरकारी अस्पताल भवनमा 'बेस आइसोलेसन' (भुइँचालो प्रतिरोधी निर्माणको एक उत्तम उपाय जसमा भवन र जमिनलाई एक प्रकारको रबर प्रयोग गरेर छुट्टाइन्छ) अनिवार्य गरिएको रहेछ।
चिलीमा स्कुल भवनहरू भुइँचालो प्रतिरोधी हुनुपर्ने तथा सन् २०१० को भुइँचालोपछि सबै स्कुलले वर्षको कम्तीमा दुई पटक भुइँचालो अभ्यास गर्नुपर्ने रहेछ। यसले गर्दा साँच्चै भुइँचालो गइहाले कसरी सुरक्षित स्थानमा जाने भन्नेमा सबै विद्यार्थी अभ्यस्त हुने रहेछन्। साथै नयाँ स्कुल भवन बनाउँदा माटो परीक्षण अनिवार्य छ।
नेपालमा काँचो माटोको इँट्टाले बनेका घर भुइँचालो प्रतिरोधी हुँदैनन भन्ने विश्वास छ। तर चिलीको लोलोल भन्ने सानो सहरमा यस्तै इँट्टाले बनेका धेरै पुराना सयौं घर प्रबलीकरण (रेट्रोफिट) गरेर भुइँचालो प्रतिरोधी बनाइएको छ। त्यस्ता पुराना घर पर्यटकका लागि आकर्षक रहेछन्। जसकारण सन् २०१० को भुइँचालोपछि सरकारले त्यस्ता काँचो इँट्टाका घर भत्काएर आधुनिक घर बनाउने योजना स्थानीयको विरोधपछि फिर्ता लिएको रहेछ।
सन् २०१० को भुइँचालोले पुराना गिर्जाघर लगायत अन्य प्राचीन संरचनामा पनि असर गरेको थियो। सान्टिआगोमा अवस्थित करिब १५० वर्ष पुरानो, करिब ९० मिटर लम्बाइ, ४० मिटर चौडाइ र २५ मिटर उचाइ भएको बाजिलिका गिर्जाघरको धेरैजसो भाग क्षति भएको रहेछ। प्राविधिक भाषामा 'डी ४' तहको (पूरै ध्वस्त नभएको तर केही भाग ढलेको र अन्य भाग पनि ढल्ने अवस्थामा पुगेको) क्षति थियो।
त्यहाँका विज्ञहरूको भनाइ, प्राप्त तस्वीरको आधार तथा लेखकले नेपालको भुइँचालोलगत्तै सिंहदरबारमा गरेको स्थलगत अध्ययनका आधारमा भन्नुपर्दा, सिंहदरबारमा जुन तहको क्षति छ, त्योभन्दा बढी बाजिलिका गिर्जाघरमा भएको थियो। उक्त गिर्जाघरको धेरै 'स्ट्रकचरल' भाग नै क्षति भएको थियो। सिंहदरबारभन्दा करिब २० वर्ष पुरानो गिर्जाघरको सफल रेट्रोफिट गरिएको छ। यस्तै अन्य धेरै प्राचीन गिर्जाघरहरू जुन २०१० को भुइँचालोमा लगभग ढल्ने अवस्थामा पुगेका थिए, तिनीहरूको रेट्रोफिट गरेर प्रार्थना तथा पर्यटकका लागि खुला गरिएको छ। सिंहदरबारको रेट्रोफिट हुन सक्दैन भन्ने हाम्रा विज्ञ तथा सरकारी प्राविधिकलाई यो एउटा शिक्षा हुन सक्छ।
सन् २०१० को भुइँचालोको बेला चिली सरकार परिवर्तन भएको थियो। लामो समयदेखि सरकार चलाइरहेको राजनैतिक दल सत्ताबाहिर पुगेको थियो। राज्य संचालनको अनुभव नभएको पार्टी सरकारमा आएको थियो। भुइँचालोलगत्तै सरकारले आकस्मिक उद्धार तथा राहत र पुनर्निर्माण सुरु गर्न दुइटा समिति बनायो।
ती समितिले राज्यका निकायहरूसँग समन्वय गरेर द्रुत गतिमा काम गरेका थिए। भुइँचालोको चार महिनाभित्रै सबै स्कुल तथा सडक सामान्य अवस्था फर्काइएको थियो। सबै पुल मर्मत भएका थिए। त्यस्तै करिब असी हजार आपतकालीन घर निर्माण तथा पुनर्निर्माण कार्यबाट करिब साठी हजार नयाँ रोजगारी सिर्जना भएका थिए। सबै पीडितलाई स्वास्थ्य सेवा पुगेको थियो।
चिलीको पुनर्निर्माणमा विश्वविद्यालयलाई एउटा अभिन्न अंगको रुपमा लिइएको रहेछ। पुनर्निर्माणका हरेक पाटा, जस्तै भुइँचालो प्रतिरोधी भवन डिजाइन, एकीकृत वस्तीको अध्ययन तथा निर्माण, पुनर्निर्माणमा संलग्न प्राविधिक तथा कामदारलाई तालिम दिने काममा विश्वविद्यालयका प्रध्यापकको भूमिका उल्लेखनीय रहेछ। पुनर्निर्माण दिगो बनाउन अध्ययन–अनुसन्धानसँग जोडिएका रहेछन्। र, ती अध्ययन–अनुसन्धान विश्वविद्यालयहरूबाट गराइँदो रहेछ।
'बेस आइसोलेसन, ड्याम्पिङ डिभाइस, फ्रिक्सन पेन्डुलम बियरिङ्ग' जस्ता आधुनिक भुइँचालो प्रतिरोधी निर्माण प्रयोग हुने प्रविधि जापानबाट विज्ञहरू बोलाएर आफ्नै विश्वविद्यालयहरुमा अनुसन्धान र विकास गरेको पाइयो। जापानबाट सोझै ति प्रविधि भित्र्याउँदा महँगो पर्ने भएकाले आफैं विकास गरेको त्यहाँका प्राध्यापकले जानकारी गराए।
अहिले दक्षिण अमेरिकी अन्य राष्ट्र र न्यूजिल्यान्ड लगायत देशले चिलीमा विकसित प्रविधि भित्र्याउन थालेका छन्। नेपालमा भने भुइँचालो सम्बन्धी अनुसन्धान नै हुँदैन। भुइँचालो प्रतिरोधी निर्माणको अनुसन्धानका लागि आधारभूत संरचना नै छैन। एसियाली विकास बैंक र चीन सरकारको सहयोगमा नेपाल भुइँचालो पुनर्वास र पुनर्निर्माण कार्यक्रम अन्तर्गत भुइँचालो प्रतिरोधी स्कुलहरूको डिजाइन गरिएको थियो। यसको परीक्षण हालै पाकिस्तानको युनिभर्सिटी अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीमा रहेको 'शेकिङ टेबल'मा गरिएको छ।
यदि नेपाल सरकार तथा पुनर्निर्माण प्राधिकरणले उक्त परीक्षणका लागि नेपालमै शेकिङ टेबलको व्यवस्था मिलाउन एडिबी वा चीनसँग पहल गर्न सकेको भए भुइँचालो प्रतिरोधी निर्माण अनुसन्धानमा नेपालले फट्को मार्न सक्थ्यो। नेपालमा इन्जिनियरिङमा उच्च शिक्षा हासिल गर्ने र अनुसन्धातालाई ठूलो हौसला र प्लेटफर्म हुने थियो। दुर्भाग्य भनुम्, हाम्रा नीतिनिर्माताले दूरदृष्टि राख्न सकेनन्। चिलीको हकमा भने बाहिरबाट विज्ञ बोलाएर भए पनि आफ्नै देशमा भुइँचालो प्रतिरोधी निर्माण अध्ययन-अनुसन्धान विस्तार गरेको पाइयो।
चिलीमा भुइँचालो, सुनामी तथा पुनर्निर्माणका सबै तथ्यांक, स्थलगत अध्ययन तथा अनुसन्धानका कार्यपत्रहरू विश्वविद्यालयहरूबाट पाउन सकिने रहेछ। सन् २०१० को भुइँचालो तथा सुनामीले पारेको क्षति, त्यसको पुनर्निर्माण र भवन आचारसंहिताको परिवर्तन लगायत विषयमा त्यहाँका विश्वविद्यालयका प्राध्यापकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा सयौं लेख लेखेको पाइयो।
गोरखा भुइँचालोपछि विदेशी प्रध्यापक तथा अनुसन्धाताले पनि सयौं लेख लेखे। तै नेपाली प्राध्यापकहरूले प्रथम लेखकका रुपमा लेखेको अत्यन्त कम पाइन्छ। हाम्रो देशमा भुइँचालो सम्बन्धी अध्ययन तथा अनुसन्धानको आवश्यकता न राज्यले महशुस गरेको छ, न विश्वविद्यालयहरूले। पुनर्निर्माणमा नेपाली विश्वविद्यालयको भूमिका शून्य नै छ।
पुनर्निर्माण क्रममा चिली सरकारले धेरै स्थानमा सामाजिक घरहरू (एक किसिमको एकीकृत बस्ती) निर्माण गरेको रहेछ। समाजिक घर निर्माण पद्धति अरूभन्दा फरक पाइयो। तीन किसिमका सामाजिक घर रहेछन्।
ग्रामीण भेगमा घरबिहीन भएकाहरूलाई एउटा सहकारी संस्था खोल्न लगाएर त्यहीमार्फत संचालन र मर्मत गर्ने गरी धेरै परिवार बस्न मिल्ने ठूला ठूला बहुतले (५–६ तलासम्म) घर बनाइएको र प्रत्येक परिवारलाई एक-एक अपार्टमेन्ट दिइएको रहेछ। ती अपार्टमेन्ट २५ वर्षपछि त्यहीँ बस्ने परिवारको नाममा हस्तान्तरण गरिने कार्यक्रम रहेछ।
सुरुमा यस्ता बहुतले भवनमा बस्न मान्छे त्यति रुचाएनछन्। तर 'बेस आइसोलेसन्' प्रविधिबाट बनाइएका ती भवन भुकम्पीय हिसाबले धेरै सुरक्षित हुने र त्यहाँ बस्ने परिवारलाई कृषिमा अनुदान दिने योजना ल्याएपछि धेरै मान्छे बस्न थालेको पाइयो। यद्दपी केही परिवार भने सरकारको अनुदान लिएर छुट्टै घर बनाएर बसेका पनि छन्।
दोस्रो प्रकारको एकीकृत बस्ती भनेको नेपालका निजी आवास योजना जस्तै हो- सुरक्षित स्थानमा धेरै घर एकै ठाउँमा। यो योजना ८० वर्गमिटर क्षेत्रफल हुने गरी भान्सा, पाहुना कोठा, ट्वाइलेट तथा बाथरुम र सुत्ने कोठा हुनेगरी २ पाखे २ तले घरको डिजाइन गरिएको रहेछ। जसमा सरकारले घरको प्रमुख संरचनासहित ४० वर्गमिटर (एउटा पाखो) भाग पूर्णरुपले निर्माण गरिदिएको रहेछ। बाँकी ४० वर्गमिटर भाग जनता आफैंले आफ्नो आवश्यकता र हैसियतअनुसार विस्तारै बनाउँदै गरेका रहेछन्। विशेषगरी सुनामी प्रभावित क्षेत्रमा यस्तो किसिमको आवास निर्माण गरिएको छ।
तेस्रो प्रकारको पुनर्निर्माण आवास योजना विशेषगरी सहरी क्षेत्रमा छ। जहाँ घरभन्दा जग्गा महँगो हुन्छ त्यस्तो स्थानमा लागू गरेको पाइयो। सहरका सा-साना घरमा बस्ने परिवारको जग्गाको मुल्यांकन गरी राज्यले लिएको छ। र, नजिकै बहुतले (१२–१५ तलासम्म) भवन बनाएर ती परिवारलाई अपार्टमेन्टमा बस्न दिइएको छ। राज्यले लिएको जग्गा व्यवसायिक हिसाबले प्रयोग गरिएको छ। र, त्यहाँबाट अपार्टमेन्टमा सरेकालाई जीविका चलाउन अन्य उपाय गरेको पाइयो। यसले गर्दा जनतालाई धेरै सुविधा पनि दिन सकिने र व्यवस्थित सहर बनाउन पनि मद्धत पुग्ने देखियो।
चिली सरकारले विश्वविद्यालयहरूको सहयोगमा सन् २०१० को भुइँचालोमा के-कति कारणले धेरै क्षति भयो, भुइँचालोलगत्तै राज्यले गर्नुपर्ने कुरामा के-के कमजोरी भए र भविष्यमा आउने भुइँचालोका लागि के-के तयारी गर्नुपर्छ भन्नेबारे विस्तृत अध्ययन गरेको थियो। उक्त अध्ययनले दिएका सुझाव विस्तारै कार्यान्वयन गर्दै लगिएको रहेछ।
जस्तै २०१० को भुइँचालोपछि करिब १२ घण्टासम्म सञ्चारसेवा प्रभावित भएको थियो। भुइँचालो मापन केन्द्रबाट सरकारी निकाय र सरकारी निकायबाट सर्वसाधारणलाई दिनुपर्ने सूचना-सन्देश प्रवाह हुन सकेको थिएन। जसले गर्दा जनतालाई भुइँचालोपछि के गर्ने, कता जाने, कहाँ के-के भयो भन्ने जानकारी थिएन। यो कमजोरीलाई भविष्यमा आउने भुइँचालोमा दोहोरिन नदिन त्यहाँ सरकारले विपदका लागि मजबुत वैकल्पिक सञ्चार माध्यम विकास गरेको छ।
त्यस्तै भुइँचालो मापन केन्द्रहरू पनि वैकल्पिक विद्युत व्यवस्थासहित जुनसुकै अवस्थामा पनि जनतासम्म सही जानकारी पुर्याउन सक्ने स्थितिमा राखिएको छ। पूर्व सूचना प्रणाली आधुनिकीकरण गरेर चाँडोभन्दा चाँडो जनतालाई सुरक्षित रहन सन्देश पुर्याउने पद्धति विकास गरिएको छ।
सन् २०१० को भुइँचालोमा कसले के आदेश दिने हो (चेन अफ कमान्ड) प्रष्ट नभएकाले हुनुपर्ने काम समयमा नभएको, एउटै काम दोहोरिएका जस्ता समस्या आएको थियो। अब विपदबेला कसले के-के गर्ने भन्ने प्रष्ट तोकिएको छ। सबै सरकारी तथा सुरक्षा निकायको जिम्मेवारी प्रष्ट पारिएको छ। सन् २०१० सम्म विपदका बेला सुरक्षा निकायहरूको दायित्व के हुने थाहा थिएन। पछि भने सुरक्षा निकाय कसरी खटिने भनेर निर्देशिका बनाइएको छ। अब विपद जानासाथ उद्धार र राहतका लागि सुरक्षा निकायले कसैले आदेश कुर्न पर्दैन।
चुस्त सञ्चार प्रणाली र प्रष्ट कार्य विभाजनको परिणाम हो, २०१४, अप्रिलमा ८.२ को भुइँचालोलगत्तै आएको सुनामीबाट जोगाउन त्यहाँको सरकारले करिब १० लाख प्रभावित बासिन्दालाई सुरक्षित क्षेत्रमा सार्न सफल भयो। सन् २०१० को भुइँचालोपछि राष्ट्रिय आपतकालीन कार्यलयलाई संयुक्त राज्य अमेरिकाको सहयोगमा आधुनिकीकरण गरेको छ। विद्युत प्रणाली पनि आधुनिकीकरण गरिएको छ। कुनै स्थानमा आगालागी हुनासाथ त्यस क्षेत्रको विद्युत आफैं बन्द हुने प्रविधि विकास गरिएको छ।
सबै महत्वपूर्ण कार्यलयहरू, अस्पातल, सूचना प्रवाहा गर्ने सरकारी संस्था, भुइँचालो मापन गर्ने तथा सुनामी पूर्वानुमान गर्ने कार्यलयमा वैकल्पिक ऊर्जा व्यवस्था छ। भुइँचालो वा सुनामीले विद्युत आपूर्ति बन्द भए पनि ती कार्यलयमारु कुनै समस्या पर्ने छैन।
चिलीको भाल्पाराइसोमा रहेको सुनामी पूर्वानुमान केन्द्रमा चारवटा माध्यमबाट (सोलार, ब्याट्री, जेनेरटर र हाइड्रो) विद्युत व्यवस्था गरिएको छ। विपदका बेलामा एउटा श्रोत बन्द हुनेबित्तिकै अर्को श्रोतको विद्युत तुरुन्तै उपलब्ध हुने व्यवस्था छ। त्यस्तै सुनामी पूर्वानुमान केन्द्र भाल्पाराइसोको भवनमा केही कारणले क्षति भए, तुरुन्तै अर्को भवनमा भएको संरचनाबाट तथ्यांकहरू लिने गरी पूरै संरचनाको पनि वैकल्पिक व्यवस्था रहेछ।
संक्षेपमा भन्नुपर्दा, चिलीमा भुइँचालोको क्षति कम हुनुमा तीन वटा प्रमुख कारण देखिए-
पहिलो, आफ्नै अध्ययन-अनुसन्धानबाट परिमार्जित हुँदै गएको भवन आचारसंहिता र यसको पूर्णरुपले पालना।
दोस्रो, जनचेतना।
र, तेस्रो, विपदका लागि प्रभावकारी संरचना र सञ्चार र आगो नियन्त्रण।
साथै, भू–बनोट तथा संरचनाअनुसार भवन आचारसंहिता विकास, यसको पूर्ण कार्यान्वयन, विश्वविद्यालयमा विपदको क्षति न्यूनिकरणमा निरन्तर अध्ययन–अनुसन्धान तथा जनचेतना विकास नै भुइँचालोबाट हुने क्षति कम गर्ने उपायहरू हुन् भन्ने कुरा चिलीको अध्ययन भ्रमणमा पुष्टि भएको छ।
आफ्नै अनुसन्धान केन्द्र तथा विश्वविद्यालयहरूमा निरन्तर अनुसन्धानबिना अन्तबाट आयातित आचारसंहिता तथा नियम-कानुन र विज्ञहरूबाट भुइँचालोलगायत अन्य विपदहरूबाट हुने क्षति कम गर्न सकिँदैन भन्ने चिलीबाट सिक्न सकिन्छ।
जब चिली सरकारले विपद कम गर्न दीर्घकालीन योजना बनाएर सुरूका केही वर्ष अध्ययन-अनुसन्धानमा ठूलो लागानी गर्यो र त्यसलाई निरन्तरता दियो, त्यसको केही वर्षमै चिलीले उल्लेख्य फड्को मारेको देखियो।