काठमाडौं सम्झना
मेरो सम्झनाका अतीतलाई सेतोपाटीमा कोर्ने रहर धुपछाया बनेर कहिले पलाउँदो छ, कहिले ओइलाउँदो।
भदौ ४ गते मध्याह्न म आफ्नो जन्मस्थल काठमाडौंको महाबौद्ध बहाल पुगेको थिएँ। महाबौद्धको श्री महाँकाल माध्यमिक विद्यालय तर्फबाट मेरो सम्मान र अभिनन्दन थियो। कार्यक्रमबीच लगभग तीन घन्टा टोलाएर चारैतिर आँखा घुमाएँ।
बुद्ध चैत्यका तीनवटा आँखामा आँखा जुध्दासम्म विश्वास लाग्यो, म त्यही स्थलमा छु, जहाँ मेरी आमाले विक्रम सम्बत् १९९४ असोज २२ गते दुई मुठ्ठा परालमाथि मलाई जन्माएर यस धर्तीसँग स्पर्स गराएकी थिइन्।
सुडिनी बज्यै ‘अजी’ ले मेरो रुवाईको ध्वनीमा हर्षोल्लास थप्नुभएको थियो। आज त्यसको ८१ वर्षपछि आफ्नो टोलको विद्यालयबाट अभिनन्दन थाप्दै गर्दा मेरो भावुक मन सम्हाल्नै गाह्रो पर्यो।
महाबौद्ध टोलको त्यस बहाललाई ‘महा बु बहा’ भनिन्छ। तिम्रो घर कहाँ हो भनी कसैले सोध्दा हामी ‘माबुती’ भन्थ्यौं। डिल्लीबजारतिरका साथीहरू हामीलाई ‘महाभूते’ भन्थे। हुँदाहुँदा महाबौद्धले महाभूतको संज्ञा पाइसकेको थियो।
अपभ्रंसले काठमाडौंका स्थान नाम चौपटै भएको अवस्था थियो र छ पनि।
ठाउँअनुसारको नाउँ अथवा नाउँअनुसारको ठाउँ खोज्न निकै कठिन भइसक्यो। नेपाल भाषामा स्थापित नामहरू नेपालीकरण हुँदा विकृति भित्रिएका छन्। त्यसमा पनि अंग्रेजी प्रभावले ठाउँ र नाउँको सम्बन्धमा आकाश र पातालको दूरी छ।
२००७ सालअघिको अवस्था सम्झँदा मथिंगलमा भुइँचालो चल्छ। नेपाल भाषाको रञ्जना लिपि प्रचलनमा थिएन। देवनागरीमा नेवारी शब्द लेख्नुपर्थ्यो। नेवारी अर्थात् नेपाल भाषाका एक अक्षरी शब्दको अनेक अर्थ लाग्छ। यो वास्तविकताले वास्तविकतालाई नै ओझेल पार्ने अवस्था सिर्जना भएको छ। यसले हामी अपभ्रंसै अपभ्रंसका यथार्थमा बाँचेका छौं।
अब अपभ्रंसबाट वास्तविकतातिर लाग्नु हाम्रो कर्तव्य हो।
काष्ठमण्डप, काठमाण्डौं, काठमान्डू, काठमाडौं, क्याथ म्यान डू, क्याट म्यान डू वा कान्तिपुर जे भनिए पनि यो नेपाल खाल्डोको नेवारी नाम ‘यँ दे’ हो भन्ने बुझिन्छ। गाईजात्रा, इन्द्रजात्रा, मत्स्येन्द्रनाथ जात्रा आदि पर्व बेला जुन जुन ठाउँ घुमिन्छ, त्यही क्षेत्र ‘यँ दे’ भित्र पर्छ।
सहरी क्षेत्रभित्रका चार प्रवेश द्वारमध्ये एउटा खिचापोखरी र धरहराबीच थियो। त्यो द्वार अर्थात् ढोका कहिले विलय भयो थाहा छैन। मेरो जीवनकालभन्दा धेरै अघिको कुरा होला।
प्रसंग यही खिचापोखरीबाट सुरु गरौं।
हामी महाबौद्धवासी खिचापोखरीलाई हेप्थ्यौं। ‘खिचा’ भनेको कुकुर। त्यही भएर कुकुरपोखरीलाई ‘खिचापुखु’ भनेर जिस्क्याउँथ्यौं। अझ केहीले त ‘खि’ भनेको गुहु र ‘चायगु’ भनेको धोइपखाली गर्ने अर्थ पनि लगाइदिन्थे।
अर्थ जे लगाए पनि त्यहाँ पोखरी कहीँ छैन। स्थान नाममा पोखरी भने झुन्डिएकै छ। यस्तो किन? यो प्रश्न मेरो दिमागमा सधैं घुमिरहन्थ्यो।
केही वर्षअघि शताब्दी पुरुष सत्यमोहन जोशीसँग यसबारे कुरा उठाएको थिएँ। उहाँका अनुसार बिहानीको भोरमा देवदेवीलाई संगीतमय धूनले जागा गराउनुलाई ‘खेचायके’ भनिँदो रहेछ। त्यही कार्य गर्ने विशेष स्थल भएकाले ‘खेचायके पुखु’ भनिएको रहेछ। त्यसैबाट अपभ्रंस भएर ‘खिचापुखु’ बन्यो। पुखुको नेपाली अनुवाद पोखरी भएकाले ‘खिचापोखरी’ स्थापित हुन पुग्यो।
हाम्रो टोल–छिमेकमा ‘गुच्चात्व’ अर्थात् गुच्चाटोल पनि छ।
सुरु–सुरुमा मलाई केटाकेटीहरूले गुच्चा अत्यधिक खेल्ने टोल होला भन्ने लागेको थियो। विसं २०४४ सालमा कृष्णप्रसाद श्रेष्ठद्वारा लिखित ‘स्थान नाम कोश’ पुस्तक प्रकाशित भयो। त्यसबाट थाहा पाएँ, त्यसको वास्तविक नाम ‘गुँचाः त्वा’ रहेछ। गुँ भन्नाले नौवटा र ‘चाकः’ भन्नाले चक्र वा मण्डल। अर्थात्, नौवटा मण्डल वा चोकको टोल।
उक्त पुस्तक हिमाल किताबले २०६७ सालमा पुनः प्रकाशन गरेको छ।
मरुटोलको पनि यस्तै कथा छ।
काष्ठमण्डप क्षेत्रलाई हामी ‘मरुत्वा’ (मरुटोल) भन्थ्यौं। त्यहाँको अशोक विनायक मन्दिरमा गजुर छैन। नेवारीमा ‘छैन’ भन्नलाई ‘मदु’ वा ‘मरु’ भनिन्छ। त्यही भएर गजुर नभएको गणेश मन्दिरलाई ‘मरुगणेश’ भनियो। यही आधारमा त्यहाँको ढुंगेधारालाई ‘मरुहिटी’, सतल (काष्ठमण्डप) लाई ‘मरुसतः’ र टोललाई नै ‘मरुटोल’ भनिएको मान्यता छ।
कृष्णप्रसादजी भने मण्डपबाट ‘मण्डु’ र अपभ्रंस हुँदै ‘मदु’ र ‘मरु’ भएको बताउनुहुन्छ। यहाँ ‘मरु’ लाई छैन भन्ने अर्थमा लिने कि मण्डपको अर्थमा लिने भन्ने स्पष्ट छैन।
मेरो सम्झनामा यस उपत्यकाभरीका ढुंगेधारामध्ये मरुहिटीमा सबैभन्दा धेरै पानी बग्थ्यो। आजभोलि धारा सुकेको छ। पानी छैन। ‘मरुहिति’ भन्नाले पानी सुकेको धारा होला भन्ने भ्रम पनि पर्न सक्छ।
काठमाडौंकै उपल्लो भागलाई ‘थँहिति’ भनिन्छ। थँहिति लोप भएको शताब्दीयौं भइसक्यो होला। स्थान नामका रूपमा ‘थँहिति’ भने कायम छ, ‘ठैँति’ कै रूपमा भए पनि।
२०६४ सालमा तीर्थनारायण मानन्धरद्वारा लिखित ‘जिगु लुमन्ति येँ दे म्हिगः व थौं’ नामक पुस्तकमा काठमाडौंका १६ वटा ढुंगेधारा ‘ल्वहँ हिति’ को वर्णन छ। तीमध्ये लुँहिति (सुन्धारा) मा त्यही बेला पानी सुकेको र अरू सबै हितिमा पानी बग्थ्यो भन्ने किताबमा उल्लेख छ।
आज प्रायः ती सबै हिति सुकिसकेका छन्। स्थान नाम भने कायम छन्। क्वहिति (तल्लो ढुंगेधारा), भोटाहिति, येँगाहिति, नारायणहिति लगायत प्रमुख छन्।
अपभ्रंसको मारमा परेका स्थान नाममध्ये ठमेल, चावेल, पाको, प्याफल, जमल, जनबहाल, टेबहाल, वंग (आजुद्यो), खास्ती, वास्याद्यो (बाङ्गेमुढा), भ्याचाद्यो (भेडासिङ), किलागल, न्ह्याप स्या द्यो (काने स्थान), जावलाखेल, लगनखेल, मंगलबजार, बंगलामुखी लगायत पनि छन्।
पर्यटन दृष्टिले काठमाडौंकै प्रसिद्ध टोल हो, ठमेल। सहरको माथिल्लो क्षेत्रलाई ‘यःने’ भनिन्छ। त्यहाँको विक्रमशिला महाविहारलाई ‘थःबही’ भनिन्छ। बौद्ध विहारका विभिन्न स्वरुपअनुसार बहा, बही र ननी भनेर वर्गीकृत गर्ने पुरानो चलन हो।
नेवारी संज्ञामा ‘ल’ जोडेर नेपाली बनाउने चलन छ। त्यसैअनुरुप ‘थःबही’ थःबहिल बन्यो। कालान्तरमा ठमेलको रूप लियो। त्यस्तै, अशोकपुत्री चारुमतीको नामले प्रख्यात चारुमती विहार पनि ‘चाबही’ बाट चाबहिल हुँदै चावेलको रूप लिन पुग्यो।
नयाँसडक (जुद्धसडक), पिपलबोटतिरको टोललाई ‘पाको’ भन्ने चलन छ। यसको मौलिक नाम ‘पाको पुखु ड्याँ’ थियो। ढिस्को मुनिको पोखरीको डिल भन्ने अर्थमा उक्त नाम चलेको थियो। अचेल पाकोले उक्त नाम विस्थापित गरेको छ। नेपाली शब्दकोश हेर्यौं भने पाकोको अरू नै अर्थ लाग्छ।
मरुगणेश स्थानको उत्तरतिर ‘प्याफलटोल’ छ। ‘प्या’ भनेको भिजेको र ‘फः’ भनेको कुनै घरमा मन्दिरको डिल हो। प्याफःमा ‘ल’ जोडेर नेपालीकरण गरेपछि विनाकुनै फल ‘प्याफल’ बन्यो।
यसैगरी, नेवारीमा ‘ख्य’ भन्नाले चउरलाई बुझाउँछ। त्यसमा ‘ल’ जोडेर ‘तिँख्य’ अर्थात् टुँडिखेल बन्यो। हामी सानो हुँदा २००७ सालताका गथाँमुग (गठेँमुगल) पर्व मनाउन टुँडिखेल वरपरका नर्कटघारीबाट ‘तिँ’ अर्थात् नरकट ल्याउने गर्थ्यौं। त्यही भएर नर्कटघारी भएको चउरलाई ‘तिँख्य’ भनेको हो कि थाहा भएन।
मत्स्येन्द्रनाथको भोटोजात्राका दिन परम्पराअनुसार भात (जा) छर्ने (ह्वला) चउर (ख्यः) लाई ‘जा ह्वला ख्यः’ भनेर निश्चित रूपमा भन्न थालिएको हो। शुभ लगनको चउर ‘लगं ख्यः’ लाई पनि लगनखेल भनिएको पाइन्छ।
मेरो बाल्यावस्थासम्म हामी इन्द्रचोक जानुलाई ‘आजुद्यः’ अर्थात् पुर्खादेवताको टोल जाने भन्थ्यौं। आकाश भैरवलाई ‘आजुद्यः’ भनिन्थ्यो। त्यस टोललाई ‘वंग’ पनि भनिन्थ्यो। इन्द्रचोक राखीबजार पछाडि कुमारी स्थानमा तीनवटा घडा स्थापित छ। तीनवटालाई ‘स्वंग’ र घडालाई ‘घः’ भनिन्छ। सायद, तीनघडाको टोल ‘स्वं घः’ बाट अपभ्रंस भएर ‘वंग’ पो भयो कि जस्तो लाग्छ।
आजभोलिको बाङ्गेमुढालाई हामी ‘वास्या द्यो’ अर्थात् ‘दाँत दुख्दाको देवता’ भन्थ्यौं। त्यहाँको बाङ्गेमुढामा पैसा चढाएर किला ढोक्थ्यौं। मेरो अन्दाजमा २०२० सालअघि दाँतका सबै उपचार गर्ने पसल त्यहीँ थिए। सुनको नक्कली दाँत राख्नुपरे बाङ्गेमुढा टोलमै आउँथे मान्छेहरू।
बाङ्गेमुढाबाट इन्द्रचोकतिर लाग्दा त्यहाँको चौबाटोमा एउटा खाल्डो थियो। त्यसमा पत्थरले बनेको भेडाको खप्परमाथि सिंगलाई सबैले पूजा गर्थे। हामी ‘भ्याय् चा द्यो’ भन्थ्यौं। अरूले भेडासिंग भन्थे। त्यसको नजिकै मन्दिरको डिलमा मधेसी हजामहरू हुन्थे। हामी त्यही भेडासिंग टोलमा कपाल काट्न जान्थ्यौं। अहिले भेडाको सिंग पुरिइसकेको छ। केही निशान बाँकी छैन। भेडासिंग टोलको स्थान नाम भने जीवित छ।
भेडासिंगबाट पश्चिम लागेपछि किलागल टोल आउँछ। फलामे औजारमा सबैभन्दा सानो किला र ठूलोमा गल हो। तर, यही आधारमा किलागल रहेको होइन। किलागल टोलको मौलिक नाम ‘किसीगल‘ हो। ‘किसी’ भनेको हात्ती र ‘गल’ भनेको गोठ भन्ने बुझिन्छ। यसले त्यो टोलमा हात्ती बाँध्ने ठाउँ भएको बुझिन आउँछ।
त्यहाँ एउटा घरमाथिको बैठकमा हात्तीको मूर्ति स्थापित पनि छ। इन्द्रजात्रा बेला ‘पुलुकिसी’ नाच निकालिन्छ। पुलुको अर्थ मान्द्रो हुन्छ। मान्द्रोको हात्ती बनाई नचाइने ‘पुलुकिसी’ नाचमा टाङटाङ घन्टा बजाइन्छ। त्यसैले, पुलुकिसीलाई ‘टानाकिसी’ पनि भन्ने गरिन्छ।
आजभोलिको प्रसिद्ध बौद्ध स्थललाई हामी सानो छँदा ‘खास्ती’ भन्थ्यौं। बौद्ध जानुपरे ‘खास्ती’ जाने भनिन्थ्यो। बौद्धको त्यो विशाल स्तुप निर्माण गर्न कुहिरोबाट पानी संकलन गरेर खडेरी सामना गरिएको थियो भन्ने कथन छ। यही आधारमा त्यस स्थललाई खास्ती अर्थात् खसुती (कुहिरोको झोल) भनिएको रहेछ।
मल्लकालको अन्त्यसम्म कान्तिपुरभित्र ३२ वटा टोल खडा भइसकेको डा. साफल्य अमात्यको पुस्तक ‘काठमाडौं नगरायण’ मा उल्लेख छ। पृथ्वीनारायण शाहका सिपाहीले काठमाडौंको ‘सापारु’ अर्थात् गाईजात्राको लस्करमा गएर ‘यो के पर्व हो’ भनी सोधेछन्। स्थानीयले ‘भाय मसिया’ भनेर जवाफ दिएछन्। यस्तो सुनेर उनीहरूले यो जात्रा नै ‘भायमसिया’ हो भन्ने अनुमान गरेका थिए।
‘सा’ भनेको गाई र ‘पारु’ भनेको पूर्णिमाको भोलिपल्ट आउने तिथि ‘परेवा’ को जात्रालाई गाईजात्रा भनिएको हो। स्वर्गीय नयराज पन्तबाट मैले यो सुनेको थिएँ।
नेपाली भाषामा रुपान्तरण हुनुअघिका यस्ता स्थान नाम केलाएर अनुसन्धान गरी त्यसको गर्भमा रहेका कला, साहित्य, सँस्कृति, भाषा, भूगोल, ज्ञान–विज्ञानको इतिहास उजागर गर्न स्थानीय नयाँ सरकारहरू जुर्मुराउनुपर्छ।
स्थानहरू कहीँ पर्वका नाममा स्थापित छन्। जस्तै– संक्रान्ते, बिहीबारे, मंगलबारे, शनिश्चरे आदि। स्थानीय पशुपन्छीका नाममा पनि रहेका छन्। जस्तै– च्याखुरे, डाँफे, मारखोर (भेडा), खोङ्मा (हिमकुखुरा), भैंसालोटन, बाघमारा, गैंडाकोट, गौर (गौरीगाई) आदि।
रूखबिरुवा, वन–वनस्पतिका नाममा सल्यान (सल्लाको वन), काभ्रे (काभ्रो), पिपले, गोगने, आँपचउर, सिमले, घ्याम्पेसाल, जोरसल्ला, बरबोटे, एक्लेवर, गुराँसे लगायत रहेको पाइन्छ।
भौगोलिक विषयवस्तुलाई इंगित गर्दै ताल, तलैया, दह, नदीनाला, पाखा–पर्वत, लेकबेसी, चउर आदिका नाममा थुप्रै स्थान नाम छन्। स्थानीय सरकारहरूले सरोकार राखेमा स्थान नामले त्यहाँको स्वत्व उजागर गर्छ।
जुम्लालाई किन जुम्ला भनियो? कोशीको एकापट्टि किन सुनजस्तो सुनसरी बन्यो? किन सातवटा शत्रुको जिल्ला सप्तरी बन्यो? कसरी गौरीगाईको नाममा गौर जिल्ला स्थापित भयो?
यी सबैको उत्तर खोज्न स्थानीय नामको अध्ययन र अनुसन्धानको ढोका यथाशीघ्र खोल्नुपर्छ। त्यसका लागि अपभ्रंसको जालोबाट मुक्त हुन सबै भाषाभाषीले प्रयास गरून्।
त्यसो नहुँदा ‘झम्सी’ अथवा ज्यामिर फल्ने ‘ख्यः’ चउर पहिले झम्सीखेल थियो। अहिले आएर ठमेलको प्रतिरूपमा 'झमेल' बनेको अवस्था छ। अपभ्रंसै अपभ्रंसको यथार्थमा बाँच्नुपरेको छ।
तस्बिरहरू : नारायण महर्जन