भक्तपुरमा रानीपोखरी बनेको ४० वर्षपछि कान्तिपुरमा राजा प्रताप मल्लले बिसं १७२७ मा रानीपोखरी निर्माण गराएका थिए। यो आजभन्दा ३४८ वर्ष पहिले हो।
उनले छोरा चक्रवर्तेन्द्र मल्लको मृत्य शोकमा डुबेकी रानीलाई सान्त्वना दिन र मन बहलाउन रानीपोखरी निर्माण गराएका थिए भनिन्छ।
२०७२ वैशाख १२ को भुइँचालोले रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिर भत्कियो। यो भाइटीकाको दिन मात्र खुला हुन्थ्यो। यसको पुनर्निर्माण टुंगो लाग्न सकेको छैन। पुनर्निर्माणमा विवाद आइरहेका छन्।
बालगोपालेश्वर मन्दिर कस्तो बनाउने?
मन्दिर र रानीपोखरी पुनर्निर्माण सम्बन्धमा पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा काठमाडौं महानगरपालिका, पुनर्निर्माण प्राधिकरण र पुरातत्व विभागसमेतका ११ सदस्यीय विज्ञ टोली गठन भएको थियो। टोलीले बीचको मन्दिर प्रताप मल्लकै पालाको स्वरुपमा ग्रन्थकुट (शिखर) शैलीमा निर्माण गर्नुपर्ने सुझाव दियो। विभागका विज्ञले भने सहमति जनाएनन्।
जंगबहादुर पालामा नयाँ स्वरुपमा बनेको यो मन्दिर १९९० सालको भुइँचालोमा भत्केपछि जुद्धशमशेरले अहिलेको गुम्बज शैलीमा पुनर्निर्माण गराएका थिए। यसमा प्यागोडा वा छत्रे शैलीमा छानाको तहैतह बनाएर लगिन्छ। शिखर शैलीमा भने तलबाट माथितिर क्रमशः सानो हुँदै चुच्चो पारेर बनाइन्छ। दुवैको टुप्पामा गजुर हालेर टुंग्याइन्छ।
अहिले सबभन्दा पुरानो प्रताप मल्ल पालामा बनेको शिखर शैलीको रानीपोखरीको मन्दिरसहित चित्र देखिन आयो। सन् १८४५ (बिसं १९०२) फेब्रुअरीमा तत्कालीन प्रुसियाका राजकुमार वाल्डमार तिब्बत भई नेपाल घुम्न आएका थिए। उनका साथ आएका कलाकारले बनाएको चित्रमा शिखर शैली देखिन्छ। उक्त चित्रमा रानीपोखरीको स्वरुप र मन्दिर मात्र होइन, पृष्ठभूमिमा स्वयम्भु र नागार्जुन डाँडोसमेत हालकै अवस्थाको देखिन्छ।
यो चित्रलाई उनीभन्दा १ सय २४ वर्षअगाडि नेपाल आएका इटालीका जेस्विट्इपोलिटो डेसिडेरीले तिब्बतबाट भारत फर्कने क्रममा गरेको यात्रा विवरणले पनि पुष्टि गर्छ भन्ने उनै विभागका पूर्वमहानिर्देशक कार्कीले भनेका छन्।
भारतपछि नेपालको बेलायती रेसिडेन्सीमा सर्जन भएर हेनरी एम्ब्रोस ओल्डफिल्ड आएका थिए। उनी सन् १८५० देखि १८६३ सम्म १४ वर्ष नेपाल बसे। सर्जन भए पनि उनलाई भारत आउनुअघि नै चित्रकलामा पारंगत पारेर पठाइएको रहेछ। त्यतिबेला क्यामरा आविष्कार भइनसकेकाले उनले नेपालका सम्पदाहरुको धेरै चित्र आफैंले बनाए। अन्य कलाकारलाई पनि बनाउन लगाए।
नेपालका सम्पदा बिगार्नमा उनले टिप्पणी गरेको पाइन्छ। काठमाडौंको रानीपोखरीबीचको त्यो अत्यन्तै सुरम्य वस्तुलाई जंगबहादुरले सन् १८५१ मा भत्काई इँटा र सिमेन्टको कुरुप संरचना बनाए। जंगबहादुरले बनाएको मन्दिरको तस्बिर वा चित्र पाइएको छैन। तर डा. डिल्लीरमण रेग्मीले तीनतले छाने शैलीको भनेका छन् भने मेरी स्लसरले पनि परम्परागत छाने शैलीको मन्दिर भनेकी छन्। ९० सालको भुइँचालो अगाडिको एउटा तस्बिर फेला परेको छ। डा. रेग्मीले भनेजस्तो छत्रे शैलीको चित्र भने फेला परेको छैन।
काठमाडौंको रानीपोखरीजस्तै भक्तपुर दरबार परिसरको सिंहधाख्वा वा सिंह ढोका पूर्वको लाल बैठक भवन पनि कुन शैलीमा बनाउने भन्नेमा विवाद छ।
बिसं १९१३ मा तत्कालीन गभर्नर धीरशमशेरले भक्तपुर दरबार परिसर मूल चोकको परम्परागत शैलीको आधा भाग भत्काएर बेलायती शैलीमा लाल बैठक भवन बनाए। दरबार परिसरमै त्यो भवन अमिल्दो छ। तर यो बेलायती शैली १०० वर्ष पुरानो भएकाले सोही शैलीमा बनाइनुपर्छ भन्ने पुरातत्व विभागको भनाइ छ। भक्तपुर नगरपालिका भने पुराना भेटिएका तस्बिरका आधारमा नेपाली शैलीमै बनाइनुपर्छ भन्ने अडानमा छ।
नयाँ रुपमा बनाउनुपूर्व यिनै ओल्डफिल्डले बनाएका सन् १९१० र ११ को चित्र हेर्नु उपयुक्त हुन्छ, जसमा परम्परागत शैलीको इँटाको गारो र बुट्टे झ्याल देखिन्छन्। यी अन्य पुराना चित्रमा पनि देखिन्छन्।
यसरी जंगबहादुरको बेलायत यात्रापछि नेपाली परम्परागत शैलीका मन्दिर, भवन आदि भत्काएर बेलायती शैलीमा निर्माण गरियो।
अहिले आएर रानीपोखरीमा धरहराझैं कफी सप लगायत व्यापारिक प्रयोजनमा प्रयोग गर्न खोजिँदैछ। पहिले धरहरामा व्यापारिक काम दिइयो, जसबाट धरहराको सौन्दर्य बढाउने, सुन्धारा संरक्षण गर्ने काम भएन। व्यापारिक रुपमा दुहुने काम मात्र भयो। त्यस्तै उद्देश्य रानीपोखरीमा पनि देखिन्छ। निर्माण कार्यमा परम्परागत विधि, शैली, निर्माण सामग्री प्रयोग गर्नेतिर हाम्रा महानगरपालिका र पुरातत्व विभागले ध्यान दिन सकेनन्।
पुरातत्व विभाग स्वयं पोखरीबीचको मन्दिर जुद्धशमशेर पालाको गुम्बज शैलीमा निर्माण गर्न तम्सिएकोछ। जंगबहादुरले बनाएकोलाई १०० वर्ष पुरानो भनी पुरातात्विक महत्व दिने हो भने पनि १९९० सालपछिको गुम्बज शैली पुरातात्विक होइन। पुरातात्विक महत्वको हुन सय वर्ष पुगेको छैन।
पुरातात्विक महत्वका मन्दिर र सम्पदा पुनर्निर्माण भनेको संस्थापक निर्माताले जस्तो रुपमा बनाएको हो त्यस्तै रुपमा बनाउने हो। मूल रुपमा निर्माण गर्नमा कुनै कठिनाइ भए मात्र नयाँ स्वरुपमा बनाइनुपर्छ। त्यो पनि विज्ञहरुको सर्वसम्मतिबाट विवाद नआउने गरी परम्परागत शैलीमै निर्माण गर्नुपर्छ। रानीपोखरी बीचको मन्दिर स्वरुप भनेको सबभन्दा पहिलो पुरानो चित्र नै हो। अहिले त्यो चित्र सार्वजनिक भइसकेको अवस्थामा पुनर्निर्माणमा दसथरि विचार ल्याउनु उचित छैन।
नयाँ राजनीतिक परिवर्तनपछि युनेस्कोले विश्व सम्पदा सूचीमा राखेको काठमाडौंको रानीपोखरी निर्माणमा विवादै विवाद आएको छ भन्छन्। यो कुरा डेभिड एन गेलनरले आफ्नो लेख ‘अ हेरिटेज फ्लासपोइन्ट’ मा उल्लेख गरेका छन्। उनी बेलायतको अक्फोर्ड विश्वविद्यालय, समाज तथा मानवशास्त्र विभागका प्राध्यापक हुन्।
रानीपोखरीमा विभिन्न ५१ तीर्थस्थलको जल ल्याएको ठ्यासफूमा उल्लेख छ। राजा प्रतापमल्लले पोखरीमा पानी खन्याउनु अगाडि तीर्थयात्रा गरेका थिए। उनको तीर्थयात्रा ई.सं. १६६९ मा भन्ने ठ्यासफू भक्तपुरको राष्ट्रिय कला संग्रहालयमा फेला परेको छ।
पोखरी बीचको विमलेश्वर वा बालगोपालेश्वरको मन्दिर पुरातत्व विभागले बनाउने र अरु काम महानगरपालिकाले बनाउन थालेका थिए। दुवै काममा विवाद आयो। विभागले मन्दिर सिमेन्टको पिलरमा बनाउन थालेको थियो भने महानगरले पोखरी किनाराबाट १५ फिटमा आरसीसी ढलान गरेर पर्खाल लगाउन थालेका थिए।
दुवै काम पुरातात्विक हिसाबले गलत थिए। पानी चुहिन नदिन कंक्रिट प्रयोग गरेको भन्ने महानगरको भनाइ छ।
३४८ वर्षभन्दा अगाडि प्रताप मल्लको पालामा जुन विधि प्रयोग गरेर पोखरी निर्माण गरियो, त्यो विधिमा पानी अडिरहेकै थियो। त्यही विधिमा अहिले पनि पुनर्निर्माण गरिनुपर्ने संस्कृतिविद्हरुको भनाइ छ। भुइँचालोपछि पुनर्निर्माण सुरु नगर्दासम्म पनि पोखरीमा पानी थियो। मौसमअनुसार पानी घटबढ हुनु स्वाभाविक हो।
मल्लकालीन प्रविधिबाट पानीको मुहान कहाँ थियो? पानी के कारणले अडिइरहेको थियो? किन चुहावट भएन भन्नेतिर कसैको ध्यान गएन। महानगरले त स्विमिङ पुल जस्तो बनाउन लागेको थियो।
पोखरीमा सबभन्दामाथि कालोमाटोको सतह बनाइन्छ । त्यहाँमुनि बालुवा हुन्छ । पोखरीमा पानी आउने र पानी जाने फरकफरक इनार हुन्छन् । पुरातत्त्वविद् सुदर्शनराज तिवारीका अनुसार पोखरीमा विभिन्न सातवटा इनार छन् । पानी आउने इनार पनि छन् । पोखरी सफा गर्ने इनार पनि छन् । पोखरीबाट पानी वितरण गर्ने पनि इनार छन् । तीनधारा संस्कृत छात्रावास, सुन्धारा र भोटाहिटीमा यहाँबाट पानी जान्थ्यो।
कालोमाटो थलथले हुन्छ। थलथले माटो पानी परेपछि ढाडिन्छ। ढाडिएपछि पानी कतै जाँदैन। रोकिन्छ।
‘पानी भएन भने पटपटी फुट्छ,’ पुल्चोक इन्जिनियरिङ कलेजमा ऐतिहासिक आर्किटेक्टका प्राध्यापक समेत रहेका तिवारी भन्छन्, ‘पानी हाल्यो भने फुल्छ। यही बुझेर ढुंगेधारा, पोखरी, इनार बनाउँदा कालोमाटो प्रयोग गरिएको हो।’
यो कुरा नबुझेर वा बुझ्न नचाहेर रानीपोखरीमा आधुनिक प्रविधि प्रयोग गरियो। आधुनिक निर्माण सामग्री राखियो। अब संरक्षणको नियमअनुसार जानुपर्छ। संरक्षणको नियम भनेको प्राचीन प्रविधि भए त्यही प्रयोग गर्नुपर्छ। प्राचीन निर्माण सामग्री प्रयोग भएको छ भने त्यही प्रयोग गर्नुपर्छ। र, आकार पनि प्राचीन नै हुनुपर्छ।
वरिष्ठ योजनाविद हार्वार्ड विज्ञ प्रा.डा. भरत शर्मा रानीपोखरी पुनर्निर्माण विवादलाई सम्पदामाथिको उपहास भएको बताउँछन्। नेपाली ज्ञान, सीप र क्षमता प्रयोग गरेरै सम्पदा निर्माण गर्न सकिने बताउँछन्।
भक्तपुरको सिद्धपोखरी जमिन वा सडक सतहभन्दा १२–१५ फिट उचाइमा छ। दुई दशकअगाडि त्यो पोखरी सुकेपछि भक्तपुर नगरपालिकाले मर्मत गरेको थियो। अहिले पानीले भरिएको छ। माछा पालिएको छ। अति सुन्दर छ।
त्यहाँ कंक्रिट ढलान नगरीकनै जमिन सतहभन्दा माथिको पोखरीमा पानी अडेको छ भने रानीपोखरीमा किन अडाउन सकिँदैन?
रानीपोखरी निर्माणकै सन्दर्भमा मूल ढोका ताल्चा लगाउने र ताल्चा फुटाउने काम समेत भए। विवाद ल्याउने, गर्ने दुवैथरिको उद्देश्य त रानीपोखरीलाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने नै होला। तर राजनीतिक र अन्य आर्थिक स्वार्थले यस्ता विवाद प्रकाशमा आएर छताछुल्ल हुन्छन्। सरसल्लाह, सहमतिबाट विवाद अन्त्य गर्न सकिनेतिर कमै लागिन्छ।
बालगोपालेश्वर मन्दिरबाहेक रानीपोखरीको अन्य निर्माण
हाल रानीपोखरी जुन रुपमा बचेको छ त्यो रुपमा नै पुनर्निर्माण गरिनुपर्छ। हात्तीपाटी र पोखरीको चारैतिरको सरकारी र सार्वजनिक परिवेशलाई पोखरीकै गुरुयोजनामा चरणवद्धरुपमा काम गर्नुपर्छ। रानीपोखरीको पानी श्रोत विभिन्न कारणले सुकेकाले अब पुरानै स्रोत फेला पार्न सकिँदैन। पानी राखेपछि चुहिन नदिन परम्परागत शैली र विधि अपनाउनुपर्छ।
पोखरीमा आकाशे पानी र सतहको सफा पानी जम्मा गर्ने प्रवन्ध गरिनुपर्छ। २०३३ सालतिर वर्षामा रानीपोखरीको पानीको सतह बढेकाले निकास फेला पार्न सकिएन। त्यसपछि त्यतिबेलाको नगर विकास समितिले बढी भएको पानी बाहिर पठाउन दक्षिण पश्चिमा कुना अर्थात् सोह्र हाते गणेशको पूर्वपट्टिबाट ह्युम पाइपको ढलबाट रत्नपार्कको हालको भूमिगत मार्गको पूर्वपट्टि पुरानो ढलमा जोडेको छ।
त्योबेला ढल निर्माणमा संलग्नहरु इञ्जिनियर हेमन्त अर्ज्याल लगायत हुनुहुन्छ। मुख्यतः पानी जमीनुमनि चुहिएर पनि नजाने, चारैतिरबाट पनि नचुहिने प्रविधि अपनाइनुपर्छ। कति तहमा कालो माटो लगायत कस्तो माटो प्रयोग भएको थियो भन्ने अझै पनि हेर्न सकिन्छ। रानीपोखरी एउटा संरचनामात्र होइन, यो पोखरीसँग मल्लकालीन पोखरी निर्माण शैली र काठमाडौंको पानी वितरण प्रणालीको पहिचान जोडिएको छ।
रानीपोखरीको अन्य भाग निर्माण गर्दा कफी सप र व्यापारिक पसल बनाउनेतिर सम्बन्धितको ध्यान केन्द्रित भएको देखिन्छ। उनीहरुले बुझ्नुपर्यो, पुनर्निर्माणपछि प्रवेश टिकट लगाए आम्दानी भइहाल्छ। आम्दानी नाममा सम्पदालाई भद्दा व्यापारिक प्रयोग गरेर मौलिकता नष्ट गर्नु उचित हुँदैन।
रानीपोखरी निर्माण सेनालाई दिने विवाद
सम्पदा निर्माण सेनालाई दिने भनी महानगरका मेयर, मन्त्रीहरुसमेतको बैठकबाट सुझाएको देखिन आयो। भुइँचालोको तीन वर्षपछि पनि रानीपोखरी, धरहरा लगायत सम्पदा पुनर्निर्माण गर्न नसकेपछि लाज पचाउन यस्तो सोचाइ आएको हो। ९० सालको भुइँचालोपछि राणकालमा २ वर्षमै धरहरा खडा गरिएको थियो। गणतन्त्रमा भने झगडा गर्दैमा समय बितिरहेको छ। यही झगडाले सेनालाई सुम्पने विचार प्रवाह भयो।
रानीपोखरी निर्माणमा ३ करोड दस लाख रुपैयाँभन्दा बढी खर्च भैसकेको छ। सम्पदा पुनर्निर्माणमा हानथापमै ३ वर्ष बितिसकेको छ। यो विवादै विवादबीच सेनालाई जिम्मा लगाउन पाए रानीपोखरी समयमै निर्माण गर्न सकिने र विवादबाट बचिने भन्ने पदाधिकारीहरुको सोच छ।
बाढी, पहिरो, भुइँचालो लगायत दैवी प्रकोप वा संकट पर्दा, सामान्य रुपमा सरकारी यन्त्र प्रयोग हुन नसक्दा सेना र शसस्त्र प्रहरीलाई प्रयोग गर्ने हो। त्यसका लागि ती संस्थालाई डोजर, एक्स्काभेटर आदि हेभी इक्विपमेन्ट र जनशक्तिका लागि देशका विभिन्न स्थानमा केन्द्र राख्न पर्याप्त बजेट सरकारले दिनुपर्छ। ०७२ को भुइँचालो र जुरेको पहिरोपछि कोदारी राजमार्ग खोल्न नसकिएकोतर्फ सरकारको ध्यान जानु पर्ने हो। यी निकाय दैवीप्रकोप उद्धार गर्न सक्षम हुन सरकारकै पूर्ण सहयोग र संलग्नता हुनुपर्छ। सेनालाई रानीपोखरी निर्माणमा सहभागिता गराउने सम्बन्धमा केही विवाद सतहमा आइसकेको छ। अझ त्योभन्दा पनि महत्वको प्रश्न राजधानीकै भक्तपुरमा पुरातात्विक महत्वको रानीपोखरी नै सेनाको कब्जामा छ। त्यतातिर न सरकार, न स्थानीय सरकारकै ध्यान गएको छ।
भक्तपुरका राजा जगज्योर्ति मल्लले ने.सं.७५० अर्थात् १६८७ सालमा (३८८ वर्ष पहिले) भक्तपुर टुँडिखेलको पश्चिममा न्हु पुखः अर्थात् रानीपोखरी तयार पारेका थिए। सिद्धपोखरीभन्दा पश्चिमपट्टि ठूलो फराकिलो टुँडिखेल रहे पनि पुछारमा यो पोखरी बनाइयो। खुला ठाउँ टुडिखेल अतिक्रमण नगरिकन मल्ल राजाले कति बुद्धि पुर्याएर यो पोखरी बनाएछन्।
जबकि अहिले पोखरीको पूर्वपट्टि टुँडिखेलमै सेनाले स्वीमिङ पुल, बास्केट बल, भलिबल आदि कोर्ट बनाएको छ। सैनिक महाविद्यालयका भवनले सार्वजनिक खुला ठाउँ भरिएका छन्। ०७ सालपछि सैनिक ब्यारेक र हाल सेनाको उच्च माध्यमिक विद्यालय भवन, कार्यालय, विद्यार्थी र शिक्षक आवास भवन, खेल मैदान, पौडी पोखरी आदिमा परिणत गरी यो पुरातात्विक पोखरीसमेत कब्जामा छ। हामीले केटाकेटीमा खेल्ने गरेको भक्तपुरको टुँडिखेलमा नागरिक प्रवेश निषेध छ।
काठमाडौंभन्दा ४० वर्ष जेठो भक्तपुरको पुरातात्विक रानीपोखरीकै बिजोग पार्ने सेनालाई काठमाडौंको रानीपोखरी निर्माण गर्न दिनु कहाँसम्म उचित होला विचारणीय छ। सम्पदा निर्माणमा सेनाको कुनै अनुभव छैन, ठेकेदारबाट नै बनाउन लगाउने हो। आफ्नो कमजोरी लुकाउन सेना गुहार्नु उचित होइन।
भक्तपुर नगरपालिका सम्पदा निर्माणमा सक्षम
उपत्यकाका नगरपालिकामध्ये सम्पदा पुनर्निर्माणमा भक्तपुर नगरपालिका उम्दा छ। यो कुरा काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले नै स्वीकार्नु भएको छ।
भक्तपुरले उपभोक्ता समितिबाट पहिले नै पाँचतले मन्दिर, भैरव मन्दिर र ५५ झ्याले दरबार अमानतमा निर्माण गराइसकेको छ। जुन अनुमानभन्दा धेरै कम लागतमा सकियो।
परम्परागत शैली र निर्माण सामग्री प्रयोग र उच्चकोटीको कामका कारण काठमाडौंको पशुपतिनाथ, महीन्द्रमल्लको पालामा बनेको तलेजु भवानी, वसन्तपुरको श्रीखण्ड तरमुल विहार, पञ्चदानबाट जीर्णोद्धार गरिएको बज्रश्री महाविहार, भक्तपुरको पाँचतले, दत्तात्रय र पशुपति मन्दिरका साथै ५५ झ्याले दरबार २०७२ को भुइँचालोमा पनि बचे। अहिले पनि सिद्धीलक्ष्मीको ढुंगे मन्दिर, बत्सला, केदारनाथ आदि पुरानै शैली र परम्परागत निर्माण सामग्री प्रयोग गरेर भक्तपुर नगरपालिकाले पुनर्निर्माण गरिरहेको छ।
काठमाडौं महानगर र पुरातत्व विभागले रानीपोखरी र बालगोपालेश्वर मन्दिर परम्परागत शैली र निर्माण सामग्री प्रयोग गरेर बनाउन नसक्ने हो भने भक्तपुर नगरपालिकालाई जिम्मा लगाइदिए हुन्छ। निर्धारित समयमा काम पनि सकिनेछ।
नभए काठमाडौंको सम्पदा रानीपोखरी र बालगोपालेश्वर मन्दिर परम्परागत शैली र तरिकामा छिटो निर्माण सक्न सबै एकजुट हुने बेला आएको छ।
(लेखक पूर्वन्यायाधीश हुन्।)
यो पनि हेर्नुहोस्