प्राध्यापक शब्दको व्युत्पति गर्ने हो भने
'प्रकर्षेण अध्यापयति इति प्राध्यापकः' भन्ने अर्थ देखिन्छ। त्यसको तात्पर्य के हुन्छ भने प्राध्यापकले उत्कृष्ट तरिकाले विध्या अभ्यास गराउँछन्। यहाँ उत्कृष्टको धेरै गहिरो तात्पर्य हुन्छ – यथार्थ ज्ञानलाई यथार्थताको सकेसम्म निकट रही अध्यापन गर्नु। त्यसैले प्राध्यापकमा शुद्ध शैक्षिक प्रमाणपत्रको अलावा विद्यामा पारंगत हुनु, शोध अध्ययन गर्नु गराउनु जस्ता धेरै गुणकासाथै नैतिक मूल्य, इमान्दारिता, शिक्षापरक व्यक्तित्व इत्यादि तमाम पक्षहरुको पनि अति नै आवश्यकता हुन्छ। त्यसैले भन्न सकिन्छ कि – प्राध्यापक एक निष्ठावन् ब्यक्ति हो जसले विश्वविद्यालयको विभिन्न निकायामा विभिन्न पदहरु धारण गर्दै आफ्नो उपाधि अनुसार विश्वविद्यालयमा शिक्षण गर्ने गर्दछ। त्यसो हुनाले ऊ एक प्राज्ञिक ब्यक्ति हो जसलाई सारा संसारले विश्वास गर्दछ। प्राध्यापक एक मर्यादित पद पनि हो जसले समाजको परिवर्तनमा अग्रिम भूमिको खेलेको हुन्छ।
प्राध्यापकको अर्को मुख्य काम अनुसन्धान गर्ने, अनुसन्धान गराउने र आविष्कारहरू गर्ने हो भनेर बुझ्ने व्यक्तिहरूहाम्रो देशमा धेरैनै कम छन्। प्राध्यापकको सुपरिवेक्षण विना न त स्नातोकत्तरको शोधपत्र, न त विध्यावारिधिको शोधपत्र विद्यार्थीहरुले तयार पार्न सक्छन्। प्राध्यापकको काम शिक्षण मात्रै गर्ने हो भन्ने बुझाई भएकाले पनि हुन सक्छ कि त्रि. वि. का धेरै जसो क्याम्पसहरुमा प्राध्यापकहरू एकैपटक जम्मा भएको खण्डमा बस्ने कुर्सीहरु पुग्दैनन्। यिनै कुरा अन्य मुलुकका विश्वविद्यालयमा धेरै नै फरक हुन्छन्। त्यतातिरका विश्वविद्यालयमा प्राध्यापकहरुले यी सबै काम - शिक्षण गर्ने, अनुसन्धान गर्ने, अनुसन्धान गराउने र आविष्कारहरू गर्ने गरिराखेका हुन्छन्। त्यसको लागि प्राध्यापकहरुलाई सबै किसिमको सुविधा उपलब्ध गराइएको हुन्छ। यो भएन, यस्तो हुनुपर्ने थियो भन्नेजस्ता किसिमका गुनासाहरु त्यतातिर धेरै नै कम सुनिने गर्छ।
हामीकँहा प्राध्यापकको पीर मर्का सुनी उक्त पीर मार्का सम्बन्धित ठाउँमा संगठित रुपमा पुर्याउने प्राध्यापक संघ छ। यँहा संघ हैन संघहरु छन् भन्दा पनि अतिशयोक्ति हुँदैन। अझ प्रत्येक राजनीतिक पार्टीका आ-आफ्ना प्राध्यापक संघहरु छन् भन्दा पनि फरक नपर्ला। तर पनि तिनीहरुको मुख्य काम प्राध्यापकहरुका जाहेज समस्याहरुको विषयमा केन्द्रित भएर देशको प्राध्यापनको गुणस्तर, राज्यको लागि विभिन्न शैक्षिक विधाका जनशक्ति के कति र कस्ता योग्यताका चाहिने हुन् र तदनुसारका शिक्षाप्रणाली के-कस्तो हुनुपर्ने हो, प्राज्ञिक तहमा कार्य गर्दाखेरिका प्राध्यापकहरुका शिक्षणसम्बन्धी कठिनाई के के देखिएका छन्, अनुसन्धान गर्दा वा गराउँदाका स्रोतसाधन, प्रयोगशाला, अनुसन्धानकेन्द्र, आवश्यक बजेट, लगायतका विभिन्न सम्बन्धित पक्षहरुमा के कस्ता कठिनाईहरु छन् र तिनीहरुको समाधान गर्न राज्यलाई कसरी सुझाउने, स्वयं प्राध्यापककै वेतन र सुविधाका अवस्थाहरु कस्ता छन् र पीडा एवं कठिनाईहरु के के भोग्नुपरेको छ र त्यसको समाधानका उपाय के के हुनसक्छन् भन्नेजस्ता कुरामा अग्रसरता लिनुपर्नेमा तिनीहरुको काम आफ्नो राजनैतिक आस्थाको सरकारलाई सघाउने चरित्रको मात्र देखिएको छ। त्रिभुवन विश्वविद्यालयको हकमा हेर्ने हो भने केन्द्रीय क्याम्पसहरु र स्नातोकत्तर अध्ययन गराइने क्याम्पसहरुमा केही मात्रामा अनुसन्धान भएका छन् तर अन्य क्याम्पसहरुमा यो पनि ज्यादै न्यून छ।
त्रिभुवन विश्वविद्यालयको सन्दर्भमा प्राध्यापकहरुको पदपूर्तिको विज्ञापन नियमित छैन। उप-प्राध्यापक, सह-प्राध्यापक र प्राध्यापक गरी तीन तहका पदहरु यस विश्वविद्यालयमा छन्। त्रिभुवन विश्वविद्यालय नेपालको सबभन्दा जेठो विश्वविद्यालय हो भने देशभरि आंगिक क्याम्पसहरु समेत भएको विश्वविद्यालय पनि हो। यस विश्वविद्यालयका प्राध्यापक साथै कर्मचारी सिफारिस गर्ने त्रि. वि. सेवा आयोग छ। उप-प्राध्यापकको लागि लिखित परीक्षा, अन्तर्वाता र आफूले गरेको अनुसन्धानको कीर्ति, आफूले लेखेको पुस्तक आदिको मूल्याङ्कनको आधारमा उप-प्राध्यापक सिफारिस गर्ने गरिन्छ। सह-प्राध्यापक र प्राध्यापकको पदपूर्तिका लागि लिखित परीक्षा लिने गरिँदैन।
लिखित परीक्षा लिने चलन आजभोलि संसारका धेरै विश्वविद्यालयमा हराइसक्यो। उमेद्वारले गरेको अनुसन्धानको कीर्ति, अनुसन्धानको स्तर, सुपरिवेक्षकबाट गरिएको सिफारिसको आधारमा विश्वविद्यालयहरुले प्राध्यापकहरु नियुक्त गर्ने गर्दछन्। मूल्याङ्कनको मुख्य आधार विद्यावारिधिपछि गरिएको अनुसन्धानलाई बनाइन्छ। विश्वविद्यालयमा एकपटक नियुक्ति भइसकेपछि व्यक्तिले गरेका कार्यहरुको आधारमा क्रमशः बढुवा गर्दै जाने चलन धेरै जसो विश्वविध्यालयमा भइसक्यो। त्री. वि. ले गरेको विज्ञापन हेर्दा एउटै विज्ञापनको एक विषयको उमेद्वारको सिफारिस भएको बर्ष दिनपछि मात्र अर्को विषयको सिफारिस भएको स्थिति पनि कहिले काँही देखा पर्दछ। के यति झन्झटिलो तरिकाले पदपूर्ति गर्नु आवश्यक छ र ?
त्रि. वि. ले उप-प्राध्यापकको लागि चाहिने योग्यता स्नातोकोत्तर हुनुपर्ने भन्ने गराएको छ। हाम्रो देशको परिस्थिति अनुसार पहिले ठीकै भएजस्तो देखिएता पनि अब बिस्तारै यसमा परिवर्तन गर्नु वान्छनीय भैसकेको छ। किनभने स्नाकोत्तर मात्रै भएको प्राध्यपकले स्नातक-स्नातोकोत्तरका शोधकृतिहरुको सुपरिवेक्षण गर्न गाह्रो हुनु स्वाभाविकै हुन्छ। अर्को कुरा आन्तरिक बढुवाको लागि वर्षौं लगाएर लिने अन्तर्वाता प्रक्रिया अनि त्यसको आधारमा संसारकै नियमानुसार उसलाई क्रमशः बढुवा गर्दै जाँदा झन्झटिलो अन्तरवार्ता प्रक्रिया अनि त्यसलाई लाग्ने समयको छुटकारा मिल्नसक्थ्यो। बढुवा हुन चाहनहरुले पनि नियमितरुपमा अनुसन्धान गर्थे, शिक्षण पनि राम्रो हुन्थ्यो र विकसित देशहरुमा जस्तै अनुसन्धान गर्ने, अनुसन्धान गराउने, शिक्षण गर्ने यी सबै कुरा सँगसँगै राम्रोसँग अघि बढ्थ्यो।
अहिले त्रि. वि.का प्राध्यापकहरुको लागि चाहिने योग्यतामा परिमार्जन हुनुपर्दछ भन्ने हल्ला चलेको छ। कतिपयले के पनि भन्ने गरेको भेटिन्छ भने अनुसन्धानात्मक कृतिमा हाल भैराखेको अंक-भारलाई कम पारिने, विद्यावारिधि हुँदा दिइने अंकभन्दा स्नातकोत्तरमा दिइने अंकलाई बढाउने, पुस्तक लेखिएकोमा कुनै पनि अंक नदिइने शोधपत्रको सुपरिवेक्षणमा कुनै पनि अंक नराख्ने लगायतका परिमार्जनहरु हुँदैछन् रे। यद्यपि यो हल्ला अहिले रे रे मै छ र विश्वविद्यालयका जिम्मेवार पदाधिकारीहरु स्वयं नै प्राध्यापकहरु नै भएकाले यस्तो अप्राज्ञिक एवं राष्ट्रको शैक्षिक इज्जतलाई विश्वको सामु गिराउने र विश्वविद्यालयकै बेइज्जत हुने खालका नकारात्मक परिमार्जनहरु गरिन्छन् होला भन्ने त लाग्दैन, तै पनि हाम्रो यो मुलुकमा असम्भव भने हुँदैन।
यदि यसरी योग्यतामा परिमार्जन गरेमा विश्वविद्यालयको प्राध्यापनसमयसापेक्ष एवं गुणस्तर युक्त हुँदैजाला भन्ने विश्वास गर्न सकिन्छ र ? शोध-अनुसन्धान, तिनीहरुको सुपरिवेक्षण, शोधपत्र, अनुसन्धानात्मक कृति जस्ता कुराहरुमा लाग्न र त्यसमा लगनशील हुन समय-श्रम धेरै लगानी गर्नुपर्छ र शिक्षणको गुणस्तर पनि त्यस्ता अभ्यासहरुबाट मात्र बढ्दै जान्छ। यदि मूल्याङ्कनमा यी पक्षहरुलाई कम महत्वको ठान्ने र केवल स्नातकोत्तर तहको प्रमाणपत्रलाई बढी महत्व दिइने हो भने अझै पनि विश्वविध्यालयको शैक्षिक वातावरण विशुद्ध प्राज्ञिक चरित्रको हुनुभन्दा पनि बढी राजनीतिक र प्राशासनिक चरित्रको हुने खतारा निम्तिन पुग्छ जसको शिकार नेपाल संस्कृत विश्वविद्यालय भइरहेको देखिएको छ र त्रिभुवन विश्वविद्यालय पनि त्यसबाट पूरै अछुतो त छैन, जब कि समय धेरै अगाडि बढिसकेको छ र आफ्नो छविलाई नेपालका विश्वविद्यालयहरुले छिमेकी मुलुक र विश्वकै सामु पनि तुलनीय बनाउँदै जानु अपिरिहार्य हुन्छ।
हाम्रो देशको परिस्थिति अनुसार त्रि. वि. का प्राध्यापकहरुको लागि चाहिने योग्यतामा परिमार्जित हुनु ठिकै जस्तो नदेखिएको पनि होइन। फेरि अर्को कुरा त्रि. वि. केन्द्रीय क्याम्पसहरू देखि बाहेक शोधपत्रहरु सुपरिवेक्षण गर्ने मौका अन्य क्याम्पसहरूका शिक्षकहरुले अति नै कम पाउँछन्। तर यो भन्दैमा माथिको अनुच्छेदमा उल्लेख भए जस्तै गरी नै त्रि. वि. प्राध्यापकहरुको योग्यतामा परिमार्जित गरिएमा प्राध्यापकको परिभाषा साथै प्राध्यापक के को लागि हो भन्ने प्रश्न उब्जेला कि।