कालो माछापुच्छ्रे


एक दिन बिराई दुईटा महानगरमा हुने कार्यक्रम भ्याउन दौडेर पुग्थेन। जहाजको टिकट मोबाइलमा सेभ गरेँ।

विमानस्थल पुग्दैमा उडिने होइन। जहाज थपिए, व्यावसायिकता बढ्यो, सूचना सञ्चारको क्रान्ति भयो भनेको होइन रहेछ। तपाईँलाई कसैले समयमा सही सूचना दिँदैन।

आकाश सफा भएको अपरान्ह जहाजलाई कति हतार होला, कति उडान भर्नुपर्ने होला, हाम्रा लागि एकैछिन पनि पर्खिँन भ्याउँदैनन् भनेर हामी दुई भाइ छट्पटिँदै त्रिभुवन विमानस्थल पुगेका थियौँ। नेपाल वातावरण पत्रकार समूह (नेफेज)का महासचिव रमेश भुषाललाई म भर्खर भर्खरै चिन्दै थिएँ। सहयात्रा त पहिलोपल्ट।

विमानस्थल भनेको पर्खिने ठाउँ। केहीबेरको वियाँलोपछि बुद्ध एयरको काउन्टर खुल्यो। हामी सुरूकै लाइनमा उभिएकालाई चिट्टा परेसरह भयो। काउन्टरवालाले भने, ‘तपाईँहरू एक घन्टा अगाडिकै फ्लाइटमा जान चाहनुहुन्छ भने दुईटा सीट खाली छ।’

‘अब उडिहाल्छ?’

‘हो, भित्र गइहाल्नुस्,’ उनले हौस्याए।

पोखरा जाने भनेको लेकसाइड। फेवा किनार रमरम साँझ पर्नुपहिल्यै पुग्न पाइन्छ भने हामीले आपसमा सल्लाह गर्नै पर्थेन। पर्खेर बस्नुभन्दा फ्याट्ट उडिहाल्नु वेस।

सामान र शरीर जँचाइवरी बोर्डिङ पासमा सुरक्षा छाप ठोकेपछि विदाइ कक्षतिर हुत्तियौँ। विदाइ कक्ष यात्रुहरूका कुम ठोक्किने गरी व्यस्त थियो। हामी फुत्त उड्न ढोकामै पुग्यौँ। त्यसरी फुत्त उड्न ढोकामै पुग्नेहरू पहिल्यैदेखि तारन्तार उडान तालिकाको हेरफेर बुझ्न खोज्दै रहेछन्।

कुनै सहरमा ठूलै कार्यक्रम छ भने पहिलो भार स्वतः त्रिभुवन विमानस्थलमा पर्छ। तुजुकदार आयोजक परे त चार्टर्ड फ्लाइटहरू तम्तयार भइहाल्छन्। लायन्स क्लबले गिनेचुनेका सय जनालाई भोलिपल्ट पोखरामै रथ यात्रा गराउँदै रहेछ। रथ चढ्न खुट्टा उचाल्दै विमानस्थलभित्र ओहोरदोहोर गरिरहेकाहरूका चालामाला हेर्न हामी अल्मलिएका के थियौँ स्क्रिनबोर्डमा विमानहरूका तालिका माथितल तलमाथि पर्न थाले।

खुट्टा उचाल्नेमध्येका उद्योगी व्यवसायी चन्द्रप्रकाश ढकाल एउटा कुनामा योजना आयोगका पूर्वउपाध्यक्ष जगदीशचन्द्र पोखरेलसँग विना योजना बात मार्दै थिए। त्यसो त विमानस्थलका विदाइ कक्षमा कसैका भेटघाटका पूर्व योजना हुँदैनन्। ढकालले हामीलाई कफी अफर गर्ने तात्कालीक योजना बुने। मैले भनेँ, ‘कफीको पछि लाग्दा फ्लाइट छुट्ला, हामी त ढोकातिरै उभिन्छौँ।’

जति उभिए पनि फ्लाइट डिलेको कानेखुशी कम भएन। छिटो उड्ने भनिएको जहाजले साविककै समय लिने भयो। अघिसम्म चिट्ठा परेको ठानेर गम्किएका हामीलाई अझै एकप्रकारले चिट्ठै परिरहेको थियो किनभने साविकको टिकटको उडान त झन् ढिलो हुने निश्चित थियो।

खासखुस, घुसघुस बुझ्दै जाँदा, हामीले झैँ शीघ्र उडानको बोर्डिङ पासरूपी चिट्ठा पाउने अरू पनि रहेछन्।

पल्लोपट्टि उभिएका ढकालको मोबाइल व्यस्त हुन थाल्यो। जता हेर्यो रथ चढ्ने अनुहार देखिन थालेकै बेला हाम्रो बोर्डिङ पासलाई बोलावट भयो। बस चढेर जहाज रोकिएतिर गुड्यौँ। जहाजको भर्याङनेर पुर्याएपछि जुरूक्क उठ्न लागेका के थियौँ, बस ड्राइभरले रोके, ‘एकछिन नझर्नोस् है।’

खोलिसकेको ढोका पनि उनले बन्द गरिदिए। केहीबेर बसमा अड्किएपछि एकजना कर्मचारी पसेर टेलिभिजनको संक्षिप्त समाचारको तालिम पाएझैँ छुचो प्रसारण गरे, ‘पोखरामा पानी पर्न थाल्यो।’

देशको सबभन्दा वेसी पानी पर्ने सहरमा कुन खबर भयो त? उनले फेरि भने, ‘चार्टर्ड फ्लाइट पनि बीचबाटै फर्कियो।’

मौसम सुध्रिनेबित्तिकै फेरि बस चढाएर त्यही भर्याङनेर ल्याइपुर्याउने वचनसाथ उनले हामीलाई पुनः विदाइ कक्षतिर फर्काइदिए। विदाइ कक्षभित्र चिनेजानेको हूलमा हामी पनि रथ चढ्न आतुरवाला देखिने डर बढ्दै गयो। ढोकाछेऊ उद्योगी व्यवसायी ढकालले फेरि कफी प्रस्ताव गरे। हामीले रूचिअनुसारका फर्मायस गर्यौँ। तर आफ्नो गच्छेअनुसार फुर्मास गर्न पाएनौँ।

रमेशले ‘हामी आफ्नो तिर्छौँ नि’ भन्दै एउटा नोटको चोसो तेर्स्याउन खोज्दानखोज्दै ढकालले दुई बित्ता उफ्रेर तिर्न भ्याइसकेका थिए। मानौं, जसले बढी कमाउँछ उसैले तिर्छ। कमाइको तुलना गर्ने हो भने त उनको अगाडि हाम्रो एक छेऊ के एउटा रौँ पनि पक्कै पुग्ने छैन।

उनले रथारोहणको पूर्वसन्ध्यामा हामीसँग कफीमा खुशियाली साट्छन् भने के भयो र भन्दै चित्त बुझायौँ।

कफीको दनकपछि हाम्रो कन्सिरी तनक्क हुन थाल्यो। छ बजेपछि पोखरामा कुनै विमान अवतरण गर्दैन। काठमाडौं फर्किन नभ्याउने विमान जाँदा पनि जाँदैन। विमानहरू प्रायः सबै राति बास बस्न काठमाडौं फर्किन्छन्। काठमाडौंमै नेपालीहरूको शक्ति छ। बाहिर शक्ति विस्तार गर्न त्यति सजिलो छैन। संघीयताको बिजनेस पनि काठमाडौंले दिने हो। काठमाडौंले नै कर्मचारी अड्कलेर बाहिर पठाउने हो, पैसा तौलेर बाहिर तैर्याउने हो।

पोखरामा पत्रकार, शिक्षक, विद्यार्थी भेला पारेर भोलि बिहानै वातावरण अभिमुखीकरण कक्षा गर्न खोजेका सहयात्री रमेशले मलाई जाँचिसकेका थिए, ‘गाडीमा जानुपर्ला कि त ?’

अब दुई चार मिनेटमै उड्न पाइएन भने पोखराका सबै उडान रद्द हुनेछन्। यात्रुहरूको घर फर्क अभियान सुरू हुनेछ। ढकाल र पोखरेलले भोलि बिहान फेरि आउनुपर्ने भयो भन्न थालेपछि मैले पनि उनीहरूलाई जाँचेँ, ‘पुच्छर लुकाएर किन फर्किनु ?’

उनीहरूले हामीलाई हेरे। ‘हामी त गाडीमा जाने सोच्दैछौँ,’ मैले भनेँ। पोखरेल आकर्षित भएनन्, ढकालले दोमन गरे।

मध्यरातसम्म त पुगिहालिन्छ भन्दै रमेशले आफ्नो अफिसको गाडीलाई फोन लगाए। आजका सबै उडान रद्द भन्दै एयरलाइनका कर्मचारीले बोर्डिङ पासमा टिक् लगाउन थालेपछि हामी बाहिर निस्क्यौँ। ‘गाडीमा एउटा सीट छ, हामीलाई कफी अफर गर्नेलाई कारको अफर गरौँ कि ?’ मैले रमेशलाई जाँचे।

विदाइको हात मिलाउन जाँदा ढकालले भने, ‘म पनि गाडीमै जाने भएँ।’

‘हाम्रोमा एउटा सीट छ,’ मैले भनेँ।

‘मेरो पनि गाडी तयार छ,’ उनले भने, ‘मेरैमा जाऊँ न, हुन्न ?’

मैले रमेशलाई हेरेँ। रमेशले मलाई हेरे। ऐना हेरेजस्तो भयो।

झोला लिएर बाहिर निस्केपछि हाम्रासामुन्ने एउटा एसयुभी तैनाथ भइसकेको थियो। नीलो प्लेट। हामीलाई सवारी अफर गर्ने व्यवसायीसँग अवैतनिक महावाणिज्यदूतको पगरी भएको बल्ल झल्याँस्स भयौँ। धन्य, झण्डा फहराउने डण्डी छोपिएको थियो।

अवैतनिक महावाणिज्यदूत अगाडि बसे। हामी दुई भाइछेऊ एकजना पर्वते व्यवसायी पनि थपिए। रमेशले परिचय गरे, ‘म पनि पर्वतकै हुँ।’

‘हामी सबै एकै भेगतिरका परेछौँ,’ ढकालले भने, अनि ड्राइभरतिर फर्केर सोधे, ‘हामीले त अहिल्यै पोखरा जाने निधो गर्यौँ, तिमीलाई मिल्छ ? केही अप्ठ्यारो छ कि ?’

गाडी चल्न थालिसकेको थियो। उनले फेरि सोधे, ‘तिमीलाई घरायसी अप्ठ्यारो छ भने भन है। घरमा खबर गर्यौ त ?’

विमानस्थलबाट हामी सिनामंगलतिर तेर्सियौँ। उनले फेरि ड्राइभरलाई सोधे, ‘श्रीमतीलाई भन्यौ ? तिमीलाई केही समस्या त छैन नि ?’
‘फेरफार गर्न भित्री लुगा छैन,’ ड्राइभरले मुख फोरे।

हामी त्रिपुरेश्वर हुँदै कलंकी निस्कने बेलासम्म ढकालले पनि परिवारलाई जनाऊ दिए। साथीभाइलाई भने। उनका दुईटा मोबाइल एकपछि अर्को व्यस्त हुने रहेछन्। मानौँ आजको नेपालमा बिजनेस म्यानसँग दुबै हातमा मोबाइल जरूरी छ। कल मिस जान दिनु हुँदैन। एउटै कल मिस जानु भनेको एउटा अवसर गुम्नु हो।

रमेश बिजनेस म्यान होइनन्, त्यसैले एउटा मोबाइल लिएका छन्। उनी पनि एउटै कल मिस गर्दैनन्। उनी वातावरण म्यान हुन्। फोन रिसिभ गर्न उनी ढकालसँग प्रतिस्पर्धा गर्दैछन्। कहाँ पुगियो, कति खेर गन्तव्यमा पाइला टेकिएला ? छिनछिनको अपडेट गर्नमै उनी पनि व्यस्त भएको झोक फेर्न मैले भनेँ, ‘एकजनालाई एकपल्ट भनिदिएपछि सबैले थाहा पाउने प्रबिधि कुनै दिन त आउला, हगि ?’

कलंकीदेखि नागढुंगासम्मको खण्ड जहिल्यै जाम हुने र सडक कहिल्यै तन्दुरुस्त नहुने। बनाउने, भत्काउने, पुर्ने त हाम्रा सहरी सडकका नित्यकर्म नै हुन्। ‘यो सडक किन सधैँ यस्तो छ ?’ मैले ढकाललाई लक्ष्य गर्दै सोधेँ, ‘तपाईँलाई के लाग्छ किन हाम्रो विकासको गति यस्तो ?’

हामी चढेको गाडी केही पर पुगिसकेको थियो। उनले एउटा कल लिए। केही बोल्न मुख बाउँदै थिए, अर्को कल आएछ। मैले फेरि कोट्याएँ, ‘तपाईँको अनुभवमा हाम्रो देशको काम गराइ के हो ?’
‘काम नगर्ने हो,’ उनले भने, ‘काम नगराउने पनि हो।’

अरू केही भन्छन् कि सोचेर पर्ख्यो, उनी रोकिए। नेपालको आजका चल्तापुर्जा उद्योगी व्यवसायी अल्पभाषी रहेछन्। फेरि प्रसंग उप्काएपछि उनले वायाँपट्टि चन्द्रागिरीतिर आफ्नो वायाँ हात देखाए जुन पछिल्लो सीटबासी हामीले देख्न पाएनौँ। उनको ईशारै काफी थियो।

‘यो केबुलकार मैले सात वर्षमा बनाएँ,’ उनले भने, ‘सुरूका पाँच वर्ष त प्रक्रियामै बित्यो। बाँकी दुई वर्षमा मात्र बनाएका हौँ।’
‘दुई वर्षमै ?’

‘केही त अझै गर्दैछौँ तर मुख्य निर्माण फटाफट गर्यौँ,’ उनले भने, ‘कस्तो बेला भन्नुहोला तपाईँहरू। भूकम्प त्यही बेला गयो, त्यसपछि नाकाबन्दी भयो। अर्को एउटा खड्गो पनि थियो, गिटी ढुङ्गावालाहरूको हड्ताल। तीनवटै विध्नवाधा हामीले पार गर्यौँ।’

हामीले कान टाठा पार्यौँ। उनले थपे, ‘पहाडमा पानी छैन। सबै तलबाट ओसार्यौँ। आज सबैजना कस्तो संरचना बन्यो भनेर छक्क पर्नुहुन्छ।’

रमेश वातावरण विज्ञान पढेका र त्यही पत्रकारिता गर्दै आएकाले कति पानी, कति बिजुली, कस्तो प्रबिधि यावत् प्रश्न गर्न थाले। उनले सोधे, ‘वातावरणीय प्रभाव मूल्यांकन नगरी यत्रो सार्वजनिक पहाडमा संरचना निर्माण गर्नुभयो भन्ने छ त ?’
‘त्यस्तो समाचार आयो,’ उनले भने, ‘तर तपाईँहरूलाई के लाग्छ ? आज एउटा सरकार छ, भोलि अर्को आउँछ। जहिल्यै राजनीतिक अस्थिरता। कुनै योजनाको टुंगो हुँदैन, भोलि सानो कैफियत देखे जसले पनि रोकिदिन सक्छ।’ ‘सबै मूल्यांकनपछि काम गर्नुभएको हो त ?’

‘सबै अध्ययन गराइवरी पास भएपछि मात्र काम थालेको हुँ,’ उनले भने, ‘चार अर्ब जति पुग्छ होला, त्यत्रो लगानी विना प्रक्रिया म गर्छु होला ?’

‘मुद्दा कसरी उठ्यो त ?’

‘मलाई थाहा छैन,’ उनले भने, ‘हो, सबै वातावरणीय मूल्यांकनपछि पनि जस्तो कि खोस्रेको माटो के गर्ने भन्ने जस्ता विषय रहे होलान् तर कुनै इस्यू बाँकी छैन।’

निर्माण सम्पन्न गर्नुभन्दा कागजी प्रक्रियामा दोब्बर बढी समय जाने हाम्रो विकास प्रक्रिया हो भन्ने व्याख्या गर्न थाले। ‘मैले मुख्य सचिवसहित सचिवहरू बाह्र तेह्र जनालाई एकपल्ट बन्दाबन्दै माथि लगेर देखाएँ। छलफल गरेँ। एकजना सचिवले भन्नुभयो, यति भव्य काम होला भन्ने हामीले सोचेका थिएनौँ।’

‘हगि ?’

‘तर काम गर्न गाह्रो छ भनेर मैले समस्या उप्काएपछि उहाँले गाँठी कुरा गर्नुभयो– हो, हामी सरकारमा बस्नेहरूमा निजी क्षेत्रप्रति राम्रो दृष्टिकोण छैन।’

‘गाँठी कुरा त्यही हो त ?’

‘त्यो कुरा त्यहाँ सबैले सकार्नुभयो। त्यसबाट पनि थाहा हुन्छ, निजी क्षेत्रप्रति सरकारको दृष्टिकोण नै मुख्य कुरा हो।’

उनले फेरि अर्को कल रिसिभ गरे। उद्योग वाणिज्य महासंघको जिल्लातर्फको रिक्त उपाध्यक्ष पदमा निर्वाचित कुनै सहकर्मीलाई बधाई दिए। अर्को फोनले उनलाई केही खिचलो चखायो।

एनआइसी एसिया बैंकले वचत र मुद्दतीतर्फ व्याजदर १० र १२ प्रतिशत दिने निर्णय गरेपछि काठमाडौंमा बैंकहरूबीच हल्लीखल्ली भएछ। बैंकर्स एसोसियसनले एनआइसीलाई कसरी ठेगान लगाउने भन्नेबारे छलफल सुरू गरिसकेको थियो। ग्लोबल आइएमआइ बैंकका यी संस्थापक अध्यक्ष तात्ने नै भए तर उनले के कुरा गरे हामीले खुट्याउन सकेनौँ।

‘यस्तो स्थिति कसरी आयो ?’

‘बैंकहरूसँग पैसा छैन, बजारमा तरलता कम भयो,’ उनले भने।

‘पैसा कसरी कम भयो ?’

‘लगानी गर्ने ठाउँ बढे, देशमा पैसा घट्यो। रेमिटेन्स कम भयो।’

‘किन कम ?’

‘विदेशिने नेपालीको संख्या घट्यो,’

‘के भएर होला त ?’

‘खाडी मुलुकहरूतिर समस्या बढ्यो,’ उनले भने।

विदेशिएका अदक्ष कामदारमा निर्भर अर्थतन्त्रतिर हामी सोझिएका थियौँ। देशमा श्रमको सम्मान नहुनाले पनि बलिष्ठ पाखुरा हामी निर्यात गरिरहेका छौँ। सम्मान त हामी सफल व्यक्तिहरूको गर्छौँ। जो सफल उही सम्मानित। मैले भनेँ, ‘जस्तो भोलि तपाईँहरू जो जो रथ चढ्दै हुनुहुन्छ, प्रायः आफ्नो क्षेत्रमा गनिएकाहरू हुनुहुन्छ। एउटा डकर्मी, सिकर्मी वा श्रम गर्ने त कोही पनि पक्का त्यहाँ हुनेछैन।’

फोन बज्यो। यतिखेर भने ठूलो स्वरमा। ढकालको फोनमा त घण्टी पनि सुनिन्थेन। ड्राइभरको रहेछ। उनले सम्झाए, ‘साइलेन्टमा राख्ने गर न।’

ड्राइभरतिर संकेत गर्दै उनले हामीसँग भने, ‘यी मसँग १९ वर्षदेखि छन्।’

यता रमेशको पनि त्यस्तै घण्टी बज्यो। दुई वर्षकी छोरी छाडेर आएका उनले श्रीमती र आमा तथा सासुलाई कहाँ पुगियो खबर दिइरहने गरेका थिए। ‘मेरो घरमा चार जना महिला, म एउटा पुरूष,’ उनी हाँसे।

उनी एकल सन्तान, उनकी श्रीमतीतर्फ पनि आमामात्र। दुईजना आमा एउटै घरमा बस्ने भएपछि नातिनी आफैँ हुर्किने भई। कतिखेर कहाँ पुगियो भन्नेबारे उनी उल्लासपूर्वक खबर गर्दै परिवारमा स्नेहको बलियो डोरी देखाउँथे।

रमेश गर्भमै रहँदा बुवा बित्नुभएछ। आमाले अब छोरा राम्ररी हुर्काउँछु भन्दै काठमाडौं ल्याएर दुःखजिलो गर्दै पढाउन थाल्नुभयो। पढाईमा मेधावी निस्किए। आज उनी वातावरण विनाशका कथा संकलन गर्छन्, विदेशी सञ्चारलाई सम्प्रेषण गर्छन् र वातावरणसम्बन्धी कार्यक्रममा देश देशावर झक्झक्याउँछन्।

‘बुवालाई के भएको थियो ?’

‘शिक्षक हुनुहुन्थ्यो, पञ्चायतकालमा राजनीति पनि गर्ने भएकाले प्रहरी प्रशासनसँग केही न केही परिरहन्थ्यो। एकपल्ट त्यस्तै सुरक्षा खतरा आयो, तपाईँका साथीलाई मारेर फालिदिए भन्ने सुनाइदिएछन्, उहाँ बगरमा परेर बच्नुभएछ, बुवा भने पूलबाट कालीगंडकीमा हाम्फाल्नुभयो। वर्षे भेलबाट फर्किनुभएन।’

‘हत्तेरी,’

‘बुवाका ती साथीसँग कहिलेकाहीँ भेट हुन्छ,’ उनले भने। उनलाई अर्को फोन आयो।

‘तर एउटा कुरा नि,’ मैले अघिको प्रसङ्गतिर पूल बाँध्दै ढकालतिर सोधेँ, ‘बैंकहरू अर्बभन्दा कम मुनाफा गर्दैनन्, उनीहरू आफूलाई छिसिक्क केही भयो कि हामीलाई ऋणको ब्याज आफूखुशी थपिहाल्छन्।’

‘जस्तो मेरो बैंकमा दुई अर्बको मुनाफा हुन्छ,’ उनले भने।

‘वर्षको दुई अर्ब मुनाफा ?’

‘तर त्यसका लागि बाह्र अर्ब त हामीले चलअचल धरौटी राखेका हुन्छौँ। त्यसको बीस प्रतिशत पनि नउठे त कसरी मुनाफा भयो र ?’

हामीले राजमार्गको गति पक्रिसकेका थियौँ। उनले अर्को कल रिसिभ गरे। सभामुखमा कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भएको सूचना पाए। लगत्तै उनले बधाई दिए। मैले सोधेँ, ‘अब के हामी राजनीतिक स्थायीत्वतर्फ गएका हौँ ?’

‘त्यस्तै देखिन्छ,’ उनले भने।

‘के देखिन्छ ?’

‘नीतिगत स्थिरता भयो भने काम गर्न सजिलो हुन्छ,’ उनले भने, ‘लगानीको सुनिश्चितताको वातावरण हुन्छ।’

उनी अर्को फोनमा अल्झिए। हामी बुढिगण्डकी नजीक पुगिसकेका थियौँ। मैले रमेशसँग भनेँ, ‘यहाँ त्यत्रो बाँध बनाउने भन्दैछन्, यसका असरबारे खासै चर्चा भएजस्तो लाग्दैन।’

‘हेर्नोस् दाइ,’ उनले भने, ‘हामी जुन भूगोलमा बस्छौँ, यो ज्यादै महत्वपूर्ण छ। माथि तिब्बतमा संसारका दस ठूला नदीको स्रोत छ। पूर्वदेखि पश्चिम एसियासम्म सिँचाइ भण्डार त्यही हो। यो समग्र पानीको हिस्सामध्ये नेपालबाट बगेर गंगामा मिसिने त सानो अंश मात्र हो। र, हामीलाई थाहा छ, भारतलाई हाम्रो बिजुलीभन्दा पानी महत्वपूर्ण छ। फ्रेस वाटरको आवश्यकता झन् बढेर जानेछ।’

ढकालले फोन राखिसकेका रहेछन्, थपे, ‘मैले दुईटा जलविद्युत गर्न लागेको, एउटाको प्रक्रियामा मात्रै सात वर्ष लागिसक्यो।’

‘केबुलकारलाई भन्दा बढी लागिसकेछ त ?’

‘हाम्रो काममा अल्झन् धेरै छ,’ उनले भने।

‘अब देशमा लगानीको त समस्या छैन होला नि ?’ मैले सोधेँ, ‘चिनीयाहरूले कुस्त पैसा खन्याउने ठाउँ खोजिरहेका छन् भनिन्छ।’

‘त्यति सजिलो पनि छैन,’ उनले भने, ‘मैले एउटा जलविद्युतका लागि चिनीया कम्पनीका प्रतिनिधिहरूसँग बिजनेस डिल गर्न खोजेको, सकिन।’

‘किन ?’

‘बेलुका बैठक बस्न थाल्यौँ, रातभरि आँखा नझिम्क्याई छलफल गर्यौँ,’ उनले भने, ‘बिहान भइसक्यो कुरा टुंगिएन, मिल्ने छाँट भएन, त्यत्तिकै हात मिलाएर विदा भयौँ।’

उनले एउटा अर्को कल लिएपछि कुरा जोड्न खोज्दै थिए, रमेशले भने, ‘जलविद्युतको जति सम्भावना भए पनि के हामीले देशका सबै नदीनालालाई बाँध्ने हो र ? ८३ हजार मेगावाट भन्दै हरेकलाई बाँध्न थाल्यौँ भने कस्तो बेरूप होला देश ?’

त्रिशुली बाह्रै महिना खैरो बग्न थालेको धेरै भइसक्यो। बुढीगण्डकी, दरौँदीको पानी पनि बदलिन थालेको छ। सङ्ला नदीहरू दुर्लभ हुन थालेका छन्। हाम्रो पक्की विकासका लागि कच्चा अनाजका रूपमा नदीनाला र पहाडहरूको दोहन व्यापक हुँदैछ। जता पनि पहाड चिर्दै बाटो खोस्रिने गरेका छौँ। राजनीति गर्नेहरूले डोजरलाई राष्ट्रिय समृद्धिको बाहन बनाएका छन्। मानौँ यसरी प्राकृतिक सम्पति खोस्रिदा सून फेला पर्नेछ।

देशको रूप वेरूपको बात् चल्दै गर्दा ढकालले रातविरात गुड्नुभन्दा कतै बास बस्ने होटल खोजौँ कि भन्ने जाँचे। रमेशले भने, ‘हाम्रो त बिहानै क्लास छ, बरू अवेर भए पनि आजै पुगे ढुक्क।’

ढकालले खानाको प्रबन्धका लागि कतै फोन लगाए। सिध्दार्थ कटेजले ताजा दालभात तयार गरिदिने भयो। लोकल कुखुरासहित। राजमार्गमा आफ्नै कुखुरा हुर्काएर अर्डरअनुसार भुटभाट पारिदिने गरी बिजनेस बढेको छ। एउटा वित्तिय संस्थाको पार्टी मनाउन काठमाडौंदेखि आएको समूहको नाचगान पछाडि स्विमिङ पूल साइडतिर चल्दै थियो। ‘मैले त आज यहीँ बसुँ भन्ने सोचेको,’ ढकालले कटेजका कोठाहरू राम्रा रहेको बताउँदै भने। कटेज भनेर कहाँ कटेरा छन् र ? पक्का पक्की घर ठडिसकेको रहेछ। राजमार्गको रातलाई माथ गर्ने गरी हामीले अलिकति झ्याम्म पनि पार्यौँ।

‘तपाईँको कथा के हो ? कसरी आज यो ठाउँमा आइपुग्नुभयो ?’ राजमार्ग तताउन थालेपछि हामीले उनलाई फेरि उकास्यौँ।

‘मैले जोखिम लिएँ,’ उनले भने।

‘कस्तो जोखिम ?’

‘नलिएको भए म आज पनि सायद् जागिर खाइरहेको हुन्थेँ।’

‘त्यो त थाहा भयो,’ मैले भनेँ, ‘तपाईँ जोखिम लिएर हामीसँग आउनुभयो (वा हामी नै तपाईँसँग आयौँ), योजना आयोगका पूर्व उपाध्यक्षले जोखिम लिनुभएन।’

‘तपाईँले कस्तो जोखिम लिनुभयो ?’

क्याम्पस पढ्न काठमाडौं त आम कथा भयो। उनले पकनाजोलमा एउटा सानो कोल्ड ड्रिंक्स पसल खोलेछन्। काम भने बाणिज्य बैंकमा गर्दा रहेछन्। त्यही बीच कार्गोको सानोतिनो बिजनेस पनि थाले। ‘बैंकमा मेरो तलब छ सय रूपैया थियो,’ उनले भने, ‘बिजनेसमा भने मैले छ हजार रूपैयाको तलब दिने गरी स्टाफ राख्न थालेँ।’

‘तलब खाने छ सय, खुवाउने छ हजार ?’

‘हो,’ उनले भने, ‘मलाई बिजनेसमा लगानी चाहिएको थियो। बैंकले अधिकृतभन्दा मुनिका कर्मचारीलाई बाह्र लाखसम्मको ऋण दिने नीति ल्यायो। मैले आवेदन दिएँ।’

‘ऋणका लागि ?’

‘तर त्यो ऋण लिन मैले बैंकबाट राजीनामा गर्नुपर्ने सर्त थियो,’

‘गर्नुभयो ?’

‘त्यो जोखिम लिएँ,’ उनले भने, ‘मेरो खास बिजनेस यात्रा त्यहीँ सुरू भयो।’

त्यो रहेछ ०५० सालतिरको ‘जोखिम’। नियमित तलबको जागिर छाडेर अनिश्चित बिजनेसको थालनी। विस्तारै माओवादी सशस्त्र द्वन्द्व सुरू भयो। उनले छोराछोरीलाई नयाँ दिल्ली लगेर पढाउन राखे। आफूचाहिँ बिजनेस गर्न देश विदेश गर्न थाले। जान्नेहरू भन्छन् उनले जापान, मलेशियाबाट रेमिट्यान्स पठाउने सूत्र अख्तियार गरे। विदेश जाने नेपालीको ओइरो सुरू भएको मौकालाई उनले अनुकूल पारे। पछि गएर मलेशियामा रेमिट्यान्स कम्पनी खोले।

आज उनीसँग बैँक, केबुल कार, हाइड्रोदेखि केकेमा लगानी छ हामीले हिसाब टिप्न नभ्याउने बिजनेसको साम्राज्य खडा भइसकेको छ। बीस पच्चीस वर्षमै यत्रो सफलता कसरी सम्भव भयो ? परम्परागत व्यापारी घराना नहुँदा तपाईँलाई सजिलो भयो कि अप्ठ्यारो ?

‘यो त तपाईँहरूले जान्ने कुरा हो,’ उनले भने। उनलाई अर्को कल आइसकेको थियो।

मध्यरात हामी लेकसाइड पुग्यौँ। उनले कोठा बूक गरेको होटल हाम्रो आसपास नै थियो। हामी आफ्नो होटल गेटमा उत्रेर झोला निकालीवरी धन्यवाद र गुडनाइट भन्दै उनलाई विदा गर्यौँ।

हामी बिहान उठेर आफ्नो वातावरण कक्षातिर लाग्यौँ। उनी सायद कतै बिजनेस मिटिङ भ्याउँदै दिउँसो रथयात्रातिर पुगे। बिहानको पत्रिकामा एउटा विज्ञापन थियो जसमा देशका सफल प्रमुख कार्यकारी अधिकृत प्रतियोगिताका लागि उनको नाममा पनि एसएमएस भोट मागिँदै रहेछ।

‘मैले पिएको पानी मेरै मुखमा फर्किन्छ,’ रमेशले हामी बसेकै होटलमा वातावरण कक्षा सुरू गर्दै भने, ‘मेरो पिशाव बग्दै बंगालको खाडीबाट बाफ भै उडेर बादलबाट फेरि यहाँ झर्छ। पानीले मानिसलाई सबभन्दा बढी जोडेको हुन्छ।’

नेपाल भनेको पानी बग्दै गंगामा मिसिने ठूलो जलाधार। उनले हिसाब निकालेअनुसार, हामीकहाँबाट बग्ने पानी बाँड्ने हो भने प्रत्येक नेपालीलाई प्रतिवर्ष ९० लाख लिटर छताछुल्ल पुग्छ।

संसारमा पानी बढी छ। समुद्र नै समुद्र। ‘तर पिउन योग्य पानी जसलाई हामी फ्रेस वाटर भन्छौँ, त्यो जम्मा तीन प्रतिशत छ,’ उनले भने, ‘जलाधारको महत्व बुझ्यौँ भने जलवायू परिवर्तन बुझ्ने छौँ। हामीले आफ्नो कर्तव्य थाहा पाउनेछौँ।’

उनले स्लाइड शो जारी राखे। विश्वको भू–सतहको हिसाब गर्ने हो भने नेपाल शून्य दशमलब १ प्रतिशत पनि छैन तर ३ दशमलब २ प्रतिशत बिरूवा यहीँ छन्। यति थोरै जमिनमा पनि तीन प्रतिशत पुतली हामीसँग छन्, ९–१० प्रतिशत चरा छन्।

पोखरेली पत्रकार वद्रीविनोद ‘प्रतीक’ले त्यही दिन केही बेरपछि आफ्नो उपन्यास ‘उडान’ पाठकहरूलाई समर्पित गर्दै थिए। उनी हामीकहाँ बोल्न उभिए, ‘आज देशको अवस्था कस्तो छ भने स्कूलहरू गाभिँदै गएका छन्, गाउँहरू खाली हुँदैछन्। बसाईँ सहरतिर सरिरहेको छ तर सडकहरू गाउँ गइरहेका छन्।’

उनी पोखरा बस्न थालेको करीव आधा शताब्दी भयो। ‘आजकल मर्निङ वाक गर्दा बिहान चिसोले कक्रक्क पार्छ, घाम लागेपछि खङ्रङ्ग। एकैछिनमा निकै चिसो र एकैछिनमा निकै तातो, यो के भइरहेको हो ?’ उनले भने, ‘कहिलेकाहीँ माछापुच्छ्रे कालै देखिन्छ, फोटो खिचेर पठाए, पत्याउँदैनन्।’

पालो आयो टाई सूटमा सजिएका पुराना प्राध्यापक देवेन्द्रबहादुर लामिछानेको। ‘चैतमा, पानी नपरेको बेला, घाम लागेको बिहान एकाएक सेतीमा बाढी आयो,’ उनले भने, ‘हामी सबै छक्क पर्यौँ, तपाईँहरू सम्झिनुहुन्छ त्यो घटना ?’

हामी घोत्लिँदै थियौँ, उनले सोधे, ‘त्यतिबेला को थिए प्रधानमन्त्री ? पुष्पकमल दाहाल कि माधवकुमार नेपाल ?’

अनि आफैँ भने, ‘म माधवकुमार नेपाल सहभागी भएको कार्यक्रममा थिएँ, बाढीको सूचना आयो, आफ्नो विषय भएकाले कार्यक्रमबाट छट्केर म हिँडिहालेँ।’

केही दिनअघि उनले धमिलो पानी देखिसकेका थिए रे। ‘त्यतिबेला मैले कारण थाहा पाउन सकिन,’ उनले भने, ‘यतिबेला भने अचानक यसरी बाढी आयो, त्यो हिम बाढी पनि होइन, चट्टानै चट्टान र त्यसको लेदो।’

माथि हिमालमा चट्टानहरू भास्सिँदै गएर पानी थुनियो, फुटेर बग्दा त्यत्रो विशाल बाढी आयो। नजीकका बस्ती बगे, तीर्थयात्री, पर्यटक र गाउँले गए। ‘कत्रो बाढी आयो भने त्यसले फेवातालको ६३ प्रतिशत पुरिदिन सक्थ्यो,’ उनले भने, ‘बाढीको बेग कति तीव्र थियो भने जस्तो कि एक घन्टामै काठमाडौं पुग्लाजस्तो।’

नदीले गल्छी बनाउँदा चट्टान काटेर गुफा बनाउन सक्छ। माथि खुकुलो हुँदै जान्छ। आज सेती किनारमा ठूल्ठूला भवन बनिसकेका छन्। ०७२ सालको भैँचालोले पोखरा नछोए पनि त्यसको अर्को धक्काले असर गर्यो। ‘गल्छीको किनार भत्किएर केही समय सेती थुनियो,’ उनले भने, ‘भैँचालोले मात्र होइन, यातायातका साधनको नियमित चापले पनि तल असर गरिरहेको हुन्छ, तल सेतीले कसरी काट्दै गएको छ हामीले देखेका छैनौँ।’

नदीले खियाउन नसकेर छाडेका ठाउँ बलिया हुन्छन्, पोखरा–काठमाडौं सडक त्यसरी नै तानिएको छ। तर जलाधार जोगाउन खोजिएन भने भोलि हाम्रा अप्ठ्यारा आफैँ सामना गर्दै जान्छौँ। देशभरि छ हजार जति ठूला साना नदी नाला छन्। बाढीअघि, बाढी आउँदा र बाढीपछि के गर्ने हामीले धेरै अध्ययन गरेका छैनौँ भन्दै उनले सम्झाए, ‘बढीभन्दा बढी अध्ययन चाहिएको छ र विद्यालयदेखि विश्वविद्यालयसम्म पाठ्यक्रममा समावेश गर्न जरूरि छ।’

पोखरा देशको पर्यटनको एउटा पोष्टकार्ड हो। धौलागिरी र अन्नपुर्णा ऋंखलामुनि तालतलैयाको मनोरमताले नेपाली साहित्य रसाएको छ। आन्तरिक पर्यटक एकखेप फेवामा नाउ खियाउन लालायीत हुन्छन्, विदेशी पर्यटक लेकसाइडमा विश्राम गर्नुअघि लामा पदयात्रा सकेर फर्किन चाहन्छन्। बिजनेस यहीँ छ। केबलकारहरूका योजना बन्दैछन्। कुनभन्दा कुन राम्रा दृश्यावलोकनस्थलमा कुनभन्दा कुन राम्रा होटल बन्दैछन्।

संयोगवशः यहीँका फुर्तिला तन्नेरी जनप्रतिनिधि रविन्द्र अधिकारी अहिले संघीय सरकारमा पर्यटन मन्त्री बनेका छन्। यहीँ आज प्रदेश चारको मुकाम बसेको छ। संघीयता अभ्यासको उत्साहसाथ जनप्रतिनिधिहरूको चहलपहल बढेको छ। ठूलो विमानस्थल बनाउने योजना अघि सर्दैछ। जग्गाहरूको कित्ताकाँट बढ्दैछ। पाखापखेरातिर डोजर उक्लिन थालेका छन्।

पोखरा उपत्यकाको जीवनको आधार सेती जलाधार हो भन्ने बुझ्न बुझाउन अझै कति दरकार छ भन्नेमा प्राध्यापक लामिछाने तम्सिरहेका थिए। यो उपत्यका टेथिस सागर बन्दा वा हिमालय पर्वत ऋंखला निस्कँदा कति फरक थियो अनुमानकै विषय छ। भूगर्भका चट्टानहरूको आम गतिबिधिले भूगोल बनाएको हुन्छ। ‘पोखराको आजको स्वरूप तीन हजार वर्षअघिको आसपासमात्र तयार भएको हो,’ उनले भने।

पोखरामा सेती वारिका दुई र पारिका सात गरी नौ तालहरू छन्। तालहरू आफैँ बनेका हुँदैनन्। ‘सबै ताल निर्माणको पद्धति एउटै थियो,’ उनले भने, ‘खोलाहरू थुनिएर ताल बन्ने हुन्।’

त्यही प्रसङ्गमा उनले सेतीमा आएको त्यो विनाशकारी चट्टाने बाढी कत्रो थियो भन्ने विषय जोडे, जसले फेवातालको ठूलो हिस्सा पुरिदिन सक्ने थियो। ‘जलाधार संरक्षण नगर्ने हो, तालहरू पुरिन दिने हो भने,’ उनले औँला तेर्स्याए, ‘देशको सवभन्दा ठूलो महानगरपालिका भोलि भूत सहरमा परिणत हुन सक्नेछ।’

त्यस्तो खतरनाक चेतावनी दिएका प्राध्यापकले फेवाताल वरिपरि बनिरहेका सडकहरूको उदाहरण दिए। उनी एकपल्ट फेवापारि डोजरले बाटो बनाउँदै गएको ठाउँ पुगेछन्। सोधे, ‘ए भाइहरू, विकासको काम राम्रो हो तर सर्भे त गर्नुभएको होला नि। यसको इन्जिनियरिङ के छ ? पहिरो गए त तालमाथि थुप्रिन्छ भन्ने बुझ्नुभएकै होला।’

‘तपाईँ हामीलाई तर्साउनुहुन्छ,’ उनीहरूले फेवापारि भव्य विकासका संरचनारूपी किनारको सहरतिर देखाएछन्, ‘त्यता पनि त्यसैगरी थुप्रिएको होइन त ?’

‘त्यो त धेरै वर्षदेखि मिचिँदै आएको हो। यहाँबाट पहिरो खस्यो भने त उत्तिन्खेरै ताल पुरिन्छ।’

प्राध्यापक बस्न पाएका थिएनन्, एकजना सहभागी उठेर वातावरणीय प्रभाव मूल्यांकन नगरी आज जहीँतहीँ बाटो बनाउने गरेको बताए। अर्का पनि के कम ? त्यस्तो मूल्यांकन प्रतिवेदन कतैकतै बनाए पनि झारा टार्ने गरेको र त्यसमा समेत भएका भ्रष्टाचार खै तपाईँहरूले खोजीनीति गरेको भन्न थाले।

‘मलाई अहिले हतार छ, यत्ति भनिहालुँ,’ वन कार्यालयका एक अधिकृतले त पहिल्यै हामीलाई जाँचिसकेका थिए, ‘फेवाताल क्षेत्रभित्र तीन सय किलोमीटर सडक बनिरहेको छ।’

तीन सय किलोमीटर भन्दा बढी ?

‘रोक्न खोज्दा हामीलाई विकास विरोधी भनिन्छ,’ उनले भने, ‘कसले बोल्ने हो ? मिडियाले लेखिदिनोस्।’

अर्का एक सहभागी स्थानीय संवाददाताले त वातावरणका नाममा भएको त्यो कार्यक्रमतिरै औँला ठड्याए। ‘तपाईँहरूले प्लाष्टिकको फाइल दिनुभएको छ, भित्तामा फ्लेक्स टाँस्नुभएको छ,’ उनले भने, ‘पुनर्प्रयोग हुन नसक्ने वस्तुको उपभोग त्यागेर सुधार आफैँबाट सुरू गर्नुहोस्।’

एकै दिनको छलफलले तुरून्त केही फल दिन सक्थेन। देशमा व्याप्त छलहरू बुझ्न भने सघाउँथ्यो। म लेक साइडतिर खुट्टा तन्काउन थालेँ। दिउँसो रथमा चढेर निस्केका विभिन्न विधाका सफल अनुहारहरू लेकसाइडमा हँसमुख देखिन थाले। लौ बधाई छ है भन्दै म पनि एकपछि अर्को जो भेटिन्छ हात मिलाउँदै हिँडेँ। उद्योगी व्यवसायी ढकाल भने कतै देखिएनन्। सायद् उनी कतै बिजनेस मिटिङतिर व्यस्त भइसकेका थिए। बैंकको काम छैन भने, उद्योग बाणिज्य महासंघको हुन्छ, त्यसको पनि छैन भने अर्को केबुलकारको सम्भाव्यता हेर्नु हुन्छ, त्यसको पनि छैन भने केही न केहीको भइहाल्छ। बिजनेस गर्नेलाई आज देशमा भ्याइनभ्याइ छ।

साँझ हावाहुरी चल्न थाल्यो। मौसम बदलियो। छिटाहरू वर्षिए। कोठा फर्किँदा चराहरू होटलहरूका आकाश खियाउन नसकी कोलाहल गर्दै थिए। छत उक्लिएँ। बिजुली बल्न थालेपछि केही परको ताल मधुरोमा हराउँदै गएको थियो।

उल्लीबिल्ली परेका कागहरू घरि यता घरि उता कताकता उड्न खोजेजस्ता, रोकिएजस्ता, फेरि कतै बाकटे हान्न खोजेजस्ता थिए। एकजना किशोर कामदारले सुकेका तन्ना उठाइवरी स्त्री गर्ने कोठामा सम्याउँदै रहेछन्।

‘यी कागहरू किन यस्तो बिलखबन्दमा परेका हुन् ?’ मैले सोधेँ।

‘कहाँ कहाँबाट आइपुग्छन्,’ उनले भने, ‘मीठो मसिनो खानाको वासना लेकसाइडभरि चल्छ नि त।’

‘किन कराएका यस्तरी ?’

‘बास फर्किन नसकेर,’ उनले भने।

राति रमेशसँग डिनर गएँ। फर्केर फेरि एक झमक लेक साइड नाप्न थाल्यौँ। फेवा किनार मिचमाच गर्दै ठडिएका होटलहरू नियाल्यौँ। किनारसम्मै तन्किएर ‘पर्यटन विकासमा टेवा दिने’ एउटा होटलको गेटभित्र छिरेर ताल हेर्यौँ। त्यसरी

हेर्दा होटल तालमाथि ठिक्क तैरिएझैँ थियो।

बिहान फष्ट फ्लाइटको टिकट मिलेन। साढे दस बजे काठमाडौंमा एउटा कार्यक्रममा पुग्ने भाका गरेको थिएँ। दस बजेको उडान मिल्यो। विमानस्थल पुग्दा फेरि डिलेको सूचना स्वाभाविक भयो। पत्रकार पुण्य पौडेल हामीलाई विदा गर्न आएका थिए। हामीले फकायौँ, लौ लेकसाइड हिँड्दै हामीलाई गाइड गर्नुहोस्।

फेवा अतिक्रमणको इतिहास के हो ? हामीले उनीबाट वाकिङ ब्रिफिङ लिन थाल्यौँ। फेवामाथि अतिक्रमण बुझ्न देशको राजनीति सम्झिनुपर्छ भन्ने अर्थ्याउँदै उनी अघि हिँडे।

‘सवभन्दा पहिला त राजा महेन्द्रले नै सुरू गरे,’ उनले भने, ‘रानीका लागि किनारमै रत्न मन्दिर बनाइदिए। गणतन्त्र आएपछि के रहेछ रत्न मन्दिर भनिएको दरवार भन्दै हेर्न जानेमा म पनि थिएँ। भित्र त सामान्य नै रहेछ। राजदरवार भनेपछि जुन शान शौकत सोचिन्छ नि, त्यस्तो भव्य त केही रहेनछ।’

तर भव्य फेवाको थिचोमिचो त्यहीँदेखि सुरू भयो। राजनीतिक हस्ती मीनबहादुर गुरूङले तालपारि होटल फेवा बनाए। तालको यति दूरिभित्र केही संरचना बनाउन नपाइने भन्ने नियम मिचियो। सडक बन्यो। सडकदेखि तालतिर केही बनाउन नपाइने नियमचैँ थियो तर नियमानुसार सरकारले मुआब्जा दिएर राष्ट्रियकरण गरेन।

बहुदल आएपछि भने नगरपालिकाले खुला गरिदियो। पर्यटन बढ्यो, बिजनेस बढेपछि एकपछि अर्को संरचना बन्न थाले। किनबेच बढ्यो। ‘गणतन्त्र आएपछि त झन् होड बढ्यो,’ उनले भने।

नियम छ, कार्यान्वयन छैन। ‘पहिलाको नापी आफ्नै जमानाको चेतनाअनुसार थियो, तालको पानी सुक्दै गएपछि यो त मेरो नापीअनुसारकै जग्गा हो भन्नेहरूको हानथाप भयो,’ उनले भने।

दशकौँदेखि नापी र मालपोतका कागजी चुहावटमा ताल सुक्दै गयो।

के अब फेवा पुरानै स्वरूपमा फर्काउन सकिएला ? ‘बाँधबाट पानी रोकिदिनुपर्छ,’ उनले भने, ‘ताल वास्तविक रूपमा फर्केपछि नापी निस्किन्छ।’

सम्भव होला त ? उनले मोबाइलमा सेभ भएको एउटा जग्गा किनबेचको पुर्जा देखाए। ‘यस्ता शक्तिशाली नेताहरूले परिवारका नाममा जग्गा लिएका छन्, हेर्नोस्,’ उनले भने, ‘काठमाडौंका नेताहरूलाई तिनका उद्योगी व्यवसायी मित्रहरूले किनिदिने गरेका छन्।’

कति जना ठूलाठालूले अहिलेसम्म ताल किनारमा सम्पति जोगाड गरे होलान् त ?

‘खोज्नुपर्छ,’ उनले भने, ‘फेवा जोगाउन कुनै दिन राज्य कस्सियो भने यहाँको सबै हिसाबकिताब छर्लङ्ग हुन्छ।’

हामी एउटा क्याफेमा कफी अर्डर गर्न सडक किनार कुर्चीमा बस्यौँ। कोटमा कोही ढल्किरहेको छ भने पक्का पनि प्रदेशसभाको बैठकतिर हुनुपर्छ। त्यस्तै एकजना सज्जनसँग हात मिलायौँ। मैले पुण्यलाई सोधेँ, ‘हाम्रो प्रदेश कसरी चल्न थालेको छ ?’

चल्न थालिसकेको छैन, बस्न भने भ्याएको छ। ‘प्रदेशसभा पञ्चायत प्रशिक्षण केन्द्रको भवनमा बसेको छ,’ उनले हाँस्दै भने, ‘मुख्यमन्त्रीको निवास नगरपञ्चायत गेष्ट हाउसमा।’

हामी फेरि विमानस्थल फक्र्यौँ। फ्लाइटको अर्को नाम डिले। काठमाडौंको कार्यक्रमबाट मलाई तारन्तार फोन आउन थालिसकेको थियो। काउन्टरमा सही जवाफ पाउन सकिन्थेन। कार्यक्रमवालालाई यति बजे आइपुग्छु भन्नु सरासर ढाँट्नु हुँदै गयो। अघि भर्खर मैले दिएको जानकारी फेरि पनि ढाँटमा परिणत भइसकेको थियो।

म हतारिन थालेको चलाख रमेशले बुझिसकेका थिए। उनले काठमाडौं विमानस्थलमा गाडीको चाँजो गरे। यता फ्लाइट ठ्याक्क कति बजे उड्छ भन्ने खबर म काठमाडौं कार्यक्रमदातालाई दिन सकिरहेको थिइनँ। पाँच घन्टाको कक्षा लिनुपर्ने म पोखरामै तीन घन्टा झुलिसकेको थिएँ।

धन्य, गाडीमा फर्किनुपर्ने भएन। तर काठमाडौं ओर्लिएपछि कार्यक्रमस्थलमा पुग्न सडक जामले त्यति वेर लाग्यो जति पोखराबाट काठमाडौं उड्नमात्र लागेको थियो। श्रमजीवी पत्रकार महिलाहरू मात्र जम्मा भएको कक्षामा पुगेर मैले भनेँ, ‘तपाईँहरूलाई यत्रो घन्टा कुराउनुपरेकामा म दुःखी छु। हिँडेको भए बरू आइपुग्ने थिएँ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.