पोखरी र प्रगति

ललितपुरको सौगल पुखु। तस्बिर सौजन्य: पद्मसुन्दर जोशी


केही समयअिघ रामकुमारी झाक्रीले विकासका नाममा आफ्नो गाउँको सुन्दर पोखरी कसरी मसियो भनी ‘सेतोपाटी’ मा लेख्नुभएको थियो। त्यस्तै नियति देशैभरका कुवा-पोखरीले झेलिरहेका छन्। मैले पनि हाम्रो गाउँको ठूलो पोखरी कसरी विनाश भयो भन्ने सन्दर्भमा यो लेख लेखेको छु।

हाम्रो गाउँ स्याङ्जा जिल्ला चापाकोट-१ मा पर्छ। हाम्रो गाउँसगै जोडिएको अर्को गाउँ डड्घा छ। दुवैतिर मेलापात, खेतीकिसानी अर्मपर्म चल्थ्यो। केटाकेटी सँगै खेल्थे। यता समस्या पर्दा उताकाले सघाउँथे।

दुई गाउँबीच एउटा साझा धारा थियो। करिब ४०-४५ घरधुरी त्यही धाराको पानी खान्थ्यौं। आधारातदेखि नै गाउँका आमा, दिदी, भाउजूहरु पानी भर्न आउँथे। बिहान उज्यालो हुनुअघि नै बूढापाकाहरु आउँथे। हाम्रा बा, हजुरबा नुहाएर ठूल्ठूलो स्वरमा मन्त्रोच्चारण गर्नुहुन्थ्यो।

धारामा पानी भर्ने, नुहाउने काम बिहान ८/९ बजेसम्म चल्थ्यो। आधारातदेखि अबेर बिहानसम्म हुने भिड हामी केटाकेटीलाई रमाइलो लाग्थ्यो। धारामा खेतीपाती, घरपरिवार, सासूबुहारी, नन्दभाउजू, गाईभैंसी सबैका बारेमा कुरा हुन्थे। ठूलाबडाका कुरा सुन्दै २-३ घण्टा पालो पर्खेर एक जर्किन पानी घर पुर्याउन पनि हामीलाई झर्को लाग्दैनथ्यो।

फलामको ठूलो धाराबाट सिधै पानी आउँथ्यो। पानी जम्मा गर्न ट्यांकी थिएन। बिहान र बेलुका धारामा घुँइचो भए पनि दिउँसो पानी खेर जान्थ्यो।

खेर गएको पानी नजिकैको पोखरीमा जम्मा हुन्थ्यो। पोखरी लगभग २५-३० मिटर व्यास तथा आधा मिटर गहिराई भएको गोलाकार थियो। छेवैमा लगभग एक फुटे बाटो थियो। अर्को गाउँ डड्घाका मान्छे धारासम्म आउने बाटो त्यही थियो।

पोखरीमा पाहा लगायतका भ्यागुता र अन्य जलचर थिए। वर्षामा पाहा ट्वारट्वार गरिरहन्थे। वर्षको एकपटक सबै गाउँले मिलेर पोखरी सफा गर्थे। सफा गर्दा पानी सबै फालेर हिलो सोहोरिन्थ्यो। वरिपरि हिलोकै पर्खाल लगाइन्थ्यो। सफा गरिएको खाली पोखरीमा हामी दौडन्थ्यौं, खेल्थ्यौं। एक दुई दिनमै त्यहाँ सफा पानी भरिन्थ्यो।

पोखरी सधैं भरिभराउ हुने भएकोले एक ठाउँबाट निकास खोलिएको थियो। कतिले यसको सदुपयोग गरेर सामान्य तरकारी खेती गरेका थिए।

प्रायः सबैका घरमा गाईवस्तु हुन्थे। दिनभर चराएर बेलुकीपख गाईवस्तुलाई पानी खुवाउन त्यै पोखरीमा ल्याइन्थ्यो। गाईवस्तुले पानी खाने भएकैले पोखरीमा साबुनको फिँज, बच्चा-बच्चीको फोहोर लागेको कपडा धोएको पानी, भाँडा माझेको पानी मिसाउन वर्जित थियो। त्यस्तो काम आइपरे अलि पर गएर छुट्टै ठाउँमा गर्नुपर्थ्यो।

गाउँमा सबैका घर खरले छाएका थिए। कसैको घर आगलागी हुँदा त्यही पोखरीको पानी प्रयोग गरेर निभाइन्थ्यो। एकपटक मेरो साथीको घरमा आगलागी हुँदा त्यहीँबाट पानी लगेर छिटै आगो निभाईयो, र धनमाल कम क्षति भयो।

पोखरी छेउमा ठूला समी र पिपलका रुख थिए। चौतारो थिएन, तर रुखका ठूल्ठूला जरा बाहिरसम्मै आएका थिए जहाँ मजाले बस्न, खेल्न मिल्थ्यो। गाउँका सबै छलफल त्यही रुखमुनि गरिन्थ्यो। यसले पोखरी जिवन्त राखेको थियो।

केही समयपछि यो रित बदलियो।

एउटै धारामा ४०/४५ घरले पालो कुरेर पानी भर्न हामीलाई झन्झटिलो लाग्न थाल्यो। एउटा ट्यांकी बनाइयो। गाउँका अन्य ठाउँमा धारा लगियो। पानी वितरण धेरै ठाउँमा भएपछि साझा धारामा भिड हुन छाड्यो। खेर जाने पानी ट्यांकीमा जम्मा हुन थाल्यो।

अनि सबैले माया गरेर पुर्खौंदेखि हुर्काएको पोखरीले पनि कम माया पाउन थाल्यो।

दसैंतिहार समयमा पोखरी छेउको पिपल हाँगामा पिङ हालिन्थ्यो। पोखरी डिलबाट मच्चाउँदा बीचसम्मै पुग्थ्यो। कहिलेकाँही ध्यान नपुर्याइ खेल्दा केही युवाहरु पोखरीमा खसेर चोट लाग्थ्यो। यसले युवापिँढीमा पोखरीप्रति मायाभन्दा घृणा बढ्न थाल्यो।

अनि केही युवाले आफूलाई खेल्ने ठाउँ नभएको गुनासो गर्न थाले। पोखरी आकार घटाउनु पर्छ, र यहाँ भलिबल मैदान बनाउनु पर्छ भन्न थाले।

पाका उमेरकाले हुँदैन, पोखरी चाहिन्छ भने। भोलि कसैको घर आगलागी हुँदा निभाउन पानी चाहिन्छ, त्यसो नगर, भनेर सम्झाउन थाले।

युवाहरुले कसैको कुरा सुनेनन्।

उनीहरु पोखरी पुरै मास्न चाहन्थे। तर समाजका केहीको मन राख्न सानो अंश छाडिदिए।

पोखरी अन्तिम पटक सफा गरियो। छेउमा सानो आयातकार पोखरी बनाइयो, जुन पुरानो पोखरीको १० भागको एक भाग मात्र थियो।

ठूलो पोखरी भने मैदान भयो। हरेक बेलुकी युवाहरु मैदानमा भलिबल खेल्न थाले। बल गुडेर त्यही सानो पोखरीमा पर्थ्यो। अब त्यो सानो पोखरी पनि युवाहरुको आँखाको तारो बन्न थाल्यो।

तै पोखरी सबै मास्न हुन्न भन्दै पाका उमेरकाले विरोध गरे। सानो पोखरीको प्राण बाँचिरहेको थियो।

गाउँमा ५८/५९ सालतिर विकास छिर्यो। खरका छाना जस्ताका भए। केही युवा विदेश पसेर धन कमाए। धेरै गाउँलेले गाईवस्तु पाल्न छाडे। खेतीकिसानी कम हुँदै गयो। पोखरीको आवश्यकता पनि हुन छाड्यो। समग्रमा हामीले ‘प्रगति’ गर्यौं।

गाउँमा कच्ची रोड आउने भयो। सबै खुसी भए। एकदिन रुखविरुवा मास्दै बाटो ठूलो बनाउँदै डोजर आइपुग्यो।

डोजरले हामी सबैको आँखै अगाडि एकैपटकमा सानो पोखरी उचालेर पाखामा मिल्काइदियो। निमेष भरमा पोखरीको जीवन सकियो। इतिहास बोकेको पोखरी मासियो।

बूढाबूढीले मन अमिलो बनाए, युवाले ताली बजाए।

अब मान्छेले मात्र होइन गाईवस्तुले समेत घरमै पानी पिउन थाले।

अहिले त्यो ठूलो पोखरी सुकाएर बनाएको मैदानमा केटाकेटी खेल्छन्। कच्ची मोटरबाटोमा चल्ने जिप पार्किङ गरिन्छन्। अनि पार्किङमा भेट हुनेहरु विकासका कुरा गर्छन्।

आजभोलि साझा धारो पनि त्यहाँ छैन। प्रत्येक ३ घरपरिवारलाई एक धारो बनाइएको छ। सीमित पानी बाँडफाट गरिएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.