सरकार, मलाई पनि जेल हाल!


सन् १८४६ मा हेनरी डेविड थोरोले भनेका थिए, ‘यदि सरकारले गलत गरिरहेको छ भने एउटा सच्चा नागरिकको लागि सबैभन्दा उपयुक्त स्थान जेल हो।’

थोरोलाई जब आफ्नो राष्ट्रपतिले अमेरिका र मेक्सिकोबीचको लँडाईमा लिएको नीति मन परेन तब उनले कर तिर्न मानेनन्। उनको तर्क थियो- सरकारले करबाटै उठाएको रकमले लँडाई गर्दैछ। त्यो लँडाईको लागि प्रयोग भएको रकममा मेरो कर पनि सामेल छ। त्यसैले म यो लँडाई समर्थन गर्न सक्दिनँ। त्यसैले कर तिर्दिनँ।

उनलाई यही कारणले जेल हालिएको थियो।

आज मलाई पनि डाक्टर गोविन्द केसीको लागि सबैभन्दा उपयुक्त स्थान जेल नै हो जस्तो लाग्दैछ। कुनै पनि एक सच्चा नेपाली कसरी यो बेथिति अनि भद्रगोल टुलुटुलु हेरेर बस्न सक्छ ? सक्दैन। कुनै हालतमा सक्दैन।

तर फेरि सबै नागरिकले आवाज उठाउन पनि सक्दैनन्। गोविन्द केसीले आवाज उठाउने साहस गरे। जुन साहस अहिलेका पार्टी अनि नेताले गर्नुपर्थ्यो। जुन चित्कित्सा शिक्षा अनि नागरिकको स्वास्थ्यको मुद्दा डाक्टर केसीले पटक-पटक आफ्नो प्राण दाउमा राखेका छन्, त्यो ख्याल-ख्याल होइन। आफ्नो प्राण दाउमा राख्न सक्नु सबैभन्दा ठूलो नैतिकता र साहस हो। 

यसपालि पनि डाक्टर केसीको सत्याग्रह चिकित्सा स्वास्थ्यसँगै भ्रस्टाचार अनि बेथितिविरुद्ध थियो। बर्खास्त भएका त्रिविका डिन डा शशी शर्मालाई अदालतले पुनर्वहाली गर्न आदेश दिएपछि डाक्टर केसी यस्तो फैसला गर्ने, गराउने पात्रहरु कै विरुद्ध उत्रिए।

केसीले ‘चिकित्सा शिक्षा आयोग तत्काल गठनसँगै पदीय मर्यादाविपरीत न्यायालयमा भ्रष्टाचार संस्थागत गर्ने तथा न्यायलाई बिक्रीको विषय बनाउने भ्रष्ट प्रधान न्यायधीश गोपाल पराजुलीद्वारा पदबाट तत्काल राजीनामा गरियोस् अनि तत्पश्चात उनका भ्रष्ट क्रियाकलापहरुमाथि छानविन र कारवाही गरियोस्’ भन्ने मागसहित चौधौं पटक अनशन बसे। 

डाक्टर केसीको अभिव्यक्तिको कुनै कुना समातेर उनीमाथि अदालत मानहानी मुद्दा लगाई तारान्तर मुद्दा फैसला गरियो। टिचिङको एउटा कोठामा बसेका डाक्टर‍माथि अपाराधी झैँ लगियो।

उनी भोलिपल्ट ९ बजे अदालतमा उपस्थिति भएर आफ्नो कुरा राख्ने मौका हुदाँ-हुदै पनि किन एका-एक समातियो ? अब आम नागरिकले सोच्ने बेला आएको छ।  झन् रोचक प्रसंग त, प्रधानमन्त्री तथा गृहमन्त्री शेरबहादुर देउवालाई समेत जानकारी नदिई केसीलाई गिरफ्तार गरियो।

जस-जसको निर्देशनमा यो घटना भयो ती व्यक्तिहरुको आफ्नो शक्तिप्रतिको विश्वास अनि लोकतन्त्रप्रतिको अविश्वास छर्लंग हुन्छ। एउटा साधारण मानिसलाई त समात्न दुई-चोटी सोच्नुपर्छ। डाक्टर केसी जस्तो राष्ट्रिय व्यक्तित्व समात्न रचिएको यो शृंखलामा कानुन मात्र थियो वा पूर्वाग्रह अनि डर पनि यसको फैसला जनता अनि समयले गर्नेछ। 

लोकतन्त्रमा संसद भन्दाबाहिर एउटा नागरिकको जमात हुन्छ, त्यसको एउटा नेता हुन्छ। जसको ठूलो सामाजिक शक्ति हुन्छ। आजको दिनमा त्यो जमात माइतीघरमा छ। त्यसका नेता गोविन्द केसी हुन्। डाक्टर केसी सामान्य मानिस हुदाँहुदै पनि जुन शक्ति अनि समर्थन उनीसँग छ, सायद नेपालमा हालको अवस्थामा त्यो अरु नै कोहीसँग होला ! 

त्यस्तो व्यक्तिले उठाएको मुद्दा सामान्य होइन। उनले लगाएको आरोप कमजोर मान्न सकिन्न। उनले औंला ठड्याएका पात्रमाथि प्रश्न उनको मात्र होइन, उनका समर्थकको पनि हो। अब ती प्रश्न र पात्र दुवैमाथि निष्पक्ष छानविन हुन जरुरी छ। अब नेपालमा चौथो मर्यादाक्रममा रहेका मानिस माथि लागेको आरोपमाथि गम्भीर छलफल र सोध-खोज हुनैपर्छ। यो लँडाई डाक्टर केसी र गोपाल पराजुलीको मात्र होइन, लोकतन्त्रका पक्षधर र बिपक्षीको भैसकेको छ।

डाक्टर केसी लोकतन्त्रका सच्चा नायकका रुपमा अगाडि आएका छन्। विगत केही वर्षदेखि उनले जुन मुद्दा उठाएर आम नागरिकको पक्षमा वकालत गरिरहेका छन्, त्यसले नेपाली माझ लोकतन्त्रलाई झन् मजबुत बनाएको छ। लोकतन्त्रप्रतिको आस्था मजबुत बनाएको छ। तीन करोड नेपालीको स्वास्थ्य बचाउने बाटोमा जसरी हामी अघि बढिरहेका छौं, त्यो आफैंमा इतिहास बन्दै छ। लोकमान सिंह कार्कीलाई सडक कै बलबाट हटायौं। शुशिला कार्कीलाई लागेको महाअभियोगविरुद्ध फेरि जनता सचेत छन् भनेर प्रदर्शन गर्न सफल भयौं। माइतीघरले नै सिंहदरबार अनि बानेश्वरलाई पटक-पटक संविधान बनाउनदेखि जनताको पक्षमा फैसला गर्न दबाब दियो। यसपालि हामीले एकपल्ट फेरि जनताको बल प्रमाणित गर्नुछ जसले कसैको जित वा हारभन्दा पनि लोकतन्त्र बलियो बनाउँदैछ।

डाक्टर केसीले अदालतको मानहानी गरे वा मान राखे त्यसको फैसला उनले उठाएका मुद्दाको निष्पक्ष छानविन पछि मात्रै आउने छ। साथै, यही मुद्दाबाट हामीले वाक स्वतन्त्रता अनि अदालतको मानहानी बीचको फरक खोज्ने अनि बुझ्ने बेला आएको छ। अदालतका कुनै न्यायाधीशले गलत गरे भन्नु अदालतको मानहानी हो की वाक स्वतन्त्रता, अब बहस जरुरी छ।

गत केही वर्षमा कानुनमा दुई प्रकारका प्रयोग भए। पहिलो शक्ति अनि कानुनमा टेकेर खराब व्यक्तिहरु छुटे, बचे।

दोस्रो, त्यही कानुन र शक्तिमा टेकेर सही मानिसलाई चुप लगाइयो। अब भने कानुनको गलत प्रयोग गर्ने प्रवृत्ति रोकिन जरुरी छ। यसको सुरुवात यही मुद्दाबाट हुन जरुरी छ। यसका निम्ति माइतीघर त्यो जनअदालत बन्न जरुरी छ।

म प्रत्येक दिन प्रत्यक्ष वा अप्रत्यक्ष सरकारलाई कर बुझाउँछु। नेताहरु, राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशहरु पालिने भनेको म लगायत आम नागरिक कै करबाट हो। म:म खाँदा होस् वा फिल्म हेर्न जादाँ, मैले फेसबुक चलाउँदाको इन्टरनेट शुल्कमा होस् वा फोन गर्दा। बाईक, लाइसेन्स, पेट्रोल, गाडी सबमा कर तिर्छु। अनि बेलुका सुत्नुअघि मेरो कर प्रयोग भएको खबर टिभीमा वा अखबारमा पढ्छु र दिक्क हुन्छु। कुनै पनि नागरिक कसरी चुपचाप सहेर बस्न सक्छ।

तर जब हाम्रो आवाज बोल्ने डाक्टर केसीलाई जाल-झेल गरेर, मुद्दा हाल्न लगाएर समातेर लगिन्छ भने म यही सरकार र पद्धति समर्थन गरेर बाहिर बस्न सक्दिन। यो केसीविरुद्ध चल्नेहरुको समर्थन हुन्छ।

त्यसैले केसीलाई जेल हाल्दा म बाहिर बस्न सक्दिनँ। अब ए! सरकार मलाई पनि जेल हाल।

हेनरी डेविड थोरोले नै भनेका छन्, ‘यदि तिमीलाई कुनै कुरा गलत भइरहेको छ जस्तो लाग्छ भने आफ्नो विवेक प्रयोग गर। नैतिकतासहित कानुन तोड, सजाय भोग तर चुप नबस। डाक्टर केसीले त्यही गरे। चुप बसेनन् त्यसैले उनी दोषी हुन् ? 

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.