पछिल्लो संसदीय निर्वाचनमा नराम्ररी हारेपछि कांग्रेसमा नेतृत्व परिवर्तन र पार्टी सुधारको बहस सुरु भएको छ। कतिले यसलाई पार्टी पुनर्निर्माणको बहस पनि भनेका छन्।
यो बहस धिमा र साँघुरो छ। नाकमुनि मात्र हेरेर गरिने बहसले फराकिलो ठाउँ समेट्दैन। त्यसमा विषयवस्तु पनि धेरै समेटिन्नन्। त्यसले टाढाको बाटो पहिल्याउँदैन। यसलाई फराकिलो र सघन बनाएर मात्र कांग्रेसले भोलिको बाटो ठम्याउन सक्नेछ।
कांग्रेसले आफ्नो पार्टी जीवन दुई कालखण्डमा बाँड्नुपर्छ — स्थापनादेखि अहिलेसम्मको ७० वर्ष, र अगाडिको ७० वर्ष। त्यसले मात्र कांग्रेसलाई विगतप्रति गर्वबोध गर्दै भविष्यका लागि काम गर्न ऊर्जा दिनेछ।
राणाकाल अन्त्य र प्रजातन्त्र स्थापना, ३० वर्षे पञ्चायतविरूद्ध संघर्ष र त्यसको अन्त्य, ज्ञानेन्द्रको शासनविरूद्ध प्रतिरोध, माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन निर्णायक पहलकदमी, गणतन्त्र घोषणा, गणतान्त्रिक संविधान जारी, धैर्यपूर्वक पर्खिएर मधेसवादी दललाई पनि सहभागी गराउँदै भर्खरै सम्पन्न तीनै तहका चुनाव र संक्रमणकालको सकारात्मक पटाक्षेप– पछिल्लो ७० वर्षका यी सबै महत्वपूर्ण राजनीतिक घटनामा कांग्रेसले आफूलाई केन्द्रमा पाउनेछ।
इतिहासले पार्टीहरूलाई लामो दूरी तय गर्ने धैर्य र ऊर्जा दिन्छ। तर, भविष्य सिञ्चित गर्ने र मार्गदर्शन गर्ने हदसम्म मात्र इतिहास सम्झना गर्नुपर्छ।
विगतमा धेरै रम्ने व्यक्ति र पार्टी भविष्यमुखी हुँदैन। कांग्रेस आजकाल इतिहासको धेरै कुरा गर्छ। उसँग वर्तमान र भविष्यबारे बोल्ने विषय थोरै हुँदै गएका छन्। ७० वर्षअघि कांग्रेससँग आफ्नो इतिहासका कुरा थिएनन्। भविष्यका कुरा गर्ने प्रचुर कल्पनाशक्ति भने यो पार्टीसँग थियो।
कांग्रेसले सबैभन्दा पहिले गहिरोसँग मनन् गर्नुपर्यो, नेपाल अब फरक कालखण्डमा प्रवेश गर्दैछ। कांग्रेस पनि हिजोभन्दा फरक हुनैपर्छ।
२००४ सालमा स्थापित नेपाली कांग्रेसको प्रजातन्त्र स्थापनाको अभिभारा भर्खर पूरा भएको छ। दुईपटक प्रजातन्त्र खोसेको राजतन्त्र आफैं फालिएको छ। संसदीय व्यवस्था फालेर एकदलीय जनगणतन्त्र ल्याउन हतियार उठाएको पार्टी संसदीय राजनीतिको मूलधारमा आएको छ। मुलुकमा गणतान्त्रिक संविधान जारी भएको छ। संघीयता र स्थानीय शासन कार्यान्वयनको महत्वपूर्ण चरणमा प्रवेश गरेका छन्। अब प्रजातन्त्र परिस्कृत वा बद्नाम हुन सक्छ, कसैले फाल्न सक्दैन।
मैले यहाँ जानाजान लोकतन्त्र नलेखेको हो। २०६२/६३ को दोस्रो जनआन्दोलनसँगै हामी लोकतन्त्र भन्न र लेख्न थाल्यौं। आन्दोलनकै क्रममा राजाबिनाको प्रजातन्त्रलाई संकेत गर्दै लोकतन्त्र भनिएको थियो। पार्टीहरूले पनि हामीले चेत्यौं बाबा, अब हामी सच्चिन्छौं भनेका थिए। जनउत्तरदायी शासन व्यवस्थाको कालखण्ड सुरु हुने अपेक्षामा लोकतन्त्र भनियो।
यथार्थमा हामी आज प्रजातन्त्र होइन, पार्टीतन्त्रमा छौं। खासमा भन्दा, जनताप्रति अनुत्तरदायी, जनताबाट विमुख पार्टीभित्रको गुटतन्त्रमा छौं। जुन गुटतन्त्र विशेष गरी सत्तामा भएका बेला बारम्बार अहंकारी र स्वैच्छाचारी हुने गर्छ।
त्यसैले कांग्रेसका लागि मात्र होइन, सबै पार्टीका लागि लोकतन्त्रको कार्यभार बल्ल सुरु भयो। सबै पार्टीमा संस्थागत भएको गुटतन्त्रबाट लोकतन्त्रतिरको यात्रा सजिलो हुने छैन। कांग्रेसको अर्को कालखण्डको अग्निपरीक्षा पनि यहीँबाट सुरु हुन्छ। कांग्रेस पुनर्निर्माणको प्रश्न पनि यहीँबाट सुरु हुन्छ।
सत्तरी वर्षअघि दुई पार्टी मिलेर नेपाली कांग्रेस बन्दा पनि आकारमा सानो पार्टी थियो। त्यसको संगठन, श्रोत र जनसमर्थनको घेरा साँघुरो थियो। महत्वाकांक्षा ठूलो थियो। उद्देश्य ठूलो थियो– एक सय चार वर्षे राणा शासन फाल्ने र जनताको शासन स्थापना गर्ने। आँखामा सपना र पेटमा आगो बोकेको कांग्रेस थियो त्यो। त्यही सपना र ऊर्जाले कांग्रेसलाई अघि बढायो।
सपनामा विचार हुन्छ, टाढासम्म हेर्ने दृष्टि हुन्छ। र, आगोमा ऊर्जा हुन्छ।
आज कांग्रेस आकारमा ठूलो छ। संगठन छ। अरू पार्टीलाई जस्तै स्रोतमा अनधिकृत पहुँच छ। कार्यकर्ताको ठूलो पंक्ति छ। खुम्चिँदो, तर अझै विशाल जनसमर्थन छ।
यति हुँदाहुँदै कांग्रेस आज कमजोर छ। यसको आँखामा सपना छैन। पेटमा आगो छैन। पछिल्ला केही वर्ष कांग्रेसका आँखा रित्ता छन्। पेट भने अरू नै कुराले भरिएको छ।
पार्टी त छ, तर के का लागि छ? थाहा छैन।
कांग्रेस एउटा कुराका लागि मात्र छ जस्तो देखिन्छ, फगत सत्ताका लागि। उसका लागि सत्ता साधन होइन, साध्य भएको छ।
यसपालि पनि कांग्रेसमा सत्ता आतुरता कम छैन। जनताले वाम गठबन्धनको पक्षमा भर्खरै जनमत दिएका छन्। कांग्रेसलाई प्रतिपक्षको प्रस्ट म्यान्डेट छ। नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भने माओवादी अध्यक्ष पुष्पकमल दाहालसमक्ष आफ्नो पार्टीको समर्थनमा पाँच वर्ष प्रधानमन्त्री बन्ने ‘ब्ल्यांक चेक’ पठाएका छन्। चेक साट्न कांग्रेसको काउन्टर चौबीसै घन्टा खुल्ला छ।
दाहाललाई जनमतको बर्खिलाफ पाँच वर्ष प्रधानमन्त्री बनाउने प्रस्ताव कांग्रेसको हितमा छ कि छैन? मुलुकको हितमा छ कि छैन? कांग्रेसमा त्यसको कुनै संस्थागत छलफल छैन।
एकछिनलाई मानौं, एमाले इतर माओवादी–कांग्रेसको गठबन्धन बन्यो र पाँच वर्ष त्यसले सत्ता चलायो। त्यसपछि के हुन्छ? त्यसपछि हुने चुनावमा कांग्रेसले बहुमत ल्याउँछ? सबैभन्दा ठूलो पार्टी बन्छ?
बलियो सम्भावना अहिलेजस्तै एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो होलान्। त्यसपछि फेरि दाहालले बार्गेनिङ गर्ने होलान्, जसले प्रधानमन्त्री बनाउँछ उसैसँग जाने होलान्।
भनेपछि, अब दसौं वर्ष कांग्रेसको भूमिका भनेको अर्कालाई प्रधानमन्त्री बनाउने र आफ्नो बर्कतले भ्याए सत्तामा सहायक पार्टी बन्ने हो?
अब अर्को सम्भावना हेरौं।
माओवादी–कांग्रेस सत्ता पाँच वर्ष टुलुटुलु हेरेर एमाले बस्ने छैन। भरसक सुरुमै वा केही समयपछि उपेन्द्र यादवलाई नेतृत्व दिएर माओवादी र कांग्रेसलाई सत्ताविमुख बनाउने विकल्प उसँग छ।
यसले मुलुकमा अस्थिरताको अर्को दुश्चक्र चलाउने छ। त्यो दुश्चक्रको मूल अपजस स्वाभाविक रूपमा कांग्रेसलाई जानेछ।
यति थाहा हुँदाहुँदै दाहालसँग हात बढाउने कांग्रेस सभापति देउवाको स्वार्थ बुझ्न सकिन्छ। माओवादी–कांग्रेस सरकार बन्यो भने उनी सत्ताको केन्द्रमा हुनेछन्। अर्को महाधिवेशनमा फेरि कांग्रेस सभापति बन्ने बाटो बलियो हुनेछ।
केही गरी एमाले–माओवादी सरकार बन्यो र दुई वाम पार्टी एकतातर्फ बढे देउवाको नेतृत्व धरापमा पर्नेछ। पचास प्रतिशत लोकप्रिय मत बोकेको भीमकाय एकीकृत वाम पार्टीलाई अर्को चुनावमा हराउन सक्ने क्षमता भएको नेता मै हुँ भनेर उनले भन्ने आँट गर्न सक्नै छैनन्। त्यस्तो दुस्साहस गरे पनि कसैले पत्याउने छैनन्।
आज माओवादी–कांग्रेस गठबन्धन सबैभन्दा धेरै देउवालाई नै चाहिएको छ।
देउवा र उनका नजिकका केही मानिस मान्न तयार छैनन्– कांग्रेस यसपालि हारेको हो। दुई वाम पार्टी मिले, त्यही भएर प्रत्यक्षमा हारियो, समानुपातिकमा एमाले बराबरै छौं भन्ने उनीहरूको सार्वजनिक प्रतिरक्षा छ।
यसपालि चुनावको मात्र कुरा छाडौं। कांग्रेस वास्तवमा धेरै अघिबाट खुम्चिँदै आएको हो कि होइन? त्यसको मिहीन विश्लेषण जरुरी छ।
२०४८ सालमा कांग्रेसले ११० सिट जित्दा एमालेले ६९ सिट जितेको थियो। जनमोर्चाले ९ सिट। केही साना वाम पार्टीले अरू ५ सिट जितेका थिए। कांग्रेसको लोकप्रिय मत सबै कम्युनिस्ट पार्टीको जोड्दाभन्दा धेरै थियो।
२०५१ को मध्यावधि निर्वाचनमा एमालेले कांग्रेसभन्दा एक सिट धेरै ल्यायो, तर लोकप्रिय मत कांग्रेसकै धेरै थियो।
२०६४ मा माओवादीले कांग्रेसलाई आठ लाख हाराहारी लोकप्रिय मतले पछाडि पार्यो। कुनै कम्युनिस्ट पार्टीले कांग्रेसभन्दा धेरै लोकप्रिय मत ल्याएको त्यो पहिलो इतिहास थियो। यसपालि एमालेले पहिलोपटक कांग्रेसभन्दा धेरै लोकप्रिय मत ल्यायो।
२०७० मा कांग्रेसले एमालेभन्दा एक लाख ७८ हजार मत धेरै ल्याएको थियो। यसपालि एमालेले कांग्रेसभन्दा ४५ हजार मत धेरै ल्यायो। अर्थात् पाँच वर्ष अवधिमा दुई लाखभन्दा धेरै मत कांग्रेसको तुलनामा एमालेतिर ‘स्विङ’ भयो।
यसपालि समानुपातिकमा झन्डै पाँच प्रतिशत मत बदर भएको अनुमान छ। सबै बदर मत एमाले–माओवादीका होइनन्। तर, एमाले–माओवादी चुनावी तालमेलले मतदाता झुक्किएर यी दुई पार्टीकै धेरै मत बदर भएका छन् भन्ने अनुमान लगाउन अप्ठ्यारो छैन। त्यो सही हो भने, यसपालि एमालेले कांग्रेसलाई समानुपातिकमा अहिले देखिएभन्दा धेरै मतले पछि पारेको छ। लामो समय कांग्रेस लोकप्रिय मतमा पहिलो पार्टी थियो, अब लामो समय एमालेले कांग्रेसलाई दोस्रोमा धकेल्ने संकेत देखा परेको छ।
२०४८ यता किन लगातार वामपन्थी मत बढेको छ? किन मधेस वा काठमाडौंमा खुलेका कुनै पनि नयाँ पार्टीले कांग्रेसको मत सबैभन्दा धेरै काट्ने गरेका छन्?
यी प्रश्नको ओठे जवाफ होइन, बृहत र गुणात्मक अनुसन्धानमार्फत् कांग्रेसले उत्तर खोज्न जरुरी छ।
एउटा कुरा भने पक्का छ– युवा मतदाताको अनाकर्षण कांग्रेस निरन्तर खुम्चनुको प्रमुख कारण हो। २०४८ पछि जति पनि नयाँ बालिग मतदाता थपिए, त्यसमा कांग्रेसको ‘सेयर’ निरन्तर खस्केको प्रशस्त संकेत देखिन्छन्। यसको रफ्तार पछिल्ला वर्ष झनै धेरै बढेको छ।
म तेस्रो चरणको स्थानीय चुनावपछि जनकपुर गएको थिएँ। जनकपुर उपमहानगरपालिकासँगै जोडिएको एउटा गाउँमा स्थानीय युवा शिक्षकसँग एक साँझ बस्ने मौका मिल्यो। खुब मित्रवत् गफ गर्ने मौका मिल्यो। तीमध्ये कोही कांग्रेस थिएनन्।
मैले सोधेँ, ‘यो गाउँमा कांग्रेसी त पक्कै छन्, को हुन् काँंग्रेस?’
उनीहरूले जवाफ दिए, ‘पुराना र परम्परागत रूपमै कांग्रेसलाई भोट दिने धेरै परिवार छन्। त्यो परिवारका बूढाबूढी अझै कांग्रेसलाई नै भोट दिन्छन्, छोराछोरी भने कसैले दिन्छन्, कसैले दिन्नन्।’
मैले जनकपुर बसाइमा धेरै यस्ता युवा भेटेँ, जसका आमाबा कांग्रेस नै थिए, तर उनीहरू थिएनन्।
काठमाडौं महानगरपालिकाको यसपालि स्थानीय चुनावमा सेतोपाटीले पाँच सय मतदाता भेटेर प्रत्यक्ष कुरा गरेको थियो। त्यो कुराकानीका आधारमा हामीले चुनाव सकिएको केही घन्टामै विश्लेषण लेख्यौं। हामीले भन्यौं– एमालेले जित्नेछ, कांग्रेस दोस्रो हुनेछ, विवेकशील तेस्रो हुनेछ, साझा पार्टी चौथो हुनेछ। र, माओवादीलाई जमानत जोगाउन मुश्किल पर्नेछ। चुनाव परिणामले यी सबै विश्लेषण सही साबित गर्यो।
त्यो बेला विवेकशील र साझा पार्टीले कसको मत धेरै काटे भन्ने हाम्रो विश्लेषण पनि सही छ भन्नेमा हामी विश्वस्त छौं। विवेकशील र साझालाई त्यो बेला मत हाल्ने ठूलो हिस्सा युवा मतदाताकै थियो।
हामीले कुरा गरेकामध्ये विवेकशीललाई मत दिएका झन्डै ७० प्रतिशतले अघिल्लोपटक कांग्रेसलाई मत दिएका थिए। त्यस्तै, साझालाई मत दिएका झन्डै ६० प्रतिशतले कांग्रेसलाई दिएका थिए।
कांग्रेसले केही गरेन, अर्कोले गर्छ कि भन्ने सहरिया युवा मत निरन्तर बढ्दो छ भन्ने संकेत हो यो।
२०६४ मा माओवादीलाई गएको सहरिया युवा मत अर्को उदाहरण हो। कांग्रेसलाई मत हाल्दै आएका परम्परागत परिवारका कैयन युवाले त्यो बेला माओवादीलाई मत हाले। माओवादीले केही गरिहाल्छ कि भनेर मत दिएको धेरैले बताएका थिए। त्यसको अर्थ प्रस्ट थियो, कांग्रेसले नै केही राम्रो गर्छ भन्ने विश्वास उनीहरूमा देखिएन।
माओवादीले मौका गुमायो। धेरै युवा कांग्रेस, एमाले नै फर्किए।
यसपालि संसदीय चुनावमा हामीले कुरा गरेका कतिपय युवा मतदाताले केपी ओलीको आकर्षणले एमालेलाई मत दिने बताए। २०७० सालमा एमालेलाई मत दिएर यसपालि कांग्रेसलाई दिन्छु भनेका मतदाता भने विरलै भेटिए।
कांग्रेसले व्यावसायिक अनुसन्धानकर्ता समूहको सहयोगमा एउटा व्यापक अध्ययन गर्नु जरुरी छ– आज १८ देखि ४० वर्षका कति मतदाताले कांग्रेसलाई भोट दिन्छन्? नदिनेले के कारणले दिन्न भन्छन्? यो उमेर समूहको मतदाता पंक्ति किन निरन्तर कांग्रेसबाट टाढा गइरहेको छ?
१८ देखि ४० वर्ष भनेको बहुसंख्यक मतदाता हो। शिक्षित मतदाता त्यही हो। आजको र भोलिको नेपाल त्यही हो। कांग्रेस त्यहाँ कमजोर छ भने अवश्य मुलुकभर कमजोर हुन्छ। आज कमजोर छ भने आउँदा वर्ष झनै कमजोर हुनेछ। ठूलो संकट व्यहोर्न कांग्रेसले अबको ७० वर्ष कुर्नु पर्दैन।
कांग्रेसको आजको अवस्थाको विश्लेषण कसैको मनोगत तर्कमा आधारित हुनुहुन्न। कसैलाई केही लागेको भरमा हुनुहुन्न। कसैको ओठे जवाफ वा जिद्दीले यो निर्धारित हुनुहुन्न। यसका लागि व्यापक अध्ययन र फराकिलो छलफल आवश्यक छ।
त्यो अध्ययन र छलफलको निष्कर्षपछि कांग्रेस पुनर्निर्माण गर्न समय, धैर्य र एकाग्रता चाहिन्छ। कांग्रेस पुनर्जीवनको प्रश्नको हल केही दिन वा महिनामा खोज्न सम्भव छैन। त्यसका लागि कांग्रेस पाँच वा दस वर्षको कठोर परिश्रमका लागि तयार हुनुपर्छ। त्यसले कांग्रेसलाई बदल्ने सम्भावना बोक्नेछ। मुलुकमा नागरिकप्रति जिम्मेवार लोकतान्त्रिक शासन स्थापना गर्ने सम्भावना बोक्नेछ।
पाँच वा दस वर्ष प्रतिपक्षमा बस्दा कांग्रेस सकिन्न। यो धेरै दुःख गरेर, कठिन परिस्थितिमा अग्रजहरूले जिलो जोगाउँदै अघि बढाएको पार्टी हो।
कांग्रेस नेता विमलेन्द्र निधिले केही दिनअघि कृष्णप्रसाद भट्टराईसँगको मार्मिक घटना सुनाएका थिए।
२०४२ सालको असफल सत्याग्रहपछिका केही वर्ष कांग्रेसका लागि दुरुहपूर्ण समय थियो।
जनमत संग्रहको दुई वर्ष नपुग्दै बिपी कोइरालाको निधन भएको थियो। कांग्रेसका केही होनहार नेता, कार्यकर्ता महामन्त्री पर्शुनारायण चौधरीको नेतृत्वमा पञ्चायत प्रवेश गरेका थिए।
२०३८ सालको बालिग मताधिकारका आधारमा राष्ट्रिय पञ्चायत चुनावपछि दरबार र पञ्चहरू पञ्चायतलाई ‘निर्विकल्प व्यवस्था’ भन्न थालेका थिए। २०४३ सालमा कांग्रेसका अर्का दुई सशक्त युवा बिपिन कोइराला र शिवबहादुर खड्का पञ्चायत प्रवेश गरे। पञ्चहरूले गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा पनि पञ्चायत प्रवेश गर्दैछन् भन्ने हल्ला चलाए।
कांग्रेसको दोस्रो तहका नेता र युवामा बडो निराशा थियो। को कहिले पञ्चायत प्रवेश गर्ने हो भन्ने त्राहीमाम थियो।
कृष्णप्रसाद भट्टराई त्यो बेला कुपण्डोलस्थित आफ्नो भान्जाको निवासमा बस्थे।
निधिका अनुसार त्यही निवासमा दिनदिनै कांग्रेसका दोस्रो तहका नेता बोलाएर भट्टराईले भन्न थालेका थिए, ‘मेरो राजासँग कुरा चलिरहेको छ। राजा पनि पञ्चायत अब टिक्दैन भन्ने निष्कर्षमा पुगिसके। कांग्रेसको काँधमा चाँडै जिम्मेवारी आउँदैछ, बाबुहरू तयार रहनू।’
निधिकै अगाडि कांग्रेसको त्यो बेलाका दोस्रो तहका धेरै नेतालाई भट्टराईले त्यसो भनेपछि एक दिन निधिले सोधेछन्, ‘किसुनजी, तपाईंलाई त थाहा छ, राजाले त्यस्तो भनेका छैनन्, त्यस्तो सम्भावना पनि छैन। किन तपाईंले त्यसो भन्नुभएको?’
भट्टराईले भनेछन्, ‘बाबु, यो निराशा बेला साथीहरूको मनोबल बढाउनु मेरो कर्तव्य हो, पार्टी जोगाउनु मेरो कर्तव्य हो।’
त्यसको केही वर्षमै गणेशमान सिहंले कांग्रेस जोगाउन अर्को हिम्मत गरे। र, भने, ‘अब वार कि पारको लडाइँ गर्ने हो पञ्चायतसँग।’
मूलतः उनकै जोडबल र साहसमा पहिलो जनआन्दोलन घोषणा भयो। त्यसले पञ्चायत ढाल्यो।
कांग्रेसका संस्थापक नेताहरूले बडो साहस र हिम्मत गरेर स्थापना गरेको, दुःख र संघर्ष गरेर हुर्काएको र अपमान सहेर जोगाएको पार्टी हो कांग्रेस। त्यही संघर्षको अग्रमोर्चामा लडेको पुस्ता कांग्रेस नेतृत्वमा छ। त्यो पुस्ताले आजका दिनमा दुइटा भूल गर्न मिल्दैन— त्यो बिरासत बिर्सन मिल्दैन र यहाँबाट कांग्रेसलाई यो फरक कालखण्डमा अगाडि बढाउने पनि हामी नै हौं भन्ने भ्रम पाल्न मिल्दैन। नत्र ढिलो हुन्छ, कांग्रेस थप संकटमा पर्नेछ।
कुनै पनि राजनीतिक पार्टीजस्तै कांग्रेसलाई पनि यहाँबाट अघि लैजाने तीनवटा कुराले नै हो। यत्ति हो, यी तीनै कुरा आजको नेपाल सुहाउँदो हुनुपर्छ। भोलिको नेपाल निर्माण गर्न सक्ने हुनुपर्छ।
१) नेतृत्व
२) पार्टीको विचार
३) संगठन निर्माण, त्यसको आचरण र नेतृत्व चयन
वास्तवमा राजनीतिक पार्टी भनेकै नेतृत्व, विचार र संगठनको समष्टी रूप हो।
आजको दुनियाँमा जहाँ नेतृत्वको आवाज र उसको विचार हरेक पल जनताकहाँ पुग्छ, जहाँ हरेक दिन नेतृत्वलाई जनताले सुन्छन्, डिजिटल पर्दामा देख्छन्, जहाँ उसको हाउभाउ देख्छन्, उसका काम हेर्छन्, आचरण जोख्छन्, यो समय कुनै पनि पार्टीको मूल पक्ष भनेको त्यसको नेतृत्व नै हो। आमनागरिकमाझ नेतृत्व नै पार्टीको सबैभन्दा ठूलो संदेशवाहक हो। सबैभन्दा ठूलो ‘मेसेन्जर’ उही हो।
आजका दिनमा ‘कमजोर’ मेसेन्जर राखेर बलियो पार्टी बनाउन सम्भव छैन। बरु संसारमा धेरै यस्ता उदाहरण छन्, जहाँ पार्टी नयाँ छ, संगठन नै छैन वा बलियो छैन, जहाँ पार्टी नयाँ भएकाले त्यसको विचार, आचरणको परीक्षण नै भएको छैन, त्यहाँ पनि एउटा ‘क्यारिस्मेटिक’ नेतृत्वले चुनावमा हलचल मचाएको छ।
नेतृत्व एक्लैले आम मतदातालाई छुन सक्यो, आफ्नो सपना उनीहरूको सपनासँग जोड्न सक्यो र उसको आचरणमा मतदाता विश्वस्त हुन सके भने संगठन भए वा नभए पनि त्यो नेतृत्वले निर्वाचन परिणाम आफ्नो पक्षमा पार्नसक्ने रहेछ भन्ने देखियो।
संसारभर पछिल्ला केही दशकको उदाहरण हेर्ने हो भने बिल क्लिन्टन, टोनी ब्लेयर, बराक ओबामा, डेभिड केमरून, नरेन्द्र मोदी, अरविन्द्र केजरीवाल, इमान्युएल मांक्रो, डोनाल्ड ट्रम्प यस्ता नेता देखिए जसले आफ्नो पार्टीको संगठनभन्दा आफ्नो व्यक्तित्वको भरमा जनमत पक्षमा पारे।
मतदाताका सपना, उनीहरूका आवेग, डर, निराशा वा आशालाई आफ्नो भोटमा बदल्ने अद्भूत क्षमता देखियो उनीहरूमा।
टाढा किन जाने? यसपालि काठमाडौं–१ नै हेरौं।
कांग्रेसको सबैभन्दा बलियो किलामध्ये एक। अभेद संगठन भएको निर्वाचन क्षेत्र। कांग्रेसका पूर्वमहामन्त्री र अहिलेका अग्रणी नेता, लौह पुरूष गणेशमान सिंहका पुत्र प्रकाशमान किन झन्डै रवीन्द्र मिश्रसँग हारे? मिश्रको राजनीतिक परिपक्वता, विचार र आचरणको परीक्षण भएको थिएन। विवेकशील साझाको संगठन छँदै थिएन। तै किन उनले प्रकाशमानलाई झन्डै पछारे?
आमनागरिकसँग संवाद गर्न नसक्ने, उनीहरूको कुरा सुन्ने धैर्य र आफ्नो कुरा भन्ने चुम्बकीय क्षमता नै नभए पनि थोरै सीप नभएको व्यक्ति अब कुनै पार्टीको नेता हुन सक्दैन।
कांग्रेसले अब आफू ‘वक्तृत्वकला’ मा विश्वास गर्ने पार्टी हैन भनेर धर पाउने छैन। कांग्रेस पुरानै पार्टी होला, तर समाज त बदलिसक्यो। प्रविधि बदलिसक्यो।
नेता को हो? उसको कामको ‘ट्रयाक रेकर्ड’ के हो? उसको आचरण के हो? उसले के बोल्छ? जनताको चेतन, अवचेतनले हरपल यिनै कुरा हेर्छ, जोख्छ र कुन पार्टीलाई भोट हाल्छु भन्ने निर्णय गर्छ।
त्यसमाथि अब नेपालका राजनीतिक मुद्दा पनि बदलिए। अब सुशासन र मुलुकलाई चाहिने सही नीति के हो भन्नेमा बहस हुनेछ। मिडियाले बहसलाई त्यतै लैजाने छ, र त्यो जायज पनि हुनेछ।
मुलुकको सुशानको प्रमुख मुद्दा के हो? हाम्रो परराष्ट्र नीतिको सन्तुलन के हो? समृद्धिको आर्थिक र विकास नीति के हो? समानता र सामाजिक न्यायका मुद्दा के हुन्? जलविद्युतको सही नीति के हो? हाम्रो कर्मचारीतन्त्र सुधारको मुद्दा के हो? शिक्षा नीति के हो? स्वास्थ्य नीति के हो? संघीयता र स्थानीय सरकार कार्यान्वयनको जटिलता सुल्झाउने कसरी हो?
संक्रमणकाल अन्त्यपछिको राजनीति यिनै मुद्दामा केन्द्रित हुनेछ। यिनै विषयका विज्ञ कांग्रेस नेता हुने होइनन्। तर, कांग्रेस नेता यी हरेक विषयको जटिलतामा चाख राख्न सक्ने, विज्ञहरूसँग छलफल गर्न सक्ने र बुझ्नसक्ने हुनुपर्छ। यी विषय ‘डाइजेस्ट’ गरेर निर्णय लिनसक्ने, पार्टीको निर्णय सर्वसाधारणले बुझ्ने गरी भन्न सक्नुपर्ने हुन्छ। अर्थात् नेपालका लागि महत्वपूर्ण हरेक विषयमा उसको बौद्धिक र भावनात्मक लगाव हुनुपर्छ। तिनलाई जनतामाझ लिएर जाने सक्ने जाँगर र क्षमता हुनुपर्छ।
कुनै विषयमा दुई मिनेट बोल्नसक्ने धैर्य नभएको र आमनागारिकलाई बुझाउने सक्ने क्षमता नभएको मानिस अब कांग्रेसको नेता हुन सक्दैन। चाहे त्यो कसैको छोरो किन नहोस्, चाहे त्यो वर्षौं जेल बसेको किन नहोस् वा नेतृवका लागि पालो आएको व्यक्ति किन नहोस्।
अर्थात्, जसका आँखामा नेपाली समाजका जल्दाबल्दा मुद्दा सम्बोधन गर्ने सपना र पेटमा काम गर्ने आगो (ऊर्जा) छैन, त्यसले कांग्रेसको नेतृत्व गर्न सक्दैन।
राजनीतिक पार्टीहरू कहिले सेलाउँछन् वा जिम्लिन्छन्। प्रतिस्पर्धात्मक राजनीतिमा एउटै नेताले सधैं पार्टी हाँक्न सक्दैन।
त्यस्तो बेला नयाँ नेतृत्व आउँछ, उसले आफ्ना सपना पार्टीको आँखामा हालिदिन्छ। आफ्नो पेटको आगो पार्टीको पेटमा पनि सार्छ। अनि सारा पार्टी चलायमान बनाउँछ। मतदातालाई चलायमान बनाउँछ।
आठ वर्षको बुस कार्यकालमा अमेरिकामा डेमोक्रेटिक पार्टी भुत्ते देखियो। सिनियर बुसजस्तै जर्ज बुसलाई पनि एक कार्यकालमा फाल्ने डेमोक्रेटहरूको सपना थियो। तर, बुस दोस्रो कार्यकाल मात्र चुनिएनन्, उनको दोस्रो कार्यकालमा रिपब्लिकन पार्टीले सिनेट र हाउस दुबै कब्जा गर्यो।
सन् २००८ मा एकपटक मात्र सिनेटर बनेका ४७ वर्षीय बराक ओबामा आए। उनले डेमोक्रेटिक पार्टीलाई यसरी उत्साहित बनाए, यस्तो बलियो देखिए, हिलारी क्लिन्टनलाई पाखा लगाए। त्यसपछि राष्ट्रपति चुनावमा उनले रिपब्लिकन पार्टीलाई पाखा लगाए।
बेलायतमा त्यही भयो। मार्गरेट थ्याचरले सन् ८० को दशकमा बेलायतमा लेबरको बेहाल बनाइन्। लेबरका आर्थिक नीतिको धज्जी उडाइन्। उनले दुई कार्यकाल जितिन् नै, खासै प्रतिभा नभएका उनका उत्तराधिकारी जोन मेजरले पनि टोरीका लागि तेस्रो कार्यकाल जिते।
त्यसपछि ‘न्यू लेबर’ को नारा लिएर बेलायतमा टोनी ब्लेयरको उदय भयो। उनले लेबरलाई परिभाषित गरे। पार्टीलाई नयाँ सपना बाँडे, र तीन कार्यकाल लगातार प्रधानमन्त्री भएर बेलायती राजनीतिमा विरल उदाहरण बने।
भारतमै पनि मोदीको विकासको नारा र उनको निजी अनुशासनले मतदातालाई तानेको तान्यै छ।
अमेरिका, बेलायत वा भारतमा यी समय डेमोक्रेट, लेबर वा भाजपाले जितेको कसैले भन्दैनन्। त्यहाँ ओबामा, ब्लेयर र मोदीले आफ्नो व्यक्तिगत बलबुतामा पार्टीलाई जिताएका हुन्।
त्यसैले, आजको दुनियाँमा नेतृत्व प्रमुख कुरा हो भनेको। पार्टीको ‘मेसेन्जर’ सबैभन्दा महत्वपूर्ण ‘फ्याक्टर’ हो भनिएको।
नेपालका पार्टी परम्परागत छन्, तिनमा प्रतिभाशाली नयाँ नेतृत्व एकैपटक माथि पुग्न सक्ने बाटो छैन। गुटको चिसो अगेनोमा धेरै प्रतिभा कठ्यांग्रिने र खेर जाने गरेका छन्। यो रोग कांग्रेसमा मात्र छैन, सबै पार्टी यसको सिकार भएका छन्।
एकैपटकमा सबै परिवर्तन नहोला, तर सुधार गर्ने बाटो त पक्कै छ। सुधार त गर्नै पर्छ।
यही साता यो शृंखलाको भाग–२ मा म पार्टीको विचार र संगठन निर्माणसँगै नेतृत्व चयन प्रक्रियाको सुधारका विषयमा पनि लेख्नेछु।