सम्पादकीयएउटा भनाइ छ— गो स्लो, टु गो फार। अर्थात्, टाढा पुग्नु छ भने विस्तारै जाऊ।
एमाले र माओवादीले धेरै टाढाको उद्देश्य लिएर दुई पार्टीबीच चुनावी तालमेल र एकताको कुरा अघि बढाए। चुनाव जित्ने, पाँच वर्षसम्म स्थायी सरकार बनाउने, मुलुकमा स्थिरता, विकास र समृद्धि ल्याउने, अनि समाजवादसम्म पुग्ने।
समाजवादको कम्युनिस्ट ‘जार्गन’ बुझ्न कठिन भए पनि अन्य विषयले आम मतदातालाई आकर्षित गर्यो। वाम गठबन्धनलाई उनीहरुले भारी मतले विजयी बनाए।
धेरै टाढा पुग्ने यो लक्ष्य धेरै हतारमा तय भएको थियो। दुवै पार्टीका केही नेताबाहेक अरुलाई सुइँकोसम्म नदिई रातारात यति ठूलो र यति लामो लक्ष्य निर्धारित गरियो। सबै कुरा यति गोप्य राखियो, तालमेलको औपचारिक घोषणा हुने अघिल्लो दिनसम्म मिडियाले पनि यकिनसाथ यो खबर लेख्न सकेनन्।
हतारमा अघि बढाइएको एकता अभियानमा अहिले समस्या परेको प्रशस्त संकेत देखा परेका छन्। सरकारको नेतृत्व गर्ने र दुई पार्टीलाई एक बनाउने लक्ष्य लिएका शीर्षनेताबीच केही दिनयता भेटघाट र छलफलसम्म हुन सकेको छैन। दुवै पार्टीका नेता सम्मिलित संयोजन समितिको तय भइसकेको महत्वपूर्ण बैठक छाडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल काठमाडौंबाट बाहिरिए। चार दिनपछि मंगलबार साँझ मात्र उनी राजधानी फर्केका छन्। त्यसपछि पनि दुई दलबीच बैठक अझै टुंगो लागेको छैन। दाहालले काठमाडौंबाहिर बोलेका कुराले दुई पार्टीबीचको एकता र गठबन्धन सरकार निर्माणको वातावरण थप धमिलिएको छ।
हामी आशा गर्छौं, अहिले देखिएका आशंका र अविश्वास अस्थायी हुन्। यिनलाई चिर्दै दुवै पार्टी छिट्टै सरकार निर्माण र पार्टी एकतामा जुट्नेछन्। अहिले देखिएको असहज परिस्थितिमा हामी दुवै पार्टीका नेतालाई निम्न कुरा स्मरण गर्न आग्रह गर्छौं।
पहिलो, भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा जनतामाझ वाम सरकार बनाउने र पार्टी एक हुने बाचा दुवैले गरेका थिए। दुवै पार्टीले एउटै घोषणापत्र बनाएर मत मागेका थिए। त्यो घोषणापत्र च्यातेर दुवै पार्टी आ-आफ्नो बाटो लाग्नु जनमतको घोर अपमान हुनेछ। दुवै पार्टीका आ-आफ्ना अप्ठ्यारा होलान्, तर ती अप्ठ्यारा जनतासामु गरेका बाचाभन्दा ठूला पक्कै होइनन्। जनतासँग गरेका बाचा पूरा गर्न एकतामा आइपरेका अप्ठ्यारा उनीहरुले फुकाउनुपर्छ।
दोस्रो, दुई वाम पार्टीको एकताले नेपालको राजनीतिक स्थायित्वमा दुरगामी अर्थ राख्छ। हामीले गणतान्त्रिक संविधान कार्यान्वयनपछिको पहिलो संसदीय निर्वाचन सम्पन्न गरेका छौं। लामो संक्रमण अन्त्य गरेका छौं। राजनीतिक स्थायित्व कायम गरेर स्थिरता, विकास, सुशासन र सामाजिक न्यायका लागि काम गर्ने चुनौती हाम्रासामु छन्। चुनौतीपूर्ण बन्दै गएको भूराजनीतिबीच सन्तुलित परराष्ट्र नीतिमार्फत् नेपालले दुई छिमेकीसँग राम्रो सम्बन्ध स्थापित गर्ने र चीन र भारतको आर्थिक विकासबाट लाभ उठाउने चुनौती पनि हाम्रासामु छ।
हाम्रो आन्तरिक राजनीति हिजोजस्तै तरल र अस्थिर रहिरह्यो भने यी कुनै पनि चुनौती सामाना गर्न हामीलाई कठिन हुनेछ।
राजनीतिक पार्टीभित्रको सुधार हाम्रा लागि अर्को महत्वपूर्ण मुद्दा हो। पार्टीहरु अहिलेकै संरचना र ढर्रामा चल्ने, तर मुलुकले सुशासन, विकास, स्थिरतामा फड्को मार्ने सम्भव कुरा हैन। दुई वाम पार्टी एक भए भने तिनमा आन्तरिक सुधारका लागि प्रशस्त आत्मविश्वास पलाउने छ। पार्टीभित्र आन्तरिक लोकतन्त्र कसरी संस्थागत गर्ने, कसरी सक्षम मानिसलाई जिम्मेवारी दिने र जवाफदेही बनाउने, कसरी पारदर्शिता कायम गर्ने? पार्टी जीवनका यी महत्वपूर्ण विषयमा वाम पार्टीभित्र विस्तारै बहस र छलफल अघि बढ्नेछ।
वाम एकताले अर्को ठूलो पार्टी नेपाली कांग्रेसमा पनि सुधारका लागि पक्कै दबाब सिर्जना गर्नेछ। पार्टीलाई पुनर्जीवन दिनुपर्छ भन्नेहरुको स्वर बलियो हुनेछ। एमाले र माओवादीबीच एकता नभए पार्टीहरुको सुधारको विषय फेरि ओझेलमा पर्नेछ। अक्षम पार्टीहरुबीच सत्ताको 'म्युजिकल चेयर’ ले फेरि निरन्तरता पाउनेछ।
तेस्रो, दुई ठूला पार्टीबीचको एकता पक्कै सजिलो छैन। सायद यसको आधार पनि राम्ररी बनिसकेको थिएन र छैन। चुनावी तालमेल र पार्टी एकताको विषय चुनावको तत्कालीन अंक गणितले धेरै निर्देशित गर्यो। तालमेल गरेर गयो भने धेरै सिट जितिन्छ, तालमेल भएन भने दुवैले धेरै सिट गुमाउँछौं भन्ने तत्कालीन आकलनले अन्य महत्वपूर्ण विषय ओझेल पार्यो। चुनाव सकियो, छायाँमा परेका तिनै मुद्दा शक्तिशाली र पेचिलो बनेर आए। अहिले दुवै पक्षका नेता-कार्यकर्तालाई आ-आफ्ना पार्टीको माया लागेर आयो। त्यो अस्वाभाविक होइन। नेता, कार्यकर्ताले सारा जीवन खर्चेर बनाएको पार्टीको भविष्य के हुन्छ भन्ने चासो र चिन्ता स्वाभाविक हो। माओवादीलाई आफ्नो पार्टी सकिन्छ कि, आफूहरु सकिन्छौं कि भन्ने भय छ, एमालेलाई पनि आफ्नो पार्टी बिथोलिन्छ कि, हामी बिथोलिन्छौं कि भन्ने पीर छ।
यो भय र पीरभन्दा वाम एकताले भोलि ल्याउन सक्ने सकारात्मक परिवर्तनको आयाम कैयन गुणा ठूलो छ। त्यसैले वाम पार्टीहरुले तत्कालको आशंकालाई भोलिको त्यो आशाले चिर्न सक्नुपर्छ। पार्टीलाई, मुलुकलाई अघि बढाउने नै भोलिको आशाले हो।
त्यसैले, एमाले-माओवादी नेताहरुसँग हाम्रो आग्रह छ— तपाईंहरु एकठाम बस्नुहोस्। सँगसँगै अघि बढ्नुहोस्। यति चाँडै विचलित नहुनुहोस्, यति चाँडै आश नमार्नुहोस्, नागरिकसामु गरेको बाचा नभुल्नुहोस्।