हामीमध्ये धेरैलाई ठेकुआ भन्नासाथ छठ पर्वको प्रसाद याद आउँछ।
चार युवाहरूले भने ठेकुआ/ठकेुवालाई पर्वको विशेष पकवान मात्र नभई, हरेक दिन चिया–नास्तामा पाइने परिकार बनाएका छन्।
अर्जुन साह, विवेक न्यौपाने, राजकुमार घिमिरे र दिनेशज्यू ठकुरी मिलेर ठेकुआ बनाउँछन् र प्याकेजिङ गरी बजारसम्म पुर्याउँछन्।
उनीहरूको उद्देश्य स्थानीय तथा परम्परागत परिकार नयाँ पुस्तालाई चिनाउनु र बजारमा पुर्याउनु हो।
'ठेकुआ विशेषगरी तराईमा बनाइन्छ, छठमा यो अनिवार्य मानिन्छ,' अर्जुनले भने, 'तर ठेकुआ जतिसुकै बेला, जतासुकै नपाइने भएकाले स्वाद पाएकाले पनि मन लागेका बेला खान पाउँदैनन्। कहिल्यै नखाएकाहरूलाई चखाउन पनि मुस्किल हुन्थ्यो। त्यसैले हामीले जुनसुकै बेला, जहाँ पनि पाउने गरी ठेकुआको व्यवसाय सुरू गरेका हौं।'
उनीहरूले गत जेठदेखि बजारमा 'एग्रिरूट्स' ब्रान्डमा ठेकुआ ल्याएका हुन्।
'सुरूका दुई दिन खासै अर्डर थिएन। तेस्रो दिनदेखि भ्याइनभ्याइ भयो। नसोचेको माग आइरहेको छ, हामी एकदमै खुसी छौं,' उनले भने।
खासगरी काठमाडौंमा ठेकुआ नयाँ स्वाद भएकाले माग बढेको उनीहरूको भनाइ छ।
ठेकुआ छठ विशेष प्रसाद भए पनि ठाउँ अनुसार अन्य स्थानीय पर्वमा पनि पकाइन्छ। यो गहुँको पिठोबाट बन्छ।
पिठोमा चिनी/सख्खर, घिउ र स्वाद विशेष बनाउन सुकमेल, अलैंची, दालचिनीको धूलो हाल्न सकिन्छ। सबै मुछेपछि पिठोको डल्लोलाई रूचि अनुसार पात, गोलो आकारको बनाइन्छ। त्यसलाई हातैले, ढाकी वा फ्रेममा राखेर बुट्टा पनि बनाइन्छ। सामान्यतया एक मध्यम आकारको बिस्कुट जत्रै हुन्छ। त्यसलाई घिउ/तेलमा खैरो हुन्जेल तारिन्छ र ठेकुआ तयार हुन्छ।
बायाँबाट क्रमशः अर्जुन साह, विवेक न्यौपाने र दिनेशज्यू ठकुरी
विधि सरल भए पनि ठेकुआको खास स्वाद, नरमपन र कुरूमकुरूम सबै मिलाउन मुस्किल हुन्छ।
त्यसैले एग्रिरूट्सले पनि ठेकुआ बनाउन १० जना सिपालु महिलाहरू नियक्त गरेको छ। च्यासलको एक घरमा कोठा भाडा लिएको र ठेकुआ पकाउनेदेखि प्याकिङ र बजार पठाउनेसम्मको काम त्यहीँबाट हुने अर्जुनले बताए।
यहाँबाट दैनिक करिब एक सय किलो ठेकुआ उत्पादन भइरहेको छ। सुरू गरेको तीन महिनामा ठेकुआबाट मात्र १८ लाख रूपैयाँको कारोबार गरेको उनले बताए।
अर्जुन सप्तरीका हुन् भने विवेक बुटवलका, राजकुमार बनेपाका र दिनेश उदयपुरका। विभिन्न भेगका उनीहरू अहिले एकै परिकारको बजार बढाउने ध्याउन्नमा छन्।
अर्जुन र विवेक पुराना साथी हुन्। फुड टेक्नोलोजी पढेका उनीहरूले क्याम्पस पढ्दादेखि नै व्यवसाय गर्ने सोचेका थिए। सुरूमा व्यवसायबारे आइडिया नभएकाले केही वर्ष विभिन्न कम्पनीमा जागिर गरेर अनुभव बटुले। त्यसपछि आफै केही गर्ने आत्मविश्वास आयो।
उनीहरूले स्थानीय खानेकुरा बजारमा ल्याउने सोचे।
व्यवसायको छलफल क्रममा उनीहरूको भेट राजकुमार र दिनेशसँग भयो। राजकुमार पनि फुड टेक्नोलोजी नै पढेका र त्यही क्षेत्रमा काम गरिरहेका थिए। दिनेश व्यवस्थापनको काममा अनुभवी थिए।
सल्लाहपछि यी चार युवाले गत वैशाखमा 'एग्रिरूट्स' कम्पनी खोले। यसमार्फत पहिलो उत्पादन अचार र सातु बजार पुर्याए। ती उत्पादन बजारले त्यति रूचाएन।
विवेकले भने, 'बजारमा जे पहिल्यै छ, त्यही ल्याउँदा बेच्न गाह्रो भयो। नयाँ उत्पादन ल्याउन सके बजार बनाउन सकिन्छ भन्ने बुझ्यौं।'


नयाँ के ल्याउने भनेर सोच्दै जाँदा अर्जुनलाई ठेकुआ याद आयो।
सप्तरीका उनी छठ पर्वको प्रसाद ठेकुआ खाँदै हुर्किए। उनलाई खुबै मनपर्थ्यो। पछि अर्जुन प्लस–टू पढ्न विराटनगर गएका थिए। घरबाट आमाले ठेकुआ बनाएर पठाउँथिन्। बिहान चियासँग वा दिउँसो खाजामा उनी खान्थे।
'आमाले बनाएर पठाएको ठेकुआ खुबै मिठो हुन्थ्यो। त्यही बनाएर बेच्दा कस्तो होला भन्ने सोचेँ र साथीहरूलाई सुनाएँ,' उनले सम्झिए।
सुरूमा साथीहरूले प्रस्ताव मन पराएनन्। अचार र सातु जस्तो सबैको स्वाद बसेको उत्पादन त बिक्न नसकेको बेला ठेकुआ कसले खान्छ भन्ने प्रश्न उठ्यो।
अर्जुनले मनाउन प्रयास गरिरहे।
'बजार राम्रो छ भन्दै बुझाउन म लागिरहेँ। त्यसपछि केही समय अध्ययन गर्यौं। ठेकुआको बजार सम्भावना प्रस्ट भयो,' अर्जुनले भने।
अर्जुनकी श्रीमतीलाई ठेकुआ बनाउन आउँथ्यो। अर्जुनकै डेरामा उनीहरू सबै जम्मा भएर पहिलो पटक ठेकुआ बनाए।
'त्यसको स्वाद बबाल थियो। यस्तो उत्पादन बजार पुग्यो भने सबैले रूचाउँछन् भन्ने विश्वास भइहाल्यौं,' विवेकले भने।
यसपछि चार जनाले ५०/५० हजार रूपैयाँ गरी जम्मा दुई लाख रूपैयाँ लगानी गरे र आवश्यक सामग्री किने। स्थानीय परिकारको ब्रान्डिङ र बजारीकरण राम्रो होस् भनेर उनीहरूले प्याकेजिङमा पनि ध्यान दिए।
अर्जुनले मधेसको स्वादको प्याकेजिङमा मधेसकै संस्कृति झल्किने मिथिला कला प्रयोग गर्ने प्रस्ताव गरे। सबै सहमत भए।
प्याकेटमा उनीहरूले मिथिला कला, छठमा ठेकुआ बोकेको, सूर्यलाई तर्पण दिँदै गरेको चित्र राखे।
व्यावसायिक उत्पादनका निम्ति सबै तयारी पूरा भयो। उनीहरूले काठमाडौंको तीनकुनेमा एउटा कोठा भाडा लिए। त्यहाँ पहिलो पटक ५ किलो ठेकुआ बनाए र बिक्रीका लागि फेसबुकमा एग्रिरूट्सको पेजमा राखे।
सोचेजस्तो भएन।


'यति मेहनत गरियो, यसमा पनि सफल नभइने भयो जस्तो लाग्यो। अचार र सातुले पहिल्यै निराश बनाइसकेको थियो,' विवेकले भने।
तेस्रो दिन भने एक्कासि अर्डर आयो। बिस्तारै अर्डर बढ्न पनि थाल्यो। त्यसपछि उनीहरू जोसिए। रातभर ठेकुआ बनाउन र दिउँसो डेलिभरी गर्न व्यस्त भए।
डेढ महिनापछि त काम भ्याइनभ्याइ नै भयो। उनीहरूले कर्मचारी नै राख्नुपर्यो।
उनीहरूले खोज्दै जाँदा सप्तरीकी एक महिला भेटे जो ठेकुआ बनाउन सिपालु थिइन्। उनैले बाँकी महिलालाई सिकाइन्। त्यसपछि उनीहरू तीनकुनेबाट च्यासल सरे। सबै काम त्यहीँबाट हुन थाल्यो।
त्यसपछि चार जना सञ्चालकहरू सबै काम छाडेर ठेकुआको बजार बढाउन लागे।
यसरी सुरू भएको एग्रिरूट्सको ठेकुआ सामाजिक सञ्जाल बाहेक, सेल्सबेरी, के–के मार्ट, खजुरिको स्टोर लगायत विभिन्न ठाउँमा पाइन्छ। विदेश बस्ने नेपालीहरूबाट पनि ठेकुआको माग भइरहेको छ। अहिले बेलायत, अष्ट्रेलिया र क्यानडामा ठेकुआ पठइरहेको अर्जुन बताउँछन्।
एग्रिरूट्सको ठेकुआ दुई प्रकारमा उपलब्ध छ— ओरिजिनल (चिनी हालेको) र सुगर–फ्री।
ओरिजिनल २०० ग्रामको मूल्य २७५ रूपैयाँ र ४५० ग्रामको ५२५ रूपैयाँ पर्छ।
सुगर–फ्री २०० ग्रामको ३३५ रूपैयाँ र ४५० ग्रामको ६७५ रूपैयाँ छ।
'अब सातै प्रदेशका खास परिकार समेट्ने तयारीमा छौं। स्थानीय खानेकुरा बजारमा ल्याएर ब्रान्डिङ गर्दै एग्रिरूट्सलाई गाउँदेखि सहर र अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने लक्ष्य छ,' उनीहरू भन्छन्।

सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी