महिला उद्यमीका कथा
थोरै लगानी र थोरै परिमाणमा नै सही, आफ्नो रूचिको व्यवसायले छिट्टै अघि बढाउँछ भन्ने दृष्टान्त हुन् निर्मा नकर्मी।
उनी सियोले धागोमा पोते उनेर आकर्षक डिजाइनका ‘इम्ब्रोइडरी इयररिङ’ अर्थात् कानमा लगाउने झुम्का बनाउँछिन्। आफ्नै डिजाइनमा तयार भएका झुम्का बजार उनले ‘कुन्डल नेपाल’ ब्रान्ड नाममा बेचिरहेकी छन्।
'कानमा लगाउने झुम्का गहनालाई संस्कृत भाषामा कुन्डल भनिन्छ। त्यसैले मैले यही शब्द रोजेँ,' काठमाडौं बस्ने ३० वर्षीया निर्माले भनिन्, 'कुन्डलको विशेषता नै हातैले बुनेका डिजाइनदार क्याजुअल, साधारण, नयाँ र हलुका झुम्का बनाउनु हो।'
झुम्का बनाउन उनी पोते, सियो, रेसमी धागो, जरी, गम, लेदर आदि सामग्री प्रयोग गर्छिन्। एउटा झुम्का तयार हुन तीन दिनसम्म लाग्छ।
मेहनतअनुसार बजारले सामान रूचाएको उनी बताउँछिन्।
'ह्यान्डमेड भन्नसाथ वाउ भन्नेहरू पनि हुनुहुन्छ। धेरै डिजाइन भएकाले पनि होला, उत्पादन अनुसार अर्डर राम्रो छ। मूल्य पनि किफायती छ,’ उनले सुनाइन्।
हाल कुन्डलमा ५० रूपैयाँदेखि आठ सय रूपैयाँसम्मका झुम्का पाइन्छन्।
निर्माले डिजाइन अनुसार झुम्काको नाम पनि फरक फरक राखेकी छन्। थरीथरीका फूल र पात आकार भएका र ऐना राखिएका डिजाइन ग्राहकको रोजाइमा परेको उनले बताइन्।
हालसम्म निर्माले दुई दर्जनभन्दा बढी डिजाइन बजारमा पुर्याइसकेकी छन्। नयाँ डिजाइन थप्न काम हुँदैछ।
भन्छिन्, ‘ड्रेसअप अनुसार महिलाहरूले फरक डिजाइनका झुम्का रोज्छन्। हामीले ग्राहकको रोजाइ थाहा पाउनुपर्छ। झुम्का भनेको त हरेक दिन पोसाक अनुसार फेरेर लगाउने हो।’
यसरी इम्ब्रोइडरी इयररिङको ब्रान्ड बनाएर व्यवसायमा अघि बढेकी निर्माले ट्राभल एन्ड टुरिजम विषय पढेकी हुन्। उनका बुबा ट्राभल एजेन्सी चलाउँछन्। निर्माले पनि फुर्सदमा बुबालाई सघाउँथिन्।
अफिस आउँदाजाँदा र बजार घुम्दा उनी बुटिकहरू नियाल्थिन्। त्यसमा लेहंगा र सारीको डमीमा इम्ब्रोइडरी गरिएका गहना देख्थिन्। उनलाई त्यस्तो नेकलेस आफ्नै हातले बनाउन सके हुन्थ्यो भन्ने लाग्थ्योर। तर हातमा त्यस्तो सीप थिएन।
सीप सिक्ने उपाय खोज्दै उनी एक दिन बुटिकका लुगा तयार गर्ने ठाउँसम्म पुगिन्। त्यहाँ सारीमा हातैले बुट्टा भर्दै गरेको देखिन्।
‘त्यहाँ मैले झुम्का बनाउने कुरा गरेँ,’ निर्माले भनिन्, ‘कस्तो हुँदो रहेछ, विचार गरूँ भन्ने लागेर थोरै झुम्का बनाउन अर्डर दिएँ।’
अर्डर दिए पनि झुम्का बनेन। केही महिनापछि ‘भ्याइएन’ भन्ने खबर आयो।
उनी यसरी काम हुँदैन भन्ने निष्कर्षमा पुगिन् र आफै तालिम लिने सोचिन्। तालिम केन्द्र खोजिन्, कतै फेला पार्न सकिनन्। बरू के के सामान चाहिने रहेछ भनेर इन्टरनेटमा खोजिन्। झुम्का बनाउने सामान किन्न इन्द्रचोक पुगिन्। विभिन्न रङका पोते, सियोधागो र अन्य केही सामग्री किनिन्।
सामान जुटाएपछि इन्टरनेटमै भिडिओहरू हेर्दै सामान्य डिजाइनका टप र झुम्का बनाइन्।
‘पहिलोपटक निकै समय लगाएर एक सेट टप बनाएँ तर आफूले सोचेजस्तो भएन। तैपनि प्रयास गरिरहेँ,' उनले भनिन्।
दिउँसो ट्राभल एजेन्सीमा काम गरेर उनी बिहानबेलुका झुम्का बनाउँथिन्। थुप्रै डिजाइनमा काम गर्दा पनि चित्तबुझ्दो भएन।
यहीबीच इन्द्रचोक आउजाउ गर्दा उनको इम्ब्रोइडरी व्यवसायी उमेश तन्डुकारसँग चिनाजान भयो। उनी यसै विषयमा तालिम केन्द्र पनि चलाउँदा रहेछन्।
‘मैले सामान किनिरहँदा उहाँ (उमेश) ले मलाई फेसन डिजाइनर ठान्नुभएको रहेछ। उहाँसँग चिनजान भएपछि आफूले गर्न चाहेको कामको कुरा भनेँ। उहाँले आफ्नो ट्रेनिङ सेन्टरमा बोलाउनुभयो,' निर्माले सुनाइन्।
उमेश बुटिकका सारी र लेहंगामा बुट्टा कोर्ने र भर्ने काम गर्थे। निर्मालाई आफ्नो सपना पूरा हुने भयो भन्ने लाग्यो। काम सिक्दै उनीहरूले केही झुम्का बनाए। बजारमा पनि पठाए।
निर्माको सिकाइ पूरा भएकै थिएन, उमेश व्यावसायिक कामले विदेश गए। त्यसपछि निर्मालाई सिकाउने जिम्मा उमेशका भाइ दिनेशले लिए। दिनेशको पनि इम्ब्रोइडरीमा काम गरेको लामो अनुभव छ।
‘निर्मा निकै मेहनती र काम सिक्न आतुर थिइन्। यस्तो हुटहुटी भएको मान्छेलाई सिकाउनै पर्छ भनेर हामीले समय दियौं,' दिनेशले भने।
निर्मा पोतेका दाना धागोमा उनेर थरीथरीका झुम्का बनाउन सिपालु भइन्। उनलाई अब आफ्नो व्यवसाय चलाउन सक्छु भन्ने विश्वास भयो।
अनि एक वर्षअघि कुन्डल नेपाल सुरू गरेकी हुन्। पहिलो चरणमा १० वटा डिजाइनका झुम्का बनाएर उनले फेसबुक र इन्स्टाग्राममा राखेकी थिइन्। अपेक्षाअनुसार नै सकारात्मक प्रतिक्रिया पाइन्।
‘कुनै ठूलो लगानी परेन। जम्मा एक हजार रूपैयाँको सामान किनेर काम थालेकी थिएँ,' उनले भनिन्।
व्यवसाय राम्रै हुन्छ भन्ने विश्वास भएपछि निर्माले दिनेशकै घरमा एउटा कोठा भाडामा लिइन् र त्यहीँबाट उत्पादन सुरू गरेकी हुन्।
एक वर्षमा बजार माग बढ्दै जाँदा र सकारात्मक प्रतिक्रिया पाउँदा उनी उत्साहित छन्।
‘एकोहोरो हुटहुटीले जन्माएको व्यवसाय हो। माग राम्रो छ, खुसी लागेको छ,’ उनले भनिन्, ‘सानो छँदा फेसन डिजाइनर बन्न चाहन्थेँ। रूचि अनुसारको काम गर्नुपर्छ भन्नेमै मेरो जोड थियो। त्यसैअनुसार यसमा लागेकी छु।’
निर्मा चल्तीका डिजाइन पहिल्याउन बजार घुम्छिन्। प्रख्यात कलाकारले रोजेका डिजाइनमा पनि ध्यान दिन्छिन्।
हाल कुन्डलको काममा निर्मालाई दिनेशले पनि साथ दिएका छन्। डिजाइन र फिनिसिङको काम निर्मा आफै गर्छिन्।
'झुम्काको अर्डर निकै ठूलो छ। तयार गरेर ग्राहकको हातमा पुर्याउन एक सातासम्म लाग्छ,' उनले भनिन्, 'आगामी दिनमा आफ्नै शोरूम खोल्ने योजना छ। झुम्काका साथ थप केही उत्पादन पनि ल्याउने तयारी छ।'