बालबालिकाका लागि सबै मौसमको गुणस्तरीय लुगा चाहिएको छ भने तपाईंका लागि 'निनो' ब्रान्ड उपयुक्त हुन सक्छ। यो ब्रान्ड चलाउँछन् पाटनका उज्ज्वल शाक्य।
दुई वर्षअघि सुरू भएको निनोमा नवजात शिशुदेखि दस वर्ष उमेरसम्मका केटाकेटीलाई हुने सबै खाले लुगा पाइन्छ। मौसम अनुसारका लुगासँगै सांस्कृतिक पहिरन पनि पाइन्छ। ग्राहकले भनेको डिजाइन अनुसार पनि तयार गरिन्छ।
ज्याकेट बाहेकका लुगाको मूल्य सामान्यतया एक हजार पाँच सय रूपैयाँसम्म छ। जाडोयामको ज्याकेट भने तीन हजार रूपैयाँसम्म पर्छ। बालबालिकाले लगाउने लुगा भएकाले फेब्रिक (कपडा) को गुणस्तरमा ध्यान दिएको उज्ज्वलको भनाइ छ।
'आयातीत र गुणस्तरीय लुगा महँगो हुने भएकाले स्वदेशी ब्रान्ड निनो धेरैको रोजाइमा परेको छ,' उनले भने, 'गुणस्तरीय, राम्रो डिजाइन र तुलनात्मक रूपमा सस्तो भएकैले निनो रोजाइमा परेको हो।'
उनका अनुसार स्पेनी भाषाको शब्द निनोले बच्चा भन्ने जनाउँछ। बच्चाहरूको लुगा बनाउने भएकाले आफूले यही नाम रोजेको उनले बताए।
निनोका कारखाना ललितपुरको लगनखेलमा छ। यहाँ ६ जना काम गर्छन्। दरबारमार्ग, ठमेल, चुच्चेपाटी, झम्सिखेल र भक्तपुरमा गरी पाँच ठाउँमा निनोका सामान पाइने पसल छन्। नेपाली ब्रान्डका उत्पादन राखिएका ठाउँमा निनोका सामान उनले राखेका हुन्।
'यसरी धेरै थुप्रै ब्रान्डसँग राख्दा निनो पनि चिनिएको छ। प्रचारमा लागि फाइदा हुने रहेछ,' उनले भने।
निनोका लुगा सामाजिक सञ्जालबाट पनि अर्डर गर्न सकिन्छ। डेलिभरीका लागि व्यावसायिक कम्पनीहरूसँग सहकार्य छ।
ललितपुरमा जन्मिएका उज्ज्वल सानै उमेरदेखि भारतमा बसे र उतै पढे। परिवारजन नेपालमै भएकाले उनी बेलाबखत आउँथे। उनले पढाइ पूरा गरेर मुम्बईमा विभिन्न कम्पनीमा करिब डेढ दशक काम गरे। पछि आफ्नै व्यवसाय गर्ने उद्देश्यले मःम पसल चलाए। केही वर्ष राम्रै चल्यो।
उमेरले ४० वर्ष छोएपछि भने उनले नेपाल फर्किने र व्यवसाय गर्ने सोचे।
उनलाई पहिरनमा काम गर्ने रूचि थियो। तर के बनाउने, कसरी बनाउने, डिजाइन कसरी गर्ने भन्ने केही थाहा थिएन। उज्ज्वलले आफ्ना साथी सुस्मा महर्जनलाई भेटे। सुस्माले बालबालिकाका गुणस्तरीय लुगा बनाउने ब्रान्ड थोरै भएकाले यही काम गर्न सुझाव दिइन्।
उज्ज्वललाई उनको कुरा उचित लाग्यो। बजारको सम्भावना र चल्तीका ब्रान्ड खोजी गरे।
'बालबालिकाका लुगाको आयात धेरै छ। नेपालमै गुणस्तरीय लुगा उत्पादन गर्न सकियो भने ब्रान्ड नै बन्छ भन्ने लाग्यो,' उनले भने, 'आफन्त र चिनजानका व्यक्तिहरूबाट बिक्री सुरू गरे पनि व्यवसाय फैलाउन सक्छु भन्ने आत्मविश्वास पलायो।'
त्यसपछि उनले 'निनो' दर्ता गराए। काम अघि बढ्यो। केही कारखाना अवलोकन गरे। मेसिन र अरू कच्चापदार्थ खोज्दै बजार घुमे। बालबालिकाका लुगाको गुणस्तरीय कपडा र डिजाइन टुंगो गर्न पनि केही समय लाग्यो।
त्यसपछि कोरोनाले काममा अलमल गरायो। केही दिनको अलमलपछि उज्ज्वलले ललितपुरको आफ्नै घरमा केही सिलाइ मेसिन र कर्मचारी राखेर काम अघि बढाए। डिजाइन तयार गरे।
यसरी दुई वर्षअघि निनो ब्रान्डको उत्पादन सुरू भयो। केही महिनामै उज्ज्वलले आफ्नो उत्पादन बजार पुर्याउन थालेका हुन्।
'यतिन्जेलमा २० लाख रूपैयाँ लगानी भयो,' उनले भने, 'उत्पादन बढाउँदै जाँदा कारखाना लगनखेलमा सारेँ।'
आगामी दिनमा निनोको आफ्नै पसल खोल्ने उज्ज्वलको योजना छ।
'निरन्तर काममा खटेर निनोलाई बालबालिकाका लागि गुणस्तरीय लुगा पाइने नम्बर वान ब्रान्ड बनाउने मेरो लक्ष्य छ,' उनले भने।
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
सम्पादकीय नोटः तपाईंसँग पनि आफ्नो 'नेपाली ब्रान्ड' को कथा छ भने हामीलाई (setopati@gmail.com) सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं।
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)