बजारमा विभिन्न ब्रान्डका आइसक्रिम पाइन्छन्। केही उपभोक्ता विदेशी ब्रान्डकै खान रूचाउने भए पनि पछिल्लो समय स्वदेशी आइसक्रिमले बजारमा बलियो हिस्सा बनाउँदै लगेका छन्।
यस्तैमध्ये एक हो 'सिल्क आर्टिसनल क्रिमरी'।
संक्षेपमा 'सिल्क' भनेर चिनिने यो ब्रान्डअन्तर्गत बीस स्वादमा आइसक्रिम पाइन्छ। चकलेट-चिप कुकिज, बटरस्कच, ब्लुबेरी, मिडियम डार्क चकलेट, स्ट्रबेरी केही लोकप्रिय स्वाद हुन्। मौसमअनुसार नयाँ स्वादमा पनि आइसक्रिम बनाइने सिल्कका सञ्चालक ऋषभ अग्रवाल बताउँछन्।
'हामी मौसम र बजार मागअनुसार विभिन्न फ्लेभरमा आइसक्रिम बनाउँछौं,' २८ वर्षीय ऋषभले भने, 'सिल्क आइसक्रिम स्वाद, गुणस्तर र सेवाका कारण ग्राहकले रूचाएका छन्। सबै स्वाद (फ्लेभर) को रेसिपी मैले नै बनाएको हुँ।'
सिल्कले लाजिम्पाट, झम्सिखेल, सानेपा, टंगाल, बौद्ध र ठमेलमा गरी ६ ठाउँमा आइसक्रिम पार्लर (पसल) चलाएको छ। कम्पनी सञ्चालन र व्यवस्थापन सम्बन्धी सबै जिम्मेवारी ऋषभले सम्हालेका छन्। आइसक्रिम बनाउन १० जना र पार्लरहरूमा २१ जना कर्मचारी छन्।
ऋषभको परिवारको कपडा व्यवसाय छ। सिल्क सुरू गर्नुअघि उनी पनि पारिवारिक व्यवसायमै थिए।
'मेरो रूचि भने पाककलामा थियो,' उनले भने।
कक्षा ६ सम्म काठमाडौंको एक निजी स्कुलमा पढेका उनी त्यसपछि भारतको मुम्बई गएर पढे। मुम्बईमा होस्टलको सामूहिक खाना राम्रो नलागेपछि उनले खानाका केही परिकार बनाउन सिकेका थिए।
'नेपालमा हुँदा खाना बनाउन आउँदैन थियो तर खानाको पारखी थिएँ। होस्टलको खाना चित्त नबुझेपछि आफै बनाउन सिक्दै गएँ। रेसिपी हेर्दै खाना बनाएर साथीहरूलाई खुवाउन थालेँ। खाना पकाउनु मेरो सोख भएको थियो,' उनले भने।
स्कुले पढाइ सकेर उनी नेपाल फर्किए। व्यवस्थापन विषयमा १२ कक्षाको पढाइ पूरा गरेपछि स्नातक तह पढ्न फेरि भारतको बैंगलुरू पुगे। व्यापार व्यवस्थापन विषयमा स्नातक तह पूरा गरेपछि स्नातकोत्तर पढ्न फेरि नेपाल नै आए।
यही बेला उनी पारिवारिक व्यवसायमा संलग्न भए। फुर्सदमा परिवारका लागि खानाका परिकारहरू बनाउँथे। साथीहरूलाई बोलाएर पनि खुवाउँथे।
पाककलामा उनको रूचि बढ्दै गयो। २०७६ सालमा उनी चार महिनाको 'कुकरी कोर्स' लिन मुम्बई गए। बिहान तालिम लिँदै दिउँसो एउटा 'ढावा' मा काम गरे।
'त्यो ढावा निकै अव्यवस्थित थियो। व्यवस्थित बनाउन मेहनत गरेँ। त्यही बेला म भान्सामा काम गर्न सक्छु भन्ने महसुस गरेँ। पाककला नै मेरो रूचि हो भन्ने पनि पक्का भयो,' उनले भने।
ऋषभको तालिम पूरा हुनु र कोरोना महामारी फैलिनु सँगसँगैजस्तो भयो। उनी अझै केही समय मुम्बईमै बसेर काम सिक्न चाहन्थे तर कोरोनाका कारण फर्किनुपर्यो। पाककला सिक्ने उनको हुटहुटी भने अझै बढ्यो। त्यसैले पाककलाकै प्रशिक्षणका लागि २०७७ सालमा फ्रान्स गए। त्यहाँ नौ महिनाको डिप्लोमा कोर्स गरे। व्यावसायिक ढंगमा परिकारहरू बनाउने र सजाउने कला सिके।
पढाइसँगै उनले त्यहाँ क्याफे र रेस्टुरेन्टमा काम गर्ने मौका पाए। कामकै सिलसिलामा स्पेन र इटाली पुगे। इटालीमा आइसक्रिम बनाउन सिके।
'हाम्रो परिवारमा आइसक्रिम धेरै रूचाइन्छ। फ्रान्स जाँदा बुबाले मलाई आइसक्रिमबारे राम्ररी अध्ययन गर्न भन्नुभएको थियो,' ऋषभले भने, 'डिप्लोमा गर्दा आइसक्रिम सिकाइको एक भाग मात्रै थियो। इटालीमा आइसक्रिम पार्लरमा काम गर्ने र थप जान्ने मौका पाएँ।'
इटालीमा उनले करिब चार महिना काम गरे। करिब डेढ वर्ष अनुभव हासिल गरेपछि उनी आफ्नै देशमा रेस्टुरेन्ट चलाउने योजना बनाएर २०७९ वैशाखमा फर्के।
रेस्टुरेन्ट खोल्न ठाउँ खोज्दै उनी एक दिन लाजिम्पाट पुगे। त्यहाँ एउटा ठाउँ मनपरे पनि भाडा निकै महँगो थियो। बरू त्यहीँ नजिकै उनले सानो सटर देखे।
ऋषभले कुराकानी अगाडि बढाए। सटर पाउने भएपछि उनले रेस्टुरेन्ट चलाउने योजना त्यहीँ त्यागे।
'हुन त म रेस्टुरेन्ट नै चलाउन चाहन्थेँ तर उपयुक्त ठाउँ भेटिएन,' उनले भने, 'पाए पनि भाडा धेरै महँगो पर्ने देखियो। बरू ठीकै भाडामा सटर पाएपछि मैले आइसक्रिमको व्यापार गर्ने सोचेँ। धेरै सोच-विचार गरेर लिएको निर्णय थिएन त्यो।'
उनले त्यो सटरलाई इटालीमा आफूले काम गरेको आइसक्रिम पसलजस्तै डिजाइन गरे। आइसक्रिम बनाउने मेसिन किने। सजावट र सबै तयारी सक्दा २७ लाख रूपैयाँ लगानी भयो।
'धेरै पैसा मेसिन र सजावटमै खर्च भयो,' उनले भने।
यसबीच उनले बजारमा उपलब्ध आइसक्रिमका स्वाद र ग्राहकको रूचिबारे केही अध्ययन गरे। पाँच स्वादका आइसक्रिम बेच्न तयार पारे। अनि २०७९ जेठमा लाजिम्पाटको त्यही सटरमा खुल्यो 'सिल्क आर्टिसनल क्रिमरी'।
'आइसक्रिम नरम र क्रिमी हुन्छ। यसलाई सिल्क अर्थात् रेशम शब्दले सही अर्थ दिन्छ भन्ने लागेर नाम सिल्क आर्टिसनल क्रिमरी राखेको हुँ,' उनले भने।
ऋषभका अनुसार सिल्कले सुरूदेखि नै ग्राहकको सत्कार र आइसक्रिमको स्वादमा बजारभन्दा केही फरक धार समातेको थियो। ताजा, स्वादमा नयाँपन र गुणस्तर राम्रो भएकाले छोटो समयमै सिल्क बजारमा स्थापित भएको उनको भनाइ छ।
'बजारमा पाइने अधिकांश सस्ता आइसक्रिम पाउडर दूध, पाम तेल, धेरै चिनी र कृत्रिम फ्लेभर हालेर बनाइएको हुन्छ,' उनले भने, 'हामी शुद्ध र ताजा दूधबाट उच्च गुणस्तरको आइसक्रिम बनाउँछौं। शुद्ध आइसक्रिममा तेल, रासायनिक सामान हालिएको हुँदैन। फ्लेभरका लागि ताजा फल वा मसला प्रयोग हुन्छ।'
प्रयोग हुने सामानको गुणस्तरका आधारमा 'लाइट फ्याट', 'मिडियम फ्याट' र 'प्रिमियम फ्याट' आइसक्रिम हुन्छ। सिल्कमा उच्च गुणस्तरको 'प्रिमियम फ्याट' आइसक्रिम पाइने हुने उनको भनाइ छ।
'यस्तो आइसक्रिम केही महँगो हुन्छ। तर सुरूमा महँगो भन्ने ग्राहक आइसक्रिमको स्वाद र गुणस्तर थाहा पाएपछि ढुक्क हुन्छन्,' उनले भने।
सिल्कका ६ वटा आइसक्रिम पार्लरमा दैनिक सरदर आठ सय जनासम्म ग्राहक पुग्छन्। सार्वजनिक बिदामा दुई हजार जनासम्म हुन्छन्। मध्य गर्मीको तुलनामा मध्य जाडोमा भने व्यापार ७० प्रतिशत कम हुन्छ।
ऋषभ सिल्कलाई नेपाली बजारमा विस्तार गर्दै अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन चाहन्छन्।
'सिल्कलाई अन्तर्राष्ट्रिय ब्रान्ड बनाउने मेरो लक्ष्य हो। आइसक्रिम निर्यात हुने बलियो सम्भावना पनि देखेको छु। सरकारी सहयोग पाए लक्ष्यमा पुग्न सकिन्छ भन्ने लाग्छ,' उनी भन्छन्, 'कच्चा पदार्थको भन्सार दर घटाएर र विदेशी आइसक्रिम आयात निरूत्साहित गर्ने हो भने स्वदेशी उत्पादनले नै बजार माग धान्छ।'
सम्पादकीय नोटः तपाईंसँग पनि आफ्नो 'नेपाली ब्रान्ड' को कथा छ भने हामीलाई (setopati@gmail.com) सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं।
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)