नेपाल भाषाको 'याभिंइ' शब्दको अर्थ 'राम्रो गर' भन्ने हुन्छ।
यही शब्दबाट काठमाडौंको असनका ३८ वर्षीय योगेन्द्र तुलाधरले आफ्नो व्यवसायको ब्रान्ड नाम बनाएका छन्। डिजाइनदार ब्याग बनाएर बेच्नु उनको व्यवसाय हो।
'राम्रो काम सुरू गर्न मिल्दो शब्दबाट ब्रान्ड नाम बनाएको हुँ,' उनले भने।
योगेन्द्रको बाल्यकाल ब्याग (झोला) बनाएको हेरेर बित्यो। उनका आमाबुबा घरमै झोला बनाएर असन र न्युरोडका होलसेल व्यापारीलाई बेच्थे। आमाबुबाले तीन दशकभन्दा धेरै समय कुनै ब्रान्डबिना ब्यागको व्यवसाय चलाए, जमाए पनि।
योगेन्द्र आमाबुबाका एक्ला छोरा हुन्। त्यसैले पनि पारिवारिक व्यवसायमै तानिए।
व्यवसायकै प्रभाव, कलेज पढ्दा योगेन्द्र साथीहरूले बोकेका ब्यागका डिजाइन नियाल्थे। त्यति बेलै उनले ब्यागको व्यवसायमा राम्रो भविष्य हुन सक्ने ठानेका थिए।
'ब्यागमा धेरै डिजाइन हुने रहेछ। आफ्नो घरको व्यवसायमा केही नयाँपन दिनसके राम्रो हुन्छ भन्ने लाग्यो। बुबाममीसँग सल्लाह गरेर अघि बढेँ,' उनले भने।
उनका बुबा (धर्म तुलाधार) र आमा (रत्नदेवी तुलाधार)ले २०४५ सालमा ब्यागको व्यवसाय सुरू गरेका थिए। त्यसको करिब २५ वर्षपछि योगेन्द्रले आफ्नै ब्रान्ड बनाउने निधो गरे। उनले ११ वर्षअघि याभिंइ ब्रान्ड सुरू हुन्।
काम थालेपछि योगेन्द्रले करिब ६ वर्ष आफ्नो उत्पादन पसलहरूमा दिएर व्यापार गरे। होलसेल व्यवसायीले पनि लगे। व्यापार विस्तार गर्ने सिलसिलामा २०७६ सालमा सामाजिक सञ्जालमा जोडिए। इन्स्टाग्राम र फेसबुक पेज बनाएर ब्यागको प्रचार गरे। वेबसाइट पनि बनाए।
यसपछि बजारमा माग बढ्न थाल्यो। ब्याग डिजाइन, बजार प्रवर्द्धन, व्यापार र अन्य व्यवस्थापन लगायत उनी आफै हेर्छन्।
'बुबाममी महिलाले बोक्ने ब्याग मात्र बनाउनु हुन्थ्यो। डिजाइन पनि सामान्य थियो तर व्यवसाय राम्रो चलेको थियो,' उनले भने, 'मैले बजार बुझेको थिएँ। डिजाइन थपेर महिला र पुरूष दुबैले बोक्ने ब्याग बनाउन थालेँ।'
उनले सबभन्दा सुरूमा याभिंइ ब्रान्डमा ब्याक प्याक (पछाडि बोक्ने ब्याग) बनाएका थिए। त्यो ब्याक प्याक युवाहरूले निकै रूचाएको उनी बताउँछन्।
स्कुल-कलेज पढ्ने र यात्रामा जानेहरूले रूचाएपछि उनको हौसला बढ्यो। पुरूष र महिला दुबैका लागि ब्याग बनाउने योजनाअनुसार डिजाइन थप्दै अघि बढे।
अहिले याभिंइमा ब्याक प्याकसँगै ल्यापटप ब्याग, डफल ब्याग, सपिङ ब्याग, टोट ब्याग, क्रस प्याक ब्याग, मुजा होबो ब्याग, मिनीमिनी ब्याग लगायत अनेक डिजाइन छन्। डिजाइनअनुसार विशेषता पनि फरकफरक छ।
यीमध्ये ब्याक प्याक, सपिङ ब्याग, क्रस ब्याग पुरूषका लागि लक्षित छन्। अन्य डिजाइन महिलाका लागि हुन्। हाल लेडिज ल्यापटप ब्याग रोजाइमा परेको उनको भनाइ छ।
'याभिंइ महिलाका डिजाइनदार ब्याग बनाउने ठाउँ हो। फेसन अनुसारका डिजाइनदार ब्याग बनाउँछौं,' योगेन्द्र भन्छन्, 'ल्यापटप ब्याग भन्नासाथ पछाडि बोक्ने मात्र हुन्थ्यो, हामीले ह्यान्ड ब्याग ल्याएका छौं। अफिसियल प्रयोगमा यो ब्याग धेरैले रूचाएका छन्।'
एक दशकको व्यवसायमा उनले महिलाको 'ब्याग मनोविज्ञान' नियालेका छन्।
भन्छन्, 'महिलाहरूलाई डिजाइनदार ब्याग मनपर्छ। अलिक नयाँ डिजाइनको होओस् भन्ने चाहना हुन्छ। यसअनुसार ब्याग बनाउन सक्नुपर्छ। कहिले त एक हप्तामै अर्को डिजाइन ल्याउनुपर्छ।'
सबै ब्यागको डिजाइन योगेन्द्र आफै गर्छन्। ब्यागको बजार हेर्ने र नयाँ डिजाइन पहिल्याउने उनको बानी छ।
उनले ब्याग बनाउन काठमाडौंको नयाँ बजारमा कारखाना चलाएका छन्। याभिंइ ब्रान्डको ब्याग रेग्जिन, नाइलन, जिन्स र अन्य कपडाबाट बनेको हुन्छ। यी सामान चीनबाट मगाउँछन्। ब्याग बनाउन चाहिने अन्य धेरैजसो सामान पनि बाहिर (विदेश) बाट आउने उनले बताए।
योगेन्द्रबाहेक कारखानामा १२ जना काम गर्छन्। अन्य केही ब्रान्डले पनि उनको कारखानामा ब्याग बनाउने गरेका छन्।
उनको धेरैजसो काम अर्डरमा हुन्छ। ब्यागको संख्या र कामको व्यस्तता हेरेर कम्तीमा एक सातादेखि बढीमा दुई साताको म्याद लिन्छन्।
ब्यागको मूल्य हाल पाँच सय ५० रूपैयाँदेखि तीन हजार रूपैयाँसम्म छ। सबै डिजाइनका ब्याग याभिंइको वेबसाइट, इन्स्टाग्राम र फेसबुक पेजबाट अर्डर गर्न सकिन्छ। डेलिभरीका लागि योगेन्द्रले केही कम्पनीहरूसँग सहकार्य गरेका छन्। काठमाडौं उपत्यकासँगै पोखरा, बुटवल, विराटनगर लगायत अन्य केही सहरमा पनि याभिंइ ब्याग पाइन्छ।
त्यस्तै होलसेल व्यवसायीले पनि लैजान्छन्।
गुणस्तरीय र किफायती भएकाले याभिंइ ब्रान्ड धेरैको रोजाइमा परेको योगेन्द्रको भनाइ छ।
'हाम्रो उत्पादन गुणस्तरीय, टिकाउ, हेर्दा राम्रो र बोक्न सजिलो छ,' उनले भने, 'गुणस्तरीय भएकैले धेरैले रूचाएका हुन्। बजारका अन्य ब्याग हेरी हाम्रो ब्याग सस्तो छ। तर मैले अरू ब्रान्डसँग प्रतिस्पर्धा गरेको छैन। म सामानको आफ्नै गुणस्तरमा विश्वास गर्छु। गुणस्तर दिएका छौं, ब्रान्ड ग्राहकले नै बनाइदिएका हुन्।'
ब्यागको ब्रान्ड र बजार बनिसकेकाले अब योगेन्द्र 'याभिंइ क्लोदिङ' मा जान चाहन्छन्। उनी यसको तयारीमा लागेका छन्।
त्यस्तै बजार र ग्राहकको माग विचार गरेर ललितपुरको कुमारीपाटीमा यही असारभित्रै पसल खोल्ने तयारीमा छन्।
'यो पहिलो आउटलेट हुनेछ। म आफ्नो उत्पादन अन्तर्राष्ट्रिय बजारमा पुर्याउने योजनामा पनि छु,' उनले भने।
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
(याभिंइको वेबसाइटमा जान यहाँ र फेसबुक पेजमा जान यहाँ क्लिक गर्नुहोस्।)
सम्पादकीय नोटः तपाईंसँग पनि आफ्नो 'नेपाली ब्रान्ड' को कथा छ भने हामीलाई (setopati@gmail.com) सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं।
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)