मिठो चकलेट भन्नेबित्तिकै प्रायः हाम्रो दिमागमा विदेशी ब्रान्ड आइहाल्छ। पसलतिर पनि गुणस्तरीय चकलेट भनेर विदेशी ब्रान्डकै पाइन्छन्। भलै यहाँ पाइने तिनै ब्रान्डको स्वाद केही फरक होस्, संसारभर चर्चित ब्रान्ड त हुन् नि!
तर तपाईंलाई थाहा छ कि छैन, नेपालमै पनि उत्तिकै राम्रा र स्वादिला चकलेट बन्छन्। स्वदेशी ब्रान्डका चकलेट बजारमा छ्यासछ्यास्ती नहोलान्, चाहनुभयो भने पक्कै पाउनुहुनेछ।
यस्तै चकलेटमध्ये एक हो 'चाइचाइ'।
यो ब्रान्डका चार थरी चकलेट पाइन्छन्- ड्र्याजीज, रोचर्स, बनबन र बार। यी चकलेट हाल १२ स्वाद उपलब्ध छन्।
चाइचाइमा ५७ वर्षीय शर्मिला श्रेष्ठ, ३९ वर्षीय निर्जल श्रेष्ठ, ३० वर्षीय अनुरूप श्रेष्ठ र ३४ वर्षीय श्रद्धा श्रेष्ठले लगानी गरेका छन्। उनीहरू निकट पारिवारिक सदस्य हुन्। उनीहरूको पुर्ख्यौली पेसा व्यापार थियो, खासगरी किराना पसल चलाउँथे।
अहिले निर्जल रेस्टुरेन्ट चलाउँछन्, अनुरूप निर्माण कम्पनीमा काम गर्छन् र श्रद्धा व्यावसायिक चित्रकार हुन्। पहिले गृहिणी रहेकी शर्मिला अहिले चाइचाइमै व्यस्त छिन्। उनीहरूबाहेक थप चार जनाले काम सघाइरहेका छन्।
'हालसम्म ७५ लाख रूपैयाँ लगानी भइसकेको छ,' निर्जलले भने, 'मासिक सरदर तीन लाख रूपैयाँको चकलेट बिक्छ। हाम्रो लक्ष्य मासिक दस लाखको हो। चार-पाँच लाखसम्म पुगिसकेको थियो, अहिले अलि घटेको छ।'

शर्मिलाका अनुसार काजु, बदाम (आलमोन्ड), मुम्फली जस्ता ड्राइफ्रुटमा चकलेटको लेपन गरिएका ससाना अण्डाकार चकलेट ड्र्याजी हुन्। यो ह्वाइट र मिल्क चकलेट दुई स्वादमा पाइन्छ। ७५ ग्राम र १५० ग्राम तौलमा पाइने यसको मूल्य दुई सयदेखि चार सय ८० रूपैयाँसम्म पर्छ।
त्यस्तै डार्क चकलेटमा किसमिस मोलेर बनाइएको डल्लो चकलेट रोचर्स हो। यो १३० ग्राम तौलमा पाइन्छ जसको भाउ तीन सय ५० रूपैयाँ छ।
बार चकलेट कटुस, ढिके नुन र ब्लुबेरी लगायत राखेर बनाइएको हुन्छ। ५५ ग्रामको तौलमा पाइने बार दुई सयदेखि दुई सय ५० रूपैयाँसम्ममा पाइन्छ।
बनबन ह्वाइट र डार्क चकलेट दुई थरीमा पाँच स्वादको पाइन्छ; कफी, बटरस्कच, कारामेल, सुन्तला र बदाम। यो बाहिर कडा र भित्र बाक्लो चकलेटको झोल भएको हुन्छ। एक बट्टामा दसवटा बनबन हुन्छन् जसको मूल्य ६९० रूपैयाँ छ।
'बनबन तुलनात्मक रूपमा महँगो भएकाले अर्डरमा मात्र बनाउँछौं,' शर्मिलाले भनिन्, 'प्रायः विदेशीले मन पराउँछन्।'
चाइचाइ बजारमा आएको तीन वर्ष मात्र भयो। यसको आइडिया कोरोना लकडाउनमा फुरेको हो।
त्यो बेला शर्मिला, निर्जल, अनुरूप र श्रद्धाको प्रत्यक्ष भेट हुन पाएको थिएन। मेसेन्जरमा ग्रुप बनाएर कुरा गर्थे। लकडाउनको फुर्सद, सबै नयाँ खानेकुरा बनाउँथे र त्यसबारे छलफल गर्थे।
शर्मिलालाई अनेक परिकार बनाउने रूचि थियो। त्यही बेला युट्युब हेर्दै नयाँ परिकार बनाइन्। यही क्रममा बजारमा चलेको 'बाउन्टी' चकलेटजस्तै बनाइन् र आफन्तहरूलाई बाँडिन्।
'सानोमामु (शर्मिला) ले बनाएको चकलेट एकदम मिठो थियो। हामीले उहाँलाई त्यही बेला व्यावसायिक रूपमा बनाउन सुझाव दियौं,' निर्जलले भने।
उनले सुझाव मात्रै दिएनन्, आँट र भरोसा पनि दिए। लगानी गर्न तयार भए। कुरा हुँदै जाँदा अनुरूप र श्रद्धा पनि जोडिए। यसपछि चारै जना मिलेर योजना बनाए।
लकडाउन खुलेर स्थिति सामान्य भएपछि तीन लाख रूपैयाँ जुटाए। घरकै एउटा कोठामा कारखाना चलाउने तयारी भयो। चीनबाट तीनवटा मेसिन मगाए। मुख्य कच्चा पदार्थ कोको भारतबाट ल्याए।
सबै तयारी पूरा भएपछि दर्ता भयो चाइचाइ कन्फेक्सनरी।
कम्पनीको नामबारे शर्मिलाले भनिन्, 'परिवारमा बच्चाहरूले चकलेटलाई चाइचाइ भन्थे। मैले चकलेट दिँदा पनि उनीहरूले मलाई चाइचाइ मामु भनेर बोलाउँथे। बच्चाहरूको त्यही शब्दबाट ब्रान्डको नाम फुरेको हो।'
यसरी व्यावसायिक रूपमै चकलेट उत्पादन गर्ने भएपछि उनीहरूले दुबईबाट प्रशिक्षक बोलाए। चकलेट बनाउन कोठाको तापक्रम पनि मिलाउनुपर्छ। प्रशिक्षकले भनेपछि मात्र थाहा पाए। त्यसैअनुसार कोठाको डिजाइन मिलाए, एसी जोडे।
एक सातासम्म प्रशिक्षकले फरकफरक स्वादमा चकलेट बनाउन सिकाए। मेसिनको प्रयोगबिना उनीहरूले निर्धारित अवधिमा काम सिके।


'काम सिक्न हामीले सय किलो कोको किनेका थियौं। बनाउँदै, सिक्दै गयौं। एक सातामै काम सिकेको देखेर प्रशिक्षक पनि दंग परे,' निर्जलले भने, 'प्रशिक्षक फर्केपछि करिब दुई महिना चकलेट बनाउने र खाने-खुवाउने क्रम चलिरह्यो।'
व्यावसायिक उत्पादन गर्न मेसिन नै चलाउनुपर्थ्यो। मेसिन चलाउन सिक्न भारतबाट अर्का प्रशिक्षक बोलाए। तिनले चार दिनमै दक्ष बनाइदिए र प्याकेजिङको आइडिया पनि दिए।
अनि भने उनीहरू चकलेट उत्पादन गर्न तयार भए।
'हामी अलि फरक प्रकारको चकलेट ल्याउन चाहन्थ्यौं। यहाँका अधिकांश स्वदेशी उद्योगले बार चकलेट बनाएका थिए। हामीले ड्र्याजीज बनाउने निधो गर्यौं,' निर्जलले भने, 'हाम्रो किराना पसलमा पहिले चकलेट लेपन गरिएको मिठाइ धेरै बिक्थ्यो। त्यही सम्झेर त्यस्तै बनाउने भयौं।'
तिहारको मौका पारेर उनीहरूले व्यावसायिक उत्पादन थाले। पहिलो खेपमा २५ बट्टा ड्र्याजीज बनाएका थिए, आफन्तले सबै किनिदिए।
यसपछि चाइचाइ टिमले प्रचारप्रसारका लागि इन्स्टाग्राम पेज बनायो। डिजाइनको काम श्रद्धाले सम्हालिन्। चकलेट बनाउने जिम्मा शर्मिलाको भयो। मार्केटिङ र डेलिभरीमा निर्जल र अनुरूप लागे।
सुरूमा दिनको एक-दुई बट्टा अर्डर आउँदै थियो। एकपटक एकैचोटी दस बट्टा माग भयो। उनीहरू उत्साहित भए। कोभिडको धङधङी बाँकी भएकाले लामो समयदेखि बजारमा विदेशी चकलेट आउन सकेको थिएन। मार्टहरूले फोन नै गरेर चाइचाइ चकलेट अर्डर गर्न थाले।
अनि त व्यवसायले लय समातिहाल्यो!
निर्जल अर्डर नभएका मार्टहरूमा पनि चकलेट लिएर पुग्न थाले। गएका ठाउँमा 'नेपाली उत्पादन' भनेर राखिदिए।
यसरी चाइचाइले बजारमा आफ्नो ठाउँ बनाउँदै गयो। अनि उनीहरूले ड्र्याजीजपछि बनबन, बार र रोचर्स थपे।
हाल चाइचाइ चकलेट कम्पनीको सामाजिक सञ्जालबाट अर्डर गर्न मिल्छ। मार्ट र सुपरमार्केटहरूमा पनि पाइन्छ।
निर्जलका अनुसार व्यापार सन्तोषजनक भए पनि बजारमा बेच्न केही समस्या भने छ। बिक्रेताले सम्झौताअनुसार हरेक महिना बिक्री भएको र बाँकी परिमाणको तथ्यांक उत्पादकलाई दिनुपर्छ। तर यसमा आलटाल हुन्छ। त्यस्तै बिक्रेताले धेरै नाफा खोज्ने भएकाले चकलेट महँगो पर्ने समस्या पनि छ। नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने नीति व्यवहारमा नभएको उनको भनाइ छ।
'अब भविष्यमा चाइचाइको आफ्नै चकलेट दोकान खोल्ने योजना छ,' निर्जलले भने।
(चाइचाइको फेसबुक पेजमा जान यहाँ क्लिक गर्नुहोस्)
सम्पादकीय नोटः तपाईंसँग पनि आफ्नो 'नेपाली ब्रान्ड' को कथा छ भने हामीलाई (setopati@gmail.com) सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं।
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)