महिला उद्यमीका कथा
निहारिका डंगोल सानै थिइन्।
उनका दुई जना दिदी एउटा कम्पनीका लागि घरमै बसेर कुरूसले लुगा बुन्थे। दिदीहरूले गरेको हेर्दाहेर्दै निहारिकाले कुरूस चलाउन जानिन्। फुर्सदमा दिदीहरूलाई सहयोग गर्न थालिन्।
पछि दुबै दिदीको बिहे भयो। त्यसपछि पनि निहारिकाले उनीहरूलाई सहयोग गरिरहिन्। उनी धागो ल्याइदिन्थिन्, तयार भएका लुगा कम्पनीमा पुर्याइदिन्थिन्।
केही समयपछि दिदीहरूले यो काम छाडे, निहारिकाले यही कामलाई आफ्नो बनाइन्।
'दिदीहरूले छाडेपछि मैले त्यही काम अघि बढाएँ। म अहिले कुरूसले लुगा बुन्छु। मेरो आफ्नै ब्रान्ड छ। आफ्नो ब्रान्ड बनाएर काम सुरू गरेपछि कहिल्यै पनि माग घटेको छैन,' ३३ वर्षीया निहारिकाले भनिन्।
उनका उत्पादनको ब्रान्ड नाम हो 'ज्या क्रोसे फेसन'।
ज्या क्रोसे सुरू भएको करिब चार वर्ष भयो। निहारिका आफैले हातले बुनेका डिजाइनदार लुगा नै यसको मुख्य आकर्षण हो।
मौसम अनुसारका लुगा बुन्न निहारिका ऊनी, सुती र अल्लो धागो प्रयोग गर्छिन्।
ज्या क्रोसेमा स्विटर, पञ्जा, मोजा, टोपी, स्कार्फ, टि-सर्ट, ब्याग र भित्री लुगाहरू, आउटर इत्यादि पाइन्छ। यी लुगा सबै उमेरका व्यक्तिका लागि मागअनुसार तयार हुन्छन्। यसबाहेक सोफाको खोल र डाइनिङ टेबलमा राखिने कपडा पनि पाइन्छ। अलि फुर्सद भएका बेला निहारिका झुम्का, नेकलेस र खेलौना पनि बनाउँछिन्।
यी सबै सामान उनी ललितपुरको खोकनास्थित आफ्नै घरमा तयार गर्छिन्। हाल उनको काममा दुई जना छिमेकी दिदी सहयोगी छन्।
'म लुगा बनाएर त्यसको फोटो फेसबुक र इन्स्टाग्राम पेजमा राख्छु। अर्डर पनि पेजमै आउँछ। सामान्यतया धेरैजसो लुगा अर्डरमै बुन्छु। कहिलेकाहीँ व्यापार मेलाका लागि आफूखुसी पनि बुन्छु,' उनले भनिन्।
ज्या क्रोसेका उत्पादनको मूल्य बढीमा पाँच हजार रूपैयाँसम्म छ।
हातले बुनेर बुट्टा निकाल्न धेरै मेहनत पर्ने भएकाले मूल्य केही बढी पर्ने उनी बताउँछिन्।
'हातले बुनेको लुगा मेसिनले बुनेको भन्दा बढी टिकाउ हुन्छ,' उनले भनिन्, 'लुगा बुन्न डिजाइन अनुसार समय लाग्छ। सामान्य लुगा दुई दिनमै सकिन्छ। डिजाइन राखेर बनाउने हो भने पाँच दिनसम्म लाग्छ।'
उनका अनुसार कुरूसले बुनेका लुगाको नेपाली बजार सानो छ। केही वर्षयता भने बिस्तारै बढ्दै गएको छ। त्यसैले नेपालमा बुनिएको धेरैजसो लुगा विदेश पुग्छन्।
निहारिकाले आफ्नो ब्रान्डमा व्यवसाय गरेको चार वर्ष मात्रै भए पनि कुरूस चलाएको १५ वर्षभन्दा बढी भयो।
कुरूस चलाउँदा चलाउँदै नै उनलाई फेसनमा रूचि भयो। अनि नमूना कलेज अफ फेसन टेक्नोलोजीबाट फेसन डिजाइनमा स्नातक तह पूरा गरिन्।
पढाइका क्रममा पनि उनले सिक्ने अवसर पाइन्। कलेजले गराउने प्राक्टिकलमा कुरूसले बुनेर आफ्नै डिजाइनका लुगा बनाउँथिन्। कलेजमा उनको कामको प्रशंसा हुन्थ्यो। त्यसले उनलाई फेसनमा अघि बढ्न हौसला दियो।
त्यो बेला उनी अरू कम्पनीका लागि काम गर्थिन्। बिस्तारै उनले आफूले बुनेका लुगाको बजार थाहा पाइन्।
यसपछि उनलाई आफ्नै ब्रान्ड चलाउने विचार आयो। तर झट्टै काम सुरू गर्न सकिनन्। समयले फड्को मार्दै गयो।
त्यसैबीच कोरोना महामारी फैलियो। निहारिकाको काम बन्द भयो। त्यही समय उनका लागि आफ्नो ब्रान्ड सुरू गर्ने अवसर बन्यो।
'धेरै वर्ष अरू कम्पनीमा काम गरेँ तर न नाम थियो, न सोचेजस्तो दाम। इज्जत पनि गर्दैन थिए,' उनले भनिन्, 'लकडाउन भएर घरमा बसेका बेला केही फरक डिजाइनहरू सोचेँ।'
उनीसँग एकैचोटी ठूलो लगानीमा काम गर्ने सामर्थ्य थिएन। घरमा भएको धागोबाटै केही लुगा बुनिन्। त्यसको फोटो आफ्नो सामाजिक सञ्जालमा राखिन्। मानिसहरूले त्यसमा रूचि देखाए।
व्यापारको सम्भावना देखेपछि उनी आफ्नै काम गर्नेमा पक्का भइन्। युट्युबमा भिडिओ हेर्दै नयाँनयाँ डिजाइन सिकिन्। लुगाका साथै खेलौना र झुम्काहरू बनाइन्।
अर्डर र व्यापार बढ्दै गयो तर उनको ब्रान्ड बनेको थिएन। उनको आफ्नो सामाजिक सञ्जालमा भएको नाममै चलेको थियो। एक वर्षअघि मात्र उनले ज्या क्रोसे नाम राखेर ब्रान्ड बनाएकी हुन्।
'अहिले पनि घरमै बुन्छु, घरबाटै बेच्छु,' उनले भनिन्, 'आफूले काम गर्ने र केही दिदीबहिनीलाई साथमा लिएर अघि बढ्ने विचार छ।'
उनी महिलाहरूलाई कुरूस बुन्ने तालिम पनि दिन्छिन्। अहिले युवाहरू व्यवसायमा आइरहेकाले बुटिक र टेलरिङ जस्तै क्रोसेलाई पनि प्रवर्द्धन गर्नुपर्ने उनी बताउँछिन्।
'धेरै व्यवसायीहरू आए भने बजार पनि बढ्छ,' निहारिकाले भनिन्, 'मेरो सपना ज्या क्रोसेका उत्पादन राष्ट्रिय र अन्तर्राष्ट्रिय फेसन प्रदर्शनीमा पुर्याउने हो। यसका लागि उपाय खोज्दै छु।'
(ज्या क्रोसेको इन्स्टाग्राम पेजमा जान यहाँ क्लिक गर्नुहोस्)
सम्पादकीय नोटः तपाईंसँग पनि आफ्नो 'नेपाली ब्रान्ड' को कथा छ भने हामीलाई (setopati@gmail.com) सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं।
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)