वैशाख-जेठ मास, तराईको उखरमाउलो गर्मी, चिसो मोही पिउन धेरैलाई मन लाग्छ!
यस्तै मन हुनेहरूका लागि बजारमा ल्याइएको हो 'बुद्धभूमि मोही'।
बुद्धभूमि ब्रान्डको मोही कपिलवस्तुको ग्लोबल डेरीले बनाइरहेको छ।
'हामीले व्यावसायिक रूपमा मोही उत्पादन सुरू गरेर मोही पिउन मन हुने उपभोक्ताको धित मेटाइरहेका छौं,' उद्योग सञ्चालकमध्येका एक थानेश्वर न्यौपानेले भने।
बुद्धभूमि नगरपालिकाको इमिलियामा ग्लोबल डेरी चलेको नौ वर्ष भयो। थानेश्वरसँगै पारिवारिक सदस्य जनक न्यौपाने र कमल न्यौपाने कम्पनीका साझेदार हुन्। एक करोड रूपैयाँमा सुरू कम्पनीको लगानी अहिले ५० करोड रूपैयाँ पुगिसकेको छ।
डेरीले बुद्धभूमि ब्रान्डमा बजारमा मोही पुर्याउन थालेको भने गत वैशाख १ गतेदेखि हो।
दैनिक एक हजार लिटर मोहीबाट सुरू गरेकोमा हाल दैनिक तीन हजार लिटर उत्पादन भइरहेको थानेश्वरले बताए।
'हामीले परीक्षणका लागि मोही उत्पादन गर्न थालेका थियौं। बजारमा पुर्याउनासाथ माग बढ्यो। अहिलेको चर्को गर्मीमा माग झन् बढ्दै छ,' नेपाल डेरी एसोसिएसन, लुम्बिनी प्रदेश संयोजक समेत रहेका थानेश्वरले भने, 'अहिले एउटा सानो मेसिन र हातैले पनि मोही बनाउँछौँ। माग अनुसार उत्पादन गर्न अझै सकिएको छैन।'
उनका अनुसार मोही बुद्धभूमि र शिवराज नगरपालिकाबाट बिक्री सुरू भएको थियो। हाल लुम्बिनी प्रदेशका सबै तराई जिल्लामा पुगिरहेको छ।
नयाँ पुस्तालाई मोही पिउने बानी लगाउन र बुद्ध जन्मस्थलको पहिचान स्थापित गर्न समेत बुद्धभूमि ब्रान्डमा उत्पादन सुरू गरिएको थानेश्वरले बताए।
पहाडी गाउँहरूमा गाईभैंसी पाल्ने किसानले घरमा आउने पाहुनाको स्वागतमा अघि सार्ने पहिलो पेय नै मोही थियो। पशुपालन घट्दै जाँदा अहिले पहाडमा समेत यस्तो चलन हराउँदै छ। गाउँघरमा पनि मोहीको ठाउँ विभिन्न ब्रान्डका औद्योगिक पेय पदार्थले लिने गरेको छ। योसँगै ठेकीमा दही मथेर मोही बनाउने गाउँघरको संस्कृति पनि हराउँदै गएको उनी बताउँछन्।
'हाम्रो बाल्यकाल दूध, दही र मोही खाएर बित्यो। नयाँ पुस्तामा मोही छैन, बोतलको चिसो पेय छ। हामी नयाँ पुस्तालाई मोहीमा बानी पार्न चाहन्छौं,' थानेश्वरले भने, 'विदेश घुम्न जाँदा दूधका धेरै उत्पादन देख्थ्यौं। नेपालमा डेरी उद्योग चलाए पनि मोहीलाई व्यावसायिक बनाउन सकिएको थिएन। अहिले प्रयास गर्दैछौं।'
बोतलमा प्याक गरिएको मोही सात दिनसम्म उपभोग गर्न सकिने उनले बताए। उद्योगले स्टिकरमा पाँच दिनको म्याद राखेको छ। हाल एक लिटर मोहीको उपभोक्ता मूल्य ५० रूपैयाँ तोकिएको छ।
दैनिक तीन हजार लिटर मोही उत्पादन गर्न एक हजार लिटर दूध खपत हुन्छ।
'पोहोर हामीले एक अर्ब १० करोड रूपैयाँको कारोबार गर्यौं,' उनले भने, 'यो वर्ष एक अर्ब ४० करोडको कारोबार गर्ने लक्ष्य छ।'
उत्पादन बढाउँदै व्यापार विस्तार गर्ने योजना उनीहरूले बनाएका छन्। खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट मोहीको छुट्टै अनुज्ञापत्र लिने प्रक्रिया पनि सुरू भइसकेको छ।
अहिलेसम्म परीक्षण उत्पादनमै रहेकाले सादा मोही मात्र बनिरहेको थानेश्वरले बताए। परीक्षण सफल ठहर भएपछि विभिन्न स्वादमा उत्पादन गर्ने सोच छ।
'उपभोक्ताको प्रतिक्रियाले उत्साहित बनाएको छ,' उनले भने, 'एक वर्षभित्र दस प्रकारको स्वादमा मोही उत्पादन गर्ने र दुई सय मिलिलिटरदेखि १० लिटरसम्मको प्याकेजिङमा बजारमा पठाउने योजना छ।'
ग्लोबल डेरीले हाल मोहीबाहेक छुर्पी, बटर, नौनी, घिउ, पनिर, चिज, दही र दूध बेच्दै आएको छ। यसका उत्पादन काठमाडौं, पोखरा, भरतपुर लगायत सहरमा पुग्छ। एक हजार लिटर दूधबाट काम थालेको डेरीमा हाल दैनिक ५० हजार लिटर दूध खपत हुन्छ।
चिकित्सकहरूका अनुसार दूध, दही र मोही स्वास्थ्यका लागि लाभदायक हुन्छ। मोहीले निद्रा नलाग्ने समस्या कम गर्छ, आन्द्रा र पेटसम्बन्धी रोगको जोखिम घटाउँछ। झाडापखाला, कब्जियत, पायल्स, कोलेस्टोरल, उच्च रक्तचाप जस्ता रोग नियन्त्रणमा पनि मोही उपयोगी हुन्छ।
बुद्धभूमि नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णुदेव खनाल मोही खाँदा पाचन प्रक्रिया बलियो हुने र शरीरको तापक्रम सन्तुलित राख्न मद्दत पुग्ने बताउँछन्।
लुम्बिनी प्रदेशका पूर्वस्वास्थ्य मन्त्री तथा हाल प्रदेश सभा सदस्य विष्णु पन्थीले पनि अन्य चिसो पेय पदार्थका तुलनामा मोही फाइदाजनक रहेको बताए।
'गर्मी याम भएकाले पनि होला एक-डेढ महिनामै बुद्धभूमि मोहीले राम्रो बजार लिएको छ। कपिलवस्तु, रूपन्देही र दाङका रेस्टुरेन्टहरूमा अरू चिसो पेयको ठाउँ मोहीले लिन थालेको छ,' उनले भने, 'सरकारले मोहीको उत्पादन प्रवर्द्धन गर्नुपर्छ। उद्योगीलाई सहयोग पुर्याउनुपर्छ।'
बुद्धभूमि मोही उत्पादन गर्ने ग्लोबल डेरीका अर्का सञ्चालक जनक न्यौपानेका अनुसार अहिले उद्योगमा दुइटा मात्र 'रेफ्रिजेसन भ्यान' रहेकाले उत्पादन बढाए पनि बजार पुर्याउन कठिन छ।
'रेफ्रिजेसनको व्यवस्था गर्न सकिएन भने छिट्टै बिग्रिन्छ। तापक्रम बढ्नेबित्तिकै अम्लीयपन बढेर खान नमिल्ने हुन्छ,' जनकले भने।
मोहीको व्यावसायिक उत्पादन सफल भए किसानले उत्पादन गरेको दूध बिक्रीमा समस्या नहुने उनको विश्वास छ।
ग्लोबल डेरीले कपिलवस्तु, रूपन्देही, नवलपरासी, दाङ, बाँके, बर्दिया, कैलाली, पाल्पा, गुल्मी, अर्घाखाँची लगायत जिल्लामा ८१ वटा संकलन केन्द्रबाट दूध ल्याउने गरेको छ। संकलन केन्द्रमार्फत १५ हजार किसान जोडिएका छन्। डेरीमा दुई सय जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्।
लुम्बिनी प्रदेश दूध उत्पादनमा निकै राम्रो मानिन्छ। पाउडर दूध उत्पादन गर्ने उद्योग नहुँदा हिउँद याममा दूध नबिक्ने समस्या किसानले भोग्नुपरेको छ।
ग्लोबल डेरी पाउडर दूध पनि बनाउने योजनामा छ। पाउडर दूध बनाउन सके दैनिक थप ५० हजार लिटर खपत हुन्थ्यो। तर यसका लागि सरकारको सहयोग आवश्यक रहेको जनक बताउँछन्।
'जाडो याममा धेरै दूध उत्पादन हुन्छ। पाउडर बनाउन सके गर्मीमा जब उत्पादन कम र माग बढी हुन्छ, त्यो बेला प्रयोग गर्न सकिन्थ्यो,' उनले भने, 'पाउडर दूधको प्लान्ट बनाउँदा लागत धेरै हुन्छ तर बाह्रै महिना चल्दैन। त्यसैले सरकारको सहयोग चाहिन्छ।'
उनका अनुसार चितवनपूर्व सातवटा पाउडर दूध प्लान्ट छन् तर पश्चिममा एउटा पनि छैन।
देशको अर्थतन्त्र चलायमान हुने गरी थालिएका कृषि र पशुपालन सम्बन्धी उद्योगलाई सरकारले सहुलियत दिएर सहयोग गर्नुपर्ने जनक र थानेश्वर दुबैको भनाइ छ।
सम्पादकीय नोटः तपाईंसँग पनि आफ्नो 'नेपाली ब्रान्ड' को कथा छ भने हामीलाई (setopati@gmail.com) सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं।
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)