एकातिर फिल्म छायांकन, अर्कातिर ब्यागको व्यापार!
३४ वर्षीय राजीव मानन्धर अहिले यी दुई काममा उत्तिकै सक्रिय छन्। फिल्म छायांकनसँगै 'बरमन नेपाल' नामक कम्पनीमार्फत् उनी एक वर्षदेखि झोलाहरू बनाइरहेका छन्।
'बरमन' ब्रान्डमा हाल टोट ब्याग पाइन्छ। टोट ब्याग एकापट्टिको काँधमा भिर्न मिल्ने हुन्छ। यस्तो ब्याग युवा पुस्ता र पेसाकर्मीको रोजाइमा छ। अलि धेरै सामान बोक्नेका लागि उपयुक्त हुन्छ।
कटन क्यानभास फेब्रिकबाट बनेको बरमन ब्याग बलियो र टिकाउ हुने राजीव बताउँछन्।
'यो कपडाको धागो निकै मसिनो गरी बुनेर तयार पारिएको हुन्छ। अनि प्राकृतिक रूपमै पानी नछिर्ने हुन्छ,' उनले भने, 'बलियो र टिकाउका साथै बायोडिग्रेडेबल (कुहिने) भएकाले वातावरण अनुकूल हुन्छ।'
बरमन ब्याग एक हजार एक सयदेखि एक हजार नौ सय रूपैयाँसम्म पर्छ। किताबकापी, ल्यापटप बोक्न मिल्ने र साना बच्चाका आमाका लागि धेरै सामान अट्ने उपयुक्त ब्याग पाइन्छ।
बरमनले सिन्थेटिक ब्याग पनि बनाउँछ। राजीवका अनुसार हाल मासिक सरदर २५ वटा झोला बिक्री भइरहेको छ। कहिलेकाहीँ एकैपटक १५-२० वटासम्मको अर्डर आउँछ। अधिकांश ग्राहक काठमाडौं उपत्यकाका छन्। सुर्खेत, बुटवल, विराटनगर र धरानबाट पनि माग आइरहेको छ।
यसको कुनै पसल छैन, सामाजिक सञ्जाल र अनलाइन बजार दराजबाट किन्नुपर्छ।
'छोटो समयमै ग्राहकबाट राम्रो प्रतिक्रिया पाएका छौं। माग सन्तोषजनक छ,' राजीवले भने, 'नेपालमा कटन क्यानभास आयातकर्ता थोरै भएकाले पाउन मुस्किल हुन्छ। चाहिएका बेला पाइयो भने मागअनुसार बनाउन सकिन्छ। छुट्यो भने धेरै दिन कुर्नुपर्छ।'
उनका अनुसार नेपालमै कटन क्यानभास बन्ने भएपनि विदेशीको तुलनामा पातलो र कम गुणस्तरको छ। यसको झोला टिकाउ हुँदैन। निकट भविष्यमा नेपालमै गुणस्तरीय कटन क्यानभास उत्पादन हुने उनको विश्वास छ।
बरमनको व्यवस्थापन र सञ्चालनमा राजीव र उनीकी श्रीमती सुनिता छुकाँ सक्रिय छन्। सुरूमा बरमनमा सुनिता र राजीवका साथी अजित बरमनले एक लाख रूपैयाँ लगानी गरेका थिए। व्यवसायको अवधारणा अजितकै थियो। उनकै थरबाट बरमन ब्रान्ड नाम जुरेको थियो।
'साथीको नामबाटै व्यवसाय सुरू गर्यौं तर व्यक्तिगत कारणले ऊ सक्रिय हुन सकेन। हामी सहमतिमै छुट्यौं,' उनले भने।
राजीव र सुनिताले ब्रान्ड नाम फेर्ने सोचेका थिए। तर झट्ट निर्णय गर्न सकेनन्।
'अनि बिस्तारै फरक तरिकाले सोच्यौं। जो साथीको अवधारणामा व्यवसाय सुरू भएर चल्यो, उसले रोजेको नाम नहटाऔं भन्ने निष्कर्षमा पुग्यौं,' उनले भने।
राजीवका लागि व्यापार नयाँ क्षेत्र हो। फिल्मी दुनियाँमा काम गरिरहेका उनी शून्य अनुभवबाट काम थालेको बताउँछन्।
उनलाई सानैदेखि कलाक्षेत्रमै विशेष रूचि थियो। एसएलसीपछि सिर्जना कलेज अफ फाइन आर्ट्समा भर्ना भए। त्यसपछि अस्कर इन्टरनेसनल कलेज गए। अस्करबारै सन् २०१० मा फिल्म स्टडिजमा स्नातक तह पूरा गरे। उनको व्यावसायिक काम फिल्म 'हाइवे' बाट सुरू भएको हो। सुरूमा छायांकनका लागि सहायक क्यामरा-पर्सन र लाइट-पर्सन थिए।
पछि निर्देशक निश्चल बस्नेतको फिल्म 'लुट' मा फोटोग्राफी गरे। यसपछि 'दबदबा', 'अध्याय', 'वनफूल', 'गल्छेडो', 'बसेन्जी' र 'अमेरिकन ब्वाइज' का सिनेमाटोग्राफर भए। उनले सर्ट-फिल्ममा पनि काम गरेका छन्।
पछिल्लो समय राजीव वृत्तचित्र छायांकनमा व्यस्त छन्। दीपेन्द्र भण्डारीले निर्देशन गरेको 'जर्नी टु यार्सा' उनैले छायांकन गरेका हुन्। केही अन्तर्राष्ट्रिय संस्थाहरूका लागि चेतनामूलक भिडिओ पनि छायांकन गरेका छन्।
कला क्षेत्रमा रमेका राजीवलाई अरू व्यापार-व्यवसायमा खास रूचि थिएन। आफ्नो पेसागत कामसम्बन्धी नै मिस्टिक भिजुअल कम्पनी चलाइरहे पनि ब्याग बनाउने काम उनका लागि बिल्कुलै नयाँ हो।
'अर्को व्यवसाय पनि गरौंला भन्ने सोचेकै थिइनँ,' राजीवले भने, 'अहिले बुझ्दै छु, नेपाली ब्रान्ड प्रवर्द्धनमा लागेको छु। खुसी पनि छु।'
राजीव व्यवसायमा कला पनि मिसाउने प्रयासमा छन्। बरमन झोला कलाकृतिले भर्ने उनको योजना हो। यसका लागि उनी रङसँग खेल्ने कलाकारहरूसँग सहकार्य गर्दैछन्। हाल ग्राहककै रोजाइअनुसारको चित्र प्रिन्ट गर्छन्।
त्यस्तै बजार अध्ययन गरेर आगामी दिनमा अरू प्रकार र डिजाइनका झोला पनि बनाउने योजना छ। समग्र उत्पादन पनि बढाउँदै जाने सोच राजीवको हो। तर कटन क्यानभासको उपलब्धतामै उत्पादन भरपर्ने उनी बताउँछन्।
राजीवले यो व्यवसायमा वर्ष दिन बिताइसके। यो अवधिमा आफूले बुझेको सबभन्दा ठूलो कुरा धैर्य भएको उनले बताए।
'सानो लगानीमा काम सुरू गर्दा उत्पादन थोरै हुन्छ, लागत बढी पर्छ,' राजीवले भने, 'बजारमा उपलब्ध आयातीत सामानसँग हाम्रो सामानको तुलना हुन्छ। यस्तो अवस्थामा धैर्य गरेर ग्राहकको मन जित्ने प्रयास गर्नुपर्दो रहेछ।'
(बरमन नेपालको फेसबुकमा जान यहाँ र इन्स्टाग्राममा जान यहाँ क्लिक गर्नुहोस्।)
सम्पादकीय नोटः तपाईंसँग पनि आफ्नो 'नेपाली ब्रान्ड' को कथा छ भने हामीलाई (setopati@gmail.com) सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं।
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस।)