काठमाडौंका आरोन खड्काले स्कुले जीवनको करिब पाँच वर्ष एउटै झोलाले बिताए। किताबकापीको भारीले उनको झोला फाटेन। त्यो झोला कुनै एउटा विदेशी कम्पनीको थियो। उनलाई खुब मनपर्थ्यो।
चार वर्षअघि उनी एसइईमा सहभागी भए। नतिजा आएपछि ११ कक्षा पढ्ने तयारी भयो। स्कुल जाँदा बोकेको झोला पुरानो भइसकेको थियो। एसइई उत्तीर्ण गरेको उत्साहमा नयाँ कक्षामा नयाँ झोला चाहिएको थियो।
उनी पहिलेको जस्तै बलियो झोला किन्न बजार गए। धेरै कम्पनीका झोला हेरे। कुनैले पनि उनको मन तान्न सकेन।
त्यस दिन झोला नकिनी फर्के। पुरानो झोला नियालेर हेरे। बरू आफैंले यस्तै बलियो र राम्रो झोला बनाउन सके हुन्थ्यो भन्ने कुरा दिमागमा आयो।
'विदेशी कम्पनीले एउटै झोला चार-पाँच वर्षसम्म टिक्ने बनाउन सक्छ भने नेपालमा पनि त सम्भव होला नि भन्ने लाग्यो,' आरोनले सेतोपाटीसँग भने, 'एकपटक कोसिस गर्नुपर्यो भनेर अठोट गरेँ।'
आरोनले आमा कृपालाई झोलाका विषयमा आफ्नो दिमागमा आएको कुरा सुनाए।
आमाबुबाका एक्ला छोरा, भर्खर १७ वर्ष उमेरका, आरोनले व्यवसायको सोच बनाएको देखेर कृपा अचम्म परिन्। एकातिर खुसी भइन्, अर्कातिर काम सफल हुने हो कि नहुने हो, छोराको पढाइ बिग्रिने हो कि भन्ने सोच पनि आयो।
यस्तै दुबिधाबीच उनले छोराको व्यावसायिक सोचको समर्थन गरिन्। छोरालाई काममा प्रोत्साहन र मद्दत गर्ने निर्णय गरिन्।
'नेपाली ब्रान्डको झोला बनाएर बेच्ने काम सजिलो छैन भन्ने लाग्यो। तर कलिलै उमेरको भए पनि छोराको आँट देखेर नाइँ भन्नै सकिनँ,' निर्णय लिँदाको क्षण सम्झिँदै कृपाले सेतोपाटीसँग भनिन्, 'मेहनत गर्दा असम्भव छैन भनेर छोरालाई साथ दिएँ।'
ब्रान्डबारे आमाछोराको सल्लाह भयो। नुवाकोटमा जन्मेहुर्केकी कृपा गाउँघरमा डोको प्रयोग गर्ने चलनमा अभ्यस्त थिइन्। बाँस र निगालाको चोयाले बनेका डोकोमा घाँसदाउरा र अन्य सामान बोकेको उनलाई खुब राम्रो लाग्थ्यो।
कृपाले ब्रान्डको नाम 'डोको' नै सबभन्दा उपयुक्त हुने ठानिन्। छोरालाई सुनाइन्। आमाको विचारमा आरोन सहमत भए।
आरोनले भने, 'ममीले जुराएको मौलिक नाम डोको मलाई पनि खुब मनपर्यो।'
नाम जुरेपछि आमाछोरा झोला बनाउने कारखाना र फेब्रिक (कपडा) खोज्न काठमाडौंका गल्लीहरू घुमे। करिब १५ दिनमा सबै सामान जुटाए। सानो लगानीमा काठमाडौंको नयाँ बजारमा कारखाना खोले। सिलाइका लागि चारवटा मेसिन जोडे। कटाइ र सिलाइका लागि कालिगढ राखे।
सुरूमा लगानी ५ लाख रूपैयाँ लाग्यो।
आरोनले झोलाको डिजाइन गरे। खासगरी स्कुले विद्यार्थीका लागि थियो। २०७८ वैशाखदेखि उत्पादन हुन थाल्यो। जेठमा डोको ब्रान्डको झोला बजार पुग्यो।
पहिलो चरणमा चार फरक रङमा पाँच सयवटा झोला बनाए। डोकोको चित्रसहितको लोगो टाँसे। तीन महिनामा सबै बिक्री भयो।
'हामीले डोको ल्याउँदा बजारमा धेरै नेपाली ब्रान्डका झोला थिए। कतिपयले ग्राहकको मन जितेका थिए। डोको चिनाउन र ग्राहकको रोजाइमा पार्न चुनौती थियो,' आरोनले भने, 'हाम्रो लक्ष्य युवा पुस्ता थियो। त्यहीअनुसार डिजाइन र फेसनमा प्राथमिकता दियौं। बजारमा पनि सुरूमै राम्रो स्थान पायौं।'
आफ्नो ब्रान्ड प्रचारका लागि फेसबुक र इन्स्टाग्राममा पेज बनाए। अनलाइनमा अर्डर आउन थाल्यो। डिजाइन बढाउँदै लगे। बजार पनि बढ्दै गयो।
हाल डोको ब्रान्डमा बन्दना, एस्ट्रो, टोट, फ्रस्टी, रस्टिक, अरबान, अरबान ब्याग प्याक, मोनोक्रोम, क्यामरा लगायत १६ डिजाइनका झोला उत्पादन हुन्छन्। बन्दना सबभन्दा पहिलो डिजाइन हो। कृपाका अनुसार बन्दना, एस्ट्रो र रस्टिक सबभन्दा बढी रूचाइएका छन्।
डोकोमा हाल एक हजार २५० देखि साढे नौ हजार रूपैयाँसम्मको झोला पाइन्छ।
आरोन गत वर्षदेखि अस्ट्रेलियामा आइटी विषय पढ्दैछन्। पढाइबाहेक उनी डोकोलाई समय दिन्छन्। अस्ट्रेलियामै पनि महिनाको चार दिन डोकोको स्टल राख्ने गरेका छन्। कृपाले यहाँबाट पठाएका झोला उनी बेच्छन्।
आरोनले अस्ट्रेलियामा डोकोको आउटलेट राख्ने विचार गरेका छन्। अन्य केही मुलुकबाट पनि माग आएको छ।
'डोको अन्तर्राष्ट्रिय बजारमा पुर्याउने लक्ष्य छ। अस्ट्रेलियामा पनि राम्रो बजार पाएको छ,' उनले भने, 'म यहीँबाट डिजाइन गरेर पठाउँछु। उत्पादनको सबै काम ममी हेर्नुहुन्छ।'
छोराको योजनाअनुसार काम गर्न पाउँदा कृपा खुसी छिन्।
भन्छिन्, 'मैले छोराको योजनामा साथ दिएँ। आरोन व्यवसायका लागि अनुभव मात्र होइन, दृढ इच्छा शक्ति चाहिन्छ भन्ने उदाहरण भएको छ।'
डोकोमा हाल उत्पादन र डेलिभरीतर्फ सात जना काम गर्छन्। डोको झोला अनलाइन अर्डर गरेर किन्न सकिन्छ। यसबाहेक काठमाडौं उपत्यकाका केही पसलमा पनि पाइन्छ। कम्पनीको आफ्नै पसल भने छैन। आगामी दिनमा एउटा शोरूम खोल्ने र सबै डिजाइनका झोला एकै ठाउँमा राख्ने योजना छ।
अहिले डोकोमा दैनिक कम्तीमा ४० वटा झोला तयार हुन्छ। अर्डरअनुसार उत्पादन थपघट पनि हुन्छ। साढे दुई वर्षमा झोलाको बजार निकै बढेको कृपा बताउँछिन्।
'फिनिसिङ राम्रो छ। बलियो छ,' उनी भन्छिन्, 'मूल्य पनि किफायती छ। धेरै कारणले डोको झोला ग्राहकको रोजाइमा परेको छ।'
छोटो समयमा व्यापार बढेपछि व्यवसायी आमाछोरा दंग छन्।
अब दैनिक प्रयोगका लुगा उत्पादन गर्ने योजना उनीहरूको छ। अनि विदेशमा बजार बढाउने सपना देखेका छन्।
'आमाछोराको डोकोले यति चाँडै यसरी बजार पाउला भन्ने सोचेकै थिएनौं,' प्रशन्न मुद्रामा कृपाले भनिन्, 'व्यवसायलाई निरन्तरता दिन गुणस्तर अझै राम्रो बनाउँदै जान्छौं।'
(डोको ब्याग्सको फेसबुकमा जान यहाँ र इन्स्टाग्राममा जान यहाँ क्लिक गर्नुहोस्।)
सम्पादकीय नोटः तपाईंसँग पनि आफ्नो 'नेपाली ब्रान्ड' को कथा छ भने हामीलाई (setopati@gmail.com) सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं।
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)