बेकरी परिकारको प्रयोग बढ्दै जाँदा बजारमा केक, कुकिज, ब्रेड, कपकेक जस्ता मीठा परिकार बनाउने स्वदेशी कम्पनीको संख्या बढ्दो छ। तिनैमध्येको एक हो 'सुगर स्याक'।
चार वर्षअघि सुरू भएको कम्पनीले हाल १८ वटा स्वादमा केक, कुकिज, टार्ट, कपकेक, ब्राउनी, डोनट, मफिन, चकलेट, ब्रेड लगायत बेकरी परिकार बनाउँछ। यहाँ ८५ रूपैयाँ पर्ने टार्टदेखि प्रतिपाउन्ड दुई हजार सय रूपैयाँसम्म पर्ने चिज केक उपलब्ध छ।
यी सबै परिकार २४ वर्षीया मुस्कान नेहरले बनाउँछिन्। उनी कम्पनीकी सञ्चालक पनि हुन्। उनलाई आमा सुनिता र बहिनी कृतिकाले सघाउँछन्। दुई जना कर्मचारी पनि छन्।
'सुरूदेखि नै आमाछोरीले काम गर्यौं। माग बढ्दै गएपछि तीन जनाले भ्याइएन। अहिले कर्मचारी पनि छन्,' उनले भनिन्।
आमा र कृतिका आउटलेट (पसल) हेर्छन्। मुस्कान उत्पादनमा व्यस्त रहन्छिन्, कर्मचारीले सघाउँछन्।
२०७६ जेठमा सुरू भएको सुगर स्याकले २०८० भदौसम्म घरमै तयार परिकार अनलाइनमार्फत बिक्री गर्थ्यो। थोकमा मात्र अर्डर लिन्थ्यो। गत असारमा काठमाडौंको नक्सालमा आउटलेट खुलेको हो। मुस्कानलाई हजुरबुबाले सुरूदेखि नै आफ्नै आउटलेट खोल्न भन्थे। ढिला भए पनि आखिरमा हजुरबुबाको प्रेरणाले आउटलेट खुलेको उनी बताउँछिन्।
ग्राहकहरूले अनलाइनका साथै आउटलेटबाट खरिद गर्न वा आएर अर्डर गर्न सक्छन्। मुस्कानका अनुसार आउटलेटमा ग्राहकहरूको प्रतिक्रिया निकै सकारात्मक छ।
'उत्पादन पनि अर्डरअनुसार नै गर्छौं,' मुस्कानले भनिन्, 'राम्रो केक छिनभरमा तयार हुँदैन। भोलि चाहिएको भने आजै काम सुरू गर्नुपर्छ।'
मुस्कानलाई बेकिङमा खुबै रूचि छ। उनले भारतको बैंगलोरस्थित 'लाभोन्नी एकेडेमी अफ बेकिङ साइन्स एन्ड पेस्ट्री कला' संस्थानबाट डिप्लोमा गरेकी छन्।
उनी बाह्र कक्षाको पढाइ सकेर बैंगलोर गएकी थिइन्। डिप्लोमा सकेर २०७५ सालमा नेपालकै ह्यात रिजेन्सीमा इन्टर्नसिप गर्न आइन्।
'६ महिनाको इन्टर्नसिप सकेपछि मलाई आफ्नै काम गर्छु भन्ने भयो। बजार मागअनुसार भिन्न प्रकारका डिजर्ट (गुलिया परिकार) दिन चाहन्थेँ। पढाइमा सिकेको सीप व्यवहारमा उतार्न चाहन्थेँ,' उनले भनिन्।
बजारमा धेरैजसो एकै खाले र कृत्रिम स्वादमा केक पाइने उनले अनुभव गरेकी थिइन्। त्यसैले प्राकृतिक र केही फरक स्वादमा केक बनाइन्। सामाजिक सञ्जालमा प्रचार गरिन्। अनलाइनबाट अर्डर लिने र डेलिभरीको प्रबन्ध मिलाइन्।
सुरूमा निकै पातलो अर्डर आए पनि छोटो समयमै बढ्दै गयो। उनको आवास क्षेत्र नक्साल आसपासबाट अर्डर बढ्यो। घरमा बनेको ताजा र बजारमा उपलब्धभन्दा केही फरक स्वादको केक ग्राहकले रूचाए।
'कस्टमाइज्ड (ग्राहकको रोजाइ अनुसार) केक बनाउनु सुगर स्याकको विशेषता हो,' उनले भनिन्, 'विशेषगरी चिज र रसमलाई केक कस्टमाइज्ड हुन्छ। यसरी बनाउन मलाई रमाइलो लाग्छ। आफ्नो कला र क्षमता देखाउन पाउँछु।'
अर्डरमध्ये कम्तीमा ८० प्रतिशत कस्टमाइज्ड हुने उनले जानकारी दिइन्।
सुगर स्याकले केक लिन सकेसम्म ग्राहकलाई नै बोलाउँछ। यसो गर्दा ग्राहकले आफ्नो सामान सुरक्षित पुर्याउँछन्, गुनासो कम हुन्छ भन्ने मुस्कानलाई लाग्छ।
'केक सुरक्षित रूपमा पुग्नुपर्छ। डेलिभरी कम्पनीहरूको भर पर्दा ग्राहक नै जिम्मेवार हुनुपर्छ। हामी सकेसम्म ग्राहकलाई आफैं आएर लैजान भन्छौं, उहाँहरूलाई सहयोग पनि गर्छौं,' उनले भनिन्।
आउटलेटका हेरक बिहान परिकार तयार हुन्छ। बेकरी परिकार बढीमा एक सातासम्म खान योग्य मानिन्छ। सुगर स्याकले सकेसम्म एक दिनमै बिक्री भइसक्ने गरी मात्र उत्पादन गर्छ।
मुस्कानको दिनचर्या सुगर स्याकको किचनबाट सुरू भएर त्यसमै अन्त्य हुन्छ। फुर्सदको समय बेकरीका स्वादको विविधता परीक्षणमा बिताउँछिन्।
बेकिङप्रति मुस्कानको रूचिको स्रोत उनकी आमा सुनिता हुन्। सुनितालाई पनि बेकिङमा रूचि थियो, छ। उनी खास अवसरमा आफ्नै भान्सामा केक बनाउँथिन्। आमाको बेकिङ सीपबाटै मुस्कान प्रेरित भइन्।
'आमाले सानै उमेरदेखि केक बनाउनुभएको रहेछ। हाम्रा लागि प्रेसर कुकरमा केक र मफिन बनाउनुहुन्थ्यो,' मुस्कानले भनिन्, 'आमालाई सघाउँदा सघाउँदै मलाई पनि त्यसमै रूचि भयो।'
उनकी आमा रेसिपी बुक हेरेर बेकिङ गर्थिन्। छोरीका पालामा युट्युब आयो। मुस्कान १३–१४ वर्षको उमेरमै केक बनाउन जान्ने भएकी थिइन्। बैंगलोरमा कोर्स नै गरेपछि विज्ञ र व्यवसायी बनेकी हुन्।
मुस्कानका अनुसार चार वर्षअघि २० हजार रूपैयाँ लगानीमा सुगर स्याक सुरू भएको हो।
केकसँगै गुलियो कन्फेक्सन, कपकेक, क्रिमटार्ट र केकसिकल्सको माग बढ्दो छ। विशेष गरी युवावर्गले क्रिमटार्ट र केकसिकल्स रूचाएको छ। क्रिमटार्टमा बटर कुकिजको बेसमा बटरक्रिमले पाइपिङ गरिएको हुन्छ। केकसिकल्स एक प्रकारको केक नै हो जुन पप्सिकलको आकारमा हुन्छ।
गुलियो परिकार बनाउने भएकाले कम्पनीको नाम सुगर स्याक राखेको उनले बताइन्।
'अहिलेको समयमा सबै किसिमका अवसरमा डिजर्ट अनिवार्य भएको छ। यसले खानाको शोभा पनि बढाउँछ। यसकारण पनि बेकरी व्यवसाय फस्टाएको छ,' उनले भनिन्।
बजारमा बेकरी उत्पादक धेरै छन् तर गुणस्तरमा भिन्नता छ। खाद्य परिकारमा गुणस्तर निकै महत्त्वको पक्ष हो। उच्च गुणस्तरले व्यवसायी र ग्राहक दुबैलाई लाभ हुने उनी बताउँछिन्। त्यसैले उनको प्राथमिकता उच्च गुणस्तरमै छ।
उनको लक्ष्य भने भविष्यमा सुगर स्याकबाट बेकरी कक्षा सञ्चालन गर्ने हो।
भन्छिन्, 'म गुणस्तरीय बेकरी उत्पादन विस्तार गर्न चाहन्छु।'
(सुगर स्याक फेसबुक पेजका लागि यहाँ र इन्स्टाग्राम पेजका लागि यहाँ क्लिक गर्नुहोस्।)
सम्पादकीय नोटः तपाईंसँग पनि आफ्नो 'नेपाली ब्रान्ड' को कथा छ भने हामीलाई (setopati@gmail.com) सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं।
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)