ब्याग अर्थात् झोला किन्ने बेलामा त्यसको चेनको गुणस्तरको कुरा आउँछ। ब्याग हेर्दा सबै ठीक छ तर चेन गतिलो परेन भने हैरानै हुन्छ। फेरेर पनि के साध्य!
चेन नभएको ब्याग नि!
अहिलेको जमानामा यस्तो ब्याग त पाइएला र?
पाइन्छ, त्यो पनि नेपाली ब्रान्डको।
काठमाडौंका २९ वर्षीय निरोज महर्जन चेनबिनाको ब्याग डिजाइन गर्छन्।
राम्रो भनेर किनेको एउटा ब्यागको चेन बिग्रिएर हैरान भएपछि उनले चेनबिनाको ब्याग भए हुन्थ्यो भन्ने सोचे। बजारका धेरैवटा पसल घुमे। अनलाइनमा खोजे।
'आफूले चाहेजस्तो गतिलो ब्याग कतै फेला पारिनँ। बजारमा चेनलेस (चेन नभएको) गुणस्तरीय र ब्याग फेला नपरेपछि आफैं डिजाइन गरेर बनाउने विचार गरेँ,' निरोजले भने, 'राम्रो कपडा किनेर ल्याएँ, चेनलेस ब्याग डिजाइन गरेँ। अनि कारखानामा लगेर सिउन दिएँ।'
सुरूमा त्यसरी बनाएको ब्याग त्यति राम्रो भएन। उनैलाई मनपरेन। डिजाइन परिमार्जन गरेर अर्को ब्याग बनाउन दिए। त्यो चाहिँ उनलाई मनपर्यो। एकैपटक चार-पाँच वटा बनाए। ब्यागमा 'बेल्लो' नाम राखे।
निरोजका अनुसार 'बेल्लो' स्पेनिस भाषाको शब्द हो, नेपाली भाषामा यसको अर्थ 'सुन्दर' हुन्छ। नेवारी (नेपाल) भाषामा पनि 'राम्रो' भन्न 'बाल्ला' शब्द छ। यिनै दुई शब्द सम्झेर उनले ब्यागको ब्रान्ड नाम 'बेल्लो' राखेका हुन्।
निरोजलाई डिजाइनमा रूचि छ, इन्टेरियर डिजाइन पनि गर्छन्। डिजाइन स्वाध्ययनबाटै सिकेका हुन्।
'आफैं सिकेको हुँ। इन्टेरियर डिजाइन पनि गर्छु तर व्यावसायिक रूपमा होइन,' उनले भने।
ब्याग तयार भएपछि उनले इन्स्टाग्राम पेज बनाएर फोटो राखे। त्यही पेजमा ब्यागबारे मानिसहरूको जिज्ञासा आउन थाल्यो। धेरैले डिजाइन मनपरेको भनेर प्रतिक्रिया दिए। बिस्तारै माग पनि आउन थाल्यो।
माग आएपछि व्यापार चल्छ कि भन्ने निरोजलाई लाग्यो। तत्कालै व्यापार सुरू गर्ने योजना नभए पनि ग्राहकको मागले उनी उत्साहित भए। जागिरे भएकाले निरोजलाई अलिअलि पैसा जुटाउन खास समस्या थिएन। उनले आफ्नै खर्चमा ब्याग बनाए। एउटा ब्याग तयार हुन करिब हजार रूपैयाँ खर्च हुन्थ्यो।
आफ्नै कुनै व्यवसाय गर्नुपर्ला भन्ने सोचिरहेका उनी इन्स्टाग्राममा माग आएपछि यही मौकामा काम सुरू गर्ने निष्कर्षमा पुगे। आखिर उनले इन्स्टाग्राममा फोटो राखेको दुई सातामै ब्याग बेच्न थाले।
जागिरे थिए, व्यापारका लागि पर्याप्त समय भएन। एकपटकमा तीन-चार वटा ब्याग बनाएर फोटो राख्थे। त्यो बिक्री भएपछि मात्रै अर्कोपटक बनाउँथे।
'फुर्सद मिलेका बेला बनाउँथेँ। एउटा ब्याग बेचेको पैसा अर्को ब्याग बनाउन खर्च गर्थेँ,' उनले भने।
जागिर खाँदै ब्यागको व्यवसाय छ महिना जति चल्यो। माग बढ्दो क्रममा थियो। उनले आफ्नै काम गर्ने चाहनाको धरातलमा ब्यागको व्यापार र जागिर तुलना गरे। अनि आफ्नै व्यवसायमा लाग्ने निष्कर्षमा पुगेर उनले जागिर छाडे। 'बेल्लो वर्ल्ड' नाम राखेर व्यावसायिक कम्पनी बनाए।
करिब छ महिनाअघि जागिर छाडेर उनी अहिले पूर्ण रूपमा ब्याग व्यवसायी बनेका छन्। आफ्नो 'बेल्लो' ब्रान्ड विस्तार गर्न कम्मर कसेर अघि बढेको उनले बताए।
जागिर छाडेपछि उनले एकैपटक ५० वटा ब्याग बनाए।
ब्याग व्यवसायमा निरोजका परिवारजन पनि संलग्न भएका छन्। लगानीमा बुबाले सहयोग गरे। व्यवसायमा उनका दुई भाइले साथ दिएका छन्।
'बुबाले सुरूमा एक लाख रूपैयाँ दिनुभयो। त्यो पैसाले अफिस राख्न सहयोग भयो,' निरोजले भने।
व्यवसायमा हाम फालेपछि ग्राहकको मागअनुसार डिजाइन थप्दै गए। डिजाइनअनुसार हरेक ब्यागको पनि नाम राखे। 'स्पेसबार' नामको एउटा डिजाइन छ जसमा एउटा लक खोल्दा ब्यागका सबै खण्ड खुल्छन्।
निरोजका अनुसार स्पेसबार ग्राहकले धेरै रूचाएको ब्याग हो। अहिले पनि सबभन्दा बढी बिक्री हुने यही हो। अन्य डिजाइनमा भेन्चर प्याक, ल्यापटप स्लिभ, स्लिङ र क्लासिक ब्याकप्याक छन्। यी ब्याग विभिन्न रङमा उपलब्ध छन्।
बेल्लोका चेनबिनाका ब्यागमा क्लिप/बटन छन् जसबाट खोल्न र बन्द गर्न सकिन्छ। चेन भएको ब्याग पनि पाइन्छ।
यी ब्यागको मूल्य एक हजार दुई सय ५० रूपैयाँदेखि ६ हजार रूपैयाँसम्म छ। सबै डिजाइनका गरेर दैनिक २० वटासम्म ब्याग बिक्री भइरहेको छ। धेरैजसो बिक्री इन्स्टाग्रामबाटै हुन्छ।
बेल्लो वर्ल्डका झोलाको मूल्य ग्राहकलाई केही महँगो पनि लाग्न सक्छ।
यसबारे निरोज भन्छन्, 'हाम्रो उत्पादन गुणस्तरीय छ। तुलनात्मक रूपमा महँगो लाग्न पनि सक्छ तर पैसा तिरेअनुसार सामानमा ग्राहक सन्तुष्ट हुनुहुन्छ। नाफा कम राख्छौं तर गुणस्तर घटाउँदैनौं।'
बेल्लोले बनाएको कुनै ब्याग लेदर (छाला) को जस्तो देखिन्छ। तर यो शुद्ध लेदर होइन, सिन्थेटिक हो। यस प्रकारको ब्याग तुलनात्मक रूपमा बलियो, वातावरणअनुकूल र पानी नछिर्ने हुने उनले बताए।
बिजनेस स्टडिजमा स्नातकोत्तर पढाइ पूरा गरेका निरोज काठमाडौंकै स्थायी बासिन्दा हुन्। उनको पारिवारिक पृष्ठभूमि पनि व्यावसाय नै हो।
'म विद्यार्थी छँदा नै इम्ब्रोइडरी टिसर्ट बनाउँथेँ। तर जागिर र पढाइले गर्दा त्यसलाई निरन्तरता दिन सकिनँ। अहिले आफ्नै तरिकाले ब्यागको व्यवसायमा लागेँ,' उनी भन्छन्।
पारिवारिक रूपमा उनीहरूको खाद्यान्नको व्यापार छ। सानैदेखि निरोज व्यापारमा बुबालाई काम सघाउँथे। यस्तो पृष्ठभूमिबाट निरोज व्यवसायमा प्रेरित थिए।
'व्यवसायको प्रेरणा बुबाबाटै मिलेको हो। दराज, खल्ती र अन्य केही कम्पनीमा काम गर्दा व्यवसायको केही आइडिया आयो,' उनले भने, 'दराजमा काम गर्दा इ–कमर्सको आइडिया भयो। खल्तीमा समूह प्रमुख भएर काम गर्दा व्यवस्थापनको आइडियो भयो।'
हालसम्म बेल्लोको उत्पादन वेबसाइट र इन्स्टाग्रामबाट मात्रै बिक्री हुने गरेको छ। चाँडै आफ्नै पसल खोल्ने योजना छ। धेरै ग्राहकले पसल कहाँ छ भनेर सोधिरहेकाले करिब एक महिनाभित्र सञ्चालन गर्ने तयारी रहेको उनले बताए।
त्यस्तै बेल्लोका निम्ति आफ्नै कारखाना बनाउने पनि योजना छ। यसबाहेक निरोजले बेल्लो ब्रान्डमा टिसर्ट, प्यान्ट, आउटर, सर्ट लगायत लुगा पनि बजारमा ल्याउने सोचेका छन्।
हालसम्म बेल्लोमा करिब १० लाख रूपैयाँ लगानी भइसकेको निरोजले बताए। व्यवसायकै आर्जनबाट लगानी बढाउँदै जाने योजना निरोजको छ।
(बेल्लोको इन्स्टाग्राम पेजमा जान यहाँ र वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्)
सम्पादकीय नोटः हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै युवा र साकार हुँदै गरेको उनीहरूको सपनाको कथा हो। तपाईंहरूका पनि यस्तै कथा छन् भने हामीलाई सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं। (setopati@gmail.com)
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)