नेपाली ब्रान्ड
पाँच वर्षअघि 'वाउ पपकर्न' पाइने जम्मा दुइटा आउटलेट थिए। अहिले देशभर सय वटा हाराहारी पुगेका छन्।
यी आउटलेट (पसल) वाउ पपकर्न कम्पनी आफैंले खोलेका भने होइनन्। जसले बेच्न चाहन्छ, कम्पनीले उसलाई सामान दिन्छ।
यसरी नै वाउ पपकर्न देशभरका पारखीमाझ पुगिरहेको सञ्चालक शुभाकर मानन्धर बताउँछन्। विशेषगरी काठमाडौं, पोखरा र चितवन मुख्य बजार हुन्।
'पपकर्न पारखीको मुखमा वाउ नाम झुन्डिनुको मुख्य कारण यो नेपाली कम्पनी हो,' शुभाकर भन्छन्, 'नेपालमा पपकर्न उत्पादन गरी बजारस्तरमा यसरी पुर्याउने पहिलो कम्पनी वाउ नै हो।'
पपकर्न फुलाउने र तताउने दुइटा मेसिनबाट २०७४ सालमा शुभाकरले कम्पनी सुरू गरेका थिए। लगानी करिब ३० लाख रूपैयाँ भएको उनी बताउँछन्। अहिले एक करोड रूपैयाँभन्दा बढी पुगेको छ।
कोरोना र लकडाउन नभएको भए वाउ पपकर्नका अझ धेरै आउटलेट खुलिसक्थे। गति पहिले धिमा भए पनि अब आउटलेट बढाउन शुभाकर लागिपरेका छन्।
वाउ पपकर्न खुला र प्याकेटमा पाइन्छ। खुला पपकर्न कागजको झोलामा दिइन्छ। प्याकेटमा बनाइएको पपकर्न ग्राहकका निम्ति अझ सजिलो भएको छ। मार्ट, सुपरमार्केट लगायतमा वाउ पपकर्नका प्याकेट किन्न पाइन्छ। तर खुद्रा बजारबाट पपकर्न हटाउँदै लैजाने शुभाकरले बताए।
'सानो बजारमा बेच्दा लागत बढ्ने भयो। पसलमा झुन्ड्याएर राख्दा घाम र पानीले धेरै खेर जाने रहेछ,' शुभाकरले बजार अनुभव सुनाए, 'लकडाउनमा खेर गएको सामान एक वर्ष अघिसम्म पनि फिर्ता आइरहेको थियो।'
उनले पपकर्नको प्याकेजिङ फेर्ने योजना पनि बनाएका छन्। यसअघि सबै स्वादमा लगभग एकै खालको खोल थियो। अब भने पपकर्नको स्वादअनुसार फरकफरक प्याकेजिङ हुनेछ।
बजारीकरणलाई तीव्र बनाइरहेका शुभाकरले पपकर्नको तौलमा पनि परिवर्तन गर्दैछन्। पहिले वाउ पपकर्न ग्राहकले २० रूपैयाँदेखि ३५० रूपैयाँसम्मको प्याकेटमा किन्न पाउँथे। अब भने ठूलो 'फ्यामिली प्याक' आउँदैछ। यो दुई सय ५० रूपैयाँदेखि तीन सय ५० रूपैयाँसम्म पर्ने उनले बताए।
'ग्राहकले सानो प्याकेटमा हुँदा ५/७ वटा लैजान पर्यो, ठूलो बनाउनु भन्न थाले,' उनी भन्छन्, 'हामीलाई पनि ग्राहकको सुझाव ठिकै लागेको छ। खुद्रा बजारमा भन्दा धेरै परिमाण बिक्री गर्ने योजना छ।'
वाउ पपकर्नले हाल एक सय जनालाई प्रत्यक्ष रोजगारी दिएको उनको भनाइ छ। अप्रत्यक्ष रूपमा झन्डै पाँच सय जनालाई रोजगारी दिएको उनी बताउँछन्।
'यो संख्या धेरै त होइन तर एउटा आउटलेट (पसल) को भरमा आफ्नो परिवार पाल्ने धेरै छन्,' उनले भने, 'यो देख्दा खुसी लाग्छ।'
शुभाकरलाई यसरी मकै भुटेर बेच्ने आइडिया कसैले दिएको होइन, आफ्नी छोरीले गरेको रहरबाट फुरेको हो। ६ वर्षअघि उनकी छोरीले घरमा फिल्म हेर्दै गर्दा पपकर्न खान मन नगरेको भए उनी यतिखेर ट्रेडिङ बिजनेसमै रमाइरहेका हुने थिए।
काठमाडौंको न्युरोडमा पुर्ख्यौली घर भएका शुभाकर भारत, थाइल्यान्ड लगायत देशबाट इनर्जी ड्रिंक्स, चकलेट र प्याकेजिङ फुड्स आयात गर्छन्। यही सूचीमा उनले पपकर्न थपेका हुन्।
'घरमा फिल्म हेर्दै गर्दा छोरीले पपकर्न खाऊँ न बाबा भनिन्। पछि सिनेमा हल जाँदा खाऊँला है भनेँ। तर छोरीको चित्त बुझेन,' शुभाकरले त्यति बेलाको कथा सुनाए, 'कति केटाकेटीले पपकर्न खाने रहर गर्छन् होला। सधैं हलमै लगेर त कसरी खुवाउनु भन्ने लाग्यो। अनि आफैंले उद्योग खोल्ने निधो गरेँ।'
व्यावसायिक पृष्ठभूमि भएकाले शुभाकरलाई पुँजी अभाव थिएन। उनले तुरून्तै अमेरिकाबाट पपकर्न बनाउने सेकेन्ड ह्यान्ड मेसिन किनेर ल्याए।
बालाजुमा छपाइ मेसिन भएको एउटा उद्योगलाई अन्तै सारेर त्यहाँ त्यो मेसिन राखे। मकै मेसिनमा हालेर भुट्ने तरिका सिके। चार महिनासम्म बजार अध्ययन गरे। यसपछि मकैका दाना फुलाएर त्यसमा गुलियो र गुलियो–नुनिलो स्वाद भर्न थाले।
उनका अनुसार पपकर्न बनाउने मेसिनमा मकै राखेर निश्चित तापक्रम दिएपछि फुल्छ। फुलेको मकैमा स्वाद दिने मसला राखेर घोलिन्छ। परीक्षण गर्दै गए, धेरै उत्पादन खेर गयो। आखिरमा उनले स्वादिलो पपकर्न बनाउन सके।
त्यो नयाँ स्वादको पपकर्न साथीभाइ र परिवारजनलाई चखाए। सबैजसोले रूचाए।
'चाख्नेहरूले थम्प्स–अप गर्दै वाउ भने,' उनले सम्झिए, 'प्रतिक्रियामा सुनिएको त्यही वाउ मैले पपकर्नको ब्रान्ड बनाएँ।'
व्यावसायिक उत्पादनका लागि सरकारी प्रक्रिया पूरा गरेर उनले २०७४ माघमा 'वाउ पपकर्न' ब्रान्डमा आफ्नो उत्पादन बजारमा पठाउन थाले। सुरूमा चीज, बटरसाल्ट र कारामेल स्वादमा पपकर्न बनाए।
'ग्राहकले पिरो र सादा स्वाद पनि माग गरेपछि मसला र बटरस्कच गरी दुई स्वाद थपेँ,' उनले भने।
उनले दरबारमार्ग र रञ्जना कम्प्लेक्समा दुइटा वार्मर (पपकर्न तातै राख्ने सिसाको बाकस) राखे। शुभाकर आफ्नो उत्पादन ठूलो झोलामा हालेर सिधै वार्मरमा पठाउँथे। पहिले चार किलो पठाउँथे, बिस्तारै माग बढ्दै गयो।
ग्राहकले उत्पादन रूचाउन थालेपछि वार्मर बढाउँदै गए। यसैगरी काठमाडौं उपत्यकासहित पोखरा, चितवन, बुटवल, धरान लगायतमा गरेर अहिले एक सय हाराहारीमा आउटलेट पुगिसके। अहिले चीज, कारामेल, बटरसाल्ट, मसला र बटरस्कच गरी पाँच स्वादका वाउ पपकर्न पाइन्छ।
कम्पनीले पपकर्नबाहेक दुई स्वादमा 'चीज रिङ्स' पनि उत्पादन गर्दै आएको छ। यो भनेको चीज बल्सजस्तै स्वादको औंठी आकारको गोलो खानेकुरा हो। त्यस्तै आफ्नै ब्रान्डमा आलु चिप्स र कुकिज अरू कम्पनीलाई उत्पादन गर्न पनि दिएको छ। तर अरू उत्पादनलाई त्यति प्राथमिकतामा नराखेको शुभाकर बताउँछन्।
'हाम्रो मुख्य प्राथमिकता भनेको पपकर्न नै हो,' उनले भने, 'अन्यलाई त्यति प्राथमिकतामा राखेका छैनौं।'
ग्राहककै सुझाव मनन गर्दै गत माघदेखि कम्पनीले कटन क्यान्डी भने बजारमा ल्याएको छ।
'आउटलेटमा ग्राहकले कटन क्यान्डी बनाउन अनुरोध गरे। माघदेखि हामीले विभिन्न स्वादमा कटन क्यान्डी थपेका छौं,' उनले भने।
पपकर्न उत्पादन व्यवसाय जोखिमरहित छैन। पपकर्न ओसिन दिनु हुँदैन। प्याकेटमा नाइट्रोजन ग्यास भरिएको हुन्छ। प्याकेट फुट्यो वा बाहिरबाट हावा छिर्यो भने गुणस्तर खस्किन्छ। स्वाद पनि रहँदैन।
जोखिमबारे शुभाकर भन्छन्, 'हामीलाई त उत्पादन गर्दादेखि ग्राहकको हातमा नपुगुन्जेल जोखिम हुन्छ। पानी पर्ने मौसममा मकै राम्ररी फुल्दैन। बजारमा पुगेपछि पनि प्याकेटमा सानो प्वाल पर्यो भने पनि ओसिन्छ।'
पछिल्लो समय कोरोना महामारीका कारण थुप्रै उद्योग तथा कम्पनीको बजारमा असर पर्यो। धेरैको आर्थिक अवस्था खस्कियो। कतिपय बन्दै भए। तर वाउ पपकर्नले यो चुनौती सामना गर्दै अघि बढेको शुभाकर बताउँछन्।
'अहिले बजारमा कुनै पनि वस्तुको माग त्यति छैन। कोभिडको बेलामा बरू राम्रो बजार थियो,' उनले भने, 'हामीलाई त अहिले चाहिँ भर्खरै व्यवसाय सुरू गरेको हो कि भन्ने भइरहेको छ।'
नेपालीहरूले खाइरहेको यो पपकर्न नेपाली मकैबाट भने बन्दैन। त्यसो त शुभाकरले नेपालमा राम्रो उत्पादन हुने मकै बेवास्ता गरेर बाहिरबाट आयात गरेका होइनन्। पपकर्न बनाउने जातको मकै यहाँ नपाइने भएकाले विदेशबाट ल्याउनुपरेको हो।
'पपकर्न बनाउने जातको मकै अमेरिका र अर्जेन्टिनाबाट ल्याउनुपर्छ, यहाँ पाइँदैन,' उनले भने, 'भारतमा पाइने पपकर्न पनि तिनै देशबाट आयातित मकैबाट बनेको हो।'
केही साथीले शुभाकरलाई नेपाली मकैबाट किन नबनाएको भन्छन्। धेरैले मुरली मकै (भुट्दा सेतै फूल उठ्ने सानो मकै) बाट पपकर्न बनाएको पनि भन्ठान्छन्। तर पपकर्नको विशेषता यी मकैबाट नआउने उनको भनाइ छ।
'सही स्वाद र आकार कायम राख्न बाहिरबाट मकै ल्याउनुपरेको हो,' शुभाकर भन्छन्, 'यो पपकर्न मुखमा राखेपछि भिजेर नरम हुन्छ, खान एकदमै सजिलो। यहाँको मकै यसरी भिज्दैन। अनि त पपकर्नको विशेषता नै रहँदैन।'
उनी बटरफ्लाई र मसरूम जातका मकैबाट पपकर्न बनाउँछन्। यी जात यहीँ उत्पादन गर्न कृषि अनुसन्धान परिषद (नार्क) सँग छलफल भइरहेको उनले बताए। पपकर्नको मसला भने भारतबाट आयात हुन्छ।
वाउ पपकर्नका उत्पादन अहिले दराज, पठाओ, खानपिन लगायत अनलाइन बजारमा पनि पाइन्छ। कम्पनीले पपकर्न बेचेको वार्षिक लेखाजोखा भने दुरूस्त राख्न सकेको छैन। शुभाकरका अनुसार पहिलो वर्ष नयाँ उत्पादन बजारमा चिनाउनमै समय गयो। दोस्रो वर्ष अनुमानित दस करोड रूपैयाँ कारोबार भएको थियो।
त्यसपछि कोरोना लकडाउनले ७० प्रतिशतसम्म बजार खस्कियो। अहिले पनि बजार शिथिल छ। उनी आत्तिएका भने छैनन्। आफूले गुणस्तरीय उत्पादन लैजान सके बजार सहज भएपछि बिक्री बढ्ने उनको विश्वास छ।
उनी भन्छन्, 'पहिले पपर्कन नेपालमा उत्पादन हुन्थेन। हामीले सुरू गरेपछि नयाँ पनि थपिएका छन्। हामीले बजारमा ल्याउनुअघि पपर्कन सिनेमा हलमा मात्रै पाइन्छ भन्ने थियो। अहिले आउटलेट र किराना पसलमा पनि किन्न सकिन्छ। वाउ पपकर्नले पपकर्नको संस्कृति बसालेको छ।'
पपकर्न सबै उमेर समूहका व्यक्तिले खान सक्ने स्वास्थ्यवर्द्धक खानेकुरा भएकाले स्वाद थप्न र उत्पादन बढाउन अध्ययन भइरहेको पनि उनको भनाइ छ।
शुभाकरका अनुसार 'एसिया बिजनेस आउटलुक' ले वाउ पपकर्नलाई 'फुड कम्पनी प्रोसेसिङ कम्पनीज, २०२३' मा उत्कृष्ट दसको सूचीमा राखेको छ।
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)