सम्पादकीय नोटः केही वर्षयता हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने भर्भराउँदा युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै युवा र साकार हुँदै गरेको उनीहरूको सपनाको कथा हो। तपाईंहरूका पनि यस्तै कथा छन् भने हामीलाई सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं। (setopati@gmail.com)
पच्चीस वर्षअघि कालिदास गौतमले आफ्ना साथीहरूसँग मिलेर पोखरामा जुत्ता कारखाना खोले। त्यो बेला उनले नेपालभर करिब पाँच सय खुद्रा बिक्रेताका लागि जुत्ता उत्पादन गर्थे।
लामो समय कालिदासले अरूकै लागि गुणस्तरीय र राम्रो जुत्ता बनाइरहे। उनले उत्पादन गर्ने जुत्ताबारे पहिल्यैदेखि नै राम्रो प्रतिक्रिया आउँथ्यो। जुत्ता अझ राम्रो बनाउन उनले भारत र चीन गएर जुत्ता बनाउन प्रयोग हुने सामग्री र तरिकाबारे पनि अध्ययन गरे।
जुत्ता व्यवसायमा कालिदास अनुभवी भइसकेका थिए। गुणस्तरीय, राम्रो र सबैले मन पराएकाले उनले यो व्यवसायमा लागेको बीस वर्षपछि आफ्नै ब्रान्ड सञ्चालन गर्ने निधो गरे।
अनि चार वर्षअघि जन्मियो 'क्यालिबर'।
'हामीले आफ्नै ब्रान्ड सञ्चालन गर्नुअघि नै सबैले हाम्रा जुत्ताको गुणस्तर मनपराउँथे,' कालिदासले भने, 'आफ्नै ब्रान्ड खोलेपछि झन् हामी यो कुरामा निकै सचेत भयौं। आजसम्म पनि हाम्रो मुख्य प्राथमिकता गुणस्तरमा छ।'
अहिले कालिदास यो व्यवसायमा एक्लै छैनन्। उनका दुई छोरा प्रशन्न र अमन पनि क्यालिबरकै कारोबारमा सक्रिय छन्।
उनीहरूले सानैदेखि बुबा जुत्ता व्यवसायमै लागेको देखेका थिए। आफ्नो पढाइ सकाएपछि दाजुभाइले अरू काम नगरी बुबाकै व्यवसाय अगाडि बढाउने सोचे। अनि ब्रान्डिङको काम थाले।
बुबा कालिदाससँगै प्रशन्न र अमन क्यालिबरको बजार तथा व्यवस्थापन सम्हालिरहेका छन्।
कान्छा छोरा अमन क्यालिबरका निर्देशक हुन्। उनी विशेषगरी यसको बजार र प्रचारप्रसारको काम हेर्छन्।
'बुबाले देखाएको व्यवसायलाई अझ माथि पुर्याउन हामीले क्यालिबर जुत्ता उत्पादनका लागि नयाँ प्रविधिका मेसिनहरू ल्याएका छौं,' अमनले भने। उत्पादनका लागि चाहिने कच्चा सामग्री चीन र भारतबाट ल्याइन्छ।
हाल क्यालिबरले चार किसिमका जुत्ता उत्पादन गर्छ- फर्मल, बुट्स, स्निकर्स र स्पोर्ट्स।
यी जुत्ता थुप्रै डिजाइनमा पुरुष, महिला र बालबच्चाका लागि उपलब्ध छ। यीमध्ये सेता स्निकर र चेल्सी बुट्स बढी बिक्री भइरहेको अमन बताउँछन्।
क्याबिलरमा पाइनेमध्ये सबभन्दा सस्तो बच्चाले लगाउने जुत्ता हो। यो एक हजार चार सय ५० रूपैयाँबाट सुरू हुन्छ। महँगोमा 'प्रिमियम' स्तरको स्पोर्ट्स जुत्ता पर्छ। यसको मूल्य तीन हजार नौ सय ५० रूपैयाँसम्म तोकिएको छ।
'जुत्ता भन्नेबित्तिकै सुरूमै सहजताको कुरा आउँछ। यसमा कस्तो गुणस्तरको सामान प्रयोग गरिएको छ भन्ने कुरा पनि मुख्य हो,' अमन जुत्ताबारे भन्छन्, 'नेपालमा बन्ने अधिकांश जुत्तामा पिभिबी सोल प्रयोग गरिएको हुन्छ। यसको आयु राम्रो हुँदैन। ढाड दुखाउने भएकाले स्वास्थ्यका लागि पनि राम्रो हुँदैन।'
त्यसैले क्यालिबरले जुत्तामा रबर, इभिए र थर्मोप्लास्टिक पोलियुरोथिन (टिपियू) को सोल प्रयोग गर्ने उनको भनाइ छ। इभिए सोल लगाउन हलुका र लचकदार हुन्छ भने टिपियू राम्रो पकड (ग्रिप) र टिकाउ हुने माानिन्छ। यही कारण क्यालिबर जुत्ताको गुणस्तर राम्रो हुने उनले बताए।
उनका अनुसार अंग्रेजी शब्द क्यालिबरको अर्थ कसैको क्षमता र गुणस्तर झल्काउनु हो। पहिल्यैदेखि मुख्य ध्यान गुणस्तरमा रहेकाले आफ्नो उत्पादनसँग सुहाँउदो नाम रोजेको उनी बताउँछन्।
तर सुरूमा क्यालिबरलाई धेरैले सुरूमा नेपाली ब्रान्ड भनेर विश्वास गर्थेनन्। कतिले नेपाली ब्रान्डका लागि किन नेपाली नाम नदिएको भनेर प्रश्नसमेत गरे।
यसबारे अमन भन्छन्, 'हामीलाई क्यालिबर नेपालमा मात्र होइन, संसारभर चिनाउनु छ।'
अमनका अनुसार अहिले क्यालिबरको मुख्य कारखानामा १८० जना कर्मचारी छन्। यहाँ उत्पादन हुने जुत्ता यसका सबै शाखामा वितरण हुन्छ। देशभर क्यालिबरका ४२ वटा शाखा छन्।
'ग्राहकले क्यालिबर जुत्ता निकै मन पराउनुभएको छ। हाम्रा जुत्ताका डिजाइन विदेशी फेसन ट्रेन्डसँग मिल्दोजुल्दो छ। ग्राहकलाई नयाँ के दिन सकिन्छ र यसलाई अझ कसरी राम्रो बनाउन सकिन्छ भन्नेबारे हामी सधैं अध्ययन गरिरहेका हुन्छौं,' अमनले भने।
सुरूमा उनीहरूले पाँच वर्षमा २५ वटा शाखा खोल्ने योजना बुनेका थिए। तर क्यालिबरको लोकप्रियताका कारण चार वर्षमै ४२ वटा शाखा खोल्न सफल भएको अमन बताउँछन्।
उनले भने, 'यो सफलता ग्राहकको मायाले गर्दा पाएका हौं।'
क्यालिबर जुत्ता विदेशी बजारमा फैलाउने सपना भए पनि निर्यात कम भइरहेको छ। हाल आधिकारिक रूपमा सिंगापुरमा मात्र क्यालिबर जुत्ता बिक्री हुन्छ। अस्ट्रेलिया, अमेरिका, दुबई, कतार लगायत देशबाट पनि माग आइरहेको छ। उनीहरूले पठाएका भने छैनन्।
'नेपालभित्रै माग धेरै भएकाले विदेशका लागि उत्पादन गर्न गाह्रो छ,' उनले भने, 'त्यसैले अब कारखाना बढाउनुका साथै मेसिन र कर्मचारी थप्ने योजना छ। उत्पादन बढेपछि विदेशमा पनि शाखा खोल्ने छौं।'
आफ्नै डिजाइनमा गुणस्तरीय जुत्ता उत्पादन गर्ने भएकाले क्यालिबरको अन्य नेपाली ब्रान्डसँग धेरै प्रतिस्पर्धा नभएको अमनको दावी छ। विदेशी जुत्तासँग भने प्रतिस्पर्धा गर्नुपरेको उनी बताउँछन्।
'एउटै क्षेत्रमा भएपछि अरू नेपाली ब्रान्डसँग थोरै प्रतिस्पर्धा हुन्छ। ग्राहकले विदेशी वा क्यालिबरकै जुत्ता नकिनेर अन्य नेपाली ब्रान्डका किन्छन् भने त्यसमा त हामी खुसी हुन्छौं। किनकी यसले नेपाली ब्रान्डकै मूल्य र महत्व बढाइरहेको हुन्छ,' उनले भने।
क्यालिबर जुत्ता गुणस्तरीय मात्र नभइ ब्रान्डेड पनि भएको उनको भनाइ छ। ग्राहकलाई क्यालिबरका उत्पादनमा केही चित्त नबुझे समस्या सुन्ने र सुधार गर्दै लैजाने पनि अमनले बताए।
सबै तस्बिर र भिडिओः सुसन चौधरी/सेतोपाटी
(क्यालिबरको फेसबुक पेजका लागि यहाँ र वेबसाइटका लागि यहाँ क्लिक गर्नुहोस्।)
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)