सम्पादकीय नोटः केही वर्षयता हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने भर्भराउँदा युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै युवा र साकार हुँदै गरेको उनीहरूको सपनाको कथा हो। तपाईंहरूका पनि यस्तै कथा छन् भने हामीलाई सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं। (setopati@gmail.com)
स्थानीय खानाको स्वाद कसलाई मनपर्दैन र! परम्परागत शैलीले पकाइने खाना झन् मिठो! स्वादिलो खानासँगै बसेर खाने ठाउँ पनि उस्तै चट्ट पाए?
यो सबै विशेषता पाइन्छ सिनामंगलमा रहेको लेकाली किचेन एन्ड कटिया हाउसमा।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नपुग्दै सिनामंगल कटेर आउने उकालोको बाँयापट्टि आँखा मोडे ठ्याक्कै देखिन्छ लेकाली किचेन एन्ड कटिया हाउस।
रेस्टुरेन्टका अध्यक्ष तथा सह–सञ्चालक मधुसुदन ढकालका अनुसार हिमालदेखि तराईसम्मका धेरै परिकारको स्वाद एकै छतमुनि पाइने हुँदा यो नाम राखिएको हो।
'काठमाडौंबासीलाई देशभरका विभिन्न खानाका स्वाद दिने योजनासँगै रेस्टुरेन्ट सुरू गरिएको हो,' ३४ वर्षीय मधुसुदनले भने, 'हाम्रो मेनुले जतिसक्दो धेरै प्रकारका परम्परागत खाना अटाएको छ।'
यहाँ करिब तीन सय परिकार पाइने मधुसुदन बताउँछन्। जसमा रौतहटको कटिया, थकाली खाना, च्याङ्ग्राको सुकुटी, दाङको बदेलको मासु, गंगटा, बगैडी, घोंगी, हाँस, बदिया, बट्टाइको मासु, मार्सी भात लगायत छन्।
रेस्टुरेन्टमा अधिकांश खानेकुरा मौसमअनुसार पाइन्छ। बगैडी भनेको तराइमा पाइने चरा हो जुन विशेषगरी चिसो मौसममा, असोज अन्तिमदेखि माघसम्म खाइन्छ। घोंगी र च्याङ्ग्राको मासु पनि यही याममा पाइन्छ।
'विभिन्न मौसममा गरी झन्डै तीन सय स्थानीय परिकार व्यवसायिक रूपमै पस्किने हामी नै पहिलो हौं,' मधुसुदनले भने, 'परिकार धेरै र फरक भएकैले ग्राहक फेरिफेरि आउँछन्। अनि ऊर्जा थपिने प्रतिक्रिया दिएर जान्छन्।'
मधुसुदनका अनुसार यहाँको सबभन्दा रूचाइने परिकार भेज खाना सेट र कटिया हो। कटिया विशेषगरी रौतहटतिर माटोको भाँडामा पकाइने खसीको मासु हो।
कटिया पकाउन सुरूमा माटोको भाँडामा स्थानीय जातको प्याज, लसुनका पोटी, खुर्सानी र उनीहरू आफैंले बनाएको मसला हालिन्छ। त्यसमा तोरीको तेल र मासु राखिन्छ। यसलाई छोपेर अँगारको रापले पकाइन्छ। पानी हालिँदैन। झन्डै एक घन्टामा कटिया तयार हुन्छ।
कटिया पकाउने माटोको भाँडा उनीहरूले भक्तपुरबाट ल्याउँछन्। सुरूआती दिनमा रौतहटबाटै ल्याएका थिए। तर खर्चिलो र फुट्ने समस्या देखिएपछि भक्तपुरबाट ल्याउन थालेका हुन्। यो भाँडा पुनः प्रयोग हुँदैन। त्यसैले केही ग्राहकले यसलाई घरमा बिरूवा रोप्न भन्दै लैजाने गरेको मधुसुदनले बताए।
यो रेस्टुरेन्टमा मार्सी, बुढासुब्बा, ब्राउन गरी चामल मात्रै झन्डै आठ थरीका पाइन्छ। दाल, चामल, आलुलगायत खाद्य सामग्री जुटाउन एक अर्ग्यानिक पसलसँग सहकार्य गरेका छन्। त्यस्तै मासु व्यक्तिगत र चिनाजानका सम्बन्धबाट मगाउँछन्।
यहाँ सुँगर र राँगा/भैंसीको मासु भने पाइँदैन।
'हरेक रेस्टुरेन्टको आ–आफ्नै विशेषता हुन्छ। हाम्रो योजना पहिल्यैदेखि यी मासु नराख्ने थियो,' मधुसुदनले भने, 'हरेक वर्गलाई लक्षित गर्न खोज्दा सम्हाल्न गाह्रो पनि हुन सक्छ नि।'
लेकाली किचेन एन्ड कटिया हाउस मधुसुदनसहित राज अर्याल, केशवप्रसाद चौलागाईं, माधव भट्टराई र सीताराम अधिकारी मिलेर खोलेका हुन्। २०७६ वैशाख ५ गतेदेखि सञ्चालनमा आएको यो रेस्टुरेन्टको व्यवस्थापन मधुसुदनले सम्हाल्छन्। हिसाबकिताब राजले हेर्छन् र केशव भान्सा सम्हाल्छन्।
मधुसुदन करिब एक दशकदेखि रेस्टुरेन्ट व्यवसायमा आवद्ध छन्। उनी आफैं खानापारखी हुन्। काठमाडौंमा नयाँ रेस्टुरेन्ट खुलेको चाल पाउनेबित्तिकै साथी राजसँग खाना चाख्न पुग्छन् उनी। काठमाडौंबाहेक खाना 'टेस्टिङ' कै लागि उनीहरू जिल्लाबाहिरका रेस्टुरेन्ट पनि पुगेका छन्।
उनको स्थानीय घर ककनी हो। २०६१ सालतिर एसएलसी सकेर प्लस-टु पढ्न काठमाडौं आएका थिए। पढाइसँगै विभिन्न काम गरेर आफ्नो खर्च जुटाउँथे। बिस्तारै उनले आफ्नै व्यवसाय सुरू गर्ने योजना बनाए।
२०६८ सालमा मधुसुदनले टेकुमा फास्ट फुड रेस्टुरेन्ट खोलेका थिए। योसँगै बीचमा उनले साथीसँग मिलेर आफैं मिडिया सञ्चालन गरे। त्यहाँ करिब पाँच वर्ष खर्चे। तर उनको मन सुरूदेखि रेस्टुरेन्टमा जमेको थियो। त्यसैले मिडियामा रम्न सकेनन्।
'पत्रकारिताको विद्यार्थी भएकाले मिडियामा प्रवेश गरेको थिएँ। सुरूमा फ्रिल्यान्सिङ गर्थेँ। पछि साथीसँग मिलेर आफ्नै मिडिया सुरू गरेँ,' मधुसुदन आफ्नो करिअरबारे भन्छन्, 'तर मिडिया मेरा लागि बनेको क्षेत्रजस्तो महसुस गरिनँ। अनि रेस्टुरेन्ट व्यवसाय नै गर्छु भन्ने भयो।'
उनीहरूलाई रेस्टुरेन्टका लागि ठाउँ खोज्नै झन्डै छ महिना लाग्यो। सिनामंगलमा अहिले भएको ठाउँ २०७२ सालदेखि बन्द थियो।
'यो ठाउँमा २०६२ सालदेखि २०७२ सालका बीच झन्डै आठ वटा रेस्टुरेन्ट खुलेर बन्द भएका रहेछन्। कुनै व्यवसाय नचलेको रहेछ,' मधुसुदनले भने, 'यो ठाउँ बनाउनै झन्डै ३ महिना लाग्यो।'
वरिपरि थुप्रै नाम चलेका रेस्टुरेन्ट भएकाले यहाँ त्यही खालको व्यवसाय टिकाउन मुश्किल रहेछ। यो चुनौती मधुसुदनहरूलाई पनि छ।
'तर हामीले सकारात्मक प्रतिक्रिया र ग्राहक बटुलेका छौं,' उनले भने, 'दिनमा डेढ सय हाराहारी ग्राहक आउँछन्। नयाँ वर्ष जस्ताविशेष दिनमा दुई-तीन घन्टा कुरेर खाना खानेहरू पनि छन्। त्यस्तै कुनै दिन विशेष अवसरमा आठ सय जनासम्मलाई खुवाउन सक्छौं।'
लेकाली किचेन एन्ड कटिया हाउसमा सस्तोमा एक सय ५० देखि एक हजार रूपैयाँसम्मका परिकार छन्। यहाँको खानामा बाहिरी मसला नहालिने मधुसुदन दावी गर्छन्।
'हामीले आफैंले १६ थरी मसला मिसाएर गरम मसला बनाएका छौं। यसले स्थानीय स्वाद दिन मद्दत पुगेको छ,' उनले भने।
यहाँ चार जना विशेष कुक र एक जना प्रमुख सेफ छन्। कटिया बनाउन रौतहटमा काम गरेका सेफ, थकाली खाना बनाउन मुस्ताङको कागबेनीमा काम गरेका दुई जना, तास र सेकुवा बनाउन चितवनको रेस्टुरेन्टमा काम गरेका अनुभवी सेफ छन्। स्थानीय ठाउँकै मान्छेले बनाउँदा स्वाद स्थानीय आउने उनीहरूको विश्वास छ।
त्यस्तै रेस्टुरेन्टमा हिमाल, पहाड, तराईका समावेश गरेर २३ जना कर्मचारी राखिएको उनको भनाइ छ।
सुरूमा झन्डै ८५ लाख रूपैयाँ लगानीमा खुलेको कटिया हाउसको लागत हाल एक करोड २० लाख पुगिसकेको छ। अब नेपालका प्रचलित ठाउँमा पाइने खानाका परिकार काठमाडौं भित्र्याउने योजना उनीहरूले बनाएका छन्।
लेकाली किचेन एन्ड कटिया हाउसको फ्रेन्चाइज खोल्न पनि प्रस्ताव आएको छ। तर मधुसुदन अहिल्यै यसमा जान मुश्किल हुने बताउँछन्।
'यहाँको जस्तो रेस्टुरेन्ट खोल्न निकै गाह्रो छ। हामीले आफ्नो सम्बन्धका आधारमा खाद्यसामग्री मगाइरहेका छौं। यही हिसाबमा अरूलाई काम गर्न गाह्रै पर्छ,' उनले भने।
(लेकाली किचन एन्ड कटिया हाउसको सम्पर्कः ०१-४११७९५२)
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)